डा बाबुरामको पार्टी किन फ्लप भयो ?

 

डा. बाबुराम भट्टराईले देशमा सुशासन, सदाचार, समावेसी वृद्धि र आर्थिक संमृद्धिको नारा उरालेर तामझामका साथ बनाएको ‘नयाँ शक्ति’ एकै बर्षमा नराम्रो फ्लप भएको छ ।

 

डा. बाबुराम भट्टराईले देशमा सुशासन, सदाचार, समावेसी वृद्धि र आर्थिक संमृद्धिको नारा उरालेर तामझामका साथ बनाएको ‘नयाँ शक्ति’ एकै बर्षमा नराम्रो फ्लप भएको छ ।स्थानीय निकाय निर्वाचनमा गोर्खा जिल्लामा आफुले छाडेको पार्टी माओवादी केन्द्रलाई हराउँने बाहेक उनको पार्टी लोकप्रिय देखिएन ।
डा. भट्टराई माओवादी अध्यक्षको नीजि सहायकसम्म मात्र हुने क्षमताको व्यक्तिलाई प्रचण्डले आफुसरहको नेता र प्रधानमन्त्रीसम्म बनाएर गल्ति गरेछन भन्ने तर्क विश्लेषकहरुको छ ।

 

स्थानीय निर्वाचन अगाडिदेखि यसका नेताले सो दल छाड्न थालेकोमा किर्नाले सिनो छोडेजस्तो धमाधम उनका नेता कार्यकर्ताले पार्टी छोड्न थालेका छन् । उपेन्द्र यादवको दलसंग तालमेल गर्दा पनि उपत्यकामा साझा पार्टी र विवेकशील पार्टीको एक प्रतिशतको पनि भएन । अहिले भट्टराई समाजवादी फोरमसंग एकता गर्ने वा माओवादी केन्द्रमा फर्किने दोधारमा छन् । किन भयो भट्टराईको यस्तरी पत्ता साफ ? यस बिषयमा समीक्षा भै रहेको छ । नयाँ शक्तिको हारको प्रमुख कारण भट्टराईलाई जनताले विश्वास नगर्नु नै हो ।

 

भ्रष्टाचारमा प्रथम सरकार

 

पहिलो, भट्टराईले आफु सदाचारी र बाँकीलाई भ्रष्टाचारी चित्रण गर्दथे । तर, नेपालमा सवैभन्दा भ्रष्ट सरकार उनकै पालामा थियो । ट्रान्सपरेन्सी इन्टरनेशनलले ‘करप्सन पर्सेप्सन इन्डेक्स’ प्रकाशन भएपछि सवैभन्दा धेरै भ्रष्टाचार उनको सरकारको पालामा थियो । नेपालको स्थान सन् २०११ मा १८३ देशहरुमा १५४ औ र २०१२ मा १७६ देशहरुमा १३९ औ थियो ।

 

दोस्रो, इतिहासमै सवैभन्दा ठुलो ४९ मन्त्री भएको सरकार उनकै पालामा थियो । देउवा सरकार ४८ र ओली सरकार ४१ मन्त्रीसहित दोस्रो र तेस्रो ठुला सरकार हुन । २०५२ सालमा देउवा प्रधानमन्त्री रहँदा राजनीतिक विकृतिलाई बढाबा दिएको भनेर ४० बुंदे ज्ञापनपत्र बुझाउन भट्टराई आफै गएका थिए । परिणाम, करिब पन्ध्र हजार मारिए, चौधसय जति अझै वेपत्ता र अर्बौको भौतिक पुर्वाधार क्षति गर्ने दशबर्षे गृहयुद्धले देश दशकौ पछि धकेलियो ।

 

उनले संविधानसभाको अंकगणितले ठुलो सरकार बनाउँन बाध्य भएको दावी गरे । तर, देउवाको पालामा पनि कसैको बहुमत थिएन । भट्टराईले गर्न हुने र देउवाले नहुने भन्ने तर्क भट्टराई बाहुन हुनाले उनले जे गरेपनि हुन्छ, तर, देउवा ठकुरी हो, उनले मिल्दैन भन्ने कुतर्कले मात्र भट्टराईले उन्मुक्ति पाउँछन् ।

 

तेस्रो, ‘ग्लोवल कम्पेटेटिभ इन्डेक्स’ र ‘डुइङ्ग बिजिनेश’को ‘¥याङकिङ्ग’ समेतमा भट्टराईको प्रधानमन्त्रित्वकाल अरुको कार्यकालभन्दा नेपालको स्थान धेरै तल थियो ।

 

चौथो, भट्टराईले प्रधानमन्त्री हुँदा अहिलेसम्मकै सवैभन्दा ठुलो ‘भ्याट स्क्याम’ को प्रतिवेदन सार्वजनिक मात्र गरेनन्, नेपालका करिब ३२०० व्यापारिक घरानाले अर्बाैको भ्याट ठगी गरेको यो घटनालाई उनकै कारण सार्वजनिक भएन भन्ने जानकारी अर्थ मन्त्रालयका उच्च अधिकारले नाम नबताउँने शर्तमा जानकारी दिएका छन् । यत्रो ‘स्क्याम’ दवाउँने व्यक्ति अरु प्रधानमन्त्री भन्दा कसरी नयाँ भए हुन्छन् भनेर जनतालाई थाहा भयो ।

 

पाँचौ, टाइम पत्रिकाले हिसिला यमी विश्वको सवैभन्दा भ्रष्ट महिला भनेर नेपालमा जनताको आम धारणा छ भनेर समाचार छाप्यो । उनले त्यस’bout आफ्नो औपचारिक धारणा सार्वजनिक गरेनन् । दक्षिण अफ्रिकी नेता मण्डेलाले भ्रष्टाचारको विवादमा मुछिएपछि श्रीमती विन्नीलाई मन्त्रीबाट हटाए । कानुनको कठघरामा उभ्याए । न्यायिक प्रक्रियाबाट जेल हालियो र मण्डेलाले श्रीमतीलाई तलाकसमेत दिए । भट्टराईले हिसिलामाथि लागेको आरोपको न्यायिक छानविन गराउनु पर्दथ्यो । तर, त्यसो गरेनन् ? त्यसैले उनको सदाचारको ढोङप्रति जनताले नाक मात्र खुम्चाए !

 

नातावाद र ‘कन्फिल्क्ट अफ इन्टरेस्ट’मा प्रथम

 

भट्टराई नातागोतालाई राजनीतिक नियुक्ति गर्नेमा प्रथम नै हुन । उनले भाइ, बुहारी, साली, जेठी सासुदेखी घर र ससुरालीका दुरका रिस्तेदारसम्मकालाई राजनीतिक नियुक्ति गरे । उनको ससुरालीवाद भित्र्याउँने नेताको छवि बन्यो । सार्वजनिक पदासिनले नियुक्ति गर्दा ‘कन्ल्फिक्ट अफ इन्टरेष्ट’ घोषणा गर्ने मानक अभ्यास छ । नियुक्ति प्रक्रियामा नातेदार वा व्यवसायिक स्वार्थ नभएको स्वघोषणा गर्ने सामान्य दायित्व हो । जनताले यसको पनि हिसाव राखेका रहेछन् ।

 

विधिको शासन विरोधी

 

विधिको शासन आर्थिक विकासको न्युनतम शर्त हो । भट्टराई यो नमान्नेमा पनि प्रथम हुन । पहिलो, अपराधी जोगाउने र अपराधको राजनीतिकरण गर्नेमा पनि पहिलो स्थानैमा आउने भट्टराईले इतिहासमै सवैभन्दा बढि हत्याका अपराधीलाई माफी दिने निर्णय गर्ने प्रधानमन्त्रीमा पर्छन । अपराध गर्नेले सजायको भागिदार हुनुपर्छ, जस्तो सुकै शक्तिशाली व्यक्ति किन नहोस भन्ने विधिको शासनको स्थापित मान्यता विपरित कार्य गर्नेलाई जनताले दण्ड दिएका हुन ।

 

त्यस्तै भट्टराई २०७२ असोज यता सांसद छैनन । उनको आम्दानीको श्रोत के हो ? उनको नयाँ शक्ति अभियानमा गरेको लगानीको श्रोत के हो ? के वास्तवमै वैधानिक श्रोतबाट करकट्टी भएको पैसाको प्रयोग गरेका छन, उनले ? साथै अहिलेको उनको यस्तो भडकिलो प्रचारको वित्तीय श्रोत के हो ? जनताले त्यसको जवाफ मागेका छन् ।

 

प्रधानमन्त्री भएको वेला संविधानमा स्पष्ट व्यवस्था भएको आर्थिक कार्यविधिलाई वेवास्ता गर्दै नेताको स्वास्थ्य उपचारमा करौडौ लुटाउँने र आर्थिक सहायता चन्दा पुरस्कार बाँड्नेमा पनि भट्टराईको नाम पहिलो वा दोस्रोमा नै आउँछ ।

 

यी सवै तथ्यले बाबुराम विधिको शासन मान्दैनन् भन्ने प्रष्ट हुन्छ । र, विगतमा विधि लत्याउने भोलि विधिको शासन मान्छ भनेर विश्वास गर्ने तार्किक आधार नहुने सामान्य ज्ञान जनतामा छ । र, त्यहि कारण उनी जनताबाट अस्वीकृत भए ।

 

आर्थिक संवृद्धिको गलत दावी

 

नम्वर एक, भट्टराईको ‘नयाँ शक्ति’ले आर्थिक संवृद्धि ल्याउँने दावी गरेका छन् । तर, आर्थिक सर्वेक्षण हेर्ने हो भने उनी अर्थमन्त्री र प्रधानमन्त्री भएको बर्षमा पहिलो संविधानसभा निर्वाचनपछिको सवैभन्दा कम वृद्धि ३.४२ प्रतिशत भएको छ, गत आर्थिक बर्षबाहेक । उनीसंग जादुको छडी छैन, छुमन्तर भनेर आर्थिक विकास गर्ने । तथ्य र तर्क मात्र विश्वसनीय हुन्छ । र, विधीको शासन र भ्रष्ट्राचारमुक्त जवाफदेही शासन आर्थिक विकासको लागि आवश्यक लगानीको वाताबरण निर्माणको शर्त हो । उनी यसप्रति प्रतिवद्ध छैनन भन्ने विगतको अनुभवले देखाउँछ ।

 

दुई, उनी प्रधानमन्त्री भएको वेला विकास बजेट आफ्नो क्षेत्र र जिल्लामा मात्र केन्द्रित गरेको तथ्य त्यसबेलाका पत्रपत्रिकामा समाचार आएको थियो । आफ्नो निर्वाचन क्षेत्र र जिल्ला केन्द्रीत भट्टराईले देशमा संवृद्धि बाँड्छन् भन्ने मान्नु तर्कसंगत जनतालाई लागेन ।

 

तीन, माघको जाडोमा एकाबिहानै भएका हाँडाचिण्डा, खाद्यान्न र लत्ताकपडासमेत निकाल्न नदिइ बागमती किनाराको सुकुम्वासी वस्तीमा डोजर चलाउँन लगाउने उनै प्रथम प्रधानमन्त्री हुन् । यसरी डोजर लगाउँनेलाई गरिब जनताले कसरी भोट दिन्छन ?

चार, धितोपत्र बजार अर्थिक विकासको सवैभन्दा प्रमुख मापक हो । यसलाई आर्थिक विकासको व्यारोमिटर भनिन्छ । उनी अर्थमन्त्री भएको बेला धितोपत्र बजार जुवा घर हो भने ।

 

यसबाट करिब ११७० भन्दा माथि पुगेको नेप्से सुचकांङ्क करिब ३९० मा झर्यो । पुँजीवजारलाई यस्तो तहसनहस पार्नेले कसरी तीव्र आर्थिक वृद्धि ल्याउन सक्छ ? यो कुरा अब जनताले राम्रोसंग बुझेका छन् ।

 

 

‘इन्टीग्रिटी’ नभएको व्यक्ति

 

एक, माओवादी परित्यागपछिको समयमा उनले जेजस्तो राजनीतिक दल निर्माण गर्ने प्रयास गरे, पहिला नै विगतको गल्तीको लागि क्षमायाचना गर्नु पर्दथ्यो, उनले । यदि उनलाई यस्तै राजनीति गर्नु थियो भने किन देशलाई १० वर्ष देश र जनतालाई गृहयुद्धमा धकेले ? माओवादी विद्रोह उनी प्रधानमन्त्री वन्ने भ¥याङ्ग मात्रको रुपमा उपयोग गरे । माओवादी विद्रोहले गर्दा भएको जनधनको क्षतीको लागि देश र जनताको नाममा क्षमायाचना नगर्दासम्म उनमा ‘पोलिटिकल इन्टीग्रिटी’ भएको मानिदैन । त्यसको लागि पनि उनले धेरै समय लगाए ।

 

दोस्रो, आफै संवैधानिक समितिको संयोजक भएर संविधान निर्माण गर्ने तर, त्यसको घोषणापछि संविधानसभाबाट राजीनामा दिएर त्यही संविधानको तराईमा गएर निन्दा गर्ने कार्य गरे । पछि यसै संविधानअनुसार राजनीतिक पार्टी खोल्ने भट्टराईमा ‘पोलिटिकल इन्टीग्रिटी’ र ‘इन्टेलेक्च्युल इन्टीग्रिटी’ पनि छैन भन्ने प्रष्ट हुन्छ ।

 

त्यस्तै उनले संवैधानिक समितिको संयोजक भएको समयमा तराइमा छुट्टै स्वतन्त्र राज्यको लागि अभियान गरिरहेको व्यक्तिलाई राज्यको पैसा लगानीमा आयोजित कार्यक्रममा अतिथि वक्ता बनाएर निम्त्याए ।
यो ‘पोलिटिकल इन्टीग्रिटी’ नभएको मात्र होइन देशद्रोह थियो । जनताले उनका हरेक गतिविधि सुक्ष्म रुपमा हेरिरहेका थिए । पिएचडी गरेपछि जे पनि गर्न पाइन्छ भन्ने उनको दम्भलाई जनताले झापड हाने, निर्वाचनमा ।

 

तेस्रो, उनले सुर्यबहादुर थापाको मृत्युलाई ‘एक राजनीतिक अभिभावक गुमाएको’ भनेका थिए । १९ माओवादी लडाकुलाई पछाडि हात बाँधेर दोरम्भामा अमानवीय तरिकाले हत्या हुँदा थापा देशका प्रधानमन्त्री थिए, भट्टराई प्रमुख शान्तीवार्ताकार थिए । सुर्यबहादुर थापा उनका राजनीतिक अभिभावक दक्षिणतर्फ तालमेल मिलाउँनको लागि हुन भन्ने नेपाली जनताले बुझेछन् ।

 

भट्टराईमा आफ्नै बचनप्रति इमान्दारीता अर्थात ‘स्टेटमेण्ट अफ इन्टीग्रिटी’को पनि अभाव छ । एकपटक ४० बुँदे माग आफै शासनमा रहँदा किन सम्वोधन नगरेको भनेर सोध्दाखेरी उनले त्यो अब पुरानो कुरो भैसक्यो भनेका थिए । ‘नयाँ शक्ति’ भोली कथंकदाचित सत्तामा आयो र खोइ आर्थिक संवृद्धि र सुशाशन भनेर कसैले सोधे भट्टराईको जवाफ यो कुरा अब पुरानो भैसक्यो भन्ने हुन्छ भन्ने जनताले बुझेका रहेछन् ।

 

भट्टराईलाई भारतको नाकावन्दीको समयमा नेपाली जनताले सवैभन्दा राम्रोसंग चिने । भारतसंग सवै ठुला दलहरु एकसाथ खडाभएर उभिएको वेला उनी संसदबाट राजीनामा दिएर भारतको पिछलग्गु भए । भारतले नाकाबन्दी गरेर जनता प्याकप्याक परेको वेलासमेतमा उनले भारतले नाकावन्दी लगायो भनेनन् । उल्टै संविधान ठिक भएन भने । उनको पार्टी भारतले पारेको अण्डा हो भन्ने जनताले ठाने र जनताको साथको ताप नपाएकैले त्यो ओथारोमै चल्ला कोरल्न नपाउँदै विग्रेर गएको अण्डा हो ।

 

समग्रमा उनको पालामा काठमाण्डौको ५० किलोमिटर सडक विस्तारलाई देशकै आर्थिक संवृद्धि भनेर दावी गर्ने भट्टराईको निकट अतिततर्फ जनताले फर्केर हेर्दा उनी त अहिलेसम्म जिवित मध्येका सवैभन्दा खराव रेकर्ड र कमसल कार्यक्षमता भएको प्रधानमन्त्रीको रुपमा पाए । यी सव कारणले गर्दा नै जनताले उनको पार्टीलाई मन पराएनन् ।