अपराधको समाज-सम्बन्ध

अपराधप्रति राज्यको  रेस्पोन्सले नै अपराधको शक्तिसङ्गको सम्बन्ध देखाउँछ । समाजमा जुन प्रभुत्वशाली समूह हुन्छ, उसले अपराधको पक्षमा पनि र अपराधको बिरुद्धमा पनि राज्य शक्ति प्रयोग गर्न सक्छ।

 

 

 

३५-३६ बर्ष अघिको एउटा घटना सम्झन्छु । पूर्वी तराईको एक भूमिसुधार अड्डामा एक जना मोही आए, उनको स्वामित्व सम्बन्धी एउटा निस्सा लिन । मेरा एक नातेदारले आफ्नो कार्यकक्षमा हप्काएर जबर्जस्ती ५ रुपैयाँ झारे त्यो निस्सा पोकोबाट खोजेर निकालिदिएवापत ।

 

 

ति मोहीले ५ रुपैयाँ निकाल्न ३ वटा गोजी प्रयोग गरे, एउटा मोहोर र दुई सुकीसमेत निकाले ।  ति नातेदारले सा…भन्दै मैथिलीमा गाली गर्दै ३  पटक गरेर ५ रुपैयाँ झार्दा एक जना लेखनदास हातमा एउटा पान लिएर छेवैमा उभिएका थिए ।

 

घर फर्कँदा मैले सोधे विचरा त्यस्तो मान्छेको ५ रुपैयाँ किन लिनु भाको ? मेरा नातेदारको सहज उत्तर थियो-“यि …हरू? हेर्दा यस्ता देखिन्छन भूमिपति हुन । यसको १३ बिघा आफ्नो छ, अर्काको ८ बिघा मोहियानी लगाएर हडप्यो । तीन दाजुभाई बाँड्दा पनि अझै सात बिगाहा  यसैको नाममा छ । यसको काम मैले सित्तै गरिदिएँ भने अर्को कोठामा गएर त्यो पैसो दिएर काम पक्का भयो कि भएन भनेर जाँच्न लाउँछ ।”

 

उनको त्यस बखतको परिभाषामा त्यो ५ रुपैयाँ र लिने तरीका दुवै बैध थिए नत्र ठूलो स्वरमा हप्काएरै, ५-६ जनाको विचैमा किन झार्थे । अहिलेको सरकारले कर असूले जसरी। र, त्यो ५ रुपैयाँ  निकाल्नेका लागि पनि अदालतको फैसालाको फैसला भएको एक वर्ष भैसक्दा पनि नआएको कागज लिन ५ रुपैयाँ तिर्नु दायित्व जस्तै थियो ।  दुई रुपैयाँबाट बार्गेन गर्ने ५ सम्म तिर्ने भनेरै आएका हुन सक्छन ।  तिनको मनोविज्ञानसङ्ग मेरा नातेदार परिचित नै थिए ।

 

अहिले त्यही पैसो लिन फोनमा कुरा मात्रै भएको थाहा पाए अख्तियारले समाउँछ। कानून त त्यतिबेला पनि थियो, तर लेखनदासले सँधै  खानापछि खिल्ली पान खुवाएर एक दुई वटा काम लिन्थे, त्यो दिन पनि लिए । त्यति नगद र त्यो पान दुवै गैरकानूनी नै थिए, तर  सामाजिक स्विकृतिले कानूनलाई जितेको थियो ।

 

तीस-चालीस  बर्षअघि देखेका र सुनेका कुरा सम्झन्छु । मानेभञ्ज्याङ्गको पाक्षिक हाटबाट युवा युवती दोहोरी गाउँदै झर्थे, केटाले दोहोरी जिते हार्ने केटीलाई तान्दै घर लैजान्थ्यो, बेहुली बनाउन । मैले एउटा आफैँ देखेँ र दुईटा सुनेँ । एक दुई बलात्कारका घटना रक्सी राखेर खुट्टा ढोगेर मिलेको र दुई वटा घटनामा बलात्कार पिडितलाई पिडकको जिम्मा लगाइदिएको मैले प्रत्यक्ष देखेको छु । अहिले अली असजिलो तरीकाले हेर्यो मात्रै पनि अपराध ठहर्छ, छुनु त परै जाओस।

 

जवर्जस्ती करणी त्यतिबेला पनि अपराध थियो, तर उमेर पुगेका केटा केटीको मामला रैछ र मिल्दो कुटुम्ब रैछ भने समाज बसेर स्विकृति निर्माण गर्दथ्यो, कुनै कुनै समाजमा। तर,  ‘दुधे बालीका’माथि आफ्नै ‘हजुरबा द्वारा” जस्ता  कुरा सुनिएनन, एउटा अनपढ समाजमा पनि ।

 

अर्थात समाजले जुन कुरा पचाउँथ्यो त्यसमा त्यसमा मात्रै कानूनले मौन स्विकृति दिएको रैछ भन्ने म अहिले बुझ्छु।

 

म उमेरले ५० पुग्न अझै दुई वर्ष  बाँकि छ । ५ वर्षको उमेरदेखिका सम्झना दिमागमा बसेका रहेछन भने पनि ४२-४३ वर्षको समाज हो मैले देखेको, मैले सम्झेको ।  यो विचमा अपराधको सामाजिक सम्बन्धमा थुप्रै परिवर्तन भएका छन । प्राकृतिक प्रकोप सिर्जित परिवर्तन देख्ने अरू पनि  होलान, तर मानव सिर्जित यति धेरै  परिवर्तन भोग्ने  पुस्ता सायद मानव इतिहासमै नेपालको १९७० देखि २०२५-२०३० सम्म जन्मेर अहिलेसम्म बाँचेको पुस्ता होला ।

 

समाजसङ्गै अपराध फेरियो, कथा सुनाउनेहरू थपिए, एउटै कथा फरक फरक वाचकका मुखबाट, फरक फरक फ्रेममा बसेर आउन थाले । म ६-७ कक्षामा पढ्दा नक्सलवादीहरूको चलखेल  थियो, मेरो गाउँमा । तिनले हामीलाई समाज पढाउँथे, कथा बनाएर । नमिता-सुनिताका कथा, गच्छ्दार र फडिन्द्र तिम्सिनाका कथा, सुखानी र छिताङ्गका कथा । टिमुरबोटे जस्ता काङ्ग्रेसी कथा भएकाले  धेरैपछि मात्रै सुनियो ।  जे सुनियो लेफ्ट फ्रेममा हालेर बनाएका सुनिएछ । राज्यले जनता  विरुद्ध अपराध गर्ने कथा सुनिएछ ।

 

तस्करी, लूटपाट, चोरी, डकैती, वलात्कार, वलात्कारपछि हत्या, भ्रष्टाचार, सरकारी सम्पत्तिको ब्रह्मलूट आदि हेर्दाखेरि अलगअलग लाग्न सक्छन । तर, समाजको अपराधिकारणमा यि मध्ये कुनैको एक्लो हात हुँदैन ।  अपराधकर्म भौतिक र मानसिक दुवै अवस्थासङ्ग जोडिन्छ  र जब समाजले त्यसलाई अभिशप्त नियतिको रुपमा लिन्छ त्यो सामुहिक अवधारणा  बन्छ । यस्तामध्ये ४ वटा अपराध गर्ने मान्छे दण्डित छैन भने पाँचौँ अपराध स्वतः हुन्छ ।

 

अपराधको सर्वस्विकार्य परिभाषा छैन

 

सर्व स्विकार्य परिभाषा हुँदो हो त बादलको पार्टीले पिस्तोल देखाएर असुलेको अर्वौँ रकम र प्रकाण्डले पिस्तोलको त्रास देखाएर  असूलेको करोडौँ रकमको सम्बन्ध उस्तै हुन्थ्यो। हजारका नोट सेता खैरा छिर्के मिर्के, पाँचका नोट राता । उस्तै देखिनु पर्ने। सिके राउतले डण्डा-पिटि खेलाएर देशलाई थर्काउनु र प्रचण्डले राइफल-पिटि खेलाएर वैधानिक सरकारलाई थर्काउनु उस्तै देखिनु पर्ने आयतन फरक भएपनि ।

 

गिरिजाप्रसादले देशबाट अपहरण गरेर प्लेन विदेशतिर लानु र प्रचण्डले सहरमा गुड्दै गरेको गाडी अपहरण गरेर जङ्गल पुर्याउनु उस्तै हुन । तर, हिजोसम्म फरक देखिन्थे, आज फेरि उस्तै भए । राती घरमा आएर पार्टीले बोलाएको छ एक छिन हिड्नुस भनेर कहिल्यै नफर्काउनु र सुरक्षा फौजले तपाईँसङ्ग केही बुझ्नु छ भनेर लगेर कत्लेआम गर्नु उस्तै घटना हुन।  धेरै वर्षसम्म फरक देखिए र अहिले उस्तै भैसके ।

 

इतिहासमा जसले जिते तिनको उचित र जस्ले हार्यो तिनको अनुचित भए । जसलाई समाजले पचायो, पत्यायो वैध भए, जसलाई पचाएन अवैध कायम रहे ।

 

त्यसैले कानूनले के मान्छ होइन हामी के मान्छौँ भन्ने दृष्टिबाट आजका अपराधलाई हेरौँ ।

 

मानिस आफैँमा एउटा दुष्ट जाति  हो, ऊ हिँस्रक हुन्छ, बलियाले निर्धालाई पेल्नु जन्मसिद्ध गुण हो भन्ने चश्मा लगाएर हेर्ने हो भने कानून निर्धाको संरक्षणका लागि बन्छ, अर्थात शक्ति प्रयोग प्रमुख बन्छ । मान्छे शान्तिप्रीय जाति ती हो भन्ने चश्माबाट हेर्ने हो भने  कानूनले सामाजिक अभ्यासलाई व्यवस्थित गर्नेबाहेक केही गर्दैन । शक्ति भन्ने चिज नै गौण बन्छ ।

 

अपराधको  सर्वमान्य परिभाषा नभएजस्तै मान्छेको प्रकृति वा बानीको पनि सर्वमान्य बुझाई छैन ।

 

विद्रोह गरेर राज्यको सेना मार्नु जनताको हितमा भनेर पुष्ट्याइ गर्दा राज्यशक्तिको प्रयोग गरेर विद्रोही मार्नु  पनि राष्ट्रको हितमा हुन्छ । जनवादी  हुनु र राष्ट्रवादी हुनु एक अर्थमा दुवै अपराध हुन किनकि अर्काको शरीर, धन, स्वतन्त्रतामाथि वलपूर्वक अतिक्रमण गरिएको हुन्छ । अर्को अर्थमा यि अपराध होइनन किन कि बहाना  जनहित वा देशहित छन ।

 

समाज फेरिए पनि र अपराधको बुझाई फेरिए पनि अपराधकर्मीको समाज सम्बन्ध भने उही छ । समाजको प्रभुत्वशाली समूह  वा व्यक्ति कि त आफूभन्दा बलियो विरुद्ध अपराध गरे मात्रै दण्डित हुन्छ, कि सामुहिक शक्तिले उसको शक्ति निश्तेज पारेपछि मात्रै ।

 

निर्मलाको बलात्कारपछि हत्या भएको समाचार आएपछि ४-५ वटा हत्या वा वलात्कारपछि हत्या र १७ वटा बलात्कारका समाचार मैले देखेँ । ति मध्ये दुई वटामा प्रधानमन्त्री र गृहमन्त्री तहकै चासो आए र अर्को एउटा यस्तै तर तेजाब प्रयोग गरी भएको हत्याका पिडित भेट्न प्रदेश मूख्यमन्त्री नै पुगे । अरू सबै गुमनाम।

 

खुर्शिद एक प्रतिष्ठित शिक्षासेवी मात्रै थिएनन नेकपाका कार्यकर्तासमेत । उनको त्यो हैसियतमा समुदाय जोडियो, समाज जोडियो । सरकारले सहीद घोषणा तत्काल गर्यो, दश लाख राहत दियो । निर्मलाको पक्षमा क्ञ्चनपुरदेखि काठमाण्डुसम्मको सामुहिक शक्ति लाग्यो । राज्यको गम्भिर्यता देखियो ।

 

यसरी हेर्दा अपराधप्रति राज्यको रेस्पोन्सले नै अपराधको शक्तिसङ्गको सम्बन्ध देखाउँछ । समाजमा जुन प्रभुत्वशाली समूह हुन्छ उसले अपराधको पक्षमा पनि र अपराधको विरुद्धमा पनि राज्य शक्ति प्रयोग गर्न सक्छ भन्ने प्रष्ट पार्छ ।

 

कतिपय समाजशास्त्रीहरूले अपराधलाई सामाजिक मान्यतामा भएको विचलनको रुपमा मात्रै हेर्छन र त्यस्ता विचलनवारे समाजको बुझाई फरक फरक हुन्छ भन्ने मान्यता राख्छन । सामाजले जे मान्छ वा स्विकार गर्छ, त्यो नै सामाजिक मान्यता हो । त्यसैले नियम र मान्यता  भनेका समाजका सिर्जना हुन, नैतिकताको आधारमा निर्णय गरिएका र व्यक्तिले लादेका विषय वस्तुभन्दा नितान्त फरक ।

 

तर, हाम्रा यि मान्यतालाई अहिले व्यक्तिकरण गरिँदैछ।  कोही ओलीभक्त र वादलभक्त देखा परेका छन त कोही हो न हो ओली र वादलले नै अह्राए-गराएका घटना हुन भन्ने तरीकाले उत्रिएका छन । ओलीले यसको अनुसन्धानमा १२ बर्ष लगाइदिन्छु भनेका होइनन । मलाई लाग्छ प्रहरीको हाकिम संलग्न भए त उनले ठाउँका ठाउँ कार्वाही गर्न  आदेश दिने छन आफ्नै पार्टीकै नेता संलग्न भए पनि कार्वाही गर्दा उनलाई व्यक्तिगत र पार्टीलाई समेत फाइदै हुन्छ भन्ने उनलाई थाहा छ । त्यसैले उनले अपराधी जोगाउँछन जस्तो लाग्दैन। बादल पनि यत्रो आलोचना खेपेर कुनै अपराधी जोगाउलान भन्ने लाग्दैन ।  पुलिस प्रमुख त झन मैले सुनेअनुसार कसैलाई संरक्षण गर्ने खालका होइनन ।

 

आफ्नो-आफ्नो ठाउँमा क्षमता देखाएरै आएका व्यक्ति भए पनि  तिनै जनामा एउटा समानता छ । हिलोमाथिको कमल देखिन खोज्ने । र, सबै व्यक्तिगत रुपमा भएको सफलताको सामुहिक जस लिन पूर्नरुपमा असफल । तीनै जनाको ‘सामुहिकतामा’ विश्वास देखिएन । नेपाल प्रहरी अपराध अनुसन्धानको क्षेत्रमा विश्वस्स्तरको छ,  तर ओलीले भने जस्तो १२ बर्ष पनि लाग्न सक्छ अपराधी पत्ता लगाउन । मलाई छिट्टै अपराधी पत्ता लाग्ला भन्ने विश्वास छ, तर मलाई विश्वास भएर भएन । समाज विश्वस्त हुन सक्नु पर्यो यो अनुसन्धान ठीक ढङ्गले अघि बढेको छ भन्नेमा । अहिले म समस्या त्यहीँ  देख्छु ।  र, त्यो विश्वास अहिलेको अनुसन्धान बिधि र फ्रेमबाट आर्जन नहुन पनि सक्छ भन्ने ठान्छु ।

 

निर्मला र खुर्शिद जोडिएका दुवै घटनाका अनुसन्धान दायरा प्रहरिले नै साँघुरो पारेको छ, सरकारले साँघुरो पारेको छ । एकातिर अनुसन्धान स्थगन गरेर आयोगको प्रतिवेदन कुरेको जस्तो सन्देश समाजलाई दिईएको छ, अर्कातिर सोझै भारतीय सुरक्षाकर्मीले खुर्शिदमाथि पहिलेदेखि संका गरेकोले उनीहरूकै हात छ भन्ने सन्देश अप्रत्यक्ष रुपमा फैलाइएको छ ।  आयोग बन्ने र प्रतिवेदन थन्किने सयौँ घटनासङ्ग समाज परिचित छ र मिर्जा र जमीम शाहलगायतका हत्यामा ‘भारतीय सुरक्षाकर्मी’ वा ‘सङ्गठित गिरोहको हात’ पनि उसले देखेको छ ।

 

समाजले सबै राजनीतिक  र आर्थिक अपराधलाई सहज रुपमा समाजको नर्म बनाउँदैछ र शक्तिसङ्ग जोडेर स्विकार पनि गर्दैछ । दिनदहाडै मान्छे मार्ने भनेर समाजले चिनेकाहरू जेल मुक्त हुन्छन । सरकारी सम्पत्ति हावामा उडाउँदै हिड्नेहरू ठूलो राजनैतिक हैसियत बनाउँछन, पाँच पैसाको आम्दानी नहुनेहरू अरवपति हुन्छन । आफू जनतासङ्ग धेरै घुलमिल छोडेकोले तिनलाई  लाग्दो हो समाजले आफूलाई नियालिरहेको छैन । छेपारोले आफ्नो रङ्ग बदलिएको थाहा नपाए जस्तै ।

 

तस्करी, लूटपाट, चोरी, डकैती, वलात्कार, वलात्कारपछि हत्या, भ्रष्टाचार, सरकारी सम्पत्तिको ब्रह्मलूट आदि हेर्दाखेरि अलग अलग लाग्न सक्छन । तर, समाजको अपराधिकारणमा यि मध्ये कुनैको एक्लो हात हुँदैन ।  अपराधकर्म भौतिक र मानसिक दुवै अवस्थासङ्ग जोडिन्छ  र जब समाजले त्यसलाई अभिशप्त नियतिको रुपमा लिन्छ त्यो सामुहिक अवधारणा  बन्छ । यस्ता मध्ये ४ वटा अपराध गर्ने मान्छे दण्डित छैन भने पाँचौँ अपराध स्वतः हुन्छ ।

 

नेपालमा राजनैतिक दल राजनैतिक मात्रै होइन सामाजिक जागरणकासमेत स्रोत हुन । कुनै घटनाको सूचना दिने, त्यसको अर्थ लगाउने, त्यसलाई विष्लेषण गर्ने, भावी प्रभाववारे सचेत गराउने  जस्ता सवै काम राजनैतिक दलमार्फत भएका छन, नेपालमा । तर,  कुनै पनि दलले नैतिकताको जागरण अभियान चलाएकै छैनन, कतिपयको आफ्नै नैतिक धरातल कमजोर भएका कारण ।

 

हरेक दिन समाचार आउँछन राजनैतिक दलहरूलाई जनताको करमा तरमार्ने कार्यकर्ता उत्पादन गर्ने मेशिनको रुपमा चित्रित गर्दै ।  नौ लाख कार्यकर्ता भएको नेकपा, ५ लाख कार्यकर्ता भएको नेपाली काङ्ग्रेस, २ लाख कार्यकर्ता भएका मधेशमा प्रभाव क्षेत्र भएका दलहरू र अरू एकलाख जति कार्यकर्ता भएका साना दलले यि सबै अपराधको अन्तरसम्बन्ध देखेकै छैनन । र, उनीहरूको कार्यक्रममा यस्ता अपराध बिरुद्धको सङ्गठित अभियान चलाएकै छैनन । तिनका आर्थिक अपराधको, तिनका राजनैतिक अपराधको सम्बन्ध सामाजिक अपराधमा कति छ अध्ययन गरेकै छैनन । र तिनले अपराधबाट पाएको उन्मुक्तिले कसरी अपराधको विबिधिकरणमा भूमिका खेलेका छन भन्ने’bout गम्भीर भएर सोचेकै छैनन ।

 

अहिलेका वलात्कार र हत्याका घटनाको अनुसन्धान, दोषीमाथि कारवाही त सरकारका आधारभूत काम परे । तर, समग्र समाजको अपाराधिकरणको प्रवृत्ति नहेरी यसको दिर्घकालिन उपचार हुँदैन। यसलाई समग्रतामा हेरिनु पर्छ । त्यसका लागि गृहकार्य गर्न ढिला भैसक्यो, पहल शक्तिमा जान जुन सुकै हर्कत गर्ने र शक्तिमा गए पछि जुनसुकै हर्कत गर्ने, शक्तिमा पुगेपछि जुनसुकै अपराध क्षम्य देख्नेहरूबाटै थालिनु  पर्छ ।