‘प्रजा’ दुब्ला भया दरवार कमजोर हुन्छ । -भीम भुर्तेल

सन्दर्भ : दरवार हत्याकाण्डको १७ औं बार्षिकी

 

 

राजा वीरेन्द्रले ‘प्रजा’लाई बलिया र मोटा वनाउन सकेको भए दरवारलाई बलियो बनाउन सक्थे, आफै पनि जीवित रहन्थे र राजतन्त्र पनि नेपालमा बर्तमान नै रहन्थ्यो । अहिले राजा वीरेन्द्रको सम्झना गर्दा शक्ति र सत्तामा रहेकाहरुले जनता बलिया बनाए मात्र देश बलियो बन्छ भन्नेतर्फ ध्यान पुर्याउन सकेनन भने राजतन्त्र जस्तै विश्वको नक्सामा देशै इतिहास बन्ने सम्भावनालाई कसैले पनि नर्कान सक्दैन ।

 

“प्रजा मोटा भया दरवार बलियो हुन्छ ।” राजा पृथ्वीनारायण शाहको सवैभन्दा धेरै प्रचलित उक्तिहरु मध्येको एक हो, यो कथन ।

 

नेपाल राज्यको जग बसालेपछि आफ्ना भावी सन्ततिलाई ‘स्टेटक्राफ्ट’ सम्वन्धि मार्गदर्शन होस भन्ने हेतुले राजा पृथ्वीनारायण शाहले केहि ‘टिप्स’ दिएका थिए । जसलाई दिव्य उपदेशका भनेर जानिन्छ । राजा पृथ्वीनारायण शाहका दिव्य उपदेश उनकै सन्ततिले कति पालना गरे भनेर खोज्ने हो भने उनको ११ औं पुस्तापछि उनले स्थापना गरेको राज्यबाट नै राजतन्त्र आफै इतिहासको बिषय वस्तु बन्न पुग्यो ।

 

 


तत्कालिन संयुक्त राष्ट्र संघका महासचिव कोफी अन्नानसंग 

 

 

राजा वीरेन्द्र’bout २०४६ साल अगाडिसम्म समयानुकुल राजतन्त्रलाई परिवर्तन र रुपान्तरण गर्न नसकेको वा नखोजेको भन्ने आलोचना हुन्थ्यो । ढिलै भए पनि जनताको आकांक्षा र परिवर्तित विश्व राजनीतिमा छाएको प्रजातान्त्रीकरण र उदारीकरणमा समाहित हुदै जनतालाई शासन गर्न दिने र आफु राज्य गर्न राजा वीरेन्द्र तयार भए, २०४६ सालमा । दरवार भित्रको अत्यन्तै ठूलो दवावका बावजुद उनको त्यो निर्णयले उनको व्यक्तित्व धेरै हदसम्म उचालियो । उनले राजदुत नियुक्ति, मोहमद मोहसिनलाई राष्ट्रियसभाको अध्यक्ष बनाउँने बिषय र केहि अन्य बिषयवाहेकमा संवैधानिक राजतन्त्रको भूमिका सकारात्मक ढंगले नै गरेका थिए ।

 

सम्यक मुल्याङ्ककनले मात्र कसैको व्यक्तित्वलाई यर्थाथ रुपमा प्रस्तुत गर्दछ । अति मुल्याङ्ककन कि चाकडी हो वा मानिसको देवत्वकरण गर्ने व्यक्तिपुजक दास मनोवृति हो । राजा वीरेन्द्रको समग्र व्यक्तित्वको समिक्षा गर्दा यो तथ्य लागु हुन्छ । समग्रमा राजा वीरेन्द्रको पछिल्लो व्यक्तित्व सम्माननीय र श्रद्धा गर्न लायकै थियो । वीरेन्द्र आफै एक असल मानिस, अनुभवी राजा, अभिभावकको रुपमा र राष्ट्रिय संरक्षकको रुपमा वीरेन्द्रको पछिल्लो व्यक्तित्व राष्ट्रियताको आधार र एकताको प्रतिक पनि थियो, २०४७ को संवैधानिक सिमाभित्र । भाइ र भारदारको दवाव झेल्न नसक्ने राजाका रुपमा पनि चिनिन्छन् ।

 

 

सरकारको नीति वक्तव्य पछि फर्कंदै 

 

 

तर, राजा वीरेन्द्र’bout समाजमा जति नै सकारात्मक धारणा भए पनि उनकै पूर्वज राजा पृथ्वीनारायण शाहको दिव्यउपदेशको आलोकमा हेर्ने हो भने चाँही उनको शासनअवधि अत्यन्तै कमजोर मान्नु पर्ने हुन्छ । राजा वीरेन्द्रको वंशनाशको कारण उनकै शासनको विफलता हो । उनी जनतासंग अर्थराजनीतिक सम्बन्ध स्थापना गर्न असफल भएकोले गर्दा हो । उनले पञ्चायतको सर्वोपरि नेतृत्व गरेको समयमा झण्डै आधाभन्दा बढि उनका ‘प्रजा’ शिक्षा र स्वास्थ्य मात्र होइन बिहान बेलुकीको दुईछाक खाना, टाउको ओत लगाउने छत र जाडो छल्ने कपडाविहिन थिए ।

 

 

उनले २०४७ सालको शुरुवातमा सत्ता राजनीतिक दललाई हस्तान्तरण गर्दाको समयमा ५७ प्रतिशत बालबालिका कुपोशणको शिकार थिए । साउ अक्षर छिचोल्ने क्षमता ४८ प्रतिशतको मात्र थियो । उनैलाई मेरो देशको राजा हुन भनेर चिन्ने पाँच बर्ष उमेर नपुगी मर्ने दर, उनको लागि प्रजा जन्माई दिने आमाहरु प्रवसपिडाले मर्ने दर विश्वकै उच्च थियो । उनको देश रक्षा गर्ने प्रजाको औसत आयु मान्छेको सैद्धान्तिक आयुको आधा पनि थिएन । उनको शासनको तीस बर्षमा प्रजाको जीवनमा ल्याउँन सकिने परिवर्तन उनको सर्वोपरि नेतृत्वमा ल्याउँन असफल भएकै हो ।

 

राजा वीरेन्द्र र उनको वंशनास वास्तवमा राजा पृथ्वीनारायण शाहले भनेजस्तो प्रजा नै कमजोर, निम्छरा र दुव्ला भएकाले नै हो । अर्थराजनीतिक श्रोतसाधनको र राज्यले सिर्जना गर्ने अवसरमा आम जनता बञ्चित भएकोले प्रजा ज्यादै दुव्ला र निम्छरा भएका रहेछन् भन्ने निश्कर्ष निकाल्ने विश्लेषक गलत होइन । अल्पकालमा बन्द समाज, प्रजाको मुखमा बुझो लगाएर, विचार र अभिव्यक्तिलाई बन्द गरेर, चेतनालाई रोक्न खोजेर बलियो बन्ने प्रयास दिर्घकालमा राजतन्त्रको आफ्नै अन्त्यको कारण बन्यो ।

 

 

 

राजा वीरेन्द्रको प्रश्न कसले र किन राजाको परिवारसहित कत्लेआम ग¥यो भन्नेसंग होइन, त्यो अवस्था किन र कसरी निर्माण भयो भन्ने हो । राजाको आफ्नै दरवारमा सपरिवार कत्लेआम भयो । राजा पृथ्वीनारायण शाहको दिव्य उपदेशमा भनिए जस्तो यदि जनता खान पाएका थिए भने मोटाघाटा र हट्टाकट्टा, बलिया वाङ्गा भएका भए दरवार हत्याकाण्ड हुने थिएन । अर्थात देश आर्थिक सामाजिक प्रगतिको हिसावले अगाडि बढेको भए उनको यसप्रकारको त्रासदीमा मृत्यु हुने थिएन । ‘प्रजा’ कमजोर भएर दरवार कमजोर भएको हो भन्न ताल ठोकेर सकिन्छ । अहिले संसारमा राजतन्त्र टिकेको सवै आर्थिक सामाजिक रुपमा विकसित देशमा छ । भुटानको राजतन्त्रको नेतृत्वले हामीले गरेकोभन्दा चाडो प्रगति गरेको छ । आयको ‘क्राइटेरिया’मा नै यसै बर्ष भुटान अल्पविकसित देशबाट विकाशिल देशमा उक्लदै छ । भुटान  सुचांङ्कमा नेपालभन्दा धेरै नै कमजोर थियो, सन १९६० मा ।

 

सामाजिक/सांस्कृतिक मानवशास्त्रले प्रत्येक सामाजिक–सांस्कृतिक प्रघटना भित्र असंख्य प्रतिकात्मक अर्थनिहितता रहेका हुन्छन भन्दछन् । ति पत्र–पत्रमा रहेका अन्र्तनिहित प्रतिकात्मक अर्थको ‘इन्टरपेटेशन’ गर्नुपर्दछ, आफ्ना आफ्ना सन्र्दभमा । यस हिसावले ‘प्रजा मोटा भया दरवार बलियो हुन्छ’ भन्ने राजा पृथ्वीनारायण शाहको दिव्य उपदेशको अन्र्तनिहित प्रतिकात्मक अर्थ हो, जनताको आर्थिक सामाजिक उन्नति र प्रगति हो । आम जनताको जीवनस्तरमा सुधार हो ।

 

 

प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक समापन पछिको चियापानमा 

 

 

जति धेरै जनताको जीवनस्तरमा प्रगतिमा जोड दिइन्छ त्यति नै जनता शक्तिशाली रहन्छन र देश बलियो हुन्छ, सरकार बलियो हुन्छ । जहाँ देश र जनता बलिया हुन्छन, त्यहाँ राज्य बलियो हुन्छ । राज्य वलियो भए दरवार स्वत बलियो हुन्छ । हाम्रो मुलुकमा अवसरमा समता, समानता र न्यायिकताको अभाव रहेछ । त्यो अभावको निर्माण र निरन्तरता पृथ्वीनारायण शाहले नेपाल निर्माण गरेसंगै सुरु भएको, राणाकाल, पञ्चायती व्यवस्थाहुदै २०४६ सालपछिका बर्षमा प्रजातन्त्रपछिका बर्षहरुमा निरन्तर बढेको रुपमा बुझ्नु पर्ने हुन्छ । राजतन्त्रका पक्षपातीहरुले के बुझनु पर्छ भने जनता यति धेरै दुब्ला भएका रहेछन कि दरवार कमजोर मात्र भएन वीरेन्द्रको वंशनाशको ७ बर्ष पुग्न ४ दिन अगाडि नै देशैबाट दरवार इतिहास भयो ।

 

अहिले देशमा दरवार इतिहास भए दरवारले देशको शासन प्रशासन चलाउने बर्गलाई प्रतिनिधित्व गर्छ । र, यो देशको शासनमा रहने बर्गले के बुुझ्नु पर्छ भने मुलुक बलियो हुने भनेको पहिला जनता बलियो हुनु पर्छ । आफ्नो भाग्य र भविश्यको निर्माण आफै गर्ने उत्कट अभिलाषा रहेका जनताले आफ्ना सवै सम्भावनालाई उजागर गर्न पाउँने अवस्था निर्माण राज्यले गर्नु पर्छ हो ।

 

 

त्रिभुवन विश्व विद्यालय दिवसका अवसरमा 

 

 

जसरी जनतालाई बलिया र मोटा वनाउन सकेको भए दरवारलाई बलियो बनाउन सक्थ,े राजा वीरेन्द्रले । बर्तमानमा राजा वीरेन्द्रको सम्झना गर्दा शक्ति र सत्तामा रहेकाले जनता बलिया बनाए मात्र देश बलियो बन्छ भन्नेतर्फ ध्यान पु¥याउन सकेनन भने देशै इतिहास बन्ने सम्भावनालाई नर्कान कसैले पनि सक्दैन ।

 

राजा वीरेन्द्रको पुण्यतिथिमा पृथ्वीनारायण शाहले दिव्य उपदेशमा भनेको जस्तो जनता बलियो बनाउने कार्य गर्नतर्फ लागे राजा वीरेन्द्रको वंशनासबाट पाठ देशले सिकेको ठहरिने छ । वीरेन्द्रको पुण्यतिथीको अवसरमा उनी र उनको दिवंगत परिवारप्रति शव्द श्रदान्ञली ।

 

 

तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीसंग 

तस्विहरु : चन्द्रशेखर कार्की / सदृश्य