गठामुंगः पर्व

तस्वीर: सुनिल शर्मा  

 

         

 

भक्तपुरका नेवार समुदायले घण्टाकर्ण राक्षसलाई धपाउन गठामुंगः पर्व मनाएका छन् । विशेष चहलपहलका साथ दत्तात्रय मन्दिर ’roundका बासिन्दाहरुले यो पर्व मनाएका छन् ।

 

 

 

 

यस दिनलाई नेवार गृहशान्तिको कामनासहित आफ्ना परिवारलाई रोग(ब्याध नलागोस् भनेर राक्षस धपाउने पूजा गर्ने दिनका रुपमा लिइन्छ । चार प्रमुख चतुर्दशी मध्ये नेवार समुदायले मात्र मनाउने घण्टाकर्ण चतुर्दशीलाई मौलिक पर्वका रुपमा लिने गरिएको छ ।

घण्टाकर्णलाई शिवको प्रतीकका रुपमा पनि लिने गरिन्छ ।
कानमा घण्टा झुण्ड्याएर हिँड्ने राक्षसको पूजा गर्ने भएकाले यसलाई घण्टाकर्ण पर्व पनि भनिएको हो ।

 

 

 

घरमा भूतप्रेत नपसोस भनेर घरको मूल ढोका र मुख्य निदालमा मयूरको प्वाँख र तीनखुट्टे फलामको किला ठोक्ने चलन छ । घरका साना केटा(केटीलाई फलाम वा तामाको औंठी पनि आजै लगाइदिने चलन छ । वयस्क युवतीले आजको दिन विशेषगरी खुट्टामा विभिन्न प्रकारका टाटु खोप्ने प्रचलन पनि रहेको छ । आजकै दिनदेखि नेवारी समुदायमा परम्परागत नाच तथा बाजागाजा सिकाउन सुरु गरिन्छ । भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचका लागि आजकै दिनदेखि मुखुण्डो बनाउने कार्यको शुभारम्भ गरिन्छ ।

 

 

 

घण्टाकर्ण पर्वमा घरलाई लिपपोत गरी चोखो बनाइन्छ र, भूत मन्छाउने कार्य गरिन्छ । काँचो माटोको सानो दहीको कतारो वा एक प्रकारको माटोको भाँडोमा चिउराको ढुटो, जाँडको कट, लसुन, रातो खुर्सानी, कालो भटमास, रंगीविरंगी ध्वजा, सिन्कामा कपडा बेरेर बनाएको बत्ती बालेर टोल बाहिरको दोबाटो वा चौबाटोमा लगेर राख्ने प्रचलनलाई भूत मन्छाउने कार्य भनिन्छ । भूत मन्छाउने क्रममा कसै(कसैले कुखुराको बलि पनि दिने गर्दछन् ।

साँझपख छ्वालीको मुठालाई बालेर घरको माथिल्लो भागदेखि तल्लो भाग छिँडीसम्म परिक्रमा गराई नेवार समुदायको मानिस मर्दा उसको लुगा फाल्ने ठाउँमा लगेर सेलाउने गरिन्छ ।