किन गरे प्रचण्डले पार्टी एकताको निर्णय ?

डरै डरको रासमा पुरिएका छन् प्रचण्ड ।

खड्गप्रसाद शर्मा ओलीको प्रशस्तै प्रशंसा भएको छ । प्रधानमन्त्री भइसकेका हुँदा अब उनलाई प्रशंसकहरुको खाँचो पनि छैन । पुष्पकमल दाहाल अर्थात् प्रचण्डको भने कमैले प्रशंसा गरेका छन् । कतिपयको गुनासो छ, एमालेसँग पार्टी एकतामा हदैसम्मको लचिलो देखिने कोशिश गर्दागर्दै पनि उनी आलोचनाका तारो बनेका छन् । मैले पनि आफ्ना आलेखहरुमा उनको जमेरै आलोचना गर्ने गरेको छु । तर यस आलेखमा भने म अलिक फरक ढंगले प्रस्तुत हुनेछु । उनको मनस्थितिप्रति सहानुभूति राख्दै घटनाक्रमको विवेचना गर्ने कोशिश गर्नेछु ।

 

 

तर, साथसाथै पाठकहरुले यसलाई प्रचण्डको प्रशंसा गरेको, चाकडी गरेको इत्यादि अर्थमा नलिइ दिनु हुन अग्रिम अनुरोध गर्न चाहन्छु ।

 

 

२०५२ सालदेखि मुलुकमा प्रारम्भ गरिएको हत्याहिंसाको नेतृत्व लिएका प्रचण्ड दिल्लीमा सम्पन्न १२ बूँदै समझदारी हुँदै २०६२–६३ सालमा शान्तिपूर्ण राजनीतिमा अवतरण गर्न पुगेका थिए । उनी तत्पर नभएको भए वास्तवमा बृहत् शान्ति सम्झौता, संविधानसभाको निर्वाचन र मुलुकमा गणतन्त्रको स्थापना सम्भव हुने थिएन । उनको प्रारम्भिक राजनीतिक जीवन र विद्रोहकालका उनका अन्तरकथाका जानकारहरु उनलाई कुन रुपमा लिन्छन्, त्यो छुट्टै अध्याय हो तर उनी खुला राजनीतिमा आउँदा जतिसुकै आलोचित पात्र भए पनि एउटा आशाका रुपमा उदाएका भने निश्चय नै हो ।

 

 

त्यतिबेलाका अनिश्चिततालाई सम्झिँदा एकखालको रोमान्च हुन्छ । आफैंलाई भगवान विष्णुको अवतार भन्ने राजा र राजाका खलकहरुको पहिचानसँग जोडिएको देश, देशलाई आफ्नो पैतृक सम्पत्ति ठान्नेहरुको रजगज भएका ठाउँमा जनतालाई मालिक बनाउने अभियान लरतरो अभिलाषाको प्रतिफल थिएन । निश्चय नै गणतन्त्र एक्लै माओवादीका बलले आएको होइन । ’cause लोकतन्त्रको बीजमै गणतन्त्रको भावी बटवृक्ष सन्निहित हुन्छ ।

 

 

लोकतन्त्रप्रेमीहरुले गणतन्त्रको पैरवी गरिरहे पनि लोकतन्त्रको कित्तालाई प्रतिनिधित्व गरिरहेको भन्ने शक्तिले यसको उपेक्षा गरेका कारण परिबन्दवश गणतन्त्र ल्याएको यश माओवादीको भागमा गर्न गयो । यसलाई स्वीकार्नुपर्छ । तर संविधानसभाको निर्वाचन र गणतन्त्रको स्थापनापछि माओवादीले आफूलाई सर्वेसर्वा ठानेर जसरी प्रतिपक्षको मानमर्दन गर्न थाल्यो र देशलाई जातीय कित्ताहरुमा विभाजित गर्न खोज्यो, त्यसैका परिणामस्वरुप पहिलो संविधानसभाले आफ्नो कार्यभार पूरा गर्न सकेन ।

 

 

संविधानसभामा देश प्रवेश गरिसकेपछिको संक्रमण सम्हाल्न वास्तवमा संयम र धैर्य आवश्यक हुन्थ्यो, दाहालले त्यस्तो धैर्य प्रस्तुत गर्न सकेनन् । उनी राज्यसुखमा रमाउन र ‘कमाउन’ थाले । उनले बाटो बिराए, सम्हालिएनन् झन् झन् बिराउँदै गए । देश एकप्रकार नेतृत्वविहीन जस्तो बन्न पुग्यो । गणतन्त्र स्थापनामा यथार्थमा प्रचण्डका हाराहारीकै योगदान थियो नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको । कोइरालालाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति बनाउने बाचा गर्ने प्रचण्ड आफ्नो बाचाबाट भागे । साँच्चै भन्ने हो भने कोइराला राजी नभएका भए, गणतन्त्रका लागि अर्को आन्दोलन गर्नुपर्ने पनि हुनसक्थ्यो । तर, प्रचण्ड तिनै कोइरालासँग गरिएको बाचा तोडेर उनको तेजोबध गर्न उद्यत भए ।

 

 

निश्चय नै धेरैले भन्ने गरेका छन्, राजनीतिमा बाचा पानीका फोका हुन् । यो हदै निम्नकोटीको बुझाइ हो । जीवनमा बाचाको जति महत्व हुन्छ, राजनीतिमा त्यसभन्दा कम किमार्थ हुँदैन । बाचाबाट भाग्ने कुनै पनि मानिस फेरि कहिल्यै विश्वासयोग्य रहँदैन । बाचाबाट भाग्नेलाई आफूलाई सामान्य लाग्न सक्छ तर उसको हैसियत ओरालो लागिसकेको हुन्छ । पहिलो संविधानसभाको कार्यकालमा त्यस्तै भयो, प्रचण्डकै आफ्नै दल र बाहिर पनि उनीमाथि विश्वास गर्ने मानिस कम हुँदै गए । क्रमशः उनी हदैसम्म विश्वास गर्न अयोग्य व्यक्तिका रुपमा चिनिदै गए । अकारण केही हुँदैन, यसको कारण छ । उनले जे प्राप्त भयो त्यसलाई नित्य ठाने । प्राप्तिको अनित्यताप्रति उनी सजग रहेनन् ।

 

 

नित्य केही हुँदैन, सबै तामझाम अनित्य हो । उनले नित्य ठान्नु वास्तवमा कम्युनिस्ट पाठशालाको उपज हो । उनले यदि बुद्धका उपदेशको अलिकति अनुशीलन गरेका हुन्थे, त्यसरी नै पूर्वीय चिन्तन धाराका षडदर्शन, उपनिषद्, श्रीमद्भगवद्गीता आदि ग्रन्थहरुको सन्देशमाथि दृष्टि दिएका हुन्थे भने उनी निजी भौतिक वैभवप्रति त्यति लुब्ध हुने थिएनन् । २०६३ सालमा प्रचण्डको त्यो ऊचाइ सम्झौं र आज हेरौं, कहाँ थिए उनी, आज कहाँ पुगेका छन् आफैं देखिन्छ । धन त धेरै जम्मा भयो होला, तर त्यो धनको रासलाई के गर्नु, न सुनाम दिन सक्छ, न मनलाई शान्ति न त्यसले उनी आफू र परिवारलाई सुरक्षा नै दिएको छ । बरु डर र त्रास दिएको छ । कि छैन हँ ? हृदयबाट सोच्नुहोस्, डरै डरको रासमा पुरिएका छन् प्रचण्ड ।

 

 

किन भयो त्यस्तो ? यहाँ म जे भन्न गइरहेको छु त्यो कम्युनिस्टहरुको मगजले अस्वीकार गर्नसक्छ ’cause धैर्य र संयमको स्रोत आध्यात्मिक झुकाव हो । समर्पण र सेवाभाव हो । प्रचण्ड शान्तिपूर्ण राजनीतिमा अवतरण गर्दा उनले दुई कारणले वाहवाही पाएका थिए । पहिलो कारण थियो, देशले हिंसाहत्याबाट उन्मुक्ति पाएको अनुभूति र अर्को कारण थियो देशमा राजनीतिक स्थिरता, सुख शान्ति र समृद्धिका निम्ति मार्ग–प्रशस्त हुने अभिलाषा । पहिलो कारणको अभिपूर्ति त माओवादी शान्ति प्रक्रियामा आएपछि भएको मान्न सकिन्छ तथापि खुला राजनीतिमा आएपश्चात् पनि माओवादी कार्यकर्ताले सर्वसाधारणलाई भयभीत तुल्याउन छोडेका थिएनन् ।

 

 

तर देशको अभिलाषा अर्थात् राजनीतिकि स्थिरता, सुख शान्ति र समृद्धिलाई उनले आफ्नो सुखशान्ति र समृद्धिका अर्थमा लिए । सारा गडबड यहीं भयो । अनेक तिकडमले सम्पत्ति भेला गरे, आधुनिकतम गाडी चढे, लावालस्करसँग हिँडे तर पार्टी भत्किदै गयो । आत्मीयजन छुट्दै गए, उनी झन् झन् एक्लिदै गए । अर्कातिर हजारौं मानिसको हत्याको कारक बनेको अपराधबोध, युद्ध अपराधको भयले मनमनै आक्रान्त प्रचण्ड पछिल्लो समयमा आएर आफ्नो पार्टीलाई कहाँ बिसाउँ, कहाँ विसाउँ भन्ने अवस्थामा पुगेका थिए ।

 

 

दोस्रो संविधानसभामा कीर्तिपुरमा पराजय, परिबन्द मिलाएर सिरहामा विजय, पार्टी टुक्रिने, अलिअलि जोडिने तैपनि गति नलिने क्रम, छोरी र छोराको निधन, श्रीमतीको गिर्दो स्वाथ्यस्थिति, बीच उनले चित्त बुझाउने ठाउँ कतै छैन । सम्पत्ति जोगाउनु छ, त्यतिमात्र होइन युद्ध अपराधबाट बच्नु पनि छ साथै आफ्नो राजनीतिक सान्दर्भिकता कायमै राख्ने प्रयत्न पनि गर्नुछ । फेरि जे भए पनि माओवादीका नेतै हुन् प्रचण्ड, उनी भनेर पछि लागेका आफ्ना आश्रितहरुलाई कहीं त थन्क्याउनै पर्यो । उनको मनस्थितिका उथलपुथल र आफूमा आश्रितलाई थन्क्याउने प्रबन्ध के हुन सक्छ भन्ने खोजीको परिणाम हो, एमालेसँग एकताको निर्णय । यी समस्त परिदृश्य हेर्दा कतिपयको मुखबाट निस्कन्छ, ख्याल ठिक्क परेन छ, तर त्यसो भन्नु उचित होइन, ’cause जे भए पनि राज्यको रुपान्तरणमा उनको निश्चय नै योगदान छ ।

 

उनको अवस्थाप्रति भने आज यति नै भनौं, के गर्छन् अब उता बिचरा प्रचण्ड !