सम्बृद्ध नेपाल बनाउने पहिलो एजेण्डा !


अब अरुले देलान् र खाउँला । विदेशी सहायता पाउला र देश बनाँऔला भन्ने युग छैन । अब हामीले हाम्रो देश सम्बृद्ध बनाउँन हामी आफैं लाग्नुपर्छ । सबैले मिहेनत गर्नुपर्छ । कम्तिमा सम्बृद्ध शौचालय अभियान सफल बन्यो भने मात्र समृद्ध नेपाल बन्ने विश्वास गर्न सकिन्छ । त्यसैले शौचालय सफाइ अभियानलाई समृद्ध नेपाल बनाउने पहिलो एजेण्डा बनाऔं !
चुनाव सकिएपश्चात देशभर “सम्बृद्ध नेपाल” को विषय छलफल, अन्तरक्रिया, गोष्ठी, कार्यशाला, तालिम, अध्ययन, अनुसन्धान, लेख, रचना, विचार, अन्तरवार्ता र चियापसलदेखि विश्वविद्यालयसम्म अभियानको रुपमा चर्चा हुन थालेको छ ।
कतिपयको त सम्बृद्ध नेपाल सम्बन्धी बहसमा सहभागिता जनाउनु र भावि नेपालको कार्य संस्कृतिको चर्चा गर्नु दैनिकी जस्तै बन्दैछ । तर आफ्नो देश, समाज, संघसंस्था र घरपरिवारको समेत कार्य संस्कृतिप्रति केही अनभिज्ञहरु आफू अर्कै ग्रहबाट आए झै सम्बृद्ध नेपाल बनाउने विषयमा विज्ञता छाटिरहेकोे देखिँदैछ ।
‘अर्गनाईजेसनल कल्चर’को बहस
गएका दुई साता “सम्बृद्ध नेपाल” बनाउने अभियानसँग मिल्दा जुल्दा कार्यक्रमहरुमा सहभागी बन्ने अबसर मिल्यो । गएको शुक्रबार बल्थली भिलेज रिसोर्ट, काभ्रेमा नेपाल सहभागिमुलक कार्यसमुह (नेपान)ले आयोजना गरेको पाँच बर्षमा सम्बृद्ध नेपान कस्तो बनाउने भन्ने रणनीतिक योजनाबाट शुरु भयो ।
अन्य संघ संस्थाहरुले आयोजना गरेका छलफल, अन्तरक्रिया र प्रशिक्षण कार्यक्रमहरुमा सहभागी बनियो । अधिकांश कार्यक्रमहरुमा सहजकर्ताको रुपमा घर, परिवार, समाज र सरकारी तथा नीजि क्षेत्रका कार्यालयका कार्य संस्कृति र संगठनात्मक संस्कृति (अर्गनाईजेसनल कल्चर) को ’boutमा पनि छलफल गरियो ।
हाम्रो कार्य संस्कृति र संघ संस्थामा विद्यमान कार्य संस्कृतिमा आमूल परिवर्तन सम्बृद्ध नेपाल बनाउने अभियानले सार्थकता पाउँदैन भन्ने निष्कर्ष सहित हामी नेपालीको घर तथा कार्यालयहरुको कार्य संस्कृतिको विषयलाई व्यापक छलफलमा ल्याउने उद्धेश्यले केहि श्रृजनशील व्यक्तिहरुसँग छलफल गरियो ।
आजको आलेख तीनै छलफलको आधारमा सम्बृद्ध नेपाल बनाउन हाम्रो कार्य संस्कृतिको अहिलेको अबस्था र त्यसमा गनुपर्ने सुधारका विषयमा केन्द्रित गरिएको छ ।
दृश्य नम्बर एक:
ठमेलको एक सुप्रशिद्ध होटेल । होटेलका सञ्चालक श्रृजनशील उद्यमी, पर्यटन व्यावसायी । उनीसँग उनको कार्यालयको कार्यसंस्कृतिको विषयमा छलफल गर्दैगर्दा उनले आफ्नो कार्यकक्षसँगै जोडिएका दुईवटा शौचालय र अर्को होटलमा बस्ने पाहुनाहरुले प्रयोग गर्ने नीजि शौचालय लगेर देखाए ।
पहिलो शौचालय, जुन उनी र उनको परिवारले मात्र प्रयोग गर्दथ्यो । त्यहाँ सफाईका सबै सामान थिए । सफा सुग्घर पनि थियो । टिलिक्क टल्किएको । बास्नादार ।
दोश्रो शौचालय, होटलका अतिथि (गेष्ट) ले प्रयोग गर्ने थियो । त्यो पनि त्यत्तिकै सफा सुग्घर । सुख्खा, टिलिक्क टल्किएको । मगमग बास्ना आउने थियो ।
तेश्रो शौचालय, होटलका कर्मचारीहरुले प्रयोग गर्ने थियो । जहाँ सबै सरसफाईका सामान, ब्रस बास्नादार रुम फ्रेसनर त थिए तर शौचालयमा पानी पोखिएको थियो । काइ जमेको थियो । फोहोरका टुक्रा र रौं यताउता थिए । प्यानमा दिसाका दागहरु देखिन्थ्यो । बास्ना पनि ह्वास्स गुहु मुत नै गन्हाउँने थियो ।
यी तीनवटा शौचालय देखाए पछि उनले होटलको लबीमा राखिएको सोफामा बसाएर कफी मगाउदै सोधे, के भिन्नता पाउनु भयो ? अनि आफैं बोल्न थाले—पहिलो शौचालय म, मेरी पत्नी र मेरा दुई छोरीहरुले प्रयोग गर्छौं ।
मेरी धर्मपत्नीले शौचालय आफैंले सफा गर्छिन् । म र छोरीहरु पनि आफुले प्रयोग गरे पछि ब्रस लगाउने र पानी हालेर पखाल्ने गर्छौं । त्यसैले यो हाम्रो घर जस्तै सफा सुग्घर छ । ओवानो छ । वास्नादार पनि छ ।
दोश्रो शौचालय, पाहुनाको कोठामा जोडिएको र टुरिष्टले प्रयोग गर्ने हुँदा त्यसको नियमीत रुपमा होटलका कर्मचारीले सफाइका सामाग्री प्रयोग गरेर सफा सुग्घर गर्छन् । गेष्टले प्रयोग गर्ने हुँदा फोहर भए बस्नै मान्दैन । बाध्यतावस सधैं सफा राख्नैपर्छ । ’cause हामीलाई तलब, मुनाफा दिने गेष्टले नै भएकोले उसले रुचाउने अवस्थामा ट्वाइलेट राख्नैपर्छ ।
तेस्रो शौचालय, होटेलमा कामगर्ने कामदारहरुले प्रयोग गर्छन् । यसमा पनि अरु दुई शौचालयमा जस्तै सरसफाईका सबै सामग्री छन् । तर कोहि कसैमा पनि मैले शौचालय प्रयोग गरेपछि मैले नै सफा राख्नुपर्छ भन्ने चेतना भएको देखिदैन । हुँदो हो त अरु जस्तै यो पनि सफा हुनुपर्ने हो । तर हाम्रो कार्यसंस्कृति आफुले प्रयोग गर्ने शौचालय आफैंले सफा सुग्घर राख्नुपर्छ भन्ने छैन ।
पाहुनाको कोठाको शौचालय सफा गर्नेले पनि आफू र आफ्ना सहकर्मी कर्मचारीहरुले प्रयोग गर्ने शौचालय सफा गर्नु पर्छ भन्ने चेतना नै नभए जस्तो कार्य संस्कृति छ ।
उनले भने, ल तपाई नै भन्नुहोस् । हाम्रो कार्यसंस्कृतिले के कुराको विम्ब देखाउँछ । यहि हो हाम्रो अर्गनाईजेशनल कल्चर । चेतनामा नै परिवर्तन नगरिकन हाम्रो कार्यसंस्कृति परिवर्तन गर्न सकिन्छ त ? सकिँदैन । व्यवहारमा परिवर्तन नगरी तपाईले भनेका कुरा सम्भव नै छैन ।
साँच्चै सम्बृद्ध नेपाल बनाउने हो भने हाम्रो देशमा व्यक्ति व्यक्ति, परिवार परिवारमा कार्यसंस्कृतिमा आमुल परिवर्तन गर्नु जरुरी छ । लरतरो पाराले यो संस्कृति बदल्न सकिँदैन । ठूलै हलचल पो ल्याउनु पर्छ ।
उनले अगाडि भने, हाम्रो संस्कृति भनेको दरिद्रता प्रदर्शन गर्ने दरिद्रतम् मानसिकताले भरिएको, अरुको प्रगतिमा रिस, डाह र ईष्र्या गर्ने रहेको छ । आफु पनि मिहेनत नगर्ने, मिहेनत गर्नेहरुको सिको पनि नगर्ने ! प्रतिस्पर्धा होइन, ईष्र्या र डाह गर्ने । आलोचना, विरोध, नकारात्मक टिप्पणीमा रमाउने परपिडक संस्कृति छ ।
एकले अर्काको सम्मान होइन, हेप्ने, होच्याउने, सराप्ने संस्कृति छ । यहाँ सयौं बर्षौदेखि ढोकेहरुले, चाकरबाजहरुले, मन्दिर गएर भाकल गरे पछि जे पनि पाइन्छ भन्ने भाग्यवादी अबसरवादीहरुको बोलवाला छ । पद, पदवी र प्रमोशन कामले होइन, चाकरी र घुष खुवाएपछि पाइन्छ भन्ने कुसंस्कृति सयौं बर्षदेखि जरा गाडेर बसेको छ ।
योग्यले होइन, नाता गोता, चाकरी—चाप्लुसी गर्नेहरुले नियुक्ति, सरुवा, बढुवा र पुरस्कार पाउने कल्चरलाई यहाँ शासनमा बस्नेहरुले मलजल गरिरहे । यो नै यहाँको यथार्थ हो । वास्तविकता पनि यही हो ।
त्यसैले नयाँ रगत र चेतना भरिएको भनिएको नयाँ पुस्ताले पनि तेहि सिको गर्दै छ । यो नाङ्गो यथार्थ स्वीकार्दै कम्तीमा एक सफा शौचालय अभियान शुरु ग¥यौं र त्यो सफल भयो भने मात्र नयाँ नेपाल बनाउने कामको शुरुवात हुनसक्छ । होइन, पुरानो फोहोरको डंगुर नफालीकन नयाँ सिर्जना गर्छु भन्नु गफ बाहेक केही हुँदैन र त्यो असफल हुने ग्यारण्टी नै छ ।
जुरुक्क उठ्दै उनी बोल्नथाले, हाम्रो कुकार्यसंस्कृति अर्थात डिकल्चरको क्लाईमेक्समा छौं यतिखेर हामी । यदि गणतन्त्रको संस्थागत बिकाससँगै स्थिर सरकार बन्न सक्यो भने त्यसले धेरै नै जिम्मेवार बनेर काम शुरु गर्नुपर्छ । नारा लगाएर नयाँ नेपाल बन्न सक्दैन ।
नयाँ संस्कार र संस्कृतिको शुरुवात र त्यसको विकासबाट मात्र नयाँ नेपाल संभव छ । फोहोरको डंगुरमा नयाँ बन्न सक्दैन ।
सरकार गठन भएको पहिलो मन्त्रीपरिषदको बैठकले नै केहि नयाँ संस्कृतिको अभ्यास शुरु गर्नुपर्छ भन्ने मेरो माग हो । अब पनि ढोकेहरुकै प्रथालाई निरन्तरता दिने हो भने केहि हात लाग्नेवाला छैन ।
क्षमताबान, इमान्दार र मिहेनतिले जिम्मेवारी पाउने र गरेर देखाउने अवसर पाउने दिनको शुरुवात नगरी नयाँ नेपाल बन्न सक्दैन । मिहेनत र परिश्रम विना कहींकतै प्रतिफल पाईदैन, पाइएको पनि छैन ।

दृष्य नम्बर दुईः
नेपाल सरकारमा भर्खरै बढुवा भई कार्यालय प्रमुखको जिम्मेवारी पाएका युवा प्रोफेसनल प्रशासक, सह–सचिबको कार्यकक्ष । अर्गनाईजेशनल कल्चरको कुरागर्न खोजेको के थिएँ, उनले पनि कुराकानीको शुरुवातमै दुईवटा शौचालय देखाए । पहिलो आफ्नो कार्यकक्षसँगै जोडिएको, जहाँ सफा रुमाल झुण्डाईएको छ । फिनेलको झोल छकिएको छ । त्यहाँ बास्नादर रुम फ्रेसनर । साबुन । हरियो प्लाष्टिको बाल्टी र मग राखिएको छ । झ्यालमा उज्यालो पर्दा र सफा सुग्घर छ । शौचालय ओवानो पनि छ ।
पहिले आफूले प्रयोग गर्ने शौचालय देखाउँदै उनले भने, मेरो कार्यालयको स्वीपरले दिनमा दुईपटक म अफिस पस्नुभन्दा पहिले र साँझ मेरो कार्यालय समय सकिए पछि सफा गर्छ । शौचालयको प्रयोग गरेपिच्छे म पनि सधैं पm्ल्स गर्छु । मेरा पाहुनाहरुले पनि गर्नुहुन्छ ।
मेरो कार्यकक्षमा मिटिङ्ग छलफल हुँदा सहभागिहरुले पनि मेरै शौचालय प्रयोग गर्छन् । अरुले प्रयोग गरे पछि सफा छ कि छैन भनेर बेलाबेला मैले पनि हेर्ने गरेको छु । सफा नभएको जस्तो लागे आफैंले फ्लस गर्छु । कहिले काहिँ त ब्रस पनि घोट्छु ।
त्यस पछि उनले आफ्नो कार्यकक्षको सामुन्ने रहेकोे साझा शौचालय लगेर देखाए । नाक थुन्दै शौचालयको हालत बताउन थाले । यसमा पनि दिनमा तीन पटक सफाई गर्ने आदेश दिइसकें तर त्यसको अनुगमन गरेको भने छैन । मिटिङ्गमा पनि कर्मचारीसंग पटक पटक शौचालय सफा राख्नुपर्छ है भनिसकें ।
कुनै काम लिएर कार्यालय आएका सेवाग्राहिहरुले पनि प्रयोग गर्ने शौचालय पनि यही भएकोले ’emमाथि एकमुखले आरोप लगाइरहेका छन् । त्यसपछि सूचना पनि कम्प्युटर प्रिन्ट गरेर टाँस्न लगाइसकें । ट्वाइलेट मै फिनेल छ । साबुन छ । रुमाल छ । तर सबै ह्वास्सै गन्हाउछन् । बाल्टिन छ, तर छुनै घिन लाग्ने हालतमा छ ।
यो अबस्था देखाउँदै उनले भने, यो सबैको साझा शौचलय भयो कार्यालय प्रमुख भै बसेको मैले नै सफा गर्ने कुरो भएन । तर कोहि कसैलाई पनि यस कुराले छुँदैन । यहि हो हाम्रो कार्यालयको वास्तविकता । सार्वजानीक सेवा दिने कार्यालयहरुको शौचालय हेरेरै तपाई हाम्रो अर्गनाईजेशनल कल्चरको ’boutमा सुधार गर्ने कति छन् आफैं भन्न सक्नु हुन्छ ।
ती सहसचिवले भने, मेरो बिचार र अनुभवमा सम्बृद्ध नेपाल बनाउने अभियान साँच्चै शुरु गर्ने हो भने त्यो गर्नु भन्दा पहिले नै हाम्रो सार्वजनि सेवाको कार्य संस्कृतिमा आमुल परिवर्तन ल्याउने नियम र त्यसको पालना गर्ने संस्कृतिको जग बसाउनु जरुरी छ ।
त्यसका लागि मान्छेलाई नै परिवर्तन गर्नुपर्छ । कामको प्रकृयालाई पनि परिवर्तन गर्नुपर्छ । प्रविधिको पनि परिवर्तन गर्नुपर्छ ।
नयाँ योजना, नीति, नियम, प्रकिृया, प्रणालि, पद्धति र संरचनाको साथ साथै कार्य संस्कृतिमा आमुल परिवर्तन गर्नु पर्छ । त्यस्तो नगर्ने हो भए पनि केहि सुधार अभियान गरौं भन्दै दश कार्य गर्ने अभियान चलाउन सुझाव मेरो मनमा आएको छ र मैले लेखेको पनि छु, सुन्नुहुन्छ उनले भन्दैगए—
पहिलोः कार्यालयमा रहेका हाकिमका कोठाकोठामा रहेका नीजि शौचालय हटाऔ,ं सार्बजनिक साझा शौचालय प्रयोग गर्ने अभ्यास गरौं ।
दोश्रोः हाकिमहरुको टेबुलमा रहेको घण्टी हटाऔं । घण्टि बजाउनु पर्ने प्रत्येक पटक सिटबाट उठौं । आफ्नो सहयोगि रहेको कोठासम्म हिडौं ।
तेश्रोः कार्यालयहरुमै ग्रीन टिको व्यवस्था गरौं । थर्मस र तातो पानीको व्यवस्था गरौं । अरु चिया, कफि हटाऔं । आफ्नो र आफ्ना पाहुनाहरुको लागि स्वयं चिया बनाउने अभ्यास गरौं
चारः कार्यालयको टेबुलमा खाजा खान बन्द गरौं । सबै कार्यालयमा क्यान्टीनको व्यवस्था गरौं । सधैं सबै क्यानटिनमा गएर खाजा खाने अभ्यास गरौं ।
पाँचः कार्यालयका कुनै पनि बैठकहरुमा अनिवार्य रुपमा खाजा, फलफुल मिठाई खाने संस्कृति बन्द गरौं ।
छैटौंः कुनै पनि कार्यालय प्रमुखहरुले आफ्नो वर्किङ्ग चेयरमा बसेर मिटिङ्ग नगरौं । राउण्ड टेबल मिटिङ्ग संस्कृतिको विकास गरौं ।
सातौः सरकारी तथा सेवा दिने कार्यालयहरुलाई सबै सेवाग्राहिहरुको सहज पहुँच हुने कार्यालय बनाऔं ।
आठौंः कार्यालयलाई आफ्नो घरजस्तै सफा सुग्घर, बनाऔं । कार्यालय आफ्नो दोश्रो घर हो भन्ने संस्कृतिको विकास गरौं । चुरोट, खैनी, पान, सुर्तीमाथि कार्यालय परिसरमा प्रतिबन्ध लगाउ ।
नवौंः प्रत्येक कार्यालयहरुमा हाजिर गर्ने वायोम्याट्रिक्स डिभाईस (थम्पमेशीन)को अनिवार्य प्रयोग गरौं ।
दशौंः कार्यालय समयमा कार्यालयको काम मात्रै गर्ने संस्कृतिको विकास गरौं । कार्यालय समयलाई नीजि प्रयोगमा खर्च नगरौं ।
उनले भने, मेरो बिचारमा यति दश कर्म गर्ने संस्कृति मात्रै शुरु ग¥यौं भने पनि हामी सम्बृद्ध नेपाल बनाउने अभियानमा बामे सर्न सक्छौं ।
दृश्य नम्बर तीनः
एउटा बाणिज्य बैंकको उच्चपदस्थ अधिकृतको कार्यकक्ष । उनीसँग पनि अर्गनाईजेशनल कल्चरको कुरागर्न कार्यालय समय पछि उनको कार्यकक्षमा पुगियो । संयोग कस्तो प¥यो भने उनले पनि नेपाली कार्यसंस्कृतिको कुरो गर्दा आफ्नो कार्यकक्ष सँगै जोडिएको शैचालय नै देखाउन लगे ।
ठूलो । फराकिलो । कमोट र युरेनल दुबै भएको । ठूलो ऐना । दारीकाट्ने, हातमुख धुने वेसिन भएको । नेपालको एउटा ताल र हिमाल देखिने आकर्षक तस्विर झुण्डाईएको । प्लाष्टिकको पर्दाले ’boutर दुई कवल बनाईएको । नुहाउने सावर, तातो चिसो पानीको सुविधा सहित पाँचतारे होटलको स्वीट रुमको वाथरुमकै स्मरण गराउने सफा र मगमग कागती वास्ना आउने ।
यो सँगै अन्य कर्मचारी र आगन्तुकहरुको लागि बनाईएको शौचालय देखाउँदै उनले भने सुविधा सबैमा बराबरी गर्न सकिएको छैन । तर सरसफाई भने सबैमा बराबर हुन्छ । यो कार्यालयमा एक जना स्वीपर स्ट्याडबाई डिउटीमा हुन्छन् । उनले घण्टा घण्टामा सबै शौचालय सफा गर्छन् ।
यस अघि उनी प्राईभेट हस्पीटलमा स्वीपरको कामगर्दा रहेछन् । नाम चलेको प्राईभेट हस्पीटलको सफाईको कल्चर यिनले हाम्रो बैंकमा भित्राएका छन् । यिनले गर्दा मलाई केहि कुराले स्ट्रेस भयो भने मोवाई अफ गर्छु र आधा घण्टा बाथरुममा हराउँछु । छोटो छोटो मेडिटेशन र योगका आशन पनि बाथरुममा नै गर्छु । फ्रेस हुन्छु । यसअघि भने आफू रिफ्रेस हुन गार्डेन रेष्टुरेन्टतिर जान्थे, अब त्यसको जरुरत नै परेन नयाँ स्वीपरले गर्दा, उनले मुुसुमुसु हाँस्दै इतिबृत्ति नै सुनाए ।
मेरो जस्तै सुविधा सबै कर्मचारीलाई उपलब्ध गराउँनु पर्छ भन्ने सोचाईले मेरो मनमा गहिरोसंग घर बनाएको छ । हेरौं कति सक्छु । हामीले हाम्रो कार्यसंस्कृति बाथरुमको सुधारबाट गरौं भन्ने मेरो सुझाब मैले बोर्डको मिटिंगमै राखिसकेको छु, उनले थपे ।
दृष्य नम्बर चारः
नेपाल सहभागिमुलक कार्यसमुहको कार्यालय । नेपान घर । नेपानको पाँचवर्षे रणनीतिक योजनाको ’boutमा रिभिभ्यु गर्दै छलफल समाप्त भए पश्चात नेपान हलमा अध्यक्ष, पुर्व अध्यक्ष, कार्यकारी सदस्य, कार्यकारी निर्देशक र पंतिकार बसेर अर्गनाईजेशनल कल्चरको ’boutमा छलफल शुरु भयो । नेपाली कार्य संस्कृति, आनी बानी व्यवहारको ’boutमा चर्चा परिचर्चा भयो ।
छलफलको गहनता नेपान हलमा प्रवेश गर्दा सबैले जुत्ता बाहिर फुकालेर पस्ने गरेको अभ्यासबाट भयो । नेपानमा दुई बर्षको एक कार्यकाल पछि कार्यसमितिको अध्यक्षले अर्को कार्यकाल दोहो¥याउँदैनन् । कार्यसमितिका १२ सदस्यहरुमा प्रत्येक बर्ष निर्वाचनमार्फत आधा सदस्य निर्वाचित हुने व्यवस्था छ । प्रत्येक निर्णय सहभागिताको आधारमा हुन्छ । सबैंको स्वयम्सेवी व्यवहार हुन्छ ।
प्रत्येक कार्यक्रम र परियोजनाको हिसाब किताब सार्वजनिक हुने गर्छ । पारदर्शिता अनिवार्य । कर्मचारी परिवारको सदस्यको मृत्युभयो भने पनि अध्यक्ष, कार्यकारी निर्देशक र अन्य सदस्यहरु घरमा नै पुगेर समवेदना दिने अर्गनाईजेशनल कल्चर शुरुदेखि नै रहेकोले नेपानले आफ्नो कार्यालय प्रयोजनको लागि घर किन्न सकिएका उदाहरण पनि प्रस्तुत भए ।
यसको अर्थ छलफलमा के लगाइयो भने नेपालमा अहिलेसम्म नै कुनै संस्कार संस्कृति अबलम्बन नभएको भने होइन । तर सम्बृद्ध नेपाल बनाउने अभियानको शुरुवात कहाँबाट गर्ने ? छलफलको निष्कर्ष निस्कयो— नयाँ नेपाल बनाउने अभियानमा अबका दिन पाँचवटा कर्म गर्नुपर्छ, पहिलो— मिहेनत, दोश्रो— मिहेनत, तेश्रो— मिहेनत, चौथो— मिहेनत र पाँचौ पनि मिहेनत ।
अब अरुले देलान् र खाउँला । विदेशी सहायता पाउला र देश बनाँऔला भन्ने युग छैन । अब हामीले हाम्रो देश सम्बृद्ध बनाउँन हामी आफैं लाग्नुपर्छ । सबैले मिहेनत गर्नुपर्छ । कम्तिमा सम्बृद्ध शौचालय अभियान सफल बन्यो भने मात्र समृद्ध नेपाल बन्ने विश्वास गर्न सकिन्छ । त्यसैले शौचालय सफाइ अभियानलाई समृद्ध नेपाल बनाउने पहिलो एजेण्डा बनाऔं !
यो अभियानको शुरुवात नेतृत्वबाट गर्नुपर्छ । राष्ट्रपतिबाट । सरकारबाट । प्रधानमन्त्रीबाट । मन्त्रिहरुबाट । मन्त्रालयहरुबाट । संबैधानिक निकायहरुबाट । सचिबहरुबाट । कार्यालय प्रमुखहरुबाट । कार्यालयका कर्मचारीहरुबाट । नीजिक्षेत्रबाट । बैंक तथा वित्तीय संस्थाहरुबाट । व्यापार व्यावशायबाट । शहर–शहरबाट । गाउँ–गाउँबाट । बस्ती–बस्तीबाट । टोल–टोलबाट । घर–घरबाट । व्यक्ति–व्यक्तिबाट । बृद्धबृद्धाबाट । युवा–युवतीबाट । बालबालिकाहरुबाट र सम्पूर्ण नेपालीहरुबाट । तबमात्र बन्छ सम्बृद्ध बनाउने कार्य संस्कृति र संबृद्ध नेपाल !

