भ्रष्टाचारीलाई अतुलनीय न्याय

 

 

भ्रष्टाचारसम्बन्धी जानकारी १०७ मा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रसेवक कर्मचारीले गरेको भ्रष्टाचारसम्बन्धी जानकारी निःशुल्क फोन नम्बर १०७ मा गर्न आग्रह गर्दै आयोगका सचिव राजन खनाल । तस्बिर रासस

निमुखालाई कानुनको डण्डा लगाउने र बलिया जोगाउने सर्वोच्च अदालतको कार्यले ‘साधुलाई सुली र चोरलाई चौतारो’ भन्ने उखानलाई चरितार्थ गरेको छ ।

 

 

आन्तरिक राजश्व विभागका निलम्वित महानिर्देशक चुडामणि शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ)ले उनी कर फच्र्याेट आयोगमा रहँदा अख्तियारको दुरुपयोग गर्दै १२ अर्बभन्दा धेरै भ्रष्टाचार गरेको अभियोगमा मुद्धा दायर गर्यो  । विशेष अदालतले चुडामणि शर्मासंग ३ अर्ब रुपैयाँ घरौटी माग गर्यो ।

 

विशेष नै शुरु अदालत

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग र बिशेष अदालत ऐनअनुसार अख्तियारले अनुसंन्धान तहकिकात गरी मुद्धा दायर गर्ने पहिलो चरणको निकाय नै बिशेष अदालत मानिन्छ । बिशेष अदालतले अख्तियारको माग दावी अनुसारको थुनछेकको आदेश पनि दियो ।

 

बिशेष अदालतको धरौटीको उक्त आदेशपछि शर्माकी पत्नी कल्पना उपे्रतीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरिन ।

 

सर्वोच्च अदालतमा २२ हजारभन्दा धेरै मुद्धा पेण्डिङ्गमा छन, अहिले । र, अहिले ४ जना न्यायधीशको पदरिक्त भएर मानव संसाधनको अभावको अवस्था छ, सर्वोच्च अदालतमा ।

 

साथै आफ्नो मातहतको अदालती निकायले न्यायिक हिरासतमा राख्न आदेश दिएको अवस्थामा बन्दी प्रत्यक्षीकरणको मुद्धा लाग्दैन भन्ने सर्वोच्च अदालतले आफैले स्थापित गरेका एक हजारभन्दा पनि धेरै नजिर रहेका छन् ।

 

यो तमाम यथार्थ र तथ्यहरुको बिपरित चुडामणि शर्माको मुद्धा सर्वोच्च अदालतले फुल बेञ्चमा हेर्ने निर्णय गर्यो र उक्त रिटमाथि सुनवाई प्रक्रिया अगाडि बढायो ।

 

शर्माको पक्षमा विशुद्ध व्यवशायिक कानून ब्यवशायीको रुपमा भन्दा पनि देशमा संवैधानिक कानूनको ज्ञाताको रुपमा विधिको शासन र संविधानवादकोे पक्षमा सार्वजनिक अभियानकर्ता रुपमा चिनिन चाहने वकिल पनि बहस पैरबी गर्न तयार भए । र, सर्वोच्च अदालतले एक महिनाको सुनवाईपछि शर्मालाई वकाइदासंग थुनामुक्त गर्ने आदेश पनि दियो ।

 

सर्वोच्च अदालतको शर्मालाई थुनामुक्त गर्ने आदेशले संविधान र कानुनले स्थापित गरेका कुनै पनि तर्क वा नजिरलाई आधार बनाएको छैन । सर्वोच्च अदालतले बिशेष अदालतले शर्मासंग माँग गरेको तीन अर्व रुपैयाँ धरौटीको मात्रा धेरै भएको भन्ने बिषयलाई आधार बनाई उक्त आदेश दिएको छ ।

 

बिशेष अदालतले शर्मालाई धरौटीमा थुना मुक्त गर्ने आदेश त पहिले नै दिइसकेको थियो । उनी थुनामा रहेको कारण उनले धरौटी बुझाउन नसकेर नै हो । गलत नियतले थुनामा राख्न खोजेको भन्ने माग दावी नै गलत थियो ।

 

शर्माले माग गर्ने आधार मुलुकी ऐन, अदालती बन्दोबस्तको व्यवस्था बमोजिम बेरितको आदेश बदर गरिपाउँ भन्ने भएको अवस्थामा मात्र यस्तो फैसला सर्वोच्च अदालतले गर्न सक्थ्यो । तर, धरौटी घटाउने माग उनको मुद्धामा भएकै थिएन । बन्दी प्रत्यक्षीकरणको मुद्धामा नमागिएको मागलाई आधार देखाएर उनलाई थुनामुक्त गर्ने सर्वोच्च अदालतले फैसला गरेको छ ।

बैकल्पिक कानूनी उपचारको बाटो नभएको अन्तिम अवस्थामा मात्र रीट सर्वोच्च अदालतमा प्रवेश गर्नुपर्ने बिषय बन्छ । शर्मासंग त्यो वैकल्पिक उपचारमा जाने बाटो हुदाँदुदै पनि उनी त्यो बाटोतर्फ लागेनन् ।

 

बन्दी प्रत्यक्षीकरणको मुद्धा बनाएर सर्वोच्च अदालतले हात हालेको छ । साथै यो मुद्धाको पुनरावेदन सुन्ने समयमा सर्वोच्च आदलतले यस बिषयमा आफ्नो टिप्पणी दिने बाटो छदै थियो ।

 

भारतमा उच्च अदालतका फैसलामाथि त्यहाँको सर्वोच्च अदालतले वेलावेलामा यस्तो खालको टिप्पणी गर्ने गरेका उदाहरण धेरै छन् । सर्वोच्च अदालतले त्यस्तो बाटो समाउने धैर्यता पनि राख्न सकेन ।

 

सवैभन्दा महत्वपूर्ण त आफ्नो मातहतको अदालतबाट आफैले मिसिल झिकाइ सकेपछि त्यस मुद्धाको अन्तिम किनारा पनि गरेन । यो न्याय सम्पादनको सिद्धान्तको विपरितको कार्यसमेत सर्वोच्च अदालतबाट भएको छ ।

 

र, फेरी मुद्धा बिशेष अदालतमा नै पठायो । यसबाट सर्वोच्च अदालतबाटै न्यायमा बाधा अर्थात ‘अवस्ट्रक्सन अफ जस्टिक्स’को अवस्था सिर्जना भएको संवैधानिक कानूनका ज्ञाताहरुको मत छ ।

 

यी सवै तथ्यहरुलाई एक ठाउँमा राखेर एउटा ठूलो तस्विर खिच्ने हो भने सर्वोच्च अदालतको यो आदेशपछि सर्वोच्च अदालतकै नियतप्रति शंका पैदा भएको अवस्था छ । यो खालको प्रतिक्रिया पूर्व न्यायाधीश, समाजमा स्थापित कानूनका ज्ञाताले दिएका छन् ।

 

संवैधानिक कानुनका अधिकांश ज्ञाताहरुले यो सिधा दरपीठ गर्नुपर्ने मुद्धा हो भनेका छन् । केहिले चाही सुनुवाईसम्म गरेर पहिलो मिनेटमा नै सिधा ‘डिसमिस’ गर्नुपर्ने मुद्धा हो भनेका छन् ।

 

यस घटनाले नेपालको न्यायपालिका बिशेष गरेर सर्वोच्च अदालतका गतिविधि’bout गम्भीर सार्वजनिक बहस निम्त्याएको छ । र, सर्वोच्च अदालतका न्यायधिसले पाउँने तलव तथा सुविधा करतिर्ने जनताको पकेटबाट तिरिने भएकोले जनताभन्दा माथि कोही छैन र जनताले सवैमाथि प्रश्न उठाउनु पर्छ भन्ने मान्यता बलियो रुपमा प्रकट भएको छ ।

 

सर्वोच्च अदालतले यसरी शर्मालाई थुना मुक्त गर्ने आदेश दिन सक्ने दुई अवस्थामा मात्र सम्भव हुन्छ भन्ने धारणा अधिकांश कानुन व्यवसायी र कानूनका ज्ञाताहरुको रहेको छ ।

 

१. पहिलो अवस्था हो, यो मुद्धाको सुनवाई गर्ने फुल वेञ्चका न्यायाधीशहरु असक्षम अर्थात न्याय सम्पादन गर्न ‘इन्कम्पिटेण्ट’ छन् ।

 

न्याय परिषद ऐन, २०७३ को दफा १० अनुसारको कार्यक्षमताको अभाव छ । त्यसकारण उक्त ऐनअनुसार उनीहरुलाई तत्काल सेवाबाट हटाइनु पर्दछ ।

 

२. दोस्रो हो, यो फैसलामा मौद्रिक शुभलाभ गंभीर सवाल उत्पन्न भएको छ । उनीहरुले पैसाको लागि न्याय परिषद ऐन, २०७३ को दफा ११ च अनुसारको खराब आचरण देखाएको र आचार संहिताको उल्लङ्घन गरेको अवस्था हो ।

 

के गर्ने ?

 

पहिलो गर्ने कार्य भनेको न्यायपालिकाको भ्रष्टाचारको निरुपण र यस क्षेत्रको सदाचार कायम गर्ने जिम्मेदारी पाएको निकाय न्यायपरिषदको सक्रियताको अहिले अपेक्षा गरिन्छ ।

 

न्यायपरिषदले यो मुद्धाको सुनवाई गर्ने फुलवेञ्चका न्यायाधीशहरु, अभियुक्त शर्मा र निजका वकिल भीमार्जुन आचार्यको नेपाल टेलिभिजनको प्रत्यक्ष प्रसारण अन्तर्गत रहेर नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाले सर्वोच्च अदालत र न्यायपरिषदको रोहवरमा ‘नार्को टेष्ट’ गराउनु पर्दछ ।

 

नार्को टेष्टमा सोडियम पेन्टाथोल वा सोडियम एमिटोल दिएर कुनै पनि व्यक्तिलाई ढाट्न नसक्ने अवस्था बनाएर सोधपुछ गरिन्छ । यो विधि भारतमा धेरै प्रचलित छ । यसको प्रयोग गर्न पर्छ ।

 

अर्को ‘पोलिग्राफ टेष्ट’ हो । यो झुटो बोलेको पत्ता एउटा तरिका हो ।

 

यसमा रक्त चाप, नाडी, स्वास प्रश्वास र छालाको चालबाट मान्छेले ढाँटेको पत्ता लगाउँछ । यो प्रविधि नेपालको विधि विज्ञानमा पनि प्रचलित भै सकेको छ ।

 

यदि यी टेस्टमा पैसाको चलखेल भएको छैन र न्यायाधीशहरुले आफ्नो व्यावसायिकताकै आधारमा मात्र यो फैसला गरेका हुन भने उनीहरुले पोलिग्राफ टेष्ट वा नार्को टेष्टमा सहभागि भै सहयोग गरे उनीहरुकै इज्जत बढछ, समाजमा । साथै शर्मा र उनका वकिल आर्चायको पनि प्रतिष्ठा नै बढने छ ।

 

त्यसकारण सार्वजनिक रुपमा न्यायाधीश, वकिल र अभियुक्तको नार्को र पोलिग्राफ टेष्टले मात्र सर्वोच्च अदालतको गरिमा बढ्छ । न्यायपालिकाको गरिमा न्यायपरिषदले बढाउन सक्ने भएकोले तत्कालै यो कदम अगाडि बढाउनु पर्छ ।

 

संसदको सक्रियताको अपेक्षा

 

संसदले पनि यो बिषयमा संविधानअनुसार महाभियोगको प्रकृया अगाडि बढाउन सक्छ, अहिले । प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाभियोग लगाउँने संसदले अहिले यस बिषयमा तदारुकता नदेखाइरहँदा पनि जनताले आंशकाको दृष्टिले हेरेका छन् । संसदले पनि यस बिषयमा छानविन समिति गठन गरि सक्रियता बढाउनु आवश्यक छ ।

 

र, अन्तमा

 

यदि यो अहिले त्यसै छाडियो भने यसको परिणाम भनेको ज्यादै डरलाग्दो र प्रभाव दुरगामी बन्ने छ । न्यायपालिका न्यायको मन्दिर होइन, घुस्याहाहरुको अखडा हो भन्ने जनमत बन्ने खतरा छ । यसले राज्यकै बैधतामाथि प्रश्न उठ्छ । यसो भयो भने, एक दिन यस्तो अवस्था आउँछ त्यसबेला ‘रुल अफ ल’ होइन ‘रुल अफ हुल’ हुने स्थिति आउने छ ।

 

अदालती कारवाही हासोको बिषय बन्ने मात्र होइन निन्दाको बिषय बन्नेतर्फ अग्रसर भैरहेको छ । त्यति मात्र होइन यस्तो अराजकता यति धेरै बढ्यो भने त्यसले समाजमा हिंसालाई जायज बनाउँने छ । अदालतले विधिको शासन भत्काउँने हो भने जनताले संविधान र कानुनको पालना किन गर्ने भन्ने प्रश्न स्वाभाविक रुपमा आउँछ ।

 

निमुखालाई कानुनको डण्डा लगाउने र बलिया जोगाउने कार्यले नेपाल भन्ने देशको राज्य व्यवस्थाले नै साधुलाई सुलि र चोरलाई चौतारो भन्ने उखानलाई चरितार्थ गरेको ठहरिने छ ।

 

अदालत भनेको अन्तिममा घुस खाने अखाडा हो भन्ने सामाजिक मान्यता स्थापित हुने खतरा बढदै छ ! साथै, यसले समाजमा द्वन्द्व र अपराधलाई प्रोत्साहित गर्ने मात्र होइन यसरी कमाउनेहरुबाट पनि डन र गुण्डाले फिरौतीको रुपमा असुल्ने दिन टाढा हुने छैन ।