कांग्रेसले ‘रुदाली’ नपाउने डर !

 

विधायिकाको स्वीकृतिविना एक कञ्चो पनि कर उठाउन र खर्च गर्ने पाउँदैन (सिङ्गल पेन्नी क्यान नट वि लेभिड एण्ड एक्स्पेन्ड विदआउट कन्सेन्ट अफ पार्लियामेण्ट) भन्ने संसदीय मान्यता रहेको छ । संसदीय व्यवस्थाको यो मर्म आफै संसदीय व्यवस्थाको हिमायती दावी गर्ने कांगे्रसले ठ्याम्मै विर्सिएको छ ।

 

 

बलिउड चलचित्र उद्योगको गीत, लेखक गुल्जार, भुपेन हजारिकाको संगीत र प्रशिद्ध गायिका लता मंगेस्करले गाएको तल उद्धृत बहुचर्चित हिन्दी गीत धेरैलाई  सम्झना होला !

 

दिल हूम हूम करे घबराए,

घन धम धम करे डर जाए !

एक बूँद कभी पानी की, 

मोरी अँखियों से बरसाए !

 

तपाईको विस्मृतिलाई स्मृतितर्फ तानौं । सन् १९९३ मा सार्वजनिक भएको हिन्दी चलचित्र रुदालीको गाना हो यो । कल्पना लाजमीले निर्देशन गरेको र राज बब्बर, डिम्पल कपाडीया, अमजत खान, राखीजस्ता कलाकारले किरदार निभाएको उक्त चलचित्रको कथानक भने एक अनौठो प्रथामा  आधारित छ ।

 

इजिप्ट, टर्की र ‘नियर इष्ट’मा धनी मान्छे मर्दा गरिब महिलाले पैसा लिएर रोइदिने चलन थियो र अहिले पनि छ । ‘प्रोफेसनल मोउनर’ अर्थात व्यवशायिक रुपमा रुने काम गर्ने त्यस्ता महिलालाई ‘मोइरोलोजिष्ट’ पनि भनिने चलन छ ।

 

भारतको राजस्थान प्रदेशमा अहिले पनि उच्च जातको जमिन्दार पुरुष मर्दाखेरि उसको परिवारका सदस्यले उच्च सामाजिक हैसियतको कारणले सार्वजनिक रुपमा शोक मनाउन र रुन नपाउने प्रथा छ । त्यसकारण कथित तल्लो जातका महिलाले रकम लिएर व्यवशायिक रुपमा रुने काम गर्ने चलन अद्यापि कायम रहेको छ । अझै पनि ग्रामीण राजस्थानमा त्यो चलन कायम रहेको छ । र, यसरी रुने महिलालाई रु–दाह–ली छोटोमा ‘रुदाली’ भन्ने गरिन्छ ।

 

रुदाली चलचित्रको सन्दर्भ अहिले उल्लेख गर्नुपर्ने कारण चाँहि नेपाली कांग्रेसले निर्वाचनपछि देखाएको गतिविधितर्फ टिप्पणी गर्नको लागि मात्र हो ।

 

सन्दर्भ के भने, केहि महिना अगाडि सम्पन्न  आमनिर्वाचनमा वाम गठबन्धनले सफलता हासिल गरेपछि प्राविधिक कारणले नयाँ सरकार गठनमा ढिलाई भएको छ । तर यस वीचमा नयाँ संविधानमा संसदीय व्यवस्था कायम गर्न सवैभन्दा ठूलो भूमिका खेल्ने नेपाली कांग्रेस नेतृत्वको सरकारले आफ्नै आस्था र विश्वास रहेको संसदीय व्यवस्थाका आधारभूत मूल्य, मान्यता, प्रथा, प्रचलन, आचारविचार, वर–व्यवहारलाई नग्न रुपमा तिलाञ्जली नै दिएको छ ।

 

सर्वप्रथम, निर्वाचनको घोषणा भैसकेपछि तत्कालिन व्यवस्थापिका संसद विघटन भै सकेको हो । त्यसपछि यो सरकार ‘केयर टेकर’ अर्थात, कामचलाउ सरकार भैसकेको छ ।

 

यस्तो अवस्थामा दैनिक प्रशासन सञ्चालन  गर्ने र सत्ता हस्तान्तरणको आवश्यक व्यवस्था वाहेकका बिषयमा सरकारले कुनै नीतिगत निर्णय गर्न सक्दैन । साथै, दैवी प्रकोप उद्धार र संकटकालिन अवस्थावाहेकमा राज्यको संचित कोषमा व्ययभार पर्ने कुनै पनि काम गर्न मिल्दैन ।

 

त्यसको खास कारण हो, विधायिकाको स्वीकृतिविना एक कञ्चो पनि कर उठाउन र खर्च गर्ने पाउँदैन (सिङ्गल पेन्नी क्यान नट वि लेभिड एण्ड एक्स्पेन्ड विदआउट कन्सेन्ट अफ पार्लियामेण्ट) भन्ने संसदीय मान्यता रहेको छ । संसदीय व्यवस्थाको यो मर्म आफै संसदीय व्यवस्थाको हिमायती दावी गर्ने कांगे्रसले ठ्याम्मै विर्सिएको छ ।

 

आफै संसदीय लोकतान्त्रिक व्यवस्थाको पक्षमा संविधान बनाउन जोड बल गर्ने तर आफै संसदीय मान्यता, संस्कार र वरव्यवहार नगर्ने कार्यले अहिले अल्पकालमा खडगप्रसाद ओलीलाई देखाइ दियौं भन्ने सोचले क्या काम ग¥यौं, बामपन्थीहरुलाई अप्ठेरोमा पारियो भन्ने भ्रममा परेको कांग्रेस दीर्घकालमा आफै समाप्त हुने अवस्था सिर्जना गर्दै छ ।

 

संसदीय व्यवस्थामा संवैधानिक व्यवस्था अनुसार संचित कोषबाट व्ययभार हुने नीति तथा कार्यक्रम लागु गर्नको लागि खर्च गर्न पहिला सरकारको नीति तथा कार्यक्रममा उल्लेख हुनुपर्दछ ।

 

त्यसपछि त्यो बिषय बजेट बक्तब्यमा पर्नु पर्दछ । खर्च कति लाग्ने त्यसको अनुमान र श्रोत पनि खुलाउनु पर्दछ । कर लगाउँने हो कि आन्तरिक ऋण उठाउँने हो ? वाह्य ऋण लिने हो ? त्यो पनि उल्लेख गर्नु पर्ने हुन्छ । त्यसपछि विनियोजन विधेयकमा पनि उल्लेख गरिन्छ । अनि मात्र खर्च गर्न सक्छ सरकारले ।

 

यस्तो संवैधानिक व्यवस्था, वर÷व्यवहार, रित परम्परा मूल्य मान्यता भएको संसदीय व्यवस्थाको पक्षपाती भनिएको कांग्रेसको सरकारले आफैले संसदमा पेश गरेको सरकारी नीति तथा कार्यक्रममा उल्लेख गर्ने र बजेट ल्याउने समयमा चुँ सम्म नवोल्ने तर अहिले आएर वृद्ध भत्ता पाउने उमेर ६५ बर्षमा झार्ने र भुकम्प पीडितलाई थप एक लाख अनुदान दिने घोषणा गरेको छ । साथै आफै केयर टेकर सरकारले अहिले जथाभावी नियुक्ती दिने काम गरिरहेको छ । यसले संसदीय भावना र संस्कार विपरितको काम गरेर संसदीय व्यवस्थाको मर्म, भावना र सिद्धान्तको खिल्ली उडाउन कांग्रेस अग्रणी नाइके रहेको मात्र छैन, भावी सरकारलाई गलत काम गर्ने राजमार्ग नै खोल्दिने काम गरिरहेको छ ।

 

खेलाडी खेल मैदानमा ओर्लिइसकेपछि हार वा जीत हुनु स्वाभाविक हो । जीत भएमा खुसी हुनु र हार भएमा दुःखी हुनु पनि मानवीय गुण नै हो । तर, खेल हारियो भनेर खेल भावना विपरित क्रियाकलाप गर्ने हो भने त्यो ‘स्र्पार्टम्यानसीप’ नै हँुदैन ।

 

तर, निर्वाचन हारेको झोकमा नेपाली कांग्रेस नेतृत्वको सरकारले खेल हारेको झोकमा खेल मैदान नै खन्ने झेली काम गरेको छ । वाम गठबन्धनले सरकार चलाउँदा अप्ठ्यारो पार्ने उद्धेश्यले गरेको अहिलेको निर्णयले कांग्रेसलाई यसपालीको निर्वाचनको जस्तो हार मात्र होइन, मटियामेट नै हुने अवस्था आउँन सक्छ । चेतना भया !

 

यस्तै चालचलनलाई कांग्रेसले कायम राखिराखे म कांग्रेस हुँ भनेर उभिने मान्छे नभेटिने मात्र होइन, कांग्रेसको अवसानमा शोक जताउनको लागि माथि उल्लेख गरिएको भाडामा रुने रुदालीसमेत बीपी कोइरालाले स्थापना गरेको कांग्रेस पार्टीले नपाउने निश्चित छ ।