सुनकोशीमा जलक्रिडा

सुनकोशीमा जलक्रिडा

नेशनल जोग्राफी ले विश्वको सातौं नम्बरमा राखेको सुनकोशी नदीको र्याफ्टीङ अबको केही वर्षमा गर्न नसकिने अवस्था पनि आउन सक्छ । कारण सुनकोशी नदीमा बन्न लागेको जलविधुत आयोजना । पर्यटन उधोगको एउटा अभिन्न विधामा पर्ने र्याफ्टीङ व्यवसायीहरुलाई सरकारको यो निर्णयले निरुत्साही बनाएको छ ।

नेपालमा र्याफ्टीङ गर्नकालागी आउने पर्यटक मध्ये कम्तिमा ४० प्रतिशतको रोजाई सुनकोशी नै पर्दछ । एड्भेन्चर स्पोर्टस्मा पनि पर्ने ह्वाइट वाटर र्याफ्टीङका लागी प्रख्यात छ यो नदी । चिलिमे जलविद्युत आयोजनाले बनाउन लागेको १०२ मेघावाटको बिजुली निकालीयो भने विश्व प्रसिद्द यो नदीको अस्तीत्व नै संकटमा पर्ने निश्चित छ । तर ७५ मेघावाट मात्रै निकाल्ने हो भने ह्वाइट वाटर र्याफ्टीङका लागी केही फरक पर्दैन । र्याफ्टीङ व्यवसायीहरुको माग नबनाउने होइन । ७५ मेघावाटको आयोजनाका लागी भने कसैको गुनासो पनि छैन । सिन्धुपाल्चोक जिल्ला भरी १३ सय मेघावाट भन्दा बढी बिजुली निकाल्न सकिने अध्ययनले देखाएकोछ । यती धेरै सम्भावना भएको ठाउँमा २७ मेघावाट कम निकाल्दा एउटा विश्व स्तरीय नदीको संरक्षण गर्न सकिन्छ भन्ने कुरा सम्बन्धितहरुले किन बुझ्दैनन् ? व्यवसायीहरुको गुनासो यसैमा छ । अरु धेरै विकल्पहरु ह्ुँदाहुँदै प्राकृतिक रुपले नै आफ्नो मौलिकता बोकेको यस्ता खोलानाला बचाउनुको सट्टा विकासका निहुँमा विनास हुन लागेको देख्दा व्यवसायीहरु चिन्तित देखिन्छन् । बर्षको लगभग २५ हजार जति पर्यटकहरु र्याफ्टीङका लागी सुनकोशी पुग्ने गर्छन् । यसले सिर्जना गरेको प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी ठूलै छ । र र्याफ्टीङ व्यवसायमा आश्रितहरुको स्वर पनि एउटै छ हामी विकास विरोधी हाइनौ । तर विकल्प हुँदाहुँदै विकासका नाममा हाम्रो पेटमा लात हान्दै एउटा विश्व स्तरीय प्राकृतिक संरचना विगार्नु जायज होइन।

सुनकोशीको र्याफ्टीङ व्यवसायले गर्दा नै त्यस क्षेत्रमा पर्यटकहरुका लागी अरु पूर्वाधारहरु बनेका हुन् । बन्जी जम्प खेल देखी बोर्डर ल्याण्ड र लास्ट रिसोर्ट जस्ता होटलहरु पनि र्याफ्टीङ कै कारण बनेका हुन् । यी ठाउँहरुमा काम गर्ने मध्ये ८० प्रतिशत भन्दा बढी स्थानिय नै छन् । यस क्षेत्रमा काम गर्ने पर्यटन व्यवसायीहरुले स्थानीय स्तरमा शिक्षा, स्वास्थ्य र विभिन्न क्लबहरु मार्फत सामाजिक क्षेत्रमा केही लगानी पनि गरीरहेका छन् । तर कमाईको अनुपातमा लगानी चाँही थोरै भएको स्थानीयहरुको आफ्नै गुनासो छ ।
सबैको आआफ्नै किसीमका नाफा र घाटा होलान् । विकासको क्रम पनि रोक्न गाह्रै हुन्छ । विकासले बिगारेका प्राकृतिक संरचनाहरुलाई पुनर्निमाण र पुर्नस्थापन गर्न कठिन नै हुन्छ । त्यसैले यस्ता अवस्थामा सम्वन्धित निकायल सर्वमान्य सिदान्त र विवेक पूर्ण निर्णय गर्न सक्नुपर्छ । होइन भने भोली देखिने नकारात्मक असरहरुका लागी पछुताउनु बाहेक अर्को बिकल्प नरहन सक्छ ।
नेपाल एसोसीएसन अफ र्याफ्टीङ एजेन्टस्ले र्याफ्टीङ र कायाकको तीन दिने प्रतिस्पर्धा आयोजना गरेको थियो । सोही प्रतिस्पर्धाका यी तस्वीरहरुले तपाईहरुलाई पनि र्याफ्टीङका लागी हौस्यायो भने छिटै जाने कार्यक्रम बनाइहाल्नुस । ढिलो गर्नुभयो भने सुनकोशीमा ह्वाइट वाटर र्याफ्टीङ गर्ने धोको पुरा नहुन पनि सक्छ ।

 

Kayak competitor of 10th Himalayan White Water Kayak and Rafting Competition at Sunkoshi river. The final competition will finish on Sunday. Programme was organized by Nepal Association of Rafting Agents.