कि लाऊ माया मैतिर, कि लाऊ उहीतिर, हो निरा नलाऊ दुईतिर


देश चलाउने ब्यक्तिको भाषण एउटा जङ्गलमा बिद्रोही कार्यकर्तालाई प्रशिक्षण दिए जस्तो अलि सुहाएन भन्न त मिल्ला नि कसो ? यसो सम्झाउन खोज्नेलाई “काङ्रेस” बनाइदिने हो की ? “कि हामीलाई समर्थन गर नत्र तिमी काङ्ग्रेस” भन्न खोज्या हो की ? “कि लाऊ माया मै तिर, कि लाऊ उही तिर, हे निरा नलाऊ दुई तिर ।”
अभिनेत्री रेखा थापाले प्रचण्ड्को माओवादी पार्टी प्रवेश गरेका दिन प्रचण्ड्समेतलाई नचाएकी थिइन, एउटा गीतमा “कि लाऊ माया मैतिर, कि लाऊ उहीतिर, हो निरा नलाऊ दुईतिर” ।गीतमा एउटा केटाले उसकी प्रेमिकालाई आफूप्रति पुरै समर्पित हुन आग्रह गर्छ र केटीले पनि ।
प्रख्यात कलाकार टोलीसहित पार्टी प्रवेश गरेको माहोल, प्रचण्ड भित्रको कलाकारिता पनि “क्रान्तिकारिता”को पर्खाल नाघेर बाहिर निस्कियो । झट्ट हेर्दा घर भित्र बसेर रचना गरिएको लोकगीत भएपनि यसले प्रचण्डले पच्छ्याएको राजनैतिक दर्शनसंग मेल खायो होला, उनको मनमा छोयो होला, उनले आफ्नो मन थाम्न सकेनन, स्टेजमै आएर नाचे “नलाऊ दुई तिर” । अर्थात अर्को अर्थमा हेर्दा नेकपा(एमाले)ले गत बर्षको चुनाव अघिका १५-२० बर्ष पच्छ्याएको राजनैतिक बाटोभन्दा फरक, कि सर्वहारातिर, कि बुर्जुवातिर ।
“कि उता, कि यता”को हाम्रो सोचाईलाई हामी कोहीप्रतिको समभाव वा कोहीप्रतिको दूरी सतहमा उत्रने सतही प्रतिकृयाको रुपमा लिन्छौँ । हेर्दा हो पनि । हामी मन परेका सङ्ग नजिकिन्छौँ, मन नपरेका सङ्ग टाढिन्छौँ । चरम बिन्दूमा पुगे प्रेम गर्छौँ वा घृणा गर्छौँ । तर, “नजिकिनु र टाढिनु” तथा “प्रेम गर्नु र घृणा गर्नु” वीचमा भने दूरी लामो छ, लामो संस्कारको प्रभाव छ, गम्भीर दार्शनिक मतभेद छ र फरक ज्ञानशास्त्रीय (इपिस्टिमोलोजिकल ) आधार छ । कुनैपनि समाजमा कुन भाषाको प्रयोग हुन्छ भन्नेमा संस्कारको ठूलो हात हुन्छ । यस भित्र मान्छेले कुनै कुरा कसरी सिक्छ, कुन कुरा सिक्छ, किन सिक्छ, कति समयमा सिक्छ , सिक्ने ढाँचा कुन प्रयोग गर्छ आदि कुरा पर्दछन ।
म फेरि त्यही “कि लाऊ माया मैतिर, कि लाऊ उहीतिर हो निरा नलाऊ दुईतिर” को अर्थ मै फर्किन्छु , यसको दार्शनिक र ज्ञानशास्त्रीय अर्थमै घोत्लिन्छु । “कि ऊ, कि म” । अर्थात माया बाँडिन सक्दैन । “कि उता जाऊ, कि एता आऊ” । अर्थात भक्ति बाँडिन सक्दैन ।
यिनीहरू पश्चिमा सामाजिक संस्कारका उपज हुन । अर्थात एकल इश्वरीय धर्म भएका, एकल जातीय समाज भएका, एउटै बिचार भएका समाजका उपज हुन । पश्चिम गोलार्धमा प्रचलित संस्कार । त्यसैको आधारमा तिनको ज्ञानशास्त्र बन्यो, शुकरातको सोफिस्टहरूसंग भएको ज्ञानको संवाद, शुकरातका चेलाको हातबाट लेखिएको लाइन नै अहिलेको पश्चिमा ज्ञानशास्त्रको आधारशीला हो । प्राचीन प्लाटोनिक स्कुल भन्नुस, नियोप्लाटोनिक स्कुल भन्नुस या अघिल्लो सताब्दीका शिकागो वा फ्र्याङ्गफर्ट स्कुलको ‘क्रिटिकल’ सोच हुन, सबैको आधारशीला उही हो, कि ऊ, कि यो । सेतो–कालो, इश्वर–राक्षस, रात–दिन सबै बिपरितार्थी !
हेर्दा ज्ञानशास्त्र, यसले मान्छेको सिक्ने तरीकालाई मात्रै प्रभाव पार्ला जस्तो देखिन्छ । तर यसको असर मान्छेले “सिक्ने” भन्दा “सोच्ने” तरिकामा छ । अर्थात तपाई अर्को मान्छेलाई कसरी हेर्नु हुन्छ ? आफ्नै सजातीयलाई कसरी हेर्नु हुन्छ ?, आफूभन्दा गैरजातीयलाई कसरी हेर्नु हुन्छ ? आफ्नोभन्दा फरक देशका मान्छेलाई कसरी हेर्नु हुन्छ ? आफूभन्दा फरक लिङ्ग भएकालाई कसरी हेर्नु हुन्छ ? ति हेराइको आधारमा कसरी ब्यबहार गर्नु हुन्छ ?
तपाईँको व्यवहारलाई उसले कसरी लिन्छ ? ह्रिदयदेखि स्वीकार्छ कि, डरले मानि दिन्छ ? बिस्तारै विचारमार्फत फरकपन देखाउँछ कि प्रतिवाद नै गर्छ । यही तपाईँको ब्यवहार र त्यो ब्यवहारप्रति ब्यवहार गरिने ब्यक्तिको प्रतिक्रिया नै आधुनिक समाजविज्ञान वा राजनीतिक विज्ञानमा हामीले द्वन्द्व भनेर बुझ्छौँ ।
दुई सय बर्षअघि मार्क्सले लोकप्रिय बनाएको द्वन्द्वात्मक भौतिकवादले संसार बदलेको छ, संसार हाँक्ने विचारको अर्थमा । यसले समाजको आर्थिक सम्बन्धको नयाँ परिभाषा दिएको छ, राजनैतिक सम्बन्धको नयाँ परिभाषा दिएको छ र द्वन्द्वलाई गतिशिल समाजको एउटा अभिन्न अङ्ग मानेर हामिलाई संसार बुझ्ने चश्मा भिराइ दिएको छ । हामी कोही त्यही चश्माको फ्रेमबाहिरबाट संसार हेर्दै नहेर्ने र त्यो फ्रेम भित्रबाट पनि हेर्दै नहेर्ने समूहमा बाँडिएका छौँ ।
मार्क्सवाद वास्तवमा शुकरातका चेलामार्फत बजार बिस्तार गरिएको ज्ञान निर्माणको ढाँचामै आधारित छ । दिन राम्रो रात नराम्रो, सेतो राम्रो कालो नराम्रो जस्ता अवधारणाको आधार नै शुकरातका संबाद हुन, जहाँबाट “बाइनरी कम्प्यारिजन” अर्थात विपरीतार्थक तुलनाबाट नयाँ ज्ञान निकाल्ने अवधारणा जन्मे, त्यहिँबाट रासायनिक प्रतिकृया लगायत अन्य वैज्ञानिक अनुसन्धान र खोजका आधार बने, औद्योगिक क्रान्ति भयो, मान्छेका दुई बर्ग देखिए, मार्क्सवादको उदय भयो । त्यही भएर मलाई मार्क्सवाद पश्चिमा समाजको सोच्ने ढाँचाको उपज हो भन्ने लाग्छ ।
हाम्रोमा घरै पिच्छे माक्र्सवादी विचारक भएको हुँदा मेरो एक पेजको लेख इन्द्रका अगाडी स्वर्गको बयान गरे जस्तै दुस्प्रयास मात्रै हुनेछ । तर “मैले मार्क्सवादि विचारको व्यवहारिक प्रयोग” भनेर नेताहरूले पटक-पटक भनेको सुनेको छु । त्यो ब्यवहारिक प्रयोग “डिफ्रेमिङ्ग” वा त्यो चश्माको फ्रेम बाहिरबाट समेत हेर्ने प्रयासबाट हुन्छ जस्तो लाग्छ । हो ज्ञान निर्माणमा पश्चिमा अवधारणाले हामीलाई धेरैपछि पार्यो, तर पनि पूर्वीय दर्शनमा भएका केही तत्व अझै पनि मनन योग्य छन । द्वन्द्वबाट होइन समायोजन वा फ्युजनबाट नयाँ चिज निस्कन्छ हाम्रो पूर्वीय अवधारणामा, इरानदेखि चीनसम्मका सबै दर्शन हेर्नुस । चीनको यीङयाङ्ग होस वा हाम्रो प्रकृति र पुरुष हुन, द्वन्द्वका खातिर बनेका अवधारणा होइनन ।
व्यवहारिक प्रयोगकै कुरा गर्दा प्रचण्ड, ओली, देउबा र रामचन्द्रको बर्ग हेर्नुस त को बुर्जुवा, को सर्वहारा ? तिनका युवा कार्यकर्ताको जीविकाको साधन हेर्नुस त, पुलिसदेखि सचिवसम्मको सरुवा, बलुवादेखि सुनसम्मको ब्यापार….मार्क्सको परिभाषाले समेटछ त? चर्चित लेखक केनेथ बर्कले “मान्छेको परिभाषा” दिँदा “आफ्नै सिर्जनाका कारण आफ्नो प्राकृतिक अवस्थाबाट टाढिएको” भने झैँ वास्तवमा यी सबै नेता आफ्नो जमिनबाट टाढिएका छन । सूचनामा दलाली गर्ने कार्यकर्ता पङ्तिबाट छनौट गरिएका तथा तोडमोड गरिएर आफूलाई अनुकूल हुने गरी तयार गरिएका सूचना, र पत्रपत्रिका र रेडियो टिभिले आफ्नो फ्रेम भित्र राखेर सम्प्रेषण गरेका समाचार नै उनीहरूका अवधारणा निर्माणका कच्चा पदार्थ हुन ।
तर, अहिलेको सञ्चार माध्यमको विकासका कारण नेताहरू बोलेको कुरा जनताले प्रत्यक्ष सुन्छन र नेता र नेताको गन्तब्य’bout अनुमान लगाउँछन । दुई शिर्ष नेताको हिजोको “पुष्पलाल सम्झिने भाषण” सुनेपछि मलाई पनि कता कता अझै द्वन्द्व बढ्ने आशंका पलायो । हुन त बानेश्वरमा दिनभर बालुवाटारपतिलाई तथानाम गाली गरेर साँझको खानापिनाका लागि सोझै बालुवाटार नै गएका नेताहरूका’boutमा पनि सुनेका हौँ, तर ति भाषणले राजनैतिक द्वन्द्व अव नयाँ शिराबाट शुरु हुने लक्षण देखाउँदैछन । देशको प्रधानमन्त्रीले त्यो मञ्चमा गरेको भाषण सुन्दा मलाई चाहिँ एउटा विद्रोही नेताले जङ्गलमा कार्यकर्तालाई दिएको प्रशिक्षणको भान पर्यो ।
डा. केसीको सत्याग्रह भन्नुस कि अनसन भन्नुस कि स्वहिंसा भन्नुस तपाईको आफ्नो बुझाई होला, त्यसमाथि सङ्ख्यात्मक रुपमा हैसियतविहिन बनेको र राजनैतिक मुद्दा जतिको चुनाब अघिनै दाह संस्कार गरिसकेको प्रतिपक्षी काँग्रेसले गर्न खोजेको राजनीति पनि आफ्नो ठाऊँमा छ । तर अव राजनैतिक सहिष्णुताको कालखण्ड सकिएको हो ? भन्ने प्रश्न दिमागमा आयो, दुई नेताको भाषण सुनेपछि ।
त्यो भाषणमा तीन जना शिर्ष नेता बस्दा भएका छलफलका कुरा मात्रै आएनन २०४८ पछिको गिरिजाप्रसाद कोइरालाको शासनमा भएका दमन, जागिरबाट निष्काशन, २०० भन्दा बढि मान्छेको हत्या, महाकालीबाट पूर्वलागेको एमालेको र्यालीमाथि दाङ्गमा भएको पुलिस दमनदेखि लिएर ४६ सालपछि काङ्ग्रेसले बन्द गरेका उद्योग कलकारखाना, काङ्ग्रेसले नगरेका बिकासका सबै कुरा आए । बडि ल्याङ्वेज हेर्दा यस्तो लाग्थ्यो मानौँ अव एक दुई दिनमै काङ्ग्रेस बिरुद्ध युद्ध घोषणा हुँदैछ ।
द्वन्द्वकालीन घटनाहरू अझै सत्य निरुपण तथा मेलमिलाप आयोगको टेबलमै छन । अहिले जति बकबक गरेपनि यिनै शीर्ष नेताहरूका कार्यकर्ता पिडक छन, पिडित छन, शक्ति सन्तुलनमा आउने सानो परिवर्तनले यिनलाईसमेत तान्ने प्रसस्त ठाऊँ छन । चुनाव भनेको लडाईँ थिएन, जनताले शान्ति प्रकृयाका बाँकी काम सक्ने र देशलाई नयाँ बाटोमा डोर्याउने दल छानेको, ब्यबस्थापक छानेको हो, न कि कुनै अमूक दललाई उसले गरेका गल्तीका कारण सजायँ दिने न्यायाधीस वा फाँसी दिने जल्लाद ।
पुष्पलाललाई सम्झिने दिनका ओली र प्रचण्डको भाषणले देश नयाँ चरणमा प्रवेशको संकेत गर्दैछ । भावी पुस्ताले “काङ्ग्रेस र कम्युनिष्ट कुनै जवानामासङ्गै लडेका थिए” भन्ने पढ्न पाउने छन । के अहिले के झापामा शीरच्छेदन गरेको, ४८ सालामा जनमोर्चालाई जेल हालेको, ५२ मा काँग्रेसलाई भाटे कार्वाही गरेको आरोपहरू एक अर्कालाई लगाएर कार्यकर्तालाई थप बिभाजित बनाउने बेला भै सकेको हो?
विचारको युद्ध पश्चिमा फेनोमेना हो, त्यो पनि केवल २००० बर्ष पुरानो, अर्थात क्रिस्चियानिटीको उदभवसंगै विकसित भएको संसारका सबै विचारका युद्धको उदभव स्थल ग्रीस, टर्की, बुल्गेरिया वा त्यही हामीले अहिले पूर्वीय र पश्चिमा सभ्यताको संगमस्थल वरिपरि हो । कोरिया, मलाया, चीनका २०औ सताब्दीका युद्ध पश्चिमा देशले आफ्नो बिचार लाद्न गरेका युद्ध भएकाले पूर्वीय मौलिकता छैन, ति युद्धमा ।
तर, पृथ्वीको हाम्रोतिरको पाटोमा भएका सबै युद्ध स्त्री र सम्पत्तिका लागि भएका छन । भारत बर्षका सबै युद्ध, रामायणका कथाका हुन कि महाभारतका कथाका युद्ध । सबैलाई भक्तहरूले शुर र अशुर वीचको, सत्य र असत्य वीचको भनेर ब्याख्या गरेका हुन । चीन र जापानको होस कि अरू, सबै युद्ध स्त्री र सम्पत्तिका लागि भएका छन । त्यसैले तपाईले जति बैचारिक द्वन्द्वको कलेवरमा ढाल्न खोजे पनि म त्यसलाई फरक रुपमै बुझ्छु किन कि देउवा र प्रचण्ड, रामचन्द्र र ओली मेरो लागि एउटै बर्गमा पर्छन । टोल छिमेकले पनि त्यसरी नै हेर्ला ।
शास्त्रीय मार्क्सवादी धरातलमा उभिएर बोलेको कुरा उनीहरूका ब्यवहार सङ्गत छैनन, हाम्रो सामाजको बनौट अनुकूल छैनन । समाजमा बर्गको परिभाषा परिवर्तन भैसकेपछि, बुर्जुवाले सर्वाहाराको र सर्वहाराले बुर्जुवाको मुद्दा बोकी सकेपछि र बुर्जुवा भनेको बर्ग नै उत्पादनको स्रोतमा कब्जा जमाउने हैसियतमा पुगिसकेपछि अब समाजले तिमीलाई वर्गीय नेता होइन राष्ट्रिय नेताको रुपमा हेरेको छ । जनमुखी कार्यक्रमले जनताको मन जित्ने हो । युद्धमा जानलागेको सिपाहीलाई दिएको प्रशिक्षण जस्तो भाषा अहिले त सुके लुतो खोयाले कन्याएजस्तो आनन्द आयो होला, यो क्षुद्र बोलीको देशले ठूलो मूल्य चुकाउनु पर्ने दिन आउनबाट जोगाउने जिम्मा तपाईँकै हातमा छ ।
संसदलाई सडकले निर्देशन दिनु उचित हुदैन । म मादन्छु एजेन्डाविहिन भएको काङ्ग्रेसले आफू शासनमा हुँदा केही नगरेर अहिले आएर डा. केसीको पुच्छर समाएर सरकारलाई गलाउँन चाहेको पनि होला । सत्याग्रहीको समर्थकले सरकारी र नीजि गाडी र धर ढुट्याउनु सत्याग्रहमाथि नै आक्रमण हो भन्नेमा मेरो मत सरकारसंगै मिल्छ । तर, नमिल्ने कुरा भनेको यही जमातको कुरा सुनेर जनता सडकमा आउन हुने, राजाको बिरुद्ध जनता उत्रन हुने, द्वन्द्वरत पार्टीहरू बार्ताबाट समाधान खोज्न सहमत हुने बिडम्वना, सरकारले यसो सुने जस्तो पनि गर्दिन नहुने ?
राजनीतिक उद्देश्य भएकाले केही राजनैतिक नारा लगाए होलान, तर एउटा प्रबुद्ध समूह केसीको जीवन रक्षा गर्न र मौकाको सदुपयोग गरी पहिले भएका गल्ती सच्याउन सरकारलाई आग्रह गर्दैछ । स्वास्थ्य र शिक्षामा सरकारी प्रभाव बढाउन आग्रह गर्दैछ । ति नितान्त गैर काङ्ग्रेसी माग हुन । तपाईँकै दलले वकालत गरेका माग हुन । र, तपाईलाई मत दिने मात्रै होइन तपाईकै पार्टीका युवा र विद्यार्थीले अहिले पनि सडकमा गुञ्जाई रहेका माग हुन । जो सडकमा देख्छु ति काङ्ग्रेस वा विवेकशील साझा पार्टीका मतदाता मात्रै छैनन ।
म “आइ एम विथ डा.केसी” मा एक पल्ट पनि गाको छैन । म कुनै दलको सदस्य त के मतदातासमेत होइन, २०५६ पछि मतदान गरेको छैन र पत्रकार हुँदा पनि घोषित रुपमै युनियन, चौतारी आदि जस्ता पार्टीका भातृ संस्था वा शुभेच्छुक संस्थासमेतको सदस्य बन्नु हुन्न भन्ने मत राखेको मान्छे हुँ । दल बिरोधी भएर होइन, भित्रैदेखि आफ्नो पेशा अनुरुपको तटस्थता अपनाउने मन पलाएर ।तर, राजाको शासन बिरुद्ध चाँही घोषित रुपमै सडकमा पनि आएको हुँ मेरो पेशामाथि नै संकट परेको कारण, मेरो ब्यक्तिगत जीवनमै असर परेको कारण र नेपाल पत्रकार महासङ्घको कान्तिपुर शाखाको सभापतिसमेत भएको नाताले, र आफ्नो संगठनको केन्द्रीय समितिको निर्देशन अनुरुप ।
त्यसैले अहिलेको राजनैतिक परिवर्तनको म पनि एउटा बलियो हिस्सेदार हुँ । अरू कुरामा प्रश्न राख्ने हैसियत नराखौला तर, तिनको आन्दोलनमा १०० जना पनि मान्छे नहुँदा हामी जस्ता पेशाकर्मी र अहिले मण्डलातिर केसी बचाऊ भन्दै हिँड्ने सामाजिक कार्यकर्ताले सडकमा उभ्याएर आइन्दा घृणा, द्वेश र निषेधको राजनीति गर्दैनौँ, पुराना गल्तीबाट चेत्यौँ, ति गल्ती दोहोर्याउँदैनौँ भन्ने बाचा सम्झाउन त मिल्ला नि? तिम्रा बोली र ब्यवहार हेर्दा मुलुक फेरि अर्को चरणको द्वन्द्वमा पस्न सक्छ । देश चलाउने ब्यक्तिको भाषण एउटा जङ्गलमा बिद्रोही कार्यकर्तालाई प्रशिक्षण दिए जस्तो अलि सुहाएन भन्न त मिल्ला नि? कि जसले सम्झायो उसलाई “काङ्रेस” बनाइदिने? “कि हामीलाई समर्थन गर नत्र तिमी काङ्ग्रेस” भन्न मिल्छ? “कि लाऊ माया मै तिर, कि लाऊ उही तिर, हे निरा नलाऊ दुई तिर”

