विनास काले, विपरित बुद्धि !

विनास काले, विपरित बुद्धि !
चार पटकका प्रधानमन्त्री बनेका शेरबहादुर देउवा पाँचजना पूर्व प्रधानमन्त्रीहरुको एकतालाई जे बोलेर र गरेर चुनौति दिन्छु भन्दै एकपछि अर्को दलदलमा फस्दैछन्, त्यसलाई वास्तवमा चुनौति होइन, हरुवा गोरुको भगुवा दाउ भन्नु मात्र उपयुक्त हुन्छ !

 

सन्तनेता कृष्णप्रसाद भट्टराईले उनको बाँडेगाँउस्थित आश्रममा भनेका थिए, ‘बाबु बिनास हुनेबेलामा बुद्धिसुद्धी सबै हराउछ । भगवानले आएर उस्लाई पछार्ने, हप्काउने केही गर्दैनन् मात्र त्यो ब्यक्ति जसलाई दण्डित गर्नुछ, उसको बुद्धिको तन्तुलाई भगवानले उल्टो फर्काइदिन्छन् । बस्, त्यसपछिको विध्वंश स्वयम् बिपरित बुद्धिवाला स्वयम्ले गर्छ !’

 

 

यतिखेर पूर्वप्रधानमन्त्री भट्टराईले भने जस्तै बिपरित बुद्धिको प्रचुर प्रयोग बहालवाला प्रधानमन्त्री एबम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामा उत्पन्न भएको छ । शायद, भगवानले उनको बुद्धिको तन्तुलाई उल्टो घुमाइदिए । होइन भने यसरी बर्बराउने थिएनन् होला !

 

 

एमाले, माओवादीले प्रदेश र संसदको निर्वाचन मिलेर लड्ने सहमती गरेपछि देउवा यसरी उद्वेलित बनेका छन् कि पार्टीबाट अन्टसन्ट निर्णय गर्न थालेका छन् । उनका धुपौरेहरु त्यसैमा आगो फुकिरहेका छन् । आइतवार बसेको कांग्रेसको बैठकले एक हुनलागेका विपक्षी दलहरुको बाम एकतालाई बदनाम गर्ने रणनीति पारित नै गरेको छ ।

 

 

विरोधीहरु एक भएपछि आफ्नो पार्टी र संगठनलाई सुदृृढ गर्ने कि अर्काको बन्न लागेको घर भत्काउन लाग्ने ? शेरबहादुर बामपन्थीहरुको एकता भाँड्ने तयारीमा कार्यकर्ता परिचालन गरेर देशको पुरानो र लामो इतिहास भएको कांग्रेस पार्टीलाई मटियामेट पार्न लागेका छन् ! उनको यही ब्यवहारले भट्टराईको उपरोक्त उक्ति संझना भएको हो, ‘विनास काले विपरित बुद्धि !’

 

 

टक्कर चुलीमा

मुलुकका पाँचजना पूर्व प्रधानमन्त्रीहरु र चौथो पटक प्रधानमन्त्री भैरहेका शेरबहादुर देउवाबीचको टक्कर चरमचुलीमा पुगेको छ । बहुदल र गणतन्त्रमा कांग्रेस–कम्युनिष्टबाट प्रधानमन्त्री बनेका यिनै छ जना जीवीत रहेका छन्, जो यतिखेर घोर टक्करमा छन् ।

 

 

हुनलाई ०४७ सालयता प्रधानमन्त्री बन्नेहरुको नामावली लामै छ । सर्वश्री कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, सुशील कोइराला दिवंगत भैसकेका छन् भने पूर्व पंचमध्येबाट काँग्रेस–कम्युनिष्टले गाँड कोराकोर गरेर प्रधानमन्त्री बनाएका लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापा मध्ये थापा पनि दिवंगत भैसके । सर्वोच्च अदालतका प्रधानन्यायाधीश खिलराज रेग्मीलाई पनि कांग्रेस–कम्युनिष्ट मिलेर प्रधानमन्त्री बनाए ।

 

 

प्रधानमन्त्री भएका मध्ये कांग्रेस–कम्युनिष्ट पार्टीबाट क्रमबद्ध जीवीत नाम हो – शेरबहादुर देउवा (कांग्रेस), पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा बाबुराम भट्टराई (माओवादी), माधवकुमार नेपाल, झलनाथ खनाल, खडगप्रसाद ओली (एमाले) हुन् । अहिले छ जना प्रधानमन्त्री मध्ये पाँचजना एकातिर र एकजना अर्कातिर बसेर न्वारनदेखिको बलले डोरी तानातान गरिरहेका छन् ।

 

 

यो रस्सा कस्सीमा कस्ले बाजी मार्ला ? जस्ले पनि सहजै जवाफ दिइहाल्छ, कहाँ पाँचजना प्रधानमन्त्री एकातिर र एक्ला प्रधानमन्त्री मात्र अर्कातिर भएपछि एक्लोले हारी हाल्छ नि ! सबैले यसै भन्छन् । तर कुरो यति सजीलो छैन ।

 

 

एक्ला भए पनि प्रधानमन्त्री शेरबहादुर देउवाको पलडा भारी छ ’cause, उनी पदमा बहाल छन् । निजामती, जंगी र गुप्तचर उनकै नेतृत्वमा छ । तर विर्सन नहुने कुरा के भने, उनी पनि संसदमा बहुमत गुमाइसकेका प्रधानमन्त्री हुन् ।

 

 

माओवादी केन्द्रले कांग्रेसका सभापति देउवालाई दिएको समर्थन फिर्ता त लिएको छैन तर उसले एमालेसंग आगामी निर्वाचनमा मिलेर चुनाव लड्ने घोषणा गरेकोले देउवा नराम्ररी रन्थनिन पुगेका छन् । लाग्छ, उनको होस हवास नै गुम भैसकेको छ । होइन भने, कांग्रेस पार्टीका सभापति र देशका प्रधानमन्त्रीबाट अन्टसन्ट बोली बाहिर आउने थिएन । उनले शान्त बनेर चिसो दिमागले आफ्नो विगतलाई हेरे पनि उनको हैशीयत उनैलाई छर्लंग हुने थियो ।

 

 

शेरबहादुर देउवा, लगातार तीनपल्टसम्म प्रधानमन्त्री बने तर तीनै पल्ट अनिष्टमा परेर नै उनको प्रधानमन्त्रित्व सकियो । यसपल्ट भने धरापमा परिरहेको छ ।

०५२ सालमा पहिलो पल्ट प्रधानमन्त्री बने शेरबहादुर देउवा । गिरिजाप्रसादका पक्का चेला शेरबहादुर कोइरालाकै दयामा प्रधानमन्त्री बने र, गिरिजाप्रसाद कोइरालाकै अन्तरघातले प्रधानमन्त्रीबाट बिदा भए ।

गिरिजाप्रसादकै धुत्र्यांइपूर्ण खेला अनुसार कांग्रेसकै सांसद संसदमा अनुपस्थित भएकाले देउवाको प्रधानमन्त्रित्व विश्वासको मत नपुगेर खुस्कियो । उनी राजीनामा दिन बाध्य बने ।

 

 

दोस्रो पल्ट प्रधानमन्त्री भएपछि गिरिजाप्रसादसंगको टक्करले गर्दा विपरित बुद्धिमा देउवा लागे र नेपाली कांग्रेस पार्टी फुटाए । संसद विघटन गरे । किस्तीमा हालेर राजालाई प्रजातन्त्र चढाए । फलस्वरुप राजा ज्ञानेन्द्रले २०५८ असोज १८ गते ‘असक्षम’ प्रधानमन्त्रीको पगरी गुथाएर देउवालाई पदच्युत गरे ।

राजा ज्ञानेन्द्रले ‘असक्षम’को पगरी देउवालाई गुताए । अनि पदबाट देउवा गलहत्याइए । राजाले महापंच लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनाए । त्यसपछि अर्का महापंच सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाए ।

 

दुई पूर्वपंचलाई सुमरिसकेपछि राजा ज्ञानेन्द्रले देउवालाई चन्द र थापाकै हैशीयतमा प्रधानमन्त्री बनाउछु भनेर बोलाए । देउवा आफूलाई असक्षम घोषित गरेर पदच्युत गर्ने राजाबाट ज्यादै गदगद भएर सार्वजनिक रुपमैं भने, मैले गोर्खाका राजाबाट न्याय पाएँ ! तर केही महिनामै राजा ज्ञानेन्द्रको प्रतिगमनकालमा प्रधानमन्त्री बनेर राजालाई सघाउने देउवालाई राजाले फेरि माघ १९ मा परेर पदच्युत मात्र गरेनन् कि भ्रष्टाचारको आरोपमा थुनामा समेत राखे ।

चौथो पटक शेरबहादुर देउवा प्रधानमन्त्री बने गएको जेठ महिनामा, गणतन्त्रका कार्यकारी प्रधानमन्त्री । यसपटक पनि उनी प्रधानमन्त्री आफ्नै बलबुतामा होइन, माओवादी अध्यक्ष प्रचण्डको वैशाखी टेकेर नौ महिनाका लागि प्रधानमन्त्री त बने उनी तर पाँच महिनामै माओवादी–एमालेसंग चुनावी तालमेलमा गएकोले शेरबहादुर फेरि धरापमा परेका छन् । त्यसैले बामपन्थी ध्रुवीकरणविरुद्ध उनी कठोर शब्दको प्रतिक्रिया ब्यक्त गरेर मात्र बसेका छैनन् । छटपटिमा छन् ।

 

 

खुबै डराएको छाप सार्वजनिक रुपमै देखिएको छ । त्यसैले उनका अभिब्यक्ति पनि सन्तुलित छैनन् । देउवाले भने, कम्युनिष्टहरुको एकता प्रजातन्त्रको लागि खतरनाक कुरा हो ।

लोकतान्त्रिक भनिने कांग्रेस पार्टीका सभापतिको यो हडवडी र हतासपूर्ण अभिब्यक्तिलाई राजनीतिक विश्लेषकहरुले लोकतान्त्रिक पार्टीका प्रमुखको अलोकतान्त्रिक वक्तव्य भनेर टिप्पणी गरेका छन् । शेरबहादुरले त स्वभाव र नियतिका कारण यस्तो बोले पनि कांग्रेसका रामचन्द्र लगायतका नेताहरुको प्रतिक्रिया पनि हठात नै छ । यसबाट पूरै नेपाली कांग्रेस इतिहासमै अन्मनन्य अवस्थामा पुगेको छ । के नेपाली कांग्रेस पार्टी बिचारसून्य अवस्थामा पुगेर बिघटनको अवस्थातर्फ लम्किरहेको हो ?

सत्तापक्ष कांग्रेसीको प्रतिपक्षी कम्युनिष्टबिरुद्ध प्रसारित वक्तव्य पढेर, सुनेर र देखेर मनमा केही दिनदेखि दया मात्र उत्पन्न भैरहेको छ ।

 

 

कांग्रेस पार्टीलाई वर्षौंदेखि गतिशील नवनाएर, यसका सिद्धान्त, आदर्श र सशक्ततालाई बिर्को लगाएर गुटमा विभाजन गर्ने अरु होइन, यिनै कांग्रेसीहरु हुन् । अहिले साँखुल्ले बनेर ठालु पल्टिदै असफल र नालायक सावित भएका नेताहरु नेताहरु शेरबहादुर, रामचन्द्र, शशांक, शेखर, सिटौला, गगन, बिमलेन्द्र, प्रकाशमानहरु हामी एक छौं भनेर माओवादीशैलीमा लाल सलाम झैं मुठी बटारेर दाह्रा किटिरहेको गाइजात्रा पो प्रदर्शन गरिरहेका छन् ।

यो अरु केही होइन, गाउ शहरमा बसेर कांग्रेसको चुरोलाई जोगाइरहने हजारौं कांग्रेसीहरुको मेख मार्न खोजेको मात्रै हो । पदलोलुप यी नेताहरु कतिसम्म नकचरा लाग्छन् भने शरीरले प्राण छोडिसक्दा पनि यिनले पद छाड्नेवाला छैनन् । आर्यघाट पनि यिनीहरु पद नै बोकेर जान चाहने उत्कट अभिलाशा राख्छन् । त्यसैले कांग्रेस मटियामेट भए पनि यिनलाई मतलब छैन । भएको भए युवापुस्ताका जाज्वल्यमानहरुलाई कार्यकारी पद सुम्पिएर अभिभावकको रुपमा यिनीहरु शान्त मरण मर्न सक्ने थिए ।

 

 

बेलामा काम नगर्ने, गुटहरुलाई पोस्ने, पार्टीभित्र भाँडभैलो मच्चाउने नेताहरु भएकाले नै बामपन्थीहरु एक भएकाले आफू पनि बिचारमिल्ने दल र ब्यक्तिहरुसंग एकभएर आफ्नो पार्टीलाई बामपन्थीहरु भन्दा पनि बलीयो, सशक्त र कार्यक्रम भएको पार्टी बनाउन आफूसहित तमाम कार्यकर्ता र समर्थकलाई परिचालन गर्नुको सट्टा कांग्रेसका म्याद गुज्रीएका नेताहरुले के निर्णय गरे भने, अब वाम एकतालाई बदनाम गर्ने रणनीति कांग्रेस नेतृत्वले बनाएको समाचार सार्वजनिक भएको छ ।

मतिभ्रष्ट कांग्रेसीहरुको यो कदमलाई आगो लागिसकेपछि गाग्रो किन्न हिंड्ने मूर्ख भन्नु उचित संबोधन हुनसक्छ । यस्तो प्रतिगमनकारी सोच लिएर के कांग्रेस आफ्नै कार्यकर्ताहरुलाई गोलबन्द गर्न सक्छ ? कांग्रेसीहरु नै भन्छन्, यसमा हामीलाई रत्ति विश्वास छैन । हामी आफ्नै नीति, सिद्धान्त र कार्यक्रम लिएर जनताबीच गयौं भने सफलता पाउन सक्छौं, नकि म्याद गुज्रीएका असान्दर्भिक नेताहरुका बौलट्ठीपूर्ण रिस, राग र द्वेष ।

 

 

पार्टी नेतृत्व र खास गरेर सभापति शेरबहादुर देउवाको सोचले कांग्रेसलाई बिघटन मात्र गर्न सक्छ । होइन, कांग्रेसलाई जीवन्त र सशक्त पार्ने हो भने धेरै कुरा पुनरावलोकन गर्नुपर्छ । विपक्षीले सशक्त कार्यक्रम ल्याउदै एकभएर चुनाव लड्ने घोषणा गरेको सन्दर्भमा दशतिर मुख लगाएर बसेका नेताहरुले हात मिलाएर एकता प्रदर्शन गरेको भर र भ्रममा मोफसलका कांग्रेसीहरु पत्याउने वाला छैनन् । के कांग्रेसी कार्यकर्ता पटमूर्ख र चेतना नभएका प्राणी हुन् र ? के हामीलाई पार्टीमा पाकिरहेको खिचडीवारे केही पत्तो छैन ? पत्रपत्रिका, रेडियो, टिभी, सामाजिक संजाल तथा देशव्यापी वससेवाको संचालनले कोही पनि कुनै पनि कुराबाट अनभिज्ञ छैन । दिनदिन र छिनछिनका सूचनाबाट प्रत्येक कांग्रेसीहरु सचेत र जानकार छन् ।

कांग्रेसको पछिल्लो अधिवेशनमा गरिएको कांग्रेसीहरुको वर्गीकरण चित्त बुझेको संझाउदै एक वास्तविक कांग्रेसीले भने, तपाईले गर्नु भएको कांग्रेसको बर्गीकरण मलाई त्यतीबेला पनि एकदमै चित्त बुझेको थियो । वास्तवमा कांग्रेसीहरु कुलीन, लाहुरे (चैते) र जेन्युइन तीन प्रकारकै छन् । हामी भित्र वर्ग अनुसार आ–आफ्ना पाइला चालिरहेकै छौं । तर सत्ताले कांग्रेसीलाई भ्रष्ट बनायो । सत्ताले कुलीन, लाहुरे र जेन्युइन कांग्रेसीलाई तीनथरि कित्ता पनि दुई वर्गमा धु्रवीकृत हुन प्रयत्न गरिरहेका छन् ।

 

 

कुलीन र लाहुरे एकातिर र जेन्युन कांग्रेस फगत एक्लो परेर बाँडिएको छ । दुबैको सोच, बिचार र कार्यक्रम मात्र होइन, दृष्टिकोण नै भिन्न देखिन्छ । जेन्युइन कांग्रेस एमाले, माओवादी र जनशक्ति पार्टीको आगामी निर्वाचनमा हुने एकतालाई स्वाभाविक नै मानिरहेका छन् । उनीहरुको एउटै भनाई छ, बिचार कार्यक्रमसहित बढे भनेर हामी कांग्रेसीहरु कम्युनिष्ट–वामपन्थीसंग किन डराउने ? डराउनु पर्ने कुनै कारण नै छैन ।

कम्युनिष्ट ध्रुवीकरणका कारण कांग्रेसीहरुलाई पनि बिचार कार्यक्रमसहित ब्यवस्थित हिसावले अगाडि बढ्ने चेतना र दवाव दुवै दिएको छ । सत्तासुखमा बरालीएका कांग्रेसीहरुलाई त्यतातिर सजग भएर लाग्न कम्युनिष्टहरुले बरु बाटो पो देखाएका छन् । उनले भने, म त यसरी सकारात्मक रुपमा पो एमाले–माओवादी ध्रुवीकरणलाई लिइरहेको छ ।

 

 

जनतालाई केन्द्रविन्दूमा राखेर जग्गा दलाल, तस्कर, भ्रष्टाचारी, बिचौलीया र डनलाई होइन, स्वच्छ छवि र लोकतान्त्रिक मूल्य र मान्यतामा अडीग ब्यक्तिलाई उम्म्ोदवार बनाउने अवसर कांग्रेसलाई कम्युनिष्टहरुले सिर्जना गरेका छन् तर लाहुरे र कुलीन कांग्रेसीहरु भने कम्युनिष्ट ध्रुवीकरणबाट अत्तालिएका मात्र होइन, अन्टसन्ट बोलेर बर्बराई रहेका देखिदैछन् । यसले उनीहरु भित्रको छटपटिलाई भण्डाफोर गरेको छ ।

कम्युनिष्टहरु एक भएर चुनाव लडे भन्दैमा सिद्धान्त, आदर्श र नीतिकार्यक्रम छाडेर आफ्नै जनताविरुद्ध भारतले गरेको ज्यानमारा नाकाबन्दीका गोटी बनेका ठाकुर महतो जस्तासंग कांग्रेस मिल्यो भने त्यो कही प्रजातान्त्रिक मोर्चा हुन्छ ? तर शेरबहादुर र उनका मतियारहरु ती मधेशीमात्र होइन, पूर्वपंचहरुसंग समेत मिल्न खोजेका छन् । यसैका लागि संबिधानले २५ सदस्यीय मन्त्रिमण्डल भन्दा पनि शेरबहादुरले ५६ सदस्यीय बनाए, सत्तामा टिकिरहनका लागि । यो कांग्रेसका लागि कलंकको टिका नै हो ।

 

 

कांग्रेसीले के यसैका लागि पंचायतकालभर जेल नेल सहेका थिए ? शहिदहरुको जीवन न्यौछावर यसैका लागि थियो ? माओवादी जनयुद्धमा गाउगाउका कांग्रेसीले के यसैका लागि प्रताडना खपेका थिए ? खै जेन्युइन कांग्रेसीहरु ? कहाँ छौ ? कांग्रेसको अस्तित्व रहने कि नरहने भन्ने कांग्रसभित्रको द्वन्दमा कहाँ छौ वास्तविक कांग्रेसीहरु ? देउवा विदा भए पछि आउने तिमीहरु नै हौ, यस्तो बेलामा पनि के लजाउछौं ? टाउको निहुराउछौ ?

कांग्रेसको जीवन मरणको सवालमा पनि जोजोले आफ्नो ‘आइडेन्टिटी’ विर्सिएर सत्तासीनसंग तर्सिएर कट्टु छेरिरहेका छन्, तिनलाई मेरो एउटै अनुरोध छ, आचिगर्न आउछ भने अहिल्यै ट्वाइलेट गएर दिशा–पिसाव गर तर कट्टुमा नछेर !

यस्ता कदम कांग्रेसका लागि सिधै आत्मघाती हुन्छ, उनले हाकाहाकी भने । कुलीन र लाहुरे कांग्रेसका सल्लाहकार को होलान् ? यसैबाट थाहा पाउन सकिन्छ । होइन भने एमाले–माओवादी मिले, जुटे भने हामी किन आतंकित हुने ? शेरबहादुरको मूख्र्याइमाथि आफ्नो मूख्र्याइ पनि किन  थप्ने ?अनिश्चिततालाई अन्त्य गर्न एक भएका हौं भन्छन् भने हामीलाई के को आपत्ति ? मेरो बिचारमा त बरु यसलाई कांग्रेसले स्वागत गरेर शुभकामना दिए हुन्छ !