सिद्धार्थको बाल्यावस्थादेखि गृहत्यागसम्म —डा सुनन्द महास्थवीर

सिद्धार्थको बाल्यावस्थादेखि गृहत्यागसम्म 


—डा सुनन्द महास्थवीर

 

तस्वीरहरु सुनिल शर्मा

भगवान बुद्ध (६२३–५४३ इसापूर्व) वैशाख पूर्णिमाको दिन बोधिसत्व राजकुमारको रूपमा नेपालको लुम्बिनी उद्यानमा जन्मनुभएको हो । उनका पिता कपिलवस्तुका राजा शुद्धोदन र माता रानी महामायादेवी थिए ।
राजकुमार यदि गृहस्थभावमा बसे सम्यक्सम्बुद्ध हुने कुरा त्रिवेदमा पारंगत पण्डित ब्राम्हणहरूले भविष्यवाणी गरे । माता पिताले छोराले जीवनको सम्पूर्ण लक्ष्य तथा सर्व अर्थ सिद्ध गर्न सक्ने भन्ने अर्थमा बोधिसत्व राजकुमारलाई “सिद्धार्थ” नामकरण गरे । त्यसैले उनलाई “सर्वाथसिद्ध” पनि भनिन्छ ।

सिद्धार्थ कुमार जन्म भएको सातौं दिनमा आमा महामायादेवी परलोक भइन् । अनि सिद्धार्थ कुमारलाई सानिआमा प्रजापति गौतमीले आफ्नो दूध खुवाएर हुर्काइन् । विश्वामित्र (सर्वमित्र) भन्ने आचार्यले सिद्धार्थ कुमारलाई शिल्पशिक्षा सिकाइदिए ।

सिद्धार्थ कुमार सानैदेखि नै बढो दयावान् र प्रज्ञावान् थिए । उनी निर्धा व्यक्ति र पशुपक्षी आदि सबै प्राणीहरूलाई ठूलो दया उ उद्धार गर्ने गर्दथे । एक दिन सिद्धार्थ कुमार र उनका काकाका छोरा देवदत्त वनक्रीडा गर्न गए ।

जङ्गलमा विचरण गर्दागर्दै भाइ देवदत्तले आकाशमा उडिराखेको हाँसलाई धनुर्वाणले हानेर भुईंमा खसाले । त्यो देखी सिद्धार्थ कुमार दगुर्दै गएर वाणले चोट लागेको हाँसलाई प्रेमपूर्वक अङ्गालोमा हाले । हाँसको जीउभित्र पसिराखेको वाणलाई उनले विस्तारै बाहिर झ्mिके र रगत बगिराखेको घाउमा वनको जडीबुटी हालेर उपचार गरे ।

देवदत्तले यो देखेर भने, “मैले वाणले हानेर खसालेको हाँसलाई तिमीले किन लिएको ? देऊ मलाई मेरो हाँस” भनी उनी झ्mगडा नै गर्न थाले । सिद्धार्थ कुमारले भने, “मार्नेको भन्दा बचाउनेको अधिकार बढी हुन्छ । तिमीले यो हाँसलाई मार्न खोज्यौ तर मैले यसलाई बचाउन खोजें । त्यसकारण, यो घाइते हाँस तिम्रो होइन, मेरो हो ।”

उनले त्यो घाइते हाँस देवदत्तलाई दिएनन् । उनीहरूको बीच झ्mगडा नै भयो । त्यो झ्mगडा छिन्नलाई दुवैजना न्यायालयमा गए ।
अनि सिद्धार्थ कुमार र देवदत्त दुवैको कुरा सुनेर त्यहाँका पण्डित न्यायधीशले भने, “हाँस त्यसको हुन्छ, जसले त्यसलाई सुरक्षा गर्छ, ममता राख्छ । वस्तु त्यसको हुन सक्दैन, जसले त्यसलाई विनाश गर्न खोज्छ । त्यसकारण, यो घाइते हाँस सिद्धार्थ कुमारकै हुन्छ । देवदत्तको हुँदैन ।” त्यसो भनी पण्डितहरूले फ्mैसला गरी सिद्धार्थ कुमारलाई जिताइ दिए ।

शुद्धोदन महाराजले सिद्धार्थलाई रम्य, सुरम्य र शुभ भन्ने तीनवटा राम्रा दरवार बनाइदिए । कुमारको सेवाको लागि युवती सुसारेहरू राखिदिए र सम्पूर्ण भोग विलासका साधनरू जुटाइदिए । सोह्र वर्षको उमेरमा सिद्धार्थ कुमारलाई अति सुन्दरी र सुशील सुप्रबुद्धकी छोरी यशोधरादेवीसँग विवाह गरिदिए । यसरी उनका पिताले सिद्धार्थ कुमारको जीवनलाई भोग विलासमा अल्झ्mाई उनलाई सुखमय जीवनमा राखेका थिए ।
सिद्धार्थ कुमार भने भौतिक सुखमा सन्तुष्ट हुन सकेनन् । उनी जति–जति ठूलो हुँदै गए उनको प्रज्ञाज्ञान पनि छिपिंदै आयो । अनि झ्mन्–झ्mन् उनको मन आध्यात्मिक सत्यको गवेषणमा आकर्षित हुँदै आयो ।
सिद्धार्थ कुमारले बाहिर डुलफेर गर्न जाँदा बूढो मान्छे, रोगी मान्छे, विरामी मान्छे र एक भिक्षुको दृष्य देखे । यी चारवटा दृश्य देखेर सिद्धार्थ कुमारको मन संसारदेखि विरक्त भयो ।

त्यसबखत सम्म उनको राहुल भन्ने एउटा छोरा पनि जन्मिसकेको थियो तर भौतिक संसारबाट विरक्त भएका सिद्धार्थ कुमारले बोधिज्ञान प्राप्त गरी संसारलाई जन्म मरणको चक्रबाट मुक्त गराउनुपर्ने नियतले अथवा उद्देश्यले आफ्नो प्रिय छोरा, पत्नी र पिता आदि सबै राजपरिवार र सम्पूर्ण राज्य सम्पत्तिलाई परित्याग गरेर महाभिनिष्क्रमण गरी रातारात अनोमा नदीको तिरमा गई भिक्षु बने । त्यसबखत सिद्धार्थ कुमारको उमेर २९ वर्ष पुगेको थियो ।

 

 

सिद्धार्थको भिक्षु भावदेखि बोधिज्ञान लाभसम्म

भिक्षु सिद्धार्थले त्यहीँ नजिकै मल्ल राजाहरूको अनुप्रिय भन्ने आम्रवनमा गई सात दिनसम्म प्रव्रज्या सुख र स्वतन्त्रता अनुभव गरे । त्यहाँबाट हिँडेर क्रमशः राजगृह नगरमा पुगे र घरको दैलो–दैलामा भिक्षा माग्न गए ।
त्यहाँका राजा बिम्बिसारले राजपुरुषलाई हेर्न पठाएर भिक्षु सिद्धार्थलाई जाँच बुझ गराए । बिम्बिसार राजाले भिक्षु सिद्धार्थलाई आफ्नो राज्य आधी प्रदान गर्ने वचन दिए र राज्यसुख भोग गरी त्यहीँ बस्न अनुरोध पनि गरे । तर भिक्षु सिद्धार्थले राजा बिम्बिसारको दान अस्वीकार गरे । उनले “म बुद्ध भई जगतप्राणीलाई उद्धार गर्न भिक्षु बनेको हुँ । मेरो पनि राज्य थियो । तिम्रो राज्य मलाई चाहिँदैन” भनी अस्वीकार गरे ।
त्यसपछि छक्क पर्दै राजा बिम्बिसारले प्रार्थना गरे, “त्यसो भए तपाईं बुद्ध भएपछि तपाईंले पत्तालगाउनुभएको बोधिज्ञान मलाई पनि बताउन पाल्नुहोला है ।” भिक्षु सिद्धार्थले आफ्mू बुद्ध भएपछि राजा बिम्बिसारलाई धर्म उपदेश दिन आउने कुरा स्वीकार गर्नुभयो ।

किंकुशल गवेषी भई त्यहाँबाट भिक्षु सिद्धार्थ क्रमशः आलार कालाम पुत्रको आश्रममा जानुभयो । त्यसबेला कालाम पुत्र प्रसिद्ध तपस्वी थिए । त्यहाँ भिक्षु सिद्धार्थले के गरे, कसो गरे भन्ने कुरा पछि आफू बुद्ध भइसकेपछि उहाँ स्वयम्ले बोधि राजकुमारलाई उहाँको कोकनद प्रासादमा बताउनुभएको बोधिराजकुमारसुत्तबाट हामीले थाहा पाउन सक्छौ । बुद्धले बोधि राजकुमारलाई सम्बोधन गर्दै आफ्नो आत्मकथा यसरी बताउनुभयो ः

‘राजकुमार ! म सम्बुद्ध हुनुभन्दा पहिले बोधिसत्व छँदा मलाई पनि लागेको थियो — ‘सुखले सुख पाइँदैन, बरू दुःखले नै सुख पाइन्छ ।’ राजकुमार ! अनि पछि तन्नेरी छँदाछँदै, कालो केश छँदाछँदै, भद्र यौवनको अवस्थामा, आयुको प्रथम चरणमै, आमाबाबुको इच्छा बेगर उहाँहरूलाई रूवाउँदा रूवाउँदै केश दाह्री खौरेर काषायवस्त्र धारण गरी घरबार छाडी म प्रव्रजित भएँ ।

म प्रव्रजित भई किंकुशल गवेषी भएर अनुत्तर शान्तिपदको गवेषण गर्दै जहाँ आलार कालाम थिए, त्यहाँ गएँ । अनि मैले यसो भनें — “आवुसो ! म यो धर्मविनयमा ब्रम्हचर्यवास गर्न चाहन्छु ।” उनले मलाई त्यो धर्मविनयमा बस्न सौहार्दपूर्वक स्वागत गरे । अनि मैले चाँडै नै त्यो धर्म अध्ययन गरें । उनले ओठ चलाउनेवित्तिकै, परस्पर कुराकानी गर्नेवित्तिकै ‘त्यो ज्ञान जानें, बुझें’ भनी मैले ज्ञापन गरें । उनले आकिञ्चन्यायतनसम्मको कुरा बताए । उनी स्वयम्ले “अभिज्ञाद्वारा साक्षात्कार गरेको धर्म” भने ।
अनि मलाई यस्तो लाग्यो — ‘उनीसँग भए जस्तै ममा पनि श्रद्धा, वीर्य, स्मृति, समाधि र प्रज्ञा छ । उनले प्राप्त गरेको अभिज्ञा धर्म म पनि किन प्राप्त नगरौं ?’ म त्यो धर्मविनयको अभ्यासमा लागें र चिरकाल नवित्दै चाँडै नै त्यस धर्मलाई अभिज्ञाद्वारा साक्षात्कार गरी बसें । अनि कालामले मलाई, “जस्तो म छु, त्यस्तै तिमी छौं । अब हामी दुवै मिलेर यो शिष्यमण्डलको हेरचाह गरौं ।” भनी मेरो ठूलो सम्मान गरे ।

 

 

राजकुमार ! अनि मलाई यस्तो लाग्यो — ‘त्यो धर्मले निर्वेदमा, विरागमा, निरोधमा, उपशममा, अभिज्ञामा, सम्बोधिमा र निर्वाणमा पु¥याउन सक्दैन । यसले त आकिञ्चन्यायतन लोकमा मात्र पु¥याउने छ । अनि म त्यो धर्म अपर्याप्त ठानी त्यस धर्मबाट विरक्त भएँ ।’

अनि म उद्दक रामपुत्रकहाँ गएँ । उद्दक रामपुत्रले मलाई नैवसंज्ञानासंज्ञायनको कुरा बताए । उद्दक रामपुत्रल,े “आवुसो ! हाम्रा निमित्त यो लाभ हो र सुलाभ हो । तिमी जस्ता सब्रम्हचारीलाई देख्न पायौं । जुन धर्म मैले स्वयम् अभिज्ञाद्वारा साक्षात्कार गरी बताएँ तिमीले त्यो बुझ्यौं, प्राप्त ग¥यौ । अब यो शिष्यमण्डलको हेरचाह तिमीले गर ।” अनि म त्यो धर्म अपर्याप्त ठानी त्यस धर्मबाट पनि विरक्त भएर गएँ ।
“राजकुमार ! अनि म शान्तिपद निर्वाणको निमित्त मगधदेशमा चारिका गर्दै क्रमशः उरुवेलाको सेनानी गाउँमा गएँ । त्यहाँ मैले एक रमणीय भूमिभाग देखें, जहाँ रमाइलो वनखण्ड, निर्मल पानी बगिरहेको गहिरो नेरञ्जरा नदी र चारैतिर रमणीय गोचर गाउँहरू थिए । तपस्या गर्नको निमित्त उपयुक्त स्थान भनी त्यहाँ बसें र त्यसबेला तीनवटा उपमाहरू मेरो मनमा आए —

‘(१) जस्तै पानीले भिजेको, चिसो पानीमा फालिराखेको काठलाई कुनै मानिसले अरणीघर्षद्वारा त्यसबाट ‘आगो झिक्छु’ भनी कोसिस ग¥यो भने उसको मेहनत खेर जानेछ । त्यसैगरी जो श्रमण ब्राम्हण भिक्षुहरू कायले पनि चित्तले पनि कामविषयलाई नत्यागी कामविषयमा लिप्त भइबस्छन्, जो कामविषयको कामच्छन्द छ, काम स्नेह छ, काममूच्र्छा छ, कामपिपासा छ, कामपरिडाह छ, ती पनि उनीहरूको भित्रीमनबाट त्यागेका हुँदैनन्, शान्त भएका हुँदैनन् । उनीहरूको पराक्रम खेर जानेछ; ज्ञानदर्शन निर्वाण प्राप्त गर्न सक्दैनन् ।

(२) पानीमा भिजेको तर अलग्ग स्थलमा फ्याँकिएको काठलाई कुनै मानिसले अरणीघर्षद्वारा त्यसबाट ‘आगो झिक्छु’ भनी कोेसिस ग¥यो भने उसको मेहनत पनि खेर नै जानेछ । जस्तै पानीबाट अलगिएको काठ चिसो भएसम्म बल्दैन, त्यस्तै गरी कायले कामविषयलाई त्यागेको भए तापनि भित्रीमनबाट ती कामपिपासा नत्यागेसम्म, नहटेसम्म श्रमण भिक्षुलाई निर्वाण प्राप्त हुँदैन । उनीहरूको पराक्रम खेर जानेछ ।

(३) सुकेको र झुरेको काठ पानीबाट फ्याँकिएको हुन्छ । कुनै मानिसले अरणीघर्षद्वारा त्यसबाट ‘आगो भिक्छु’ भनी कोसिस गरेमा आगो झिक्न सक्छ । त्यसरी नै शरीर र मनबाट कामपिपासा त्याग गररे मेहनत गरे ज्ञानदर्शन निर्वाण लाभ हुन्छ ।’
राजकुमार ! अनि मलाई उपक आजीवकले गया र बुद्धगयाको बीच बाटोमा गइरहेको देखे । उनले मलाई भने, “आवुसो ! तिम्रा इन्द्रियहरू अति परिशुद्ध छन्, छविवर्ण अति चम्किलो छ । तिम्रा गुरु को हुन् ? कसको धर्म तिमी रुचाउँछौं ?”

राजकुमार ! अनि मैले भनें, “तृष्णा क्षय गरी अरहन्त बनेको म, मेरो आचार्य छैन । लोकमा म जस्तो अरू कोही छैन ।” यो कुरा सुनी उपक आजीवकले भने, “तिम्रो कुरा सुन्दा त तिमी ‘अनन्त जिन’ नै हुन सक्छौ; ‘हुन सक्छौ’ भन्दै टाउँको हल्लाउँदै उपक आजीवक छेउको बाटो लागेर हिडे ।”
राजकुमार ! म क्रमशः चारिका गर्दै वाराणसीस्थित ऋषिपतनमा पञ्चवर्गीय भिक्षुहरू भएको ठाउँमा गएँ । अनि ती भिक्षुहरूले टाढैबाट मलाई देखे र परस्पर कबुल गरे — “आवुसो ! श्रमण गौतम आउँदैछन्, जो बहुलताको कारणले गर्दा तपश्चर्याबाट भ्रष्ट भएका छन्, बाहुल्यतामा आवर्तित छन् । हामीले उनको सेवा सन्मान नगर्ने ।” तर पञ्चवर्गीय भिक्षुहरू आफ्ना कुरामा स्थिर बस्न सकेनन् । उनीहरूले बाटो हेर्न आई मलाई स्वागत् सन्मान गरे र मैले उनीहरूलाई धर्म उपदेश प्रारम्भ गरें ।

“भिक्षुहरू हो ! तथागत, अहरत सम्यकसम्बुद्ध हुन् । कान थाप । मैले अमृत पाइसकेको छँु । म धर्मदेशना गर्नेछु । म अनुशासन गर्दैछु । सुनेंअनुसार आचरण गरेमा चिरकाल नबित्दै यसै जीवनमा स्वयम् अभिज्ञाद्वारा निर्वाण साक्षात्कार गरी बस्न सक्नेछौं ।”
राजकुमार ! अनि मैले पञ्चवर्गीय भिक्षुहरूलाई सम्झाउन सकें । मैले उनीहरूलाई उपदेश गरें । यी हुन् बोधि राजकुमारलाई बताएको बुद्धको आत्मकथाको सार ।

 

 

भगवान बुद्ध स्वयमले बोधिज्ञान प्राप्त गरिसकेपछि मनुष्यजगतमा सबैको उद्धार हुने उपदेश दिनुभयो । प्राणीहरूलाई दुःखबाट मुक्त गराई निर्वाण प्राप्त गराउनु नै बुद्धधर्मको मूल उद्दश्य हो । पञ्चकामगुण विषय तथा भौतिक सुखमा मात्र मन लगाएर, त्यसमा आसक्त भएर टाँसिएर बस्नु नै एउटा अतिको कुरा हो । अनि आफ्नो शरीरलाई अति दुःख कष्ट दिएर हठचर्या गरेर बस्नु अर्को अतिको कुरा हो ।
यी दुवै प्रक्रियालाई बुद्धले हीन ग्राम्य अनार्य धर्म हुन् भनी व्याख्यान गर्नुभएको छ । निर्वाण प्राप्तिको लागि आचरणका यी दुई प्रक्रियालाई छाडी मानिसले मध्यम मार्गमा लाग्नुपर्छ । बुद्धको मध्यममार्ग आठवटा अङ्गले युक्त भइरहेको छ । यी हुन्—सम्यक्दृष्टि, सम्यक्संकल्प, सम्यक्वाचा, सम्यक्कर्मान्त, सम्यक्आजीव, सम्यक्व्यायाम, सम्यक्स्मृति र सम्यक्समाधि ।

दुःख के हो भनेर नबुझ्mिकन दुःखलाई छोड्न सकिंदैन । त्यसैले भगवान बुद्धले दुःखको व्याख्यान गर्दै भन्नुभयो — जन्म हुनु दुःख हो, बूढाबूढी हुनु दुःख हो, रोगव्याधि हुनु दुःख हो, मरण हुनु दुःख हो, अप्रिय व्यक्ति, अप्रिय विषयवस्तुसँग भोग गरी बस्नुपरेको दुःख हो, प्रिय व्यक्ति, प्रिय विषयवस्तुबाट वियोग तथा वञ्चित भई बस्नुपरेको पनि दुःख हो । इच्छा गरेको व्यक्ति वा इच्छा गरेको चीजवस्तु प्राप्त नहुनु दुःख हो ।
संक्षिप्तमा भनौं भने हामीले पञ्चस्कन्ध देह धारण गरी बस्नुपरेको नै दुःख हो । दुःखका कारणलाई उहाँले समुदयसत्य अथवा कामतृष्णा, भवतृष्णा र विभवतृष्णा हुन् भनी व्याख्यान गर्नुभएको छ ।

अविद्या पनि दुःखको कारण हो । दुःखका कारण भईबसेका अविद्या र तृष्णालाई निर्मूल गरेमा दुःख पनि निर्मूल हुन्छ भनी बुद्धले दुःख निरोध सत्यको उपदेश दिनुभएको छ । दुःख निरोध तथा दुःखका कारणहरू निर्मूल पार्नलाई शील, समाधि र प्रज्ञा संयुक्त मध्यममार्ग अपनाउनुपर्दछ ।
बुद्धको उपदेश सबैभन्दा पहिले कौडण्यले बुझ्mे, “जुन–जुन चीजवस्तु (धर्म) उत्पन्न हुन्छन्, ती सबै निरोध हुन्छन् ।” क्रमशः पञ्चवर्गीय भिक्षुहरू सबैलाई बुद्धको धर्म अवबोध भयो । निर्वाण लाभ भयो । ती नैै बुद्धका प्रथम भिक्षु शिष्य भए ।

बनारसमा यश कुलपुत्र भन्ने एक धनी व्यापारीको छोरालाई सांसारिक सुखदेखि वाक्क लागेको थियो । रातारात उनी बुद्धकहाँ गए । बुद्धले उनलाई धर्मको कुरा सुनाए । यश बुद्ध, धर्म, संघमा दीक्षित भए र भिक्षु बने ।
यशका चार साथीहरू विमला, सुबाहु, पुण्णजी र गवम्पति, जो बनारसका धनी मानिसका छोरा थिए, यशको अनुशरण गरी उनीहरू पनि भिक्षु संघमा प्रवेश गरे ।
त्यसपछि उनीहरूका ५० जना साथीहरू पनि उनीहरूकै अनुशरण गरी भिक्षु संघमा प्रवेश गरे । यसरी लोकमा बुद्धसहित अरहन्त भिक्षुहरूको संख्या ६१ पुग्यो र भिक्षु संघको स्थापना पनि भयो ।
अनि बुद्धले भिक्षु संघलाई सम्बोधन गर्नुभयो, “भिक्षुहरू हो ! बहुजन हित, बहुजन सुखको निमित्त, प्राणीहरूलाई दुःखबाट मुक्ति दिनका लागि दिशा विदिशामा जाऊ, धर्मका घोषणा गर, शुद्ध शान्त र मैत्रीपूर्ण जीवन बिताउन प्रेरित गर । दुई जना एउटै बाटोमा नलाग ।” यति भनी बुद्ध स्वयम् उरुवेलामा जानुभयो ।

बुद्ध उरुवेलाको जङ्गलमा बसिरहँदा त्यहाँ ३० जना राजकुमारहरू एउटी बेश्याको खोजीमा आइपुगे । त्यस बेश्याले उनीहरूको गहना र लुगा लिएर भागेकी थिइ । उनीहरूले बुद्धलाई सोधे, “एक जना बेश्या यहाँबाट गएकी देख्नुभयो कि ?”
बुद्धले भन्नुभयो, “राजकुमारहरू ! तिमीहरूले त्यस स्वार्थी बेश्यालाई खोज्नु उत्तम हुन्छ कि आपूmभित्र आपैmलाई खोज्नु उत्तम ?” आफ्mूभित्र आफ्mैलाई कसरी खोज्ने भन्ने प्रसंगमा बुद्धले उनीहरूलाई आपूmभित्र आपैैmलाई खोज्ने विधि ध्यानज्ञानको कुरा सिकाई दिनुभयो । उनीहरू सबै बुद्धको उपदेशबाट प्रभावित भई उहाँको शरणमा भिक्षु बने ।

बुद्धले जटिल सम्प्रदायका नायक काश्यप सहित हजार जना जटाधारी साधुहरूलाई शील, समाधि, प्रज्ञासंयुक्त मध्यम मार्गमा लगाई भिक्षु बनाउनुभयो । उनीहरूको साथमा बुद्ध राजगृहमा जानुभयो र त्यहाँका राजा बिम्बिसारले बुद्धलाई वेलुवन विहार दान दिए ।
कपिलवस्तुमा बुद्धलाई निमन्त्रणा गरी ल्याउन राजा शुद्धोदनले आफ्ना मन्त्रीहरू लगायत हजार जना महाजनहरूलाई पठाए । उनीहरू राजगृहमा आइपुगे; बुद्धको धर्मोपदेश सुनेर भिक्षु बने । त्यसरी नै शुद्धोदन महाराजको निम्तो लिई हजार जना मानिसको १० समूह बुद्धकहाँ गए र ती सबै बुद्धकहाँ पुगेपछि भिक्षु बने ।
यी नयाँ भिक्षु शिष्यहरूको ठूलो जमातको साथमा एकदिन भगवान बुद्ध कपिलवस्तुमा जानुभयो । शुद्धोदन महाराजा आफ्ना भारदारहरू राजपुरुषसहित बुद्धलाई भेट्न आइपुगे । कपिलवस्तुका जनताले धूमधामसित खुशीयाली मनाए ।

ज–जसले बुद्धका उपदेश सुने, ती सबै बुद्धका अनुयायी बने । बुद्धले आफ्ना भतिजा नन्द कुमार, छोरा राहुल कुमार सबैलाई भिक्षु बनाए । सानी आमा प्रजापति गौतमीको नेतृत्वमा भिक्षुणी संघ पनि बनाए ।
बुद्धले धर्म प्रचार गर्न पठाउुनुभएका ६० जना अरहन्तहरूमध्ये अस्सजि भिक्षुबाट धर्मोपदेश सुनेर सारिपुत्र र मोग्गलान जस्ता प्रख्यात बुद्धिजीवीहरू बुद्धकहाँ भिक्षु बन्न आए । कालान्तरमा यी दुई बुद्धका मुख्य शिष्य, अग्र श्रावकहरू बने ।

भगवान बुद्ध सम्पूर्ण प्राणीहरूलाई समान अधिकाररूपी पञ्चशीलको शिक्षा दिनुहुन्थ्यो । बुद्धले प्राणीहिंसा र जातपातको खण्डन गर्नुभयो । जातले मानिस ठूलो हुन्छ वा सानो हुन्छ भन्ने मिथ्या धारणामा उहाँको विश्वास छैन । आफ्नो आचरण र बुद्धिले नै मानिस ठूलो वा सानो हुन्छ भन्ने बुद्धको सिद्धान्त छ । बुद्धले ४५ वर्षसम्म गाउँ, शहर, प्रदेश चहारी धर्म प्रचार गर्नुभयो । बुद्धले वज्जीहरूको विकासको लागि दिनुभएको राजअपरिहानिय धर्म ७ वटा अबिस्मरणीय छ । यी हुन् —

(१) प्रशासकहरू नित्यरूपमा भेला भई बैठक बस्ने ।
(२) एकजूट भई मिलेर कुरा टुंग्याउने, कामकाज गर्ने ।
(३) स्थापित नियम कानून (धर्म)लाई नबिगारी पालन गर्ने ।
(४) थकाली वा जेठाबाठाहरूलाई गौरव मान गर्ने, उहाँहरूको कुरा सुन्नुपर्छ भनी मनमा राख्ने ।
(५) स्त्री महिला केटीहरूलाई अपहरण नगर्ने ।
(६) चैत्यलाई सत्कार गर्ने, धार्मिक बलि (अनुदान) चढाउने ।
(७) अरहन्तहरूलाई, श्रमण भिक्षुहरूलाई धार्मिकरूपले आरक्षा र सुरक्षाको व्यवस्था मिलाउने ।

यी धर्मनियमहरू पालन गर्ने समाजको विकास हुन्छ । बुद्धले चार आर्यसत्यलाई बोध नभएकोले मानव संसारचक्रमा परेको कुरा बताउनु भयो । दुःखबाट मुक्त हुन शील, समाधि र प्रज्ञा संयुक्त मध्यममार्ग अपनाउनु पर्ने कुरामा जोड दिनुभयो ।

धर्म प्रचार गर्ने क्रममा प्रामाणिक रूपले बुद्धका धर्मदूत कार्यले बुद्धकालीन सम्पूर्ण भारतीय समाजलाई असर पारेका थियो र त्यहाँ सांस्कृतिक परिवर्तन ल्याएको थियो । बुद्धले यो धर्मदूत कार्य सफ्mल गर्न सकेको कारण के हो भने उहाँले सुव्यवस्थापूर्वक कृषक, शिल्पकार, व्यापारी, विद्यार्थी, सरकारी कर्मचारी, राजा, प्रजा, धनी, गरीब आदि सबैलाई समानरूपले मैत्रीपूर्वक उपदेश दिंदै हिँड्नुभएको थियो । आदि कल्याण, मध्य कल्याण र अन्तमा पनि कल्याण हुने बुद्धका उपदेशद्वारा प्रभावित भएर भिक्षु बन्न आएका संघसदस्यहरू र बुद्धका अनुयायीहरू असंख्य थिए । विभिन्न राजाहरू तथा राजनैतिक उच्चपदाधिकारी प्रशासकहरूले पनि बुद्धलाई र बुद्धका धर्मदूत कार्यलाई सहयोग एवं समर्थन गरेका थिए ।

धर्मोपदेश दिंदै क्रमशः भगवान बुद्ध वेसालीबाट वेलुवग्राममा जानुभयो । त्यहाँ भगवानको भौतिक शरीरमा रोग लाग्यो । मरणान्त वेदना भयो । यस कुरालाई बुद्ध उहाँको सेवक भिक्षु आनन्दले स्पष्ट पार्नु भएको छ । आनन्दले भन्नुभयो — “भन्ते ! भगवानलाई रोग भएको देखेर मेरो हंसै उड्यो । मैले दिशा नै छुट्याउन सकिन । धर्म बिर्सेको जस्तो भयो । तर भगवान भिक्षु संघलाई जानकारी नदिई परिनिर्वाण हुनुहुन्न होला भन्ने सोचाइ आएकोले मेरो मनमा अलि धैर्य भयो ।”

बुद्धले भन्नुभयो — “आनन्द ! भिक्षु संघले मसँग के आशा गरेको छ ? मैले भिक्षुहरूलाई भित्री बाहिरी केही बाँकी नराखी धर्मोपदेश गरिसकें । मसँग आचार्यमुष्टि छैन । भिक्षु संघलाई मैले नेतृत्व गरिरहेको छु अथवा भिक्षु संघ मेरो उद्देश्यिक हो भन्ने ममा विचार छैन । मैले केही भन्नुपर्ने छ कि ? म जीर्ण भएँ, बृद्ध, महलक, अध्वगत, वैश प्राप्त भइसकें । पुरानो गाडा जस्तो भएँ ।” त्यसकारण, तिमीहरू अत्तदीप होऊ, सतिपट्ठान ध्यान गर ।

 

 

चापाल चैत्यमा रहँदा बुद्धले तीन महिना पछि परिनिर्वाण हुने पापीमारलाई वचन दिनुभयो र स्मृति सम्प्रज्ञान राखी आफ्नो आयु संस्कार छोड्नुभयो । भगवान महान भिक्षु संघको साथ भोगनगरबाट पावामा जानुभयो । त्यहाँ बुद्धको उपदेश सुनी प्रसन्न भएका चुन्द कम्मारपुत्तको भोजन स्वीकार गर्नुभयो । सूकरमद्दव स्वीकार गर्नुभयो । त्यसपछि उहाँलाई कडा रोग, विरेचन ९मथकभलतभचथ० भयो ।
भिक्षु संघको साथमा भगवान पावाबाट कुसिनारातिर प्रस्थान गर्नुभयो । बाटोमा भगवानले भन्नुभयो — “आनन्द ! तिमीले मलाई चारदोबर संघाटि बिछ्याई देऊ । मलार्ई थकाइ लाग्यो, म बस्छु । आनन्द ! तिमीले मलाई पिउने पानी ल्याइदेऊ । पानीको तृष्णा लाग्यो । पानी पिउने ।” भगवानले ककुधा नदीको पानी पिउनुभयो ।

बुद्धले आफ्नो परिनिर्वाणको समय नजिक आइपुगेको महसुुस गर्नुभयो । कुसिनगरमा मल्ल राजाहरूका शाल उद्यानमा दुई शालवृक्षको बीचमा खुल्ला ठाउँमा देव मनुष्यहरूलाई उपदेश दिंदै ८० वर्षको उमेरमा वैशाखपूणिर्माको दिन भगवान बुद्ध कुसिनारामा महापरिनिर्वाण हुनुभयो ।
(यस लेखमा लेखकले उल्लेख गर्नु भएका फूटनोटहरु हटाइएको छ । –संपादक ।)