नेपाली क्रिकेटको अर्थशास्त्र

कसैले सहयोग नगरे पनि नेपाल आफैले कमसेकम ७ वटै प्रदेशमा २५ देखी ५० हजार दर्शक क्षमताका एक एक वटा अन्र्तराष्ट्रिय स्तरको क्रिकेट स्टेडियम बनाउँन यसै आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेटमा ब्यवस्था गर्नपर्छ । क्रिकेटमा गरेको लगानीले निकट भविश्यमा नै उच्च प्रतिफल दिन सक्ने अवस्था आउँदैछ ।

 

 

नेपाली क्रिकेट टोलीले वल्र्ड क्रिकेट लिग डिभिजन २ को अन्र्तगत भएका खेलमा बिजय भएको समाचार आउने वित्तिकै प्राय सवै राजनीतिक पार्टीका नेताहरुले तछाडमछाड सामाजिक सञ्जालमा बधाई दिएको ट्विट र पोष्टहरु पठन पाइयो ।

 

 

देशमा क्रिकेटप्रेमीको संख्या बढेको र ठुलो हिस्सामा आम नागरिक क्रिकेटको यस्ता प्रतिस्पर्दामा नेपाली टोली बिजयी भए त्यसलाई राष्ट्रवादको संम्र्वधनको रुपमा लिने गरेका छन । स्वाभाविक रुपमा धेरै सर्वसाधारण जनताले पनि नेपाली टोलीको विजयमा खुशीयाली मनाउदै खेलाडीलाई बधाईको पोष्ट र ट्विट गरे ।

 

 

विश्वकप क्रिकेटको नयाँ फर्मेटअनुसार टेष्ट खेल्ने केहि देशसमेतले अब विश्व कप स्पर्धामा सहभागिता जनाउँन यसको छनौट चरणको खेलमा बिजयी हुनु पर्ने छ । यस्तो अवस्थामा विश्व कप छनौट खेल खेल्ने अवसर सिर्जना गर्दै र उक्त लिगको उप विजेता बनेर नेपाली टोली काठमाण्डौ फर्किएको छ, यो आफैमा उपलब्धी भए पनि कथा त्यतिमा सकिदैन ।

 

 

विजेता क्रिकेट टोलीसंग प्रधानमन्त्रीले सरकारी निवासमा संयुक्त घेटघाट गरे र बधाई दिए । संघीय सरकारले खेलाडीलाई प्रोत्साहन स्वरुप जनही ३ लाख रुपैया पुरस्कार दिने घोषणा पनि गरेको छ । प्रदेश सरकारहरुले आफ्ना आफ्ना प्रदेशका खेलाडीलाई पुरस्कारको धोषणा गर्न थालेका छन । खेलाडीलाई उत्प्रेरित गर्ने यो राम्रै काम हो ।

 

 

आगामी मार्चको दोस्रो साता नेपाली क्रिकेट टोलीले विश्व कपको छनौट खेलहरु खेल्दैछ । यदी उक्त चरण पार गरेर विश्व कप खेल्ने बाटो पक्का गरे भने नेपाली खेलाडीको प्रशंसाको बाढी नै आउँने छ ।

 

 

त्यस खालको सुखद नतिजा हाम्रो खेल पुर्वाधारको अवस्था, क्रिकेट खेलमा भएको लगानी, त्यसको लागि भै रहेको तयारी, नेपाली क्रिकेटको खेल स्तर, नेपाली क्रिकेटरहरुको एक्पोजरको मौका, क्रिकेट खेल्न उत्प्रेरणाका उपक्रमहरुलाई एकै ठाउँमा राखेर हेर्दा अतितेष्टम अप्टिमलभन्दा पनि माथिको हुने छ । र, त्यो सुखद दुर्घटना हुने छ, नेपाली क्रिकेटको लागि ।

 

 

तर, आगामी छनौट खेलमा नेपाली टोली पराजित भएमा हाम्रा खेलाडीलाई गालीको ट्विट र पोष्टले सामाजिक सञ्जाल भरिने छ, वास्तविक क्षमता भन्दाको बढि अपेक्षा गर्ने हाम्रो वानी नै परेको छ । र, त्यसपछि दुई चार दिन पछि नै सवै कुरो बिर्सने हुन्छ ।

 

 

फेरी अर्को विश्व कपको छनौट चरणको खेल हुने बेलामा मात्र फेरी नेपाली क्रिकेटलाई सम्झने काम हुने छ ।

 

 

नेपाल क्रिकेट संघ क्यान नेपालको पहिलो खेल संघ हो । यदी मेरो शोध गलत नभएमा नेपाल क्रिकेट संघ विस २००४ सालमा स्थापना भएको हो । यसपछि २००८ मा मात्र अखिल नेपाल फुटबल संघ एन्फा बनेको हो ।

 

 

यो खेलले नेपाली समाजको राजनीतिक र सामाजिक रुपान्तरणको प्रतिनिधित्व पनि गर्छ । पहिला राणा र त्यसपछि धनिले मात्र खेल्ने ठानिएको यो खेल अहिले सवैभन्दा समावेसी भएको छ । धनगढी प्रिमियर लिगमा बोलकवोल भएका खेलाडीहरु समाजका सवै क्षेत्रलाई प्रतिनिधित्व गर्छन । जातीय, आदीवासी, जनजाती, र दलीत, क्षेत्र सवै समुदाय वीच उत्तिकै लोकप्रिय पनि छ ।

 

 

क्रिकेट खेलको अर्थशास्त्र त सवैभन्दा रोचक छ । प्राय सवै खेलहरु मध्ये सवैभन्दा धेरै रोजगारी सिर्जना गर्ने खेलको रुपमा पर्छ, क्रिकेट लोकप्रिय भएको देशहरुमा । ’cause क्रिकेट खेलको फरवार्ड लिङ्केज र व्याकवार्ड लिङ्केज भएको खेल हो । भारतको कुरा गर्ने हो भने आइपिएलको रेभेन्यु मात्र भारतकै जिडिपीको करिब ०.५ प्रतिशत छ । रुर्पड मर्डोकको स्टार गु्रपले आइपिएलको प्रायोजनको लागि साढे २ अर्ब डलर र बिसिसिआइलाई ६० करोड डलर तिरेको छ । यो रकम मात्र भारतको जिडिपीको करिब ०.३ प्रतिशत हो ।

 

 

स्वाभाविक रुपमा यो खेल नेपालमा पनि धेरै रोजगारी सिर्जना गर्ने सम्भावना भएको खेल हो । नेपाल क्रिकेट खेलप्रेमी भएको देशहरुको सुचीमा सवैभन्दा क्रेजी फ्यान भएको उत्कृष्ट देशमा नै पर्ने आइसिसीले गरेको एक अध्ययनले देखाउँछ ।

 

 

अर्कोतर्फ नेपाल विश्व क्रिकेट खेल जगतको सवैभन्दा ठुलो ‘पावर हाउस’ भारतको छिमेकी देश हो । भारतीय क्रिकेट खेलले एक्लैले विश्व क्रिकेटको नियमक निकाय इन्टर नेशनल क्रिकेट काउन्सिल आइसिसीको कुल रेभेन्युमा ८० प्रतिशत हिस्सा ओगट छ । इन्डियन प्रिमियर लिग आइपिएल संभवत संसारको सवैभन्दा दोस्रो ठुलो रेभेन्यु भएको प्रस्तिपर्दा हो । यस बर्ष यसमा एक नेपाली खेलाडी सन्दीप लामिछानेले दिल्ली डेरडेभिल्समा रहेर त्यसमा सहभागिता जनाउदै छन ।

 

 

नेपालमा सवैभन्दा धेरै सम्भावना भएको खेल क्रिकेट नै भन्नलाई कुनै प्रमाण जुटाइ रहन पर्दैन । उच्च मुल्यको खेल पर्यटनको सम्भावना पनि क्रिकेटमार्फत नै सम्भव छ । नेपालमा पर्याप्त क्रिकेट खेलको लागि अन्तरराष्ट्रिय स्तरका पुर्वाधार र सुरक्षाको व्यवस्था हुने हो भने क्रिकेटका अन्तरराष्ट्रिय प्रतिस्पर्दाहरु नेपालमा आयोजना गर्न सकिन्छ ।

 

 

यसको खास कारण विश्वमा क्रिकेट पर्यटनका ७० प्रतिशत पर्यटक भारतीय छन । भारतका सवै शहरबाट सहज नेपालमा हवाई, रेल तथा स्थलमार्गबाट जोडिएको वा जोडन तत्काल सम्भव छ ।

 

 

जस्तै पहिलो ‘न्युट्रल भेन्यु’मा खेल्ने खेलहरु नेपालमा हुन सक्छन । भारत पाकिस्तान वीचको तनावले गर्दा विश्व कपका वा च्याम्पीयन ट्रफी जस्ता प्रतिस्पर्दाका खेलहरु भारत र पाकिस्तान वीचमा हुने खेल नेपालमा हुन सक्थे र भविश्यमा पनि सक्छन ।

 

 

पाकिस्तान र अन्य देश वीचको टेष्ट, एक दिवसीय वा छोटो फर्मेटका खेल नेपालमा हुन सक्छन । अहिले इङ्गल्याण्ड, अष्ट्रेलिया, न्युजील्याण्ड, दक्षिण अफ्रिकाले पाकिस्तानसंगको खेल युएइमा खेल्ने गरेका छन, श्रीलंकाली टोलीमाथि पाकिस्तानको लाहोरमा ३ मार्च २००९ मा हमला भए पछि ।

 

 

साथै भारतको आइपिएलका खेलहरु पनि नेपालमा सम्पन्न हुने सम्भावना धेरै रहेको छ । २००९ र २०१४ को लोकसभा निर्वाचनको तालिकासंग जुधेका आइपिएलका खेलहरु क्रमश दक्षिण अफ्रिकाका विभिन्न शहर र युएईका विभिन्न शहरमा भएका थिए । आगामी २०१९ को लोकसभा निर्वाचनको समयमा पनि आइपिएलका केहि खेल विदेशमा हुने छन ।

 

 

साथै समुन्द्र सतहभन्दा २५०० मिटरको उचाईमा क्रिकेट रङ्गशाला निर्माण गरेर हाइ अल्टिच्युडमा खेलको अभ्यासको स्थानको रुपमा पनि विकास गर्ने सकिने सम्भावना छ । यसो गर्दा राम्रै रकम असुलेर खेल पर्यटन व्यवसाय गर्न सकिने सम्भावना छ । भारतले हालै यसै अवधारणाको आधारमा यो भन्दा केहि कम उचाई अर्थात करिब १५०० मिटरमा धर्मशालामा क्रिकेटको पुर्वाधार विकास गरेर टेष्ट, वनडे र टि२० खेलको आयोजना गरि सकेको छ ।

 

 

त्यो देखीबाहेक नेपालमा गर्मीयामको औसत तापक्रमसमेतलाई ख्याल गर्ने हो भने यो देश एक प्राकृतिक रुपमा वातानुकुलित स्थान हो । अप्रिलदेखी जुनसम्म दक्षिण एसियामा सवैभन्दा उपयुक्त प्राकृतिक तापक्रम नेपालमा नै हुन्छ ।

 

 

त्यसकारण हामीसंग पर्याप्त पुर्वाधार र राम्रो सुरक्षाको व्यवस्था हुने हो भने त्यस्ता खेल नेपालमा हुने थिए । यसले असिमित सम्भावना लिएर आउने छ । त्यसले खेलको स्तर मात्र उठाउँदैन आर्थिक गतिविधीलाई गति दिन सकिन्छ । उच्च गुणस्तरको आय हुने पर्यटन व्यवसायलाई बढवा दिन सक्छ ।

 

 

लगानी, नेपालको हैसियत, खेलप्रतिको आर्कषण, दर्शकको बढदो संख्या, दक्षिण एसियाका ८ मध्ये ५ टेष्ट खेल्ने देश भएको अवस्थामा क्रिकेट खेल राष्ट्रिय खेल नीतिमा पहिलो पहिलो प्राथमिकता पर्नु पर्ने खेल हो ।

 

 

एक त हामी कहाँ स्पष्ट खेल नीति नै छैन । भए गरेको काममा पनि प्राथमिकीकरण छनौटमा नै समस्या छ ।

 

 

साथै दिर्धकालिन रणनीतिक सोच पनि रहेको छैन । त्यस्तै आइसिसीको लगानीमा बन्ने भनिएको मुलपानीको क्रिकेट ग्राउण्ड बन्न थाल्दा जन्मेको केटाको छोरो हुर्केर बढेर क्रिकेट खेल्न पाउँने हो की होइन थाहा छैन । हाम्रो वास्तविक क्षमता चाही यस्तो छ ।

 

 

क्रिकेटको विकासको लागि कुटनीतिक पहल थाल्न जरुरी छ । अहिले नेपालले अष्ट्रेलिया र न्युजील्याण्डबाट यस्तो सहयोग हासिल गर्न सकिने सम्भावना रहेको छ । असएड र नास्तकबाट नेपालको क्रिकेटको पुर्वाधार निर्माणको लागि कुटनीतिक पहल गर्ने हो भने उपयुक्त समय हो । जस्तै अष्ट्रेलियासंग यस्तो कुरा अगाडि बढाउँदा उनीहरु अबश्य नै पनि माइकल क्लार्क र रिकी पोन्टीङसंग सोधने छन । उनीहरुको दिमागमा नेपाल क्लीक हुने र नेपालमा यसको सम्भावना भएको देशको रुपमा राय दिने अवस्था छ ।

 

 

त्यस्तै चीनसंग एक क्रिकेटको पुर्वाधारको सहयोगको लागि छलफल चलाउने हो भने भारत आफै अगाडि सरेर आउने सहयोग गर्न आउने सम्भावना पनि अहिले बलियो भएर गएको छ ।

 

 

कसैले सहयोग नगरे पनि नेपाल आफैले कमसेकम ७ वटै प्रदेशमा २५ देखी ५० हजार दर्शक क्षमताका एक एक वटा अन्र्तराष्ट्रिय स्तरको क्रिकेट स्टेडियम बनाउँन यसै आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेटमा ब्यवस्था गर्नपर्छ । क्रिकेटमा गरेको लगानीले निकट भविश्यमा नै उच्च प्रतिफल दिन सक्ने अवस्था आउँदैछ ।

 

 

प्रतिस्पर्दा जित्दा बधाई दिने तछाड मछाड गर्ने ३-४ लाख पुरस्कार दिने गरेर कर्मकाण्डको शैलीमा होइन रणनीतिक सोचाई राखेर उपयुक्त खेल नीति निर्माण गर्ने र त्यसमा क्रिकेटलाई प्राथमिकता राख्ने हो भने यो खेलमा नेपाल क्रिकेटको टप १० भित्रमा पर्ने र उच्च रोजगारी सिर्जना गर्ने माध्यमको रुपमा केहि बर्ष भित्रै देखिने सम्भावना छ ।