‘भिक्षाम् देही’ जुम्ल्याहा ‘टेष्टट्युब’ वटुकहरुको ब्रतबन्ध

—बद्री पौड्याल

 

‘आइभीएफ’ (इन–भिट्रो फर्टिलाइजेसन) प्रविधिबाट काठमाडौंको ओम अस्पतालमा १२ वर्षअघि नेपालमा पहिलो पल्ट जन्मिएका जुम्ल्याहा ‘टेष्टट्युब’ बालकहरु युगोत्तम कोइराला र युगेश्वर कोइरालाले भरखरै ब्रतबन्ध गरेका छन् । यसले उनीहरुलाई रमाइलोका साथै बच्चाबाट अलि ठूलो हुनुपरेकोमा केही नरमाइलो पनि बनाएको रहेछ ।

हिन्दुधर्ममा ब्रतबन्ध

हिन्दु मान्यताअनुसार मानिसले जीवनमा चार ‘पुरुषार्थ’ अर्थात् लक्ष पूरा गर्नुपर्छ– धर्म (duty), अर्थ (economy), काम (entertainment) र मोक्ष (liberation)  यी लक्ष ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ र सन्यास चार आश्रम भएर प्राप्त गर्न सकिन्छ । ब्रम्हचर्य आश्रम वाल्यावस्थापछि गुरुकुलमा बसेर गरिने अध्ययनको अवधि हो भने ब्रतबन्ध गुरुकुलमा गएदेखि दीक्षित भएर घर नफर्किउञ्जेलसम्म पालना गरिने संस्कार ।

हाम्रो समाजमा ब्रतबन्धलाई यसरी लिने चलन पाँचौं–छैठौं शताब्दीसम्म पनि चलेको थियो । तर त्यतिबेला ब्रम्हचर्य आश्रममा रहँदाका १०–१५ वर्षमा बटुकहरुले ब्रतबन्धको नाममा गर्नुपर्ने विधिहरु अहिले एक–दुई दिन भित्रै गरिसक्छन् ।

गुरुकुलमा बस्दा–पढ्दा शीष्यहरुले हरेक दिन भिक्षा माग्नु पथ्र्यो । यो उनीहरुको पढाइ र जीवनयापनका साथै गुरु सेवाका लागि आवश्यक खर्चबर्च जुटाउन गरिन्थ्यो । यसले सबै शीष्यहरुलाई आ–आफ्नो अहम् पन्छाएर समान हैसियतमा पनि ल्याउँथ्यो । युगोत्तम र युगेश्वरले पनि केही बेर जोगीको भेष धारण गरेर ‘भिक्षाम् देही’ भन्दै भिक्षा मागे ।

उहिले गुरुकुलबाट दीक्षित भएर घर फर्किने बेला मामाले लिन जाने चलन थियो भने अहिले वटुकहरु केही समय भाग्छन् र मामाले भेट्टाएर ल्याउनुपर्छ । शायद रमाइलोको लागि थपिएको होला, भेट्न नसके मामाले भाञ्जाका कैयौं फर्माइस पूरा गर्नुपर्दछ ।

ब्रतबन्धको रमाइलो

ब्रतबन्धका बेला दुवै भाइलाई सबैभन्दा अनौठो र रमाइलो चाहिं केही विधिहरु छुट्टाछुट्टै सकेर भेट हुँदा लागेको थियो । “त्यसबेला हामी एकअर्काको चिण्डे टाउको देखेर दंग परेका थियौं,” दुवैले एकै स्वरमा भने ।
ब्रतबन्धपछिको अनुभव कस्तो छ त ? युगोत्तम थप्छन्, “के के गर्न हुने, के के गर्न नहुने भन्ने नियमहरु छन् । यसले हामीलाई धेरै कुरामा अनुशासित हुन सहयोग पु¥याउँदो रहेछ । ब्रतबन्ध गरेर एक्कासि ठूलो पनि भइएछ जस्तो लाग्यो । हजुरआमाले अब तिमीहरुको विहे गर्दिने बेला भयो भनेर जिस्क्याइरहनु हुन्छ । कहिलेकाहिँ त बरु सानै रहिरहन पाएको भए हुन्थ्यो जस्तो पनि लाग्छ ।”

ब्रतबन्धपछिका दैनिक आचरण, विधिव्यवहार, नियम–बन्धनलाई आजका बालबच्चाहरुले अक्षरशः पालना गर्न सक्लान्–नसक्लान्, आफ्नो ठाउँमा छ । तर यो संस्कारको मूल मर्म भनेको शिक्षा–दीक्षा नै हो । गुरुकुलमा उनीहरु वेद र जीवनमा उपयोगी हुने अरु धेरै कुराहरु पढ्थे, सिक्थे । हिजोआज गुरुकुल त विरलै भेटिन्छन्, तर घरै वा छात्रावासमा बसेर विद्यालयमा आधुनिक शिक्षा त प्रायः सबै बालबच्चाहरुले लिइरहेकै हुन्छन् ।

जन्मदै ख्याती

डा. सुशील कोइराला र कुमुदिनी कोइरालाका छोरा युगोत्तम र युगेश्वर जन्मिदै एक प्रकारको प्रख्याति लिएर आएका थिए, आइभीएफ प्रविधिबाट नेपालमा जन्मिने पहिलो जुम्ल्याहा बच्चा भएर । नेपालमा जन्मिएको पहिलो ‘टेष्टट्युब’ बच्चा चाहिं उनीहरुभन्दा एकदिन जेठा ओममणि थिए (राजेन्द्र स्याङ्बो र सन्ध्या तामाङका छोरा) ।

जन्मिए लगत्तै उनीहरु पत्रपत्रिका र अन्य सञ्चारमाध्यममा छाए । र, अहिले पनि बेलाबेलामा मानिसहरु ‘यिनीहरु त टेष्टट्युब बच्चा रे’ भनेर हेर्न, बोल्न आउँछन्, अटोग्राफ माग्छन् ।

सामान्यभन्दा अलि फरक प्रकृतिबाट जन्मिएका भए पनि उनीहरुले विद्यालयका साथी–शिक्षक, आफन्त, छरछिमेक कतैबाट कहिल्यै अप्ठ्यारो मान्नुपरेन । “अरुले टेष्टट्युब बच्चा भन्दा लाज लाग्ने, अप्ठ्यारो लाग्ने कहिल्यै भएन । कसैले हामीलाई हेपेर त्यसो भनेका पनि छैनन् । बरु हामीलाई गर्व छ, टेष्टट्युब बेबी हुन पाएकोमा । फेरि हामी अरु बच्चाभन्दा के नै फरक छौं र”, युगेश्वर भन्छन् ।

सँगसँगै तीन पुस्ता

हो, उनीहरु अरुजस्तै सामान्य बच्चा हुन् । घर, परिवार, आफन्त र साथीभाइहरुबाट पाउनुपर्ने माया, ममता, स्नेह र सहयोग उनीहरुले आफ्नो घर, छरछिमेक, विद्यालय सबैतिर पाइरहेका छन् । धेरै घरपरिवारका बच्चाहरुले नपाउने हजुरबुबा–हजुरआमाको साथ समेत उनीहरुलाई प्राप्त छ ।
युगोत्तम र युगेश्वरको घरमा जस्तो तीन पुस्ता सँगै बसेको उदाहरण हिजोआज शहर–बजारका धेरै घरमा भेटिंदैन, गाउँघरमा पनि भेटिन छोडिसक्यो । उनीहरुको घरमा बेलाबखत तीनपुस्ता सँगै बसेको घरको परिवेश हेर्न, अध्ययन गर्न भनेर विभिन्न संघसंस्थाबाट मानिसहरु आउँदा रहेछन्, विभिन्न विद्यालय, बालघरहरुबाट बच्चाहरु ल्याइँदा रहेछन् ।

पढाइ–लेखाइ शैली

युगोत्तम र युगेश्वर दुवै भाइ काठमाडौं, मण्डिखाटारस्थित काष्ठमण्डप विद्यालयमा कक्षा ७ मा पढछन् । कक्षा एउटै भए पनि सेक्सन चाहिं फरक छ– दाजुको ‘ए’ र भाइको ‘बी’ । उनीहरु कक्षाका उत्कृष्ट विद्यार्थीमा पर्दछन् । अंक पनि १–२ भन्दा फरक हुँदैन, अझ कहिलेकाहिं त बराबर नै हुन्छ ।

उनीहरुको पढ्ने बानी पनि आफ्नै किसिमको छ । गृहकार्य होस् वा पढाइसँग सम्बन्धित अरु कुनै समस्या, पहिले दुवै भाइ के गर्ने भनेर प्रशस्त छलफल गर्छन् अनि एउटा निर्णयमा पुगेर लेख्न बस्छन् । लेखेपछि चाहिं शिक्षकले हेरेर टिप्पणी सहित फिर्ता दिएपछि मात्र एकअर्कालाई देखाउँछन् ।

परीक्षाको तयारी गर्ने तरिका त झन् रोचक छ– आफैं एकले अर्कोको जाँच लिने । एकले अर्कोको लागि कडा–कडा प्रश्न राखेर प्रश्नपत्र बनाउने, जाँच लिने–दिने र कापी जाँच्ने । बाबु सुशील भन्छन्, “यस्तो अभ्यासले होला उनीहरुको नतीजा जहिले पनि राम्रो आउने गरेको छ । शिक्षकहरु पनि कक्षामा आउने हरेक नयाँ प्रसङ्गमा उनीहरुको पहिले नै धारणा बनिसकेको हुने बताउँछन् ।”

घरमा बाबु, आमा, हजुरबा, हजुरआमा वा अरु कसैको जन्मदिन होस् वा अरु कुनै अवसर, हरेकमा केही लेखेर शुभकामना दिने उनीहरुको बानी छ । “केही लेख्न थालेपछि एउटै बसाइमा सिद्ध्याउँछन् । उनीहरुको पहिलो लेखाइ नै अन्तिम हुन्छ, त्यति गल्ति गर्दैनन्,” नातिहरुको बानी सम्झिंदै हजुरबुबा धर्मनाथ कोइरालाले सुनाए ।

भिन्न स्वभाव

जुम्ल्याए भए पनि उनीहरुको हरेक स्वभाव एकैनासको छैन । भाइ युगेश्वर खाली नबस्ने, केही न केही गरिरहने चुलबुले स्वभावका छन् भने दाइ युगोत्तम अलि गम्भीर, दृढ र शान्त । दाजुभाइको कुनै विषयमा कुरा मिलेन भने मिल्नै नसक्ने विवाद पनि हुन्छ, झगडा पनि पर्छ ।

“एकैछिन अघि खाजा के खाने भनेर ठूलै विवाद भएको र भोट नै गरेर सुल्झाउनु परेको थियो,” आमा कुमुदिनी भन्छिन्, “भोट गर्दा रारा खाने भन्नेले जित्यौं र त्यही अनुसार खाजा बन्यो । तर दाजु चाहिंले हारे पनि रारा खाएन र आफू एक्लैले छुट्टै पकाएर वाइ वाइ खायो ।”

युगोत्तमलाई पकाउन बढी सोख पनि रहेछ । युट्युब हेरेर सिक्ने र मोमो, पिज्जा, पाष्टा, नुडल्स जस्ता खानेकुरा बनाउने । तर उनलाई नेपाली खाना चाहिं पकाउन पनि मन लाग्दैन र आफूले पकाएको त्यति मीठो पनि लाग्दैन रे । पकाउन अलिअलि त युगेश्वरलाई पनि मन लाग्छ, तर त्यो भन्दा बढी उनी चित्र बनाउन मन पराउँछन् । त्यसबाहेक पढ्न पनि रुचि छ । उनले ह्यारी पोर्टरका सातवटै श्रृङ्खला तीन महिनामा पढेर सिद्ध्याएका रहेछन् ।

युगोत्तम र युगेश्वरलाई सँगसँगै हुर्किंदै बढ्दै गएको देखिरहेका बाबु–आमा, हजुरबा–हजुरआमालाई एउटा कुराको चाहिं निकै चिन्ता रहेछ– “साह्रै सोझा र इमान्दार छन् । बाहिरी दुनियाँलाई पनि आफूजस्तै ठानिदेलान् र सामना गर्न नसक्लान् कि भन्ने लाग्छ ।”