कसरी जोगाउने कांग्रेस ?

आँखा च्यातेर कांग्रेसीहरुले हेरुन र कान थापेर सुनुन्, न स्थानीय निकायमा कांग्रेसले ठाउ पाएको छ नत पहिलो पल्ट कायम भएका सात प्रदेशमध्ये कांग्रेसको कहींकतै अस्तित्व छ । एउटा प्रदेशमा पनि नेतृत्व गर्न नपाउने गरी कांग्रेस बढारिएको छ । संसदको प्रत्यक्ष निर्वाचनमा पराजीत भएर बदामको पुन्टे कोसोको आकारमा कांग्रेस सिमित हुन पुगेको छ ।
![]()
हतार भयो चढ्नलाई सिगात्सेको रेल !
अब त आऊने भयो चाईनाबाट तेल !!
पूर्व पश्चिम बुलेट ट्रेनमा कुद्धा हररर !
झापाबाट पाथीभरा केबलकार सरर !!
देशबिदेशका पानीजहाजमा झण्ंडा फरररर !!!
भाईचारा पार्टी भन्दा माथि हुने हो !
उद्योग धन्दा, विकास निर्माण पूरा हुने भो !!
रोजÞगारी कती कती गरी साध्य हैन !
पासपोर्ट बोकी खाड़ी जान युवा बाध्य छैन !!
देशबिदेसका पानीजहाजमा झण्ंडा फरररर !!!
के भ्रष्टाचार खÞत्म होला, सुशासन छाऊला ?
टुरिष्ट बनी देश बिदेश घुम्ने दिन आउला ??
देशबिदेसका पानीजहाजमा झण्ंडा फÞरररर !!!
वेट एण्ड सी हजुर !!!
–प्रवीण भट्टराई
![]()
केमा चुक्यो कांग्रेस ?
केमा चुके कांग्रेसीहरू ??
पत्नीवादमा चुकेनन् कि ?
सासु–सम्धीवादमा चुकेनन् कि ?
भाइ–भतिजावादमा चुकेनन् कि ?
भ्रष्ट व्यक्ति जोगाउन चुकेनन् कि ?
इमान्दार प्रन्या हटाउन चुकेनन् कि ?
बरियतमा चौथो ल्याउन चुकेनन् कि ?
टिकट बितरणमा पैसा खान चुकेनन् कि ?
हरेक नियूक्तिमा मोलतोल गर्न चुकेनन् कि ?
हलो–गाई–शक्तिहीनलाई बुई बोक्न चुकेनन् कि ?
भरतपुरमा प्रचण्डपुत्रीलाई जीताउन चुकेनन् कि ?
नाकाबन्दीमा जनताको मनोबल गिराउन चुकेनन् कि ?
बेमतलवको ६४ सदस्यीय मन्त्रीमण्डल बनाउन चुकेनन् कि ?
अनि जनता चांहि संधै बुद्धु नै हुन्छन् त ?
कदापी हुंदैनन् !!!
–खेम शर्मा पौडेल
सामाजिक संजालमा पोष्ट गरिएका उपरोक्त दुई असन्तुष्टिले पाठकलाई अहिले बाम र दक्षिणपन्थी गठबन्धनका भनाई र गराईलाई यथार्थको नजीक पु¥याउछन् भन्ने लागेर नै उद्धृत गरिएको हो । यी दुबै फेसबुके मित्रहरुले दुबै गठबन्धनका बल वा कमजोरीलाई यसरी छरपष्ट पारिदिएका छन् कि अरु कसैले केही बताइरहनै परेन । दुबै भनाइ अति नै प्रष्ट र बोधगम्य छन् । पूर्वीय दर्शनमा पोख्त र संस्कृत भाषामा चुस्त मित्रले संस्कृत भाषामा मै भने– ‘किम अधिकम् ?’
अर्थात, थप भनिरहनै पर्दैन । यसैले सबैकुरा स्पष्ट पार्दछ, बामपन्थीको सपना र कांग्रेसीहरुको तदर्थवाद । तर जति पनि साथीभाइ तथा जिज्ञासुहरु भेटिन्छन्, सोधिहाल्छन्– कामचलाउ प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ सरकार बनाउने शुरुवात गर्न कहिले राजीनामा दिन्छन् ? राष्ट्रियसभाको चुनाव, कांग्रेसले ल्याउन खोजेको अध्यादेश अनुसार हुन्छ कि संविधान अनुसार ? चुनावमा गठबन्धन गरेका एमाले र माओवादीमा फुट हुन्छ कि पार्टी एकिकरण हुन्छ ?
हरेकलाई यसको जवाफ चाहिएको छ र त्यो पनि अहिल्यै ! तर जवाफ जस्लाई दिनुहुन्छ, उसको सोच अनुकूल दिनु भयो भने तपाईले वाहवाही पाउनु भयो, जमातको चाहना अनुसार दिनु भएन भने तपाईको बेहाल भयो भन्ने बुझिहाल्नुस् । ’cause, एउटा दृष्टिकोण बनाएर अरुलाई खोतल्न माहिरहरु आफूले चाहेजस्तो जवाफ नदिनेमाथि रिस पोख्न उद्यत भैहाल्छन् ।
कोही पनि यथार्थ, तथ्य, संबिधान, कानून, लोकतान्त्रिक मूल्य मान्यता र संसदीय पद्धतिका सर्वमान्य सिद्धान्त र व्यवहारबाट होइन, आफूलाई लागेको अरुबाट सुन्न ब्यग्र छन् ।
कांग्रेसीहरु उनीहरुलाई हिंग नभए पनि हिंग बाँधेको टालो हो भन्ने सुन्न चाहन्छन् । एमालेहरु देशमा उनीहरुको दिग्बिजय भएको सुन्न चाहन्छन् । माओवादी आफ्नो पोजीसन जसोगर्दा पनि निर्णायक हुने सुन्न लालायित छन् ।
चुनावमा आ–आफ्ना उम्मेदवार, दल र बिचारबाट अभिमुख हुनु अन्यथा पनि होइन तर चुनावपछि पनि निर्देशित रुपमा आफ्नै ढिपीबाट दायाँ बायाँ हुननसक्नुलाई उनीहरुमा रहेको कठमुल्ला प्रबृत्ति बाहेक के भन्न सकिन्छ र ?
कसलाई के लागेको छ ? जसलाई जेसुकै लागोस्, जनताले चुनावमा आफ्नो अभिमत गोप्य मतदानबाट ब्यक्त गरिसकेका मात्र होइनन्, प्रत्येक उम्मेदवारलाई, तिनले बोकेको विचार र अभिमतलाई समर्थन जनाएका छन् । चुनावमा जितहार भैसकेको छ । संसदीय पद्धतिको मर्म र चलन अनुसार सामान्य अवस्थामा निर्वाचित जनप्रतिनिधिको कार्यकाल पाँच वर्षको हुने छ अर्थात, नेपालको संबिधान अनुसार प्रत्येक पाँच वर्षमा आवधिक निर्वाचन हुने व्यवस्था छ ।
यद्यपि, भर्खरै सम्पन्न निर्वाचनले प्रतिनिधिसभामा एउटै दलले बहुमत पाएको छैन । तर विर्सन नहुने कुरा के भने आगामी पाँचवर्षको लागि स्थायी सरकार दिने बचनबद्धता प्रकट गरेर एमाले र माओवादी केन्द्रले गठबन्धन गर्दै प्रदेशसभा र प्रतिनिधिसभाको कुल सिटमध्ये ६० र ४० प्रतिशत सिटमा क्रमश सिट भागबण्डा गरेर चुनाव लडे ।
जसअनुसार प्रदेशहरु तर्फ बामगठबन्धनले सात मध्ये छ प्रदेशमा चुनाव जितेको छ । एउटा मात्रै दुई नम्बर प्रदेशमा बाम गठबन्धन पछाडि परेको छ ।
प्रतिनिधिसभा तर्फ पनि बामगठबन्धनले प्रत्यक्ष तर्फ झण्डै दुई तिहायी सिट (प्रत्यक्ष तर्फको १६५ सिटमध्ये बामगठबन्धनले ११७ सिट) जितेको छ । समानुपातिकतर्फको ११० सिटमध्ये एमाले ४१, कांग्रेस ४०, माओवादी १७, राजपा ६ र फोरमको ६ सिट रहेको छ ।
चुनावमा नेपाली मतदाताले क्रुरतापूर्वक नेपाली कांग्रेसलाई भित्तामा पु¥याइदिएका छन् । स्थानीय चुनावमा एमाले ठूलो पार्टी बन्यो । कांग्रेस र माओवादी मिलेर स्थानीय चुनाव लड्दा पनि उनीहरुलाई जनताले पराजीत गरिदिए ।
तर, प्रदेशसभा र प्रतिनिधिसभाको चुनावसम्म आइपुग्दा कांग्रेससंग मिलेर पालैपालो सरकारमा रहेको र स्थानीय चुनावमा कांग्रेससंग गठबन्धन गरेको माओवादी एमालेसंग बामपन्थी गठबन्धन गर्न आइपुग्यो ।
माओवादीले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एमालेसंग मिलेर चुनाव लड्दा पनि सरकार भने छाडेन । सरकारलाई समर्थन गरिरह्यो । प्रधानमन्त्री देउवाले पनि माओवादी एमालेसंग मिल्न गएको भनेर माओवादी मन्त्रीहरुलाई वर्खास्त गर्न सकेनन् । बरु राप्रपासंग नयाँ गठबन्धन गरी निर्वाचन गराउने सरकार भए पनि विरोधको सामना गर्दै मन्त्रिमण्डल विस्तार गरिरहे ।
राप्रपाको साथ पाएपछि भने, कांग्रेस बामपन्थी गठबन्धनविरुद्ध आक्रामक रुपमा अगाडि बढ्यो । उसले आरोप लगायो–कम्युनिष्टहरुले चुनाव जिते भने देशमा अधिनायकवाद आउछ ! उनीहरुको तानाशाही शासनमा रुन पनि पाइदैन ! तर, सुधारिनुको सट्टा खेम शर्मा पौडेलले लेखेजस्तो गरी कांग्रेस अगाडि बढ्यो । अन्तत कांग्रेस निर्वाचनमा लज्जास्पद रुपमा बढारियो ।
कांग्रेसको यो हार यति लज्जास्पद र सर्मनाक छ कि वर्तमान नेतृत्वमा अलिकति पनि नैतिकता र लोकतान्त्रिक चरित्र भएको भए आफ्नो इतिहासकै लज्जास्पद पराजयलाई स्वीकार गरी पार्टी र सरकारबाट राजीनामा गर्नु पर्ने थियो । तर, शेरबहादुर देउवा पार्टीभित्र नेपाली कांग्रेसलाई बौराएर नयाँ नीति कार्यक्रम र योजना बनाएर अब अगाडि बढ्नुपर्छ भन्नेहरुमाथि पनि डण्डा चलाउदै छन् । उनमा एकरत्ती चेत आएको छैन ।
अर्कोतिर यति नै बेला प्रधानमन्त्री देउवा जनप्रतिनिधिहरुबाट चुनिनु पर्ने राष्ट्रियसभा सदस्यहरुको निर्वाचनलाई तोडमोड गरेर अध्यादेशमार्फत एकल संक्रमणीय निर्वाचन गराउनु पर्छ भनेर राष्ट्रपति विद्यादेवी भण्डारीमाथि असंबैधानिक दवाव दिन पुगिरहेका छन् । जबकि उनले आफूलाई जनताले पहिरो जानेगरी निर्वाचनमा हराइदिएपछि मतदाताले दिएको आदेशलाई शिरोधार्य गरी जनतालाई धन्यबाद र बिजयी विपक्षीलाई बधाई दिएर राष्ट्रपति कहाँ राजीनामा दिन पुग्नु पर्ने हो । यसो गर्दा नै जनमतको कदर हुने थियो र नयाँ सरकार बन्ने बाटो पनि खुल्ने थियो ।
तर शेरबहादुर लोकतान्त्रिक पद्धति पालना गर्न र जनताले कांग्रेसलाई बिचार, संगठन, कार्यक्रममा सुधार गर्न दिएको अभिमतलाई लत्याएर जनमतको घोर अपमान गरिरहेका छन् । संविधान, ऐन कानून र संसदीय मूल्य मान्यताको पालना गर्नु त कहाँ हो कहाँ आफू खुशी संविधानको अवव्याख्या गरी राष्ट्रपति कहाँ राष्ट्रियसभामा बढी सिट पाउन बार्गेनिंग गर्न पो पुगिरहेका छन् !
कांग्रेस र कांग्रेसीलाई प्रतिपक्षमा बस्न जनताले दिएको निर्णयलाई सरासर कांग्रेस नेतृत्व अस्वीकार गरिरहेको छ । जनमतलाई अन्डरमाइन गर्नेहरुका लागि नेपालीले बनाएको लोकोक्ति ‘डाडुमा पानी तताएर डुब !’ यतिखेर कांग्रेस नेतृत्वका लागि हुबहु मिलेको छ ।
आफूलाई लोकतन्त्र र प्रजातन्त्रको पर्याय भन्ने कांग्रेसीमा देखिएको लोकतान्त्रिक र संसदीय पद्धतिका मर्यादाविरुद्धका तानाशाही, अधिनायकवादी र सामन्ती चालचलन, ब्यवहार र गतिविधिले गर्दा मुखले लोकतन्त्रको गीत गाउने कांग्रेस भित्रभित्र कति अधिनायकवादी रहेछ, जगजाहेर भएको छ ।
चुनाव आयो कि कांग्रेसले नजीते अधिनायकवाद आउछ भन्ने भनाइमाथि पत्यार गरेर नेपाली जनताले दुइ पटक प्रतिनिधिसभामा पूर्ण बहुमत दिएका पनि हुन् । तर दुबै पटक कांग्रेस नेतृत्वका लोकतन्त्रविरोधी क्रियाकलापले गर्दा सरकार चलाउन कांग्रेसीहरु असफल भए, अहिले आएर कांग्रसीको असली चरित्र छताछुल्ल भएर पोखिएको मात्र छैन, पुन पुष्टि पनि भएको छ ।
समयमा जनताले दिएको शिक्षालाई आत्मसात गरेको भए, कांग्रेसले यसरी लज्जास्पद रुपमा चुनावमा पराजीत हुनुपर्ने थिएन । तर, पटक पटकको जनमतलाई कांग्रेस नेतृत्वले लत्याइरह्यो । फलस्वरुप, देशमा लामो समय शासन गरेको पार्टी देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आउदा राज्यका तीनै निकायबाट बढारिएको छ ।
एकयुगमा एकपल्ट आउने संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयन भैरहँदा नेपाली कांग्रेस जस्तो इतिहास, सिद्धान्त र बिचार बोकेको भनिएको पार्टी कहीं कतैको रहेन ।
आँखा च्यातेर कांग्रेसीहरुले हेरुन र कान थापेर सुनुन्, न स्थानीय निकायमा कांग्रेसले ठाउ पाएको छ नत पहिलो पल्ट कायम भएका सात प्रदेशमध्ये कांग्रेसको कहींकतै अस्तित्व छ । एउटा प्रदेशमा पनि नेतृत्व गर्न नपाउने गरी कांग्रेस बढारिएको छ । संसदको प्रत्यक्ष निर्वाचनमा पराजीत भएर बदामको पुन्टे कोसोको आकारमा सिमित हुन पुगेको छ ।
यस्तो निरिह र दयनीय अवस्थामा कांग्रेसले अब आफ्नो घोषणापत्र कहाँ लागु गर्छ ? राष्ट्रियतामा संकट आउदा एकमुठी माटो समाउन बीपीले दिएको सल्लाह नटेर्ने कांग्रेसीहरुले अब कांग्रेस जोगाउन शेरबहादुरलाई समातेर पारपाउलान् ?
तर शेरबहादुर अर्कै योजनामा देखिन्छन् । दन्त्यकथाको कुखुरा चोर स्याललाई लिसोबाट बनेको पुतलीको हातमा लड्डु राखेर पासो थाप्नेको चाल नबुझेर लीसोको पुतली कुट्दा पहिलो दोस्रो गर्दै तीनवटा खुट्टा टाँसिइसक्दा पनि मेरो चौथो खुट्टा छैन र भनेर हानेपछि स्याल चुमुक्क परेको थियो । कतै उनको राष्ट्रियसभामा एकल संक्रमणीय अध्यादेश त्यस्तै त होइन ?
कांग्रेस सभापति रहेका प्रधानमन्त्री देउवाले अझै पनि बुझुन्, बादी–प्रतिवादी बोक्ने वकिलको लहैलहैमा लागेर राजनीतिक नेतृत्वको जीत हुँदैन । यसले उनलाई झन् निर्लज्ज बनाउने छ । संसदीय÷संघीय मुलुकमा कहींकतै नभएको एकल संक्रमणीय अध्यादेश ल्याएर सिट पाइने लोभले सर्वनास मात्र गराउछ । लालचले कुख्याती कमाउने मात्र होइन, गौरवशाली इतिहास भएको कांग्रेसलाई मटियामेट पनि पार्न सक्छ । रकमीको लहैलहैमा लागेर खोंचे थाप्न छाड देउवा ! यसले तिमीलाई कतैको पनि बन्न दिंदैन ।
संबिधानको धारा ८६मा स्पष्ट छ, राष्ट्रियसभाका सदस्यहरु प्रदेशसभाका सदस्य, गाउ÷नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचन मण्डलद्वारा चुनिने छन् । प्रत्येक प्रदेशबाट कम्तिमा तीनजना महिला, एकजना दलित र एकजना अपांगता भएका व्यक्ति वा अल्पसंख्यकसहित आठजना गरी सात प्रदेशबाट निर्वाचित ५६ जना र नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित कम्तिमा एक महिलासहित तीनजना गरेर राष्ट्रियसभा ५९ सदस्यीय हुनेछ । जसको कार्यकाल छ वर्षको हुनेछ ।
कांग्रेस सभापति रहेका प्रधानमन्त्री देउवाले जति खोंचे थापे पनि राष्ट्रियसभा भनेको प्रदेश र स्थानीय निकायको सभा हो । सबैलाई अवगत नै छ, स्थानीय र प्रदेशसभामा एमाले र बामगठबन्धनको जनमत छ । देउवाले के बुझ्नु जरुरी छ भने, जनताले अस्वीकार गरेको दल र त्यसको नेतृत्वले ठूला कुरा गर्न सुहाउदैन बरु स्वीकार गरेर चांडोभन्दा चाँडो बहिर्गमन गर्नु नै लोकतान्त्रिक मूल्यमान्यता, सिद्धान्त र आदर्शको पालना हो ।
तर, सरकारमा रहेर आफ्नो भगीनी विद्यार्थी संगठनलाई समेत सडकमा उतारेर शेरबहादुर देउवा कुनै बेलाका उनकै सल्लाहकार श्रीकृष्णअनिरुद्ध गौतमले सार्वजनिक रुपमा निरन्तर लेखिरहे जस्तै कांग्रेसको बचेखुचेको छविलाई पनि निमिट्यान्न पार्न अग्रसर भैरहेछन् । नेविसंघका तरुणहरुले यस्तो बेलामा जुलुस, नारा र प्रदर्शन त ‘हरुवा देउवा राजीनामा देउ’ भन्दै जनमतको कदर गर्न प्रधानमन्त्रीलाई दवाव दिंदै खबरदारी पो गर्नु पर्ने थियो ।
म नै डेमोक्रेसी हुँ भन्दै कांग्रेसमाथि शेरको आक्रमणबाट अब बीपीले स्थापना गरेको, शयौं कांग्रेसीहरुले रगत पसीना बगाउदै शहादत दिएको कांग्रेसलाई कस्ले जोगाउने ? किन बोल्दैनन् अरु कांग्रेसी नेताहरु ? किन लेख्दैनन् कांग्रेस भन्दा आफैं बढी लोकतान्त्रिक भन्ने लेखक विश्लेषकहरु ? सबै शेरबहादुरसंगसंगै नारायणहरि हुने त होइनन् ?


