स्ववियू : मिनी निर्वाचन

स्ववियू : मिनी निर्वाचन

—कृष्णमुरारी भण्डारी

सरकारले बैशाख ३१ गतेलाई स्थानीय निर्वाचन गर्ने मिति घोषणा गरेपछि एकातिर चुनावको चहलपहल शुरु भएको छ भने अर्कोतिर देशभरका शैक्षिक संस्थाहरु खास गरेर क्याम्पस र विश्व विद्यालयमा विद्यार्थी युनियनको चुनावले शैक्षिक केन्द्रहरु रणमैदान बनिरहेका छन् ।

बीस वर्षपछि हुन लागेको स्थानीय निर्वाचनको अनिश्चिततालाई आठ वर्षपछि हुन लागेको देशका युवा र पढेलेखेका तथा जान्नेसुन्ने समुदायको मारमुग्रीले थप अनिश्चित बनाएको मात्र छैन, राजनीतिक दलहरुका भ्रातृ संगठनको रुपमा पालन पोषण गरिएका संगठनहरुको अराजकता छ्यालब्याल भएको छ । अब यिनै स्थानीय चुनावमा पार्टीका नेता तथा कार्यकर्ताहरुको प्रतिनिधि प्रचारक बनेर गाउगाउ जाँनेवाला छन् ! अबका चुनावमा के हुनेवाला छ युनियन अर्थात मिनी चुनावले छनक दिएको छ ।

पाठकहरुलाई के अबगत छ भने, पहिला पहिला र खास गरेर दोस्रो जनआन्दोलनताका नेपाली जनमतको अवस्था थाहापाउने जनमत संग्रह बनेका थिए, विद्यार्थीहरुले क्याम्पस तथा स्कूलमा गराएका निर्वाचन । तर जब विद्यार्थीहरुको साँच्चिकै निर्वाचनको समय आयो, दलिय विभाजनमा चुर्लुम्ब डुबेका राजनीतिक पार्टीका विद्यार्थी संगठन र तिनको नेतृत्व निर्वाचन हुनुपर्ने कलेजमा तालाबन्दी, आगलागी, तोडफोड, कुटपीट, अपहरण, मतदाता पत्र च्यात्ने सम्मका काम गरिरहेका छन् । यसले जेठो मामाको त यो गति कान्छा मामाका के गति भन्ने लोकोक्तिलाई चरितार्थ गर्ने छ । बुढो नेतृत्वलाई सही मार्गमा ल्याउने जिम्मेवारी बोेकेका युवाहरुको पछिल्ला गतिविधिले आममानिसलाई निरास बनाएको छ ।


किन यस्तो भयो ? राजनीतिशास्त्रका पूर्व प्राध्यापकले भने, यसका पाँच कारण छन्, जस्ले गर्दा बुढा नेताहरुले देश र समाज विगारे पनि नयाँ पुस्ता नेतृत्वमा पुगेर विभिण्डिएको मुलुक र राजनीतिक नेतृत्वलाई सम्हाल्छ भन्ठान्नेलाई निरास बनाएर ठूलो झड्का दिएको छ । सचेत, योग्य र क्षमता भएका नेताहरु शासनसत्तामा पुगेका भए तिनले संभावित विपत्तीलाई पन्छाउन सक्नेथिए । तर अयोग्य नेताहरु पदमा पुगेपछि अलमलमा परे, मुलुकलाई पनि अनिर्णयको बन्दी बनाइरहेका छन् । ती प्राध्यापकले कारण बताउदै भने, पहिलो— यहाँको राजनीतिक नेतृत्व विभाजित छ । सरकार स्वयम् बिभाजीत छ । सत्तासीन पार्टीहरु माओवादी र नेपाली काँग्रेस पनि विभाजित छन् । उनीहरु आफ्नो अधिकार प्रयोग गरेर देशलाई यसरी अगाडि बढाउने भन्ने होइन कसरी सत्तामा टिकिरहने भन्ने तिर मात्र ध्यान रहेकोछ । दोस्रो, प्रमुख विपक्षी पार्टी पनि आन्तरिक रुपमा टुक्राटुक्रामा विभाजीत छ । नेताले एउटा विचार बोकेर हिड्छ तर उ भित्रका अनेक गुट उपगुटका टाउकेहरु आ—आफ्नो स्वार्थ के कसो गरे पूरा हुन्छ भनेर अर्कैतिर लागेका छन् । जसले गर्दा विपक्षी दल पनि प्रभावकारी बन्न पाएको छैन ।

तेस्रो, देशका प्रधानमन्त्री माओवादी जनयुद्धका नायक छन् तर उनको पार्टी नै पाँच टुक्रामा विभाजित भएको छ । पुष्पकमल दाहाल प्रचण्ड, किरण वैद्य, नेत्रविक्रम चन्द विप्लब र बाबुराम भट्टराई आआफ्ना दल बनाएर चार दिशातिर लागिसकेका छन् । चौथो, सरकारमा वा राज्यको मूल प्रभाहमा नरहेका (नन एक्टर स्टेट)हरु विभिन्न सशस्त्र र विध्वंशक समूहमा लागेर देशमा अस्थिरता र राज्यलाई ध्वश्त पार्ने अभियानमा लागिरहेका छन् । जसलाई राज्यले प्रभावकारी संबोधन नै गर्न सकेको छैन । र, पाँचौं, उपरोक्त आडमा आ—आफ्रना स्वार्थ बोकेका बाह्य शक्तिहरु नेपालभित्र खुलेआम चलखेल गरिरहेका छन् । तिनको बढ्दो उछलकुद पूरै मुलुकलाई अस्थिरता पैदा गर्ने मलजल बनिरहेको छ ।

यिनै कारणहरुले गर्दा स्थानीय चुनावको दुई महिना भन्दा अघि हुन लागेको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा पनि भाँडभैलो मच्चिइरहेको छ । फागुन १८ गते देशभरका कलेजहरुमा विद्यार्थी चुनावको लागि मनोनयन दर्ता  हुनु पर्ने हो । (तर तिनका मातृ पार्टीहरुको उक्साहटले यो मिति पनि पछि निर्धारण गरिएको हो ।) पछिल्लो मितिमा समेत निर्वाचनको कुरै छाडौं, मनोनयन पनि हुन सकेन । कैयौं दिनअघिदेखि हडताल, झगडा, तालाबन्दी, आगजनी, लुटपाट र कुटपीटका प्रहसनहरु भइनैरहे । आमविद्यार्थीहरु गैर शैक्षिक र राजनीतिक हस्तक्षेपबाट वाक्क दिक्क बनिरहेका छन् तर पनि देशका प्रमुख राजनीतिक पार्टीका विद्यार्थी संगठनका आपराधिक गतिविधि केन्द्रीय लगायत त्रिचन्द्र, पाटन, ल, सरस्वति, विश्वभाषा, पब्लिक युथ, शंकरदेव, पशुपति जस्ता कलेजमै ताण्डव नृत्य जारी छ ।

यो देश र बिद्यार्थी आन्दोलनकै दूर्भाग्य हो । निरंकुश राजतन्त्रकालमा राष्ट्रवादी मण्डले जसरी आमविद्यार्थी हितविपरित काम गर्दथे अहिले दलका मण्डलेहरु आर्थिक चलखेल, दलाली, माउ पार्टीसंग बार्गेनिंग, पैसा उठाउनका लागि स्ववियु कब्जा गर्न लागि परेका छन् । काँग्रेस, एमाले, माओवादी, मधेशी र अरु दलका नेताहरु रोम जल्दा आगो निभाउनुको सट्टा निरो जसरी आगोको रापमा बाँसुरी बजाएर मदहोस भैरहेको थियो भनिन्छ, त्यस्तै भूमिका निर्वाह गरिरहेका छन् ।

०४६ सालमा प्रजातन्त्र र ०६३ सालमा लोकतन्त्र आएपछि  पत्रकारहरुबीच मिसन पत्रकारिता गरिरहने कि ब्यवशायिक पत्रकार बन्ने भन्ने बहस भयो । ब्यवशायिक पत्रकारिताको विकासको जग ०४६ सालमा शिलान्यास भयो भने ०६२÷६३को आन्दोलनपछि त्यसले फड्को नै मा¥यो । अहिले मिसन पत्रकारिता पार्टी मुखपत्रहरुमा साँघुरिएको छ । त्यसैगरी देशमा निरंकुशता रहुन्जेल पार्टी तथा जनवर्गीय संगठनहरुमा प्रतिवबन्ध लगाइएकोले विद्यार्थीहरुको प्रयोग राजनीतिक दलले गरेका थिए । त्यतिबेला विद्यार्थी मात्र त्यस्तो जमात थियो, जसमाथि मुलुकमा आधारभूत प्रजातान्त्रिक अधिकारहरु स्थापना गर्न लाग्नुको विकल्प थिएन । त्यतीखेरको उनीहरुको  दायित्व नै थियो त्यो । प्रजातन्त्र स्थापना भैसकेपछि विद्यार्थीहरुको भूमिका राम्रोसंग पढ्नु नै थियो । उत्कृष्ट शिक्षा आर्जन गरेर मुलुकमा आवश्यक विषयविद बुद्धिजीवी, प्राविधिक, प्राध्यापक आदि बनेर पूरै देश संचालन गर्ने आधार बन्नु थियो । विद्यार्थीका माग भनेको शिक्षा आर्जन गर्न चाहिने पुस्तकालय, कक्षा कोठा, पाठ्यक्रम सुधार, लगायत अन्य सुविधा नै प्रमुख हुन् । राजनीति विद्यार्थीहरुको विषय होइन । पढाइसकेपछि कुन राजनीतिक दलमा लाग्ने वा कसरी राजनीतिक गतिविधिमा संलग्न हुने हो त्यो हरेक ब्यक्तिको नै सर्गिक अधिकार हो । पढाइ हाप्न लगाएर राजनीतिमा युवा विद्यार्थीलाई होमेर आगो ताप्न खोज्नु राजनीतिक दलहरुको अपराध हो । यसले भविष्यका कर्णधारहरुको जीवनलाई समाप्न नै पारिदिन्छ । आफ्ना छोरा छोरीलाई महंगा बोर्डिंग÷विदेशी स्कूलमा पढाएर सर्वसाधारणका छोराछोरीलाई राजनीतिक दास बनाउन लागे नेताहरु । अहिलेसम्म पनि पार्टीका नेताहरु कतिपटक प्रधानमन्त्री, मन्त्री र सांसद बने तर पढ्नु पर्ने विद्यार्थीलाई आफ्ना झोले बनाइरहेका छन् ।

मुलुक संघीय लोकतान्त्रिक गणतन्त्र बनिसकेपछि पनि स्कूल कलेजमा पढिरहेका विद्यार्थीहरुलाई निरंकुशकालमा झैं राजनीतिक दलका कार्यकर्ता बनाउन पाइदैन । उनीहरुले पढ्न पाउनु पर्छ । तर कलिला विद्यार्थीलाई पढ्न नदिएर काँग्रेस, एमाले, माओवादी र अरु साना पार्टीहरु विद्यार्थी संगठन चलाएर विद्यार्थीहरुको घोडा चढेर जीवन वर्वाद गरिरहेका छन् । लठैत उत्पादन गर्ने थलो बनाइरहेका छन् ।

विधि, प्रकृया र शिक्षाको प्राज्ञिक वातावरण हुनुपर्ने ज्ञान आर्जनको थलो स्कूल÷कलेजलाई पार्टीहरु विद्यार्थी संगठनमार्फत राजनीतिक मूठभेड, षडयन्त्र र हरुवा चरुवा उत्पादन गर्ने थलो बनाउन पाइदैन । खबरदार, स्कूल÷कलेजलाई राजनीतिक मुठभेडको थलो नबनाउ ! स्कूल÷कलेजलाई बैज्ञानिक, ब्यवहारिक, सर्वसुलभ, सिपमूलक शिक्षा आर्जन गर्ने गुणस्तरीय, समयानुकूल र सान्दर्भिक स्थल बन्न नरोक ! विद्यार्थीहरुका माग र आवश्यकतालाई संबोधन गर्न विद्यार्थी काउन्सिल बनाउ ! तर विद्यार्थी काउन्सिलमा अखिल, नेविसंघ होइन, उत्कृष्ट विद्यार्थीलाई राख । तिनका माग सरकार र शिक्षा मन्त्रालयले पूरा गरोस् ।

देशव्यापी स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा विद्यार्थीहरुको बिकृति र गुण्डागर्दीको पराकाष्ठा रुपी अखाडा बनेको स्ववियु निर्वाचन खारेज गरेर देशब्यापी सन्देश देउ । विद्यार्थी संगठनहरु भंग गर । पढ्न सिक्न चाहने विद्यार्थीहरुलाई पढ्ने वातावरण कायम गर । यिनै कामहरु नगरिएकोले शैक्षिक संस्थारुपी विश्वविद्यालयहरु शैक्षिक प्राज्ञिक मर्यादाको केन्द्र बन्न नसकेका हुन् । हुँदो हो त सरकारी स्वामित्व भएका स्कूल÷कलेज÷विश्वविद्यालयहरु करोडौं बजेट खन्याउदा खन्याउदै फोहोर र दुर्गन्धका अखाडा बन्ने थिएनन् । जबकि निजी विद्यालय÷कलेज÷विश्वविद्यालयहरु सरकारबाट सुको नपाउदा पनि अनुशासन, शिक्षामा यति अगाडि कसरी बढे ? ती पाँच तारे होटल जस्ता लाग्छन् । समयको पालना, बायोमेट्रिक्स, सिसिटिभी त्यहाँ किन र कसरी संभव भयो ? समयमा पढाइ पुरा के कारणले हुन्छ ? परिक्षा तथा रिजल्ट पनि समयमै कसरी हुन्छ ? सरकारी प्राध्यापक, शिक्षक, कर्मचारी लगायत शैक्षिक नेतृत्वमा बसेकाहरुले यी कुराहरु उठाउनु पर्ने हो तर तिनै दलका नेताका दौराका फेर समातेर संघ÷संगठन बनाएर ब्रम्हलुट मच्चाइरहेका छन् । त्रिभुवन विश्वविद्यालयलाई विद्यार्थी, कर्मचारी र प्राध्यापकको राजनीतिले खोक्रो पारिसकेपछि पार्टी र तिनका संगठनहरु काठमाण्डौं विश्वविद्यालयलाई नारायण हरि बनाउन लागेका छन् । काउन्सिल बनाउने भन्दा झण्डा भएन भनेर केयुलाई धरासायी बनाउनु सार्वजनिक अपराध हो । यसो हुन दिनु हुँदैन । दलहरुले यिनलाई नरोकेसम्म विश्वविद्यालय बौद्धिक केन्द्र बन्न सक्दैनन् । दलका भाटहरुलाई प्राध्यापक र भीसी बनाउदैमा न तिनमा आचरण पलाउछ नत ज्ञान नै हुन्छ !

विश्वविद्यालय÷कलेज÷स्कूललाई राजनीति मुक्त नपारुन्जेल शैक्षिक क्षेत्र भद्रगोल भैरहनेछ । सत्तामा बस्नेहरुले विद्यार्थी चुनाव गर्न सकेनन् अब तिनले कसरी स्थानीय र प्रान्तीय तथा केन्द्रीय निर्वाचन गर्लान ? कर्मचारीबाट सरकार प्रमुख बनेका खिलराज रेग्मीले भनेको समयमा बरु निर्वाचन गराए, तर प्रचण्ड सरकारले विद्यार्थी चुनाव त गराउन सकेन भने स्थानीन चुनावको सपना नदेखाए हुन्छ । बिश्वविद्यालयमा प्राज्ञिक गतिविधिको साटो पार्टीका लठैतहरुको हालीमूहाली चलेकाले , जड्याहा, व्यभिचारी, ठग र भ्रष्टहरुको रगरगी  र उनीहरु नै हाबी भएकाले योग्य, निर्भिक र स्वाभीमानीहरुको आकर्षण त्यसप्रति घटेको हो । साख गिरेको हो । राज्यको गरीमा बोक्नुपर्ने संरचनामा प्राज्ञिक र सक्षम ब्यक्ति कमजोर बनेपछि भ्रष्टराज हावी हुनु कुनै अनौठो होइन ।

यही बिन्दूमा हो, नयाँ पुस्ताका योग्य अनुभवी ब्यक्तिहरुले हस्तक्षेप गर्नुपर्ने । तर के विद्यार्थी राजनीति गरेरै राजाको निरंकुशकालमा सशक्त भूमिका निर्वाह गरेका विद्यार्थी नेताहरु जो सरकार र पार्टीमा पनि आफ्नो हैशीयत कायम राखिरहेका छन् ’em एक भएर विद्यार्थी संगठन जुन उद्धेश्यका लागि गठन गरिएको थियो त्यो पूरा भैसकेपछि अब त्यसलाई सेतो हात्ती बनाएर पालिरहने कि विसर्जन गर्ने ? खै कहाँ छन्— ०३६ सालका विद्यार्थी नेताहरु कैलाश कार्की, बलबहादुर केसी, शरणविक्रम मल्ल ? के छ तिमीहरुको बिचार ?  अनि रामसिंह रावल, बोर्णबहादुर कार्की, टंक कार्की, घनश्याम भूसाल, शंकर पोखरेल, उदयराज पाण्डे, सुनिल मानन्धर, चन्द्र भण्डारी, हृदयराम थानी, ठाकुर श्रेष्ठ, पम्फा भुषाल, उमा रेग्मी, मीना पाण्डे, सोमनाथ प्यासी, जीतेन्द्र देव, बालकृष्ण खाड, भीम न्यौपाने, शेरधन राई, टोपबहादुर रायमाझी, हिमाल शर्मा, महालक्ष्मी डिना, शशी श्रेष्ठ, ज्योति अधिकारी, लीलामणि पोखरेल, रमण श्रेष्ठ, अच्युत मैनाली, एन पी साउद, राजेन्द्र राई, भानुभक्त ढकाल, जगन्नाथ खतिवडा, नवराज थपलीया, रेखा शर्मा, राजेन्द्र लोहनी, रविन्द्र अधिकारी, विश्वप्रकाश शर्मा, गगन थापा, रामकुमारी झांक्री, प्रदीप पौडेल, गुरुराज घिमिरे, धनराज गुरुंग, गोकर्ण विष्ट, योगेश भट्टराई, शंकर भण्डारी ? सधै राज्यको स्कलरशीपमा पढेका डा बाबुराम भट्टराई अन्यत्र नभड्क, विश्वविद्यालय र शिक्षा क्षेत्र सम्हाल्न लाग । विद्यार्थी संगठन खारेज गर्न अगुवाई गर । स्कूल÷कलेजमा राजनीतिक हस्तक्षेप बन्द गर । प्राज्ञिक मर्यादा, संस्कृति संस्कारयुक्त बातावरण बनाउने ऐन बनाउन लाग । प्राज्ञिक योगदान पारदर्शी बनाउ । राज्यको लगानीले सिर्जना गरेको अवसर प्राज्ञिक प्राथमिकतामा पार । नेता हो, राजनीतिक इच्छाशक्ति देखाउ । अनुशासन पालन गर । नयाँ प्रतिभावानलाई आकर्षण गर । प्राज्ञिक बेइमान, भ्रष्ट, चरित्रहीन, लठैतबाट घेरिएर नबस ।