“भूतको आराधना गरेर कहीं देउता पाइन्छ ?” गणेशमान सिंह

गणेशमान सिंहमाथि शोध
“भूतको आराधना गरेर कहीं देउता पाइन्छ ?” गणेशमान सिंह

–सूर्य सुवेदी
“नेपालको राजनीति र गणेशमान सिंह” पुस्तक डा. कमला वाग्लेले शोध गरेर तयार गरिएको पुस्तक हो । त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधी (पीएचडी) गर्ने क्रममा गणेशमानसँग उनको राजनीतिक तथा सामाजिक जीवनकालमा अत्यन्तै निकट रहेका व्यक्तिहरूसँग गरेका सूचनामूलक र महत्वपूर्ण अन्तर्वार्ताहरू समेतको माध्यमले गर्दा गणेशमान विषयमा धेरै जीवन्त तथ्यहरू प्रकाशमा आएका छन्
वि.सं. १९७२ साल कार्तिक महिनामा काठमाण्डूको यट्खा टोलखमा जन्मिएका गणेशमान सिंहका बाबुको नाम ज्ञानमान र आमाको नाम सुभद्रा कुमारी हो । बाबु सानैमा मरेका र बाजेको पनि मृत्यु भइसकेकोले गणेशमान आफ्नो जेठाबाजे बडाकाजी रत्नमानको छत्रछायाँमा हुर्किए । गणेशमानको हुर्काई र व्यक्तित्व निर्माणमा उनका जेठाबाजेको ठूलो हात थियो । उनी बाल्यकालमा सामन्ती र दरवारीया परिवेशमा हुर्किए । घरको वैभवपूर्ण स्थिति र आमजनताको चरम गरिबी सानै उमेरदेखि देखे–भोगेका गणेशमान त्यसबाट निसासिएर उकुसमुकुस भएका थिए । सानैदेखि उनलाई यो विभेद मन परेको थिएन र असमानताविरुद्ध सशक्त थिए ।
राजनीतिप्रति चस्का
१. उनी भारतमा पढ्न बस्दा महात्मा गान्धी र भारतीय स्वतन्त्रता संग्रामकै सिलसिलामा भारतीय नेताहरूले गरेको जोशिलो भाषणबाट आफ्नो देशमा केही गर्न उनलाई प्रेरित गरायो ।
२. भारतमा पढ्न बस्दा नै उनको शुक्रराज शास्त्रीसँग भेट हुन गयो । शास्त्रीजीका ओजदार तर्कपूर्ण व्याख्याबाट सिंह निकै प्रभावित भए । शास्त्रीजीसँग गणेशमानको आत्मीयता बढ्नुको कारण नेपालको राजनीतिक, आर्थिक, धार्मिक, सामाजिक चिन्तनलाई लिएर यी दुईको मत एकै हुनु थियो ।
३. गंगालाल श्रेष्ठ गणेशमानका बाल्यकालका साथी थिए । गंगालाल र सिंहको स्वभाव पनि मिल्दथ्यो ।
गणेशमान सिंह आफै राजनीतिक दल खोल्ने विचारमा थिए । तर साथी गंगालालको सल्लाह अनुसार नयाँ दल खोलेर संचालन गर्नका लागि पैसा, संगठन र मद्धतको आवश्यकता पर्ने भएकोले बरु
खुलिसकेको राजनीतिक दलमा संलग्न भई सोही संगठनको माध्यमबाट राजनीति ग¥यो भने छिटो उद्धेश्य पूरा हुने बिचारलाई मानेर गणेशमान र गंगालाल नेपाल प्रजापरिषदको सदस्य बनेका थिए ।
१९९७ साल आषाढ ९ गते भोटो देखाउने जात्राको दिन धेरै मानिस जम्मा हुने, जुवा समेत फुक्ने भएकोले त्यही दिन छानेर नेपाल प्रजा परिषद्ले पहिलो पर्चा छरेको थियो । त्यसपछि यी दुई निरंकुश राणाशासन विरोधी युवाहरू प्रजापरिषद्को खोजीमा लागेका थिए ।
नेपालकै त्यो पहिलो राजनीतिक पर्चामा राणाशासनले गरेको राजनीतिक र आर्थिक शोषणको पर्दाफास गरिएको थियो । उक्त पर्चामा राणा शासनबाट जनतालाई मुक्त गराई छाड्ने प्रतिबद्धता पनि व्यक्त गरिएको थियो ।
अर्को पर्चा असार ३० गते छरिएको थियो । सो पर्चामा “भूतको आराधना गरेर देउता पाउन सकिन्न” भन्ने व्यहोरा उल्लेख थियो । नेपाल प्रजापरिषद् खोज्दै हिँडेका गंगालाल र गणेशमान सिंहले सो पर्चा फेला पारे ।
१९९७ साल साउन ११ गते राणा सरकारले प्रजापरिषद्का सदस्यलाई पक्डिन सक्ने व्यक्तिलाई रु.५०००।– नगद इनाम तोकी गोरखापत्रमा सूचना छाप्यो । धर्मभक्त माथेमाको घरमा गंगालाल र गणेशमान सिंह कुस्ती सिक्न जान्थे ।
धर्मभक्तसँग गणेशमान र गंगालालले पर्चा विषयमा चाखसँग कुराकानी गर्थे । उनीहरूको भावना बुझेका धर्मभक्तले यी दुवैलाई पार्टी सदस्यता दिलाए ।
तर गणेशमानका जेठाबाजे रत्नमान राणाका भारदार भएकोले गणेशमानलाई सदस्यता दिने कि नदिने भनेर पार्टीभित्र ठूलो छलफल भएको थियो ।
यी दुवैजनालाई धर्मभक्तले बिजेश्वरी मन्दिरमा लगेर भगवतीको पाउ छुवाएर रगतको सहीछाप गराएर सपथ खुवाएका थिए । सो कबुलियत पत्रमा “आजदेखि हामी ज्यूज्यान दिएर नेपाल प्रजापरिषद्लाई मजबुत पार्छौ र सास छउन्जेल धोका दिने छैनौं” भन्ने थियो । (पेज७÷८) (माथवर सिंह बस्नेतले गणेशमानसँग लिएको मेरो कथाका पानाहरूबाट उधृत)
१९९७ साल भदौ २४ गते अर्को पर्चाबाजी भयो । गणेशमान पनि सो पर्चाबाजीमा संलग्न भए । पण्डित मुरलीधर भट्टराई (कवि ईश्वरबल्लभका बुबा) र शुक्रराज शास्त्रीका भाइ रामजी जोशीले पैसाको लोभले कार्यक्रमको पोल खोले ।
भाग्नुभन्दा गिरफ्तार दिनु राम्रो भन्ने गणेशमानले भनेकोले गंगालाल र गणेशमान भागेनन् । दुवै गिरफ्तार भए ।
गंगालाल शहीद भए ।
गणेशमानलाई यो कुराको सधैं पछुतो रह्यो ।
गणेशमानको जीवनलाई नै बदलीदिने सबैभन्दा ठूलो मोड नेपाल प्रजापरिषद्को सदस्यता लिनु, राणाको विरोधमा १९९७ साल भाद्र २४ गते पर्चा छर्न संलग्न हुनु जस्ता घटना थिए ।
बयानको क्रममा नरशमशेरले गणेशमानलाई अपमानजनक ढङ्गले मुक्का हानेका थिए । तर गणेशमान डेग चलेनन् । उनलाई पिट्ने, हप्काउने, फकाउने र प्रलोभन दिने काम निरन्तर भइरह्यो ।
गणेशमान टंकप्रसाद आचार्यलाई साक्षात देवता नै मान्दथे । श्री ३ महाराजसँग अलिकति पनि नडराई कुरा गरेको सुन्दा आचार्यको बौद्धिकता र साहसिक व्यक्तित्वबाट सिंह प्रभावित भए । (होरा प्रसाद जोशीसँग २०५९।२।१२ मा लिएको अन्तरवार्ता, पृष्ठ १२)
मृत्युदण्डको सजाय पाउने निश्चित भएपछि गंगालालले गणेशमान सिंहलाई “आफ्नो रगत खेर नफालुन् भनि उनले सिंहलाई अन्तिम भेटमा कबुल गराए ।” यसै सन्दर्भमा गणेशमान सिंह भन्छन्, त्यहीबेला दशरथ चन्दले म तिर हेरी भने, ‘लाछी, कहीं रोएर र आँशु बहाएर हामीप्रति सहानुभूति दर्शाइन्छ ? साँच्ची नै हामीप्रति सहानुभूति दर्शाउने हो भने जुन उद्देश्यको लागि हामी चाँडै शहीद हुन लागेका छौं, त्यो हामीले छोडेर जान लागेको सानो आदर्शलाई पूरा गरेस् । यही हाम्रो निम्ति ठूलो श्रद्धाञ्जली हुनेछ ।”
धर्मभक्त माथेमाले अन्तिममा भनेका थिए “हेर गणेशमान, हामीले चाहेर पनि देशको लागि जति कुर्बानी गर्ने विचार गरेका थियौं, त्यो गर्न पाएनौं । जे होस् मातृभूमिको निम्ति केही गर्न नसके पनि आवश्यक परेको खण्डमा मातृभूमिको चरणमा आफ्नो ज्यान समेत कसरी अर्पण गर्नुपर्छ भन्ने बाटो त भविष्यमा हाम्रो अनुशरण गर्ने देशका सपुतहरूका निम्ति उदाहरण बन्न सक्छ ।”
नेपाल प्रजापरिषद्को संलग्नतादेखि जेलबाट भागेर नेपाली काँग्रेस गठन गर्न गणेशमान सिंहले खेलेको भूमिका ऐतिहासिक महत्वका छन् ।
जेलमा अनेक उपाय गरी गणेशमान फलामको एउटा आङकुसे र पटुकाको डोरीमा गाँठो पारी २००१ साल असार ७ गते १२ फुट अग्लो पर्खाल नाघी जेलबाट उम्कन सफल भए । भारतको सिक्किम लगायत विभिन्न ठाउँमा कृष्णबहादुर प्रधानको छद्म नाममा सिंह कहिले दार्जिलिङ, कहिले कलकत्ता, कहिले बनारस पुगे ।
उनको एउटै ध्यान थियो, राजनीतिक संगठन बढाउदै प्रभावकारी बनाउनु र निरंकुश राणाशाहीलाई समाप्त गर्नु नै थियो ।
ईश्वर बराल र डा. डिल्लीरमण रेग्मीसँगको भेट होस् वा भारतमा पढ्न बसेका विद्यार्थी सबैसँग सिंह नेपाल प्रजापरिषद्लाई नै पुनर्जीवित गर्ने विषयमा सधै जोड दिन्थे ।
डा. रेग्मीका अनुसार “काँग्रेसको कलकत्ता अधिवेशन उनकै अगुवाईमा भएको हो ।”(पृष्ठ २४ डा. रेग्मीसँग लेखिकाले २०५८।३।८ मा लिएको अन्तर्वार्ता)
देवशंकरलाल श्रेष्ठले सिंह र बीपीलाई कलकत्तामा पहिलो पटक भेट गराए । यी दुई हस्तीहरूले एक अर्काको महत्व बुझे र जीवन पर्यन्त एकसाथ रहिरहे ।
अखिल भारतीय नेपाली राष्ट्रिय काँग्रेस दलको स्थापना २००३ साल कार्तिक १५ गते बनारसमा भएको थियो । बीपीको भारतीय पत्रिकामा प्रकाशित अपीलबाट प्रभावित भएका विद्यार्थीहरूले श्री ३ चन्द्रशमशेरको पालादेखि भारतमा निर्वासित देवीप्रसाद सापकोटालाई पार्टीको प्रथम अध्यक्ष बन्न सहमत गराइछाडे ।
२००३ साल माघ १२ र १३ गते कलकत्तास्थित खाल्सा होटलमा राष्ट्रिय काँग्रेस दलको अधिवेशन भयो । यो राजनीतिक भेलामा गणेशमानको उपस्थिति महत्वपूर्ण थियो ।
नेपाल प्रजातन्त्र संघले गणेशमान र सूर्यबहादुर भारद्वाजलाई सो पार्टीमा भाग लिन खटाएको थियो । पार्टीको नाममा अखिल भारतीय काँग्रेस राखेकोमा सिंहले विरोध जनाए । गणेशमानले सो पार्टीको नाम नै प्रजापरिषद् राख्न जोड गरिरहे तर यो एजेण्डा पास हुनसकेन । (पृष्ठ २५÷२६)
सिंहले पार्टीको पहिलो अध्यक्ष टंकप्रसाद आचार्यलाई बनाउन प्रस्ताव गरे । जेपालको झ्यालखानामा रहेका टंकप्रसादलाई दलको पहिलो अध्यक्ष बनाइयो पनि । बीपी कार्यवाहक अध्यक्ष बने । पार्टीको नाम राष्ट्रिय काँग्रेस राखियो ।
२००१ साल असार ७ गते जेलबाट भागेका गणेशमान सिंह समेतको संलग्नतामा २००३ साल माघमा कलकत्तामा राष्ट्रिय काँग्रेस गठन हुनुले राणाशाही हटाउने अर्को महत्वपूर्ण चरण शुरू भयो । नेपाल प्रजापरिषद्देखि राष्ट्रिय काँग्रेसको गठनसम्मको अभियानले सिंहलाई विद्रोही राजनीतिको पर्याय बनायो । प्रजापरिषद् हुँदै २००७ सालको क्रान्तिसम्म आई पुग्दा गणेशमानको राजनीतिक जीवन निकै परिपक्क भैसकेको थियो ।
भारतीय नेताहरूको लगातारको दबाव र सशक्त, दह्रो तथा ब्यापक जनाधारको राजनीतिक संगठनको खाँचोले नेपाली राष्ट्रिय काँग्रेस र प्रजातान्त्रिक काँग्रेसबीच मेलमिलाप गर्नुपर्ने माग हुन थाल्यो । एउटै उद्धेश्य भएका दुइ संगठन भन्दा दुबैलाई एउटै बनाउन सके त्यो बढी प्रभावकारी हुने निश्चित थियो तर शुरुमा राणाका सन्तान र भायभारदारहरू रहेको प्रजातान्त्रिक काँग्रेस भएकोले त्यससंग राष्ट्रिय काँग्रेससँग मिल्न हुन्न भन्ने बिचारका थिए गणेशमान ।
नेपाली राष्ट्रिय काँग्रेसको राष्ट्रिय र नेपाल प्रजातान्त्रिक काँग्रेसको नेपाललाई नेपाली गरी प्रजातान्त्रिक शब्द झिकेर एकीकृत पार्टीको नाम नेपाली काँग्रेस राखियो ।
पार्टी एकीकरणमा सिंहले अहम भूमिका निर्वाह गरे ।
बहुदलीय व्यवस्था स्थापना, सार्वभौमसत्ता नेपाली जनतामा हुने, स्वतन्त्र परराष्ट्रनीति, संवैधानिक राजतन्त्र र श्री ५ को नायकत्व स्वीकार्ने कुरालाई आधार बनाएर पार्टीको घोषणापत्र तयार गर्ने तय भयो ।
००७ को क्रान्ति
२००७ सालको क्रान्तिको सफलतापछि गणेशमान सिंह मन्त्री बने । २०१५ सालको आमचुनावमा काठमाण्डूबाट कम्युनिष्ट पार्टीका पुष्पलाल श्रेष्ठलाई हराई निर्वाचित भए । ०१६ सालमा उनी बीपी कोइराला सरकारमा १८ महिना मन्त्री रहे ।
राजा महेन्द्रले सरकार गठन भएको अठार महिनामा नै सरकार र संसद् भङ्ग गरेपछिको कठोर जेलजीवन, जेल भित्रको गणेशमानको अनुशासित जीवन महत्वपूर्ण र ऐतिहासिक छन् ।
पुस्तकले गणेशमानको समग्र राजनीतिक व्यक्तित्वलाई विस्तारपूर्वक उजागर गरेको छ ।
नेपाली काँग्रेसका कार्यवाहक अध्यक्ष सुवर्ण शमशेरको राजालाई सहयोग गर्ने फर्मुलाबाट २०२५ सालमा बीपी र गणेशमानसँगै छुटे । भारतमा निर्वासित जीवन विताउन पुगे । वनारसमा बसेर राजाविरुद्ध सशस्त्र क्रान्तिको अगुवाई गरे ।
२०३३ साल पुस १६ मा बीपी राष्ट्रिय मेलमिलाप भनेर नेपाल फर्कदा गणेशमान पनि संगै थिए । दुबैलाई सुन्दरीलमा थुनियो आदि सिंहको जीवनका ठूला चुनौती हुन् ।
२०३६ मा राजाले जनमत संग्रहको घोषणा गरे । जनमतमा धाँधली भयो । राजाको पञ्चायती शासन झन् जालझेलमा लाग्यो ।
सिंहले प्रजातन्त्र प्राप्तिको संघर्षमा आफ्नो राजनीतिक नेतृत्वको पटक–पटक परिक्षण गरे । सिंह र बीपी २०३३ साल पुस १६ गते नेपाल छिर्नु अघि पनि काँग्रेसले हवाई जहाज अपहरण, ओखलढुङ्गा काण्ड आदि परिक्षण गरिसकेको थियो ।
२०३९ सालमा बीपीको मृत्युपछि सिंहमाथि नेतृत्वको जिम्मेदारी थपियो । उनलाई पार्टीको सर्वोच्च नेता भन्न थालियो । पार्टी सभापति कृष्णप्रसाद भट्टराई थिए । गणेशमानको अगुवाईमा पार्टीले नयाँ दिशा पहिल्यायो ।
पंचायती शासनविरुद्ध ०४२ साल जेठको सत्याग्रहले देशको राजनीतिक गतिविधिमा सशक्तता ल्यायो । तर असार छ गतेको बम काण्डले सत्याग्रहलाई विथोल्यो । सत्र सालमा प्रतिवन्ध लागेको काँग्रेस पार्टीको संगठनलाई सत्याग्रहले पुनर्जीवन दियो तर तत्काल राजनीतिमा काँग्रेसलाई प्रत्यक्ष फाइदा भएको देखिएन ।
०४२ सालको सत्याग्रहमा सिंहले कम्युनिष्टहरूसँग मोर्चा बनाउन मानेनन् । तर सत्याग्रहमा ब्यापक संगठन परिचालन र नेता कार्यकर्ताको सहभागीता तथा काँग्रेसको देशव्यापी फैलावटलाई बमकाण्डले विथोल्यो । यसपछि गणेशमान र कृष्णप्रसाद भट्टराईले देशमा प्रजातन्त्र पुनस्र्थापना चाहने सबै राजनीतिक शक्तिसँग कार्यगत एकताका लागि प्रस्ताव अघि सारे । कम्युनिष्ट नेता मनमोहन अधिकारी र विष्णुबहादुर मानन्धरले आन्दोलनको प्रस्ताव स्वीकारे । उसो त ०४२को सत्याग्रहमा पनि यी नेताहरु आफ्ना संगठनका भिन्नै कार्यक्रम तर प्रजातन्त्रस्थापनाको एउटै उद्धेश्यका लागि अगाडि बढाएकाकारण गिरफ्तार भएका थिए ।
फुटाउ र शासन गर भन्ने सिद्धान्त अनुसार ०१७ सालदेखि निरंकुश शासन चलाई रहेका राजामाथि प्रजातन्त्र पुनस्र्थापनागर्न सत्याग्रहले काँग्रेसलाई दुईवटा कुरा सिकायो–
(१) कम्युनिष्ट र काँग्रेस मिलेर आन्दोलन गरे सफल हुन सकिने
(२) पञ्चायतविरुद्ध संयुक्त आन्दोलन सफल हुन सक्ने ।
नेपालमाथि भारतीय नाकाबन्दी
२०४५ साल जेठ १० गते नेपाल तथा भारतबीचको व्यापार तथा पारवाहन सम्झौताको म्याद सकिंदै थियो । सो सम्झौता नविकरण नहुने सूचना भारतले नेपाललाई दियो । बीपीको ७६ औं जन्मजयन्तीको अवसरमा साउनको पहिलो साता काँग्रेसले सप्ताहव्यापी जनजागरण अभियान शुरु ग¥यो । सो समारोहको अध्यक्षता गणेशमान सिंह स्वयमले गरेका थिए । नेपाल–भारत सम्बन्ध बिग्रनुमा पञ्च सरकारलाई काँग्रेसले दोषी ठह¥यायो । (पेज १०१)
२०४२ सालको सत्याग्रहमा कम्युनिष्टसँग छुट्टै बसेर सहकार्य गरेका सिंहले ०४५-०४६ सालको आन्दोलनमा कम्युनिष्टहरूसँग मिलेर अगाडि बढ्ने नीति अख्तियार गरे । काँग्रेस आन्दोलनमा होमियो ।
विभिन्न गुटमा बाँडिएका ७ कम्युनिष्ट घटकले पनि बाममोर्चा बनाए । पञ्चायत र निरंकुश राजतन्त्र विरुद्धको संघर्ष गर्ने मिति २०४६ फागुन ७ गते तय भयो । बीपीभन्दा गणेशमान यस अर्थमा नीतिगत रूपमै फरक देखिए ।
बीपीले कम्युनिष्टसँग कहिल्यै एकता गरेनन् । तर सर्वोच्च नेता गणेशमान र सभापति कृष्णप्रसाद भट्टराई कम्युनिष्टसंग मिलेर देशमा प्रजातन्त्रको पुनस्र्थापनागर्न कटिबद्ध बने । गणेशमान सिंहको निवास चाक्सीवारी, क्षेत्रपाटीमा काँग्रेसले माघ महिनामा एक सार्वजनिक कार्यक्रम आयोजना ग¥यो । कार्यक्रममा भारतका नेताहरु (चन्द्रशेखर लगायत) र नेपालका कम्युनिष्ट तथा बामपन्थी मोर्चाको तर्फबाट मनमोहन अधिकारीले भाषण गरेर ऐक्यवद्धता जनाए ।
“सिंहको नेतृत्वमा आन्दोलन हुन लागेकोले हामीले आन्दोलमा साथ दिएका हौं” (आर के मैनाली– लेखिकासँगको २०६१।६।११ को वार्ताको अंश (पेज १०८)
२०४६ साल फागुन ७ गते गणेशमान सिंहको नेतृत्वमा शुरू भएको जनआन्दोलन २०४६ साल चैत्र २६ गते प्रजातन्त्र स्थापना गर्न राजा बाध्य बनेपछि सकियो । देशमा बहुदलीय व्यवस्था शुरु भएको घोषणा राजा वीरेन्द्रले गरे । दलहरुमाथि तीस वर्षदेखि लागेको प्रतिबन्ध फुक्यो ।
खासमा २९ वर्ष २ महिना २५ दिनपछि देशमा सफलतापूर्वक प्रजातन्त्र पुर्नबहाली भयो । सिङ्गो जनआन्दोलन काँग्रेस र कम्युनिष्टको सहमार्यमा सम्पन्न भएको थियो तर जनआन्दोलनका सर्वसम्मत कमाण्डर थिए– गणेशमान सिंह !
प्रधानमन्त्री पद अस्वीकार
मुलुकमा बहुदलीय प्रजातन्त्र स्थापना पश्चात् राजा वीरेन्द्रले गणेमान सिंहलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरे । तर राजाको पटक–पटकको प्रस्ताव अस्वीकार गरी आफू गणेशमान सिंह हुनुको मूत्य र मान्यता स्थापित गरे । भारतका महात्मा गान्धी र जयप्रकाश नारायण, दक्षिण अफ्रिकाका नेल्सन मण्डेलाको कोटीमा सिंहले आफूलाई उभ्याए ।
यो पुस्तकमा ५ अध्याय छन् । अध्याय १ मा प्रजातन्त्र र गणेशमान सिंह, अध्याय २ मा राष्ट्रियता र गणेशमान सिंह, अध्याय ३ मा समाजवाद र गणेशमान सिंह, अध्याय ४ मा संसद् सम्बन्धमा गणेशमान सिंहको विचार र अध्याय ५ मा राजनीतिक दलको सम्बन्धमा गणेशमान सिंह छन् ।
गणेशमान सिंहसँग जीवनभर निकट रहेका व्यक्तिका उनीवारेका अभिव्यक्ति मन छुने छन् । गणेशमान सम्बन्धमा प्रकाशित पुस्तक, लेख–रचना समेत खोजवीन गर्दै संकलित थुप्रै सूचनाले गर्दा पुस्तक पठनीय मात्र होइन, संग्रहणीय नै छ ।
पुस्तकमा ऐतिहासिक महत्वका तस्विरहरु पनि छन् ।
०७४ जेठमा बजारमा आएको यो पुस्तकको छपाई र डिजाइन भने आकर्षक छैन तर विषयवस्तु उत्कृष्ट छ ।
