सुनको थालको हाल–बेहाल

 

मधेसमा कुन खाले गरिबी छ ? किन पछाडि पर्यो मधेस ? मधेसका राजनीतिक अभियन्ताहरुले यहाँको गरिबीको यथार्थ तस्वीर हेरेका छन् ?

 

मधेसमा कुन खाले गरिबी छ ? किन पछाडि पर्यो मधेस ? मधेसका राजनीतिक अभियन्ताहरुले त्यहाँको गरिबीको यथार्थ तस्वीर हेरेका छन् त ? कुनै पनि नेतालाई सोध्नुस, तपाईले अहिलेसम्म देखेकामध्ये चरम गरिबी भोगेको मान्छेको चित्रण गर्नुस उनलाई पक्कै गाह्रो होला ?

 

के सपनाको राजनीति गर्नेहरुले समृद्ध मधेसको सुन्दर तस्वीर पस्किन सक्छन् ? मधेसको सन्दर्भमा गरिबीलाई कुन रुपमा परिभाषित गर्ने ? यस्ता प्रश्नहरु अहिले उपेक्षा गरिएपनि लामो समय सम्म इनकार गर्न सकिदैन । नेपालको भविष्य मधेसको भविष्यसंग फुकाउन नसकिनेगरी गाँसिएको छ, मधेसमा गरिबी समाप्त नभईकन नेपाल समृद्ध हुन सक्दैन । तर त्यो भन्दा पहिला गरिबीमा रहेको मधेसको सामाजिक, सांस्कृतिक र राजनीतिक जटिलता बुझ्न जरुरी छ । मधेसको द्वन्द निम्त्याउन सक्ने त्यहाँको सामाजिक र आर्थिक विपन्न संरचना र त्यसले खडा गरेको सामाजिक–आर्थिक सीमान्तीकरणको अस्तित्वलाई ठम्याउन आवश्यक छ ।

 

पहाड, सीमावर्ती भारतीय राज्य र मधेस

 

मधेस र सीमावर्तीय भारतीय राज्यको माझ जटिल सम्वन्ध रहेको छ । कतिपय मधेसी बुद्धिजिवीहरुले नै भन्ने गर्छन, हामी भारतको उत्तरी कमजोर राज्यहरुसंग नटाँसिएर दक्षिणी उन्नत राज्यहरुसंग जोडिएको भए के हुन्थ्यो ? त्यसैगरी पहाड र मधेस वीचको आर्थिक सम्वन्ध र प्रकृयाहरुका वारेमा पनि कुरा घचघचाउने गरिएको छ ।

 

नेपालभित्रको यी दुई अभिन्न भूगोल पहाड र मधेस प्रादेशिक संरचनामा जो जहाँ परेपनि नेपाली सन्दर्भमा यो दुई भुगोल आफैमा दुई अर्थतन्त्रको उद्गम पनि हो । यी दुई माझको आर्थिक अन्तरक्रिया कसरी निर्वाह भई रहेको छ त्यसले पनि यी दुवै क्षेत्रको अर्थतन्त्रलाई प्रतिविम्बित गर्छ । मूल पक्ष के हो भने गरिबीमा रहेको मधेसवारे खुला र फराकिलो विमर्श नै भएको छैन ।

 

मधेस भित्र र पहाडतिरको विकासमा भएको असमानता वा अहिले आएर सीमावारी र सीमापारिको विकासमा भएको असमानताले गर्दा गरिबी व्यवस्थापनमा के कस्ता रिक्तता र अवसरहरु निर्माण भएको छ ?
सधैं यो मुद्दा ओझेल पर्दै आएकोछ । कसैले बोल्यो भने मधेसी कोणवाट भनिन्छ, यो सही समय होइन, राज्य र मधेस वीच सम्वन्ध परिभाषित भएपछि हामी आफै यसको व्यवस्थापन गर्छौ ।

 

मधेसको कोणवाट नेपाली राज्यको वर्तमान भूगोल प्राप्त भए देखिनै मधेसलाई मौजाको रुपमा हेर्दै र उपयोग गर्दै आइयो, त्यसैको प्रतिफल हो गरिबीमा डुवेको मधेस, सम्भावना भएर पनि साँघुरिएको परिवेश ।
यदाकदा मधेसी अभियन्ताहरुले भन्छन्, हाम्रो गरिबी देखाएर हाम्रो संघर्षलाई कमजोर पार्न खोजिएको हो । उनीहरुको बुझाईमा अहिले मधेस राज्यसंग लडिरहेको छ । राज्यसंगको अधिकार बाँडफाँडमा न्याय प्राप्त भईसकेपछि मधेसको पछौटेपनका सवालहरुतिर हामी प्रवेश गर्छौ ।

 

२०४६ साल पछिकै अवस्थामा हेर्ने हो भने मधेसमा विकास नभएको होइन । तर गरिबी घटेको छैन । अहिले पनि यहाँका जिल्लाहरु मानवविकास सूचकांकमा पछाडि छ ।
मधेसवाट निर्वाचित हुनेहरु केवल मधेस केन्द्रित दलका मात्र छैनन्, पहिला नेपाली काँग्रेस र एमाले र २०६५ पछि माओवादी केन्द्र आएको छ । यिनीहरु मधेसको पछौटेपनका सवालमा कम जिम्मेवार छैनन् ।
२०४६ पछि पहाड र मधेसमा भएको असमान विकास वितरणका जिम्मेवार खास गरी नेपाली काँग्रेस र एमाले छन् । मधेसवाट मत लिएर पनि यिनीहरुले मधेसप्रति न्याय गर्न सकेका छैनन् ।

 

 

गरिबीको रुप

 

मधेसको गरिबीलाई दुई दृष्टिवाट हेरिनु पर्छ । गरिबीलाई वस्तुपरक आधारमा देखिनुपर्छ । यसलाई आर्थिक सुचकहरुवाट नापिनु पर्छ । कुनै पनि व्यक्तिलाई वाँच्नका लागि के कस्ता स्रोतहरु उपलब्ध छन् ? भौतिक साधनहरुवाट वञ्चितीको अवस्था गरिबी हो ।

 

त्यस्ता साधन विहिनहरुको आम्दानी बढाएर उनीहरुको गरिबीलाई हटाउन सकिन्छ । अर्को सोचाई हो गरिबीे भावनात्मक विषय हो । यसलाई आधुनिक समयमा बहुआयामिक दृष्टिवाट हेरिनु र व्याख्या गर्नु पर्छ ।
वस्तुपरक नजरवाट नापे जस्तै भावनात्मक दृष्टिवाट गरिबीलाई कुनै सूचक निर्माण गरेर नाप्न गा¥हो छ । स्रोत र साधनको अभाव गरिबीको परिचायक हुदै हो, उपलब्ध स्रोतको असमान वितरण प्रणाली पनि गरिबी हो ।

 

कुनै व्यक्तिले निर्णय गर्ने अधिकार र अवसरवाट वंचिती रहेको अवस्था पनि गरिबी हो । व्यक्तिको सम्मान र स्वतन्त्रता पनि गरिबीलाई अथ्र्याउने चक्रभित्र पारिनुपर्छ । मधेसीहरु किन र कसरी गरिब भईराखेका छन् ?
मधेसीहरु किन गरिब भए ? गरिबी निवारण र समाज परिवर्तन वीचको साइनो के हो जस्ता पक्षलाई पनि गरिबी विमर्शसंग नजोडेसम्म गरिबीको महारोगवारे सही ठम्याई हुन सक्दैन ।

 

मधेसको जमीन निकै उब्जाउ रहदै आएको छ, नदीहरुको जाल वाक्लो छ । जमीन मख्खन जस्तो मुलायम छ । दक्षिण एसियामा तुलनात्मक रुपमा मधेसको जग्गामा यसो वीउ फ्याकिदियो भने जमीनमा त्यो अंकुरित हुन्छ ।

 

तर भूमिको असमान वितरण, सिंचाई प्रणालीको अभाव, बिऊ, मलको समस्याले गर्दा उर्वर खेतको सही उपयोग हुन सकेको छैन । जमीन, जनशक्ति र जलभण्डार (नदी, पोखरी, इनार) यहाँको विकासको आधार हो ।

 

मधेसमा नेपालका मुख्य वन्यजन्तु आरक्षहरु छन्, सीता र बुद्धको जन्म भूमि छ, सीमावर्ती भारतीय राज्य र पहाड जोड्ने आर्थिक सम्भावना छ, तर आफुसंग विद्यमान रहेको सम्पदाको सही उपयोग गर्न नसकेर सुनको थालीमा भिख माग्नु परेको अवस्था छ मधेसको । परिणाम जनशक्तिको ठूलो हिस्सा विदेशिएका छन् । बाहिरवाट आएको खाद्यान्नले जनजीविका टरेको छ । भोजपुरीमा भनिन्छ नि, “भोजन विनु, भक्ति होई ना गे माई” ।

 

केन्द्र र मधेसको वीचमा टकराव हुने मुल कारण पनि असमानता र गरिबी नै हो । आर्थिक विकासको विना सामाजिक न्याय सम्भव छैन ।
पहिला “मनी अर्डर” इकोनोमी थियो, अहिले “रेमिटान्स” इकोनोमीले खर्च थेगिएको छ । तर मधेसमा जुन प्रकारको गरिबी फैलिदै गएको छ त्यसको कल्पना सम्म पनि गर्न सकिदैन ।
कारण प्रस्ट छ, मधेस आफैमा नेपाल जस्तो विविधता बोकेको छ । गाउमा सहर छिरेको छ, गाउमा रेमिटान्स संक्रमित छ, सहर छिरेको गाउले सहरलाई बेचैन वनाएको छ । त्यसैले मधेसको सहर होस वा गाउ गरिबीको आ–आफ्नै आख्यानहरु सुन्न र हेर्न पाइन्छ ।

 

सम्भावनाको समथर, चुनौतीको पहाड

 

मधेसमा गरिबीसंग जोडिएका चुनौतीहरु निम्न प्रकारका छन् वा यसलाई यसरी भनौ मधेसमा गरिबी हुनुका पछाडि यी कारणहरु रहेका छन् । यसलाई मधेसका शब्दावलीमा प्रवृतिगत अभिरेखांकित गर्दा निम्न अनुसार प्रस्तुत गर्न सकिन्छ –

 

क) झुलनिया
यो एउटा यस्तो मानिसकता हो जसले यथास्थितिलाई स्वीकार गर्छ । झुलामा झुले जस्तै गरिबीको रोटेपिङ्गमा घुमिरहनुलाई नियति मान्दछन् ।
नेपालमा बस्ने हो भने यही हाम्रो नियति हो, यसमा केही गर्न सकिदैन । गरिबीको गोलचक्करमा हल्लि राख्नुको बिकल्प छैन । गरिबी भनेको एउटा प्रक्रिया हो जसद्वारा उनीहरुसंग भएका साधन र सामथ्र्यहरुको पनि दोहन गरी उनीहरुको जीवन स्तरमा नकारात्मकता ल्याउन बल दिन्छ, जुन सामाजिक र शासकीय ढाँचाको चाहना अनुरुपको छ ।

 

ख) टकटकिया
विकास भनेको राज्यले दिने हो । राज्यले नै हेरेको छैन जे गर्छ उसैले गर्छ । जबकि विकास भनेको दिने र लिने कुरै होइन ।
यो लिने व्यक्तिको ग्रहणशीलता र स्वामित्वको चाहनामा पनि भरपर्छ । गरिबीको नाममा राजनीतिको व्यापार गर्नेहरुले टकटकिया मनोविज्ञानलाई हौस्याएका छन् ।
यसले आफ्नो दायित्वप्रति व्यक्ति वा समुदायलाई चुपचाप र शिथिल वनाउछ भने राज्यप्रति सामान्य मानिसमा पनि आक्रोस पैदा गर्छ । राजनीतिमा जनतालाई उक्साउने यस्तो प्रयोग नौलो होइन ।
विकास वास्तवमा जनजीवनको उत्थानको लागि हो भने व्यक्ति र समुदायको पनि अग्रसरता चाहिन्छ । तर टकटकिया मनोविज्ञानले यसलाई निषेध गर्छ ।

 

ग) मखमलिया
यो केन्द्रवाट भूई (सतह) लाई हेर्ने नजरिया हो वा अहिलेको राजनीतिक शब्दावलीमा भन्ने हो भने काठमाण्डौले मधेसलाई हेर्ने आँखा हो । यसले के भन्छ भने संविधान र संशोधनमा कहाँनिर असमानता छ ? स्रोत दिइएकै छ, त्यत्रो सुगमता छ, यतिविघ्न सांगठनिक क्रियाशीलता छ तर खै किन हो किन मधेसीहरुले आफुलाई वदलावको सेरोफेरोमा राख्न सकेको ?
यस्तो सोंचले विकासलाई अनुकम्पाको रुपमा हेर्छ । स्रोत भूईसम्म कुन रुपमा, कसरी, कति र कस्मा पुग्यो त्यसको निगरानी गर्दैनन् ।
योजनाहरु निर्माण गरिंदा के गर्ने, किन गर्ने, कसरी गर्ने, कुन गर्ने, कति गर्ने, केवाट गर्ने र परिणाम के हुने, यस सवालमा सतहसंग सही ढङ्गले सम्वाद र समन्वय गरिदैन । एक अर्थमा भनौ यो थोपरिएको विकास हो । यसले गरिबी व्यवस्थापनमा चुनौती दिन्छ ।

 

घ) चितपटिया
यो मानसिकता भनेको पहिला फोहार आफै गर्छन त्यसपछि सफाईकालागि बजेट मांग गर्छन । उल्टो र सुल्टो दुईटै भूमिका खेल्छ । विगार्ने र सपार्ने पनि ।
अहिले मधेसमा “एन्टी चिटिङ्ग” अभियान चलेको छ, यो भनेको विद्यालय वा क्याम्पसमा हुने जाँचमा नक्कललाई रोक्नु हो । पहिले आफै चोरीको संस्कृति विकास गर्छन अनि त्यसको प्रतिरोध पनि आफै सुरु गर्छन ।

 

ङ) पडोसिया
भारतसंगको दैनिक सम्वन्धले पनि हाम्रो जनजीवनलाई असर गरेको छ । सीमावर्ती भारतीय क्षेत्रको सामाजिक, आर्थिक अवस्थाको असर हामी कहाँ आउने गरेको छ ।
त्यसैगरी भारतले गरेका नदी व्यवस्थापनका काम हुन वा सडक निर्माणका काम त्यसले पनि मधेसको स्वभाविक विकास क्रममा अडचन पैदा गरेको छ ।
मधेसी राजनीतिलाई पुच्छर बनाउने सोंच दिल्लीको देखिए पनि आफ्नै साँधसंग जोडिएको क्षेत्रमा असन्तुलित विकासका निम्ति उनीहरु कहिल्यै पनि गम्भीर देखिएनन् ।
खुला सीमानाले गर्दा हुने मूल्यांन्तरको व्यापारवाट लाभ लिने मुठ्ठीभरहरु छन् तर त्यसको वाछिटामा वाच्ने लोभमा सीमावर्ती क्षेत्रमा भरियाहरुको ठूलो हिस्सा छ । यस पेशावाट उनीहरुको दैनिक गर्जो त टरेको छ तर अन्य उद्यमहरुतिर अनाकर्षित भएका छन् ।

 

च) विभेदिया
जातीय भेदभाव र जातीय अर्थतन्त्रलाई निषेध गर्ने प्रवृतिले पनि मधेस भित्रको आन्तरिक जीवनलाई उथलपुथल वनाउने गरेको छ ।

 

मधेसको आर्थिक गिरावटमा र स्थानीयता आधारित विकास पद्धतिलाई प्रोत्साहित गर्नमा विभेदिया मनोविज्ञानको भूमिका पनि कम छैन । मधेसी समाज जाति र उपजातीहरुको झुण्ड मात्र हुन पुगेको छ ।
यहाँ नागरिक होइन, फगत जातिहरु वस्छन् । मधेसी गरिबीलाई बुझ्नका लागि समाजमा व्याप्त जातीय विषमतालाई बुझ्नु पर्छ ।

 

मुसहर भन्ने वित्तिकै त्यो सामाजिक रुपमा वंचितीमा परेको मात्र हुदैन आर्थिक र राजनीतिक हैसियतमा पनि कमजोर हुन्छ ।

 

भूस्वामित्वको जातीय आधार अहिले पनि कमजोर भएको छैन । उच्च तथा मध्य जातिको तुलनामा निम्न एवम् दलित जातिहरुको सामाजिक, आर्थिक अवस्थामा कुनै मुलभूत परिवर्तन भएको छैन ।
प्रायः दलितहरु आज पनि भूमीहीन छन् । स्त्री उत्पीडन मधेसी समाजको मूल तत्व हो ।
मधेसको विभिन्न क्षेत्रमा उत्पीडनको विभिन्न स्वरुप विकसित भएको छ जसको सोझो सम्वन्ध त्यो समाजको स्तरीकरणको संरचनामा निहित छ ।

 

छ) दुमुहिया
यो एउटा यस्तो मानसिकता हो जसले आफ्नै भित्रको सामथ्र्यलाई पहिचान गर्दैन । आफैभित्रको धनात्मक र ऋणात्मक शक्तिको चिनारी आफैले गर्दैन ।
सम्पन्नताको खोजी त गर्छ, सम्भावनाहरुको सपना हेर्छ तर आफै भित्रको सामथ्र्यलाई केलाउदैन अर्थात दुईटा मुख छ ।
उदाहरण: मधेसका सांस्कृतिक उत्पादनहरुलाई हेला गर्छ तर त्यो ज्ञानलाई उत्पादन विकास र बजारीकरणसंग जोड्दैनन् ।

 

ज) वेअजिया
तन्त्र यति विघ्न भ्रष्ट भई सकेको छ कि उसले यहाँको समाजवाट थप व्याज आर्जन गर्न खोज्छ । राज्य र मधेस बीच दुरीको एउटा कारण तन्त्रको नाउमा त्यहाँ ठडिएका गणहरुको व्यवहार हो ।

 

 

त्यसैगरी यहाँको सामाजिक अर्थतन्त्रमा चर्को व्याज लिने चलन यथार्थ हो ।

 

रेमिटान्सले गर्दा पनि परिस्थितिमा आमूल परिर्तन आउन नसक्नुको कारण चर्को व्याज दर नै हो । मूलधन संगै व्याज चुक्ता गर्नमै आर्जनको ठूलो हिस्सा समाप्त हुने गरेको छ ।

 

केही मुठ्ठीभर मानिसहरु व्याजको धनवाट आर्जन गरिरहेका छन् । सामान्य जनताको ठूलो हिस्सा चर्को व्याजको जाँतोमा पिल्सिएका छन् ।

 

यसरी नखोजिएको मधेसलाई चियाउन जरुरी हुदै गएको छ । गरिबी व्यवस्थापनसंग जोडिएका तथ्य र भ्रम के हो त्यो छुट्याउन जरुरी छ । गरिबी निर्मुलनको नारावाट विरक्तिनु भन्दा पनि उपरोक्त चुनौतीहरुलाई दृष्टिगत गरी गोरेटो समातिएमा सन्तुष्टि लिने ठाउ हुन सक्छ ।

 

राम्रो पक्ष के छ भने गणतन्त्र लडदै पडदै पाइला टेक्न सिक्दै छ । यसले विस्तारै जनजीवन र जनजिविकामा सुधार ल्याउछ भन्ने विश्वास फिजाउनु छ ।
प्रचुर सम्भावनाहरु वोकेको सुनको थाल मधेसको यस्तै हाल बेहाल रहने हो भने यहाँको गरिबीले यहाँको राजनीतिलाई ताल बेताल गरिदिन्छ भनेर ठोकुवा पक्कै गर्न सकिन्छ ।

 

यसले सिकाएको पाठ के हो भने राज्यसंग सम्वन्ध सुधारका साथै सामाजिक जीवनलाई पनि आधुनिक परिभाषामा ल्याउन सक्नु पर्यो अनि मात्र गरिबीको महारोगवाट मुक्त हुन सकिन्छ ।