विद्युतीय परिवहनः पर्यावरणको व्यवस्थापन

 

 

१९७० कै दशकमा मित्र राष्ट्र चीनले नेपालमा विद्युतीय यातायात सेवा विकास गर्ने सुझावसहित त्रिपुरेश्वरदेखि सूर्यविनायकसम्म चल्ने ट्रलिबससमेत स्थापना गरी दिएको थियो । तर, तत्कालिन सरकारले दिगो बनाउँन सकेन । पञ्चायतकालभरि प्रभावकारी ढंगले सञ्चालित ट्रलिबस प्रजातन्त्र स्थापित भएपछि ध्वँस्त भयो ।

 

 

 

नेपालीको महान चाड दशैको अवसर पारेर नेपाल कम्युनिष्ट पार्टीको सरकारले सार्वजनिक यातायातको क्षेत्रमा विद्युतीय परिवहनको योजनासहित विद्युतचालित बस सेवाको उद्घाटन गरेर विकास निर्माणको क्षेत्रमा सरकारको सुस्त गतिबाट निराश भएका जनतामा पुनः आशाको सञ्चार गराएको छ ।

 

नेपालको सरकारले अगाडी ल्याएको विद्युत चालित परिवहनको योजनाले नेपाललाई इन्धनको क्षेत्रमा लामो समयदेखि रहँदै आएको भारतसँगको निर्भरताबाट मुक्त गर्ने दिशामा एउटा विश्वसनीय विकल्प प्रस्तुत समर्थ भएको छ ।

 

भैरहवाको क्षेत्रीय एयरपोर्ट बनी सकेपछि भैरहवालाई लुम्बिनी र अरु स्थानसँग जोडनका लागि प्रयोग गरिने भनिएका चीनमा निर्मित दुईवटा वसको काटमाण्डौमा उद्घाटन गरेर सार्वजनिक गरिएको विद्युतीय परिवहनको यो योजनाले झट्ट हेर्दा तत्कालमा व्यवहारिकभन्दा बढी प्रचारात्मक उद्देश्य पूर्ति गरे जस्तो देखिन्छ । तर, नेपालको सन्दर्भमा हेर्ने हो भने यसले नेपाललाई परनिर्भरताको गहिरो खाडलबाट निकालेर आत्मनिर्भरताको पथमा ल्याउँने दिशा निर्देश गरेको मान्न सकिन्छ ।

 

वर्तमान अवस्थामा नेपालको यातायात व्यवस्था, त्यसमा पनि काठमाण्डौको सार्वजनिक यातायात, अत्यन्त अस्तव्यस्त र अराजक स्थितिबाट गुज्रिरहेको छ । विद्यमान यातायातको संरचना सेवाग्राही यात्रुको लागि तोकिएको समय भित्र एक ठाउँबाट कुनै अर्को गन्तव्यसम्म पुग्ने सहज विकल्प बन्न सकेको छैन । आज सार्वजनिक यातायातमा भरपर्ने कुनै यात्रु तोकिएको समयमा कुनै ठाउँ पुग्न सक्ने अवस्था छैन । खास समयभित्र आफ्नो गन्तव्यमा पुग्न सहज यातायातका सुविधा हुँदा आधाघण्टा लाग्ने दुरी पार गर्न पनि कम्तिमा दुई घण्टा पहिले नै हिड्नु पर्ने अवस्था छ ।

 

अहिले काठमाण्डौमा उपलब्ध सडकको लम्बाइले धान्न नसक्ने संख्यामा यातायातका साधन गुडी रहेका छन् । यसले गर्दा उपत्यकामा ध्वनी र वायु प्रदुषण दिन दुई गुणा रात चार गुणाका दरले बृद्धि गरिरहेको छ । काठमाण्डौका सडक विस्तारै निसासिने ग्यास च्याम्बर जस्तो हुन थालेका छन् । ध्वनी र धुवाँको साथसाथै वायुमा मिसिएको ‘लिड’ तत्वको कणले मानव स्वास्थ्यमा गम्भीर असर पार्न थालेको जनस्वास्थ्यका विज्ञले चेतावनी दिएका छन् ।

 

जीवाश्म इन्धनको अत्यधिक प्रयोगले नेपालको नाजुक पर्यावरण सन्तुलन बिग्रिरहेको छ । यहाँ दुईसय किलोमिटर भित्रको सानो आयतनभित्र, हिमाल, पहाड, उपत्यका, भित्री मधेस र तराई क्षेत्र रहेका छन् । भौगोलिक विषेशताअनुसार यो भू–खण्डमा विभिन्न वनस्पति र जीवजन्तुहरुले आफ्नो वासस्थान बनाएका छन्।

 

काठमाण्डैलगायत नेपालका विभिन्न शहरमा निरन्तर उत्सर्जन भइरहेको हरित ग्यासको कारण संसारका अन्य देशहरुमा जस्तै नेपालमा पनि वातावरणीय तापक्रम बृद्धि भइरहेको छ । यसको कारण वनजंगल, चराचुरुङ्गी, जनावार, खेतिपाती, खोलानाला, तालतलैया, हिमताल, नदी प्रणाली र मानव वसोवासको स्वरुपमा पनि गम्भिर नकारात्मक असर परिरहेको छ ।

 

उच्च पहाडी क्षेत्रमा पानीका मुहान सुक्दै गइरहेका छन् । हिमतालहरु पग्लेर विस्फोटको खतरामा छन्, बाढीपैरो जस्ता प्राकृतिक विपदका घटनामा बृद्धि भइरहेको छ । सुख्खा, अतिबृष्टि, अनाबृष्टि, असामान्य र अनियमित मनसुनका समस्याले यसक्षेत्रको मानव सभ्यताको अस्थित्वमै खतरा उत्पन्न हुने स्थिति सिर्जना भइरहेको छ ।

 

नेपालमा दक्षिण एशिया र मध्य एशियालाई जोड्ने हिमालय पर्वत श्रृंखला रहेको छ । हिमाली श्रृंखला हिन्द महासागर र दक्षिण तथा दक्षिणपूर्वी एसियाका भुखण्डको वातावरणीय सन्तुलनको निर्णायक तत्व हो । विश्वको वातावरणीय तापमानको बृद्धिसँगै हिमालको हिंउ पग्ली रहेको छ र यसको परिणामस्वरुप समुद्रको सतहमाथि उठिरहेको छ । समुद्रका किनारमा रहेका माल्दिप्स, श्रीलंका, फिजी, इण्डोनेशिया जस्ता भूक्षेत्रहरु समुद्री सतह बढेर डुवानमा पर्ने, सामुद्रिक आँदी र सुनामी जस्ता प्राकृतिक विपत्तिको सिकार हुने खतरा भोगी रहेका छन् ।

 

नेपाल पनि वातावरणीय परिवर्तनका नकारात्मक असरबाट अछुतो छैन । अनाबृष्टि, अतिवृष्टि र मौसम परिवर्तका अन्य परिघटनाको कारण नेपालका जीविका र वसोवासमा प्रत्यक्ष असर परिरहेको छ, र नेपाली समाजमा जनसंख्याको वितरण र सन्तुलन विग्रदै छ ।

 

मानिस शहरमा केन्द्रित हुँदैछन् जहाँ यातायात, रोजगारी र आवासका समस्या विकराल बन्दैछन् । उपरोक्त समस्यामा शहरी यातायातको समस्या सबैभन्दा भयावह बनेको छ । हाम्रा सडक दुर्घटनाजन्य मृत्युको अकर्मण्य साक्षी बनिरहेका छन् ।

 

एकातिर पेट्रोल र डिजेलबाट चल्ने गाडीको धुवाँले उपत्यकाको वातावरणलाई दिनानुदिन अस्वथ्यकर रुपले प्रदुषित बनाइरहेका छन् भने अर्कातिर आकाशिदो पेट्रोलियम पदार्थको मूल्यले सार्वजनिक यातायातलाई गरिब जनताको पहुँच बाहिर पुर्याएको छ । यो क्षेत्र अव्यवस्था र चरम बेथितिबाट गुज्रिरहेको छ ।

 

नेपालको यातायात क्षेत्रको सुधार र विकासका लागि मित्र राष्ट्रले योभन्दा पहिले पनि पटकपटक नेपालको ठोस परिस्थितिअनुसार उपयुक्त प्रकारका यातायात प्रणालीको विकास गर्न आवश्यक सुझाव र सहयोग गर्दै आएका हुन् । १९७० कै दशकमा मित्र राष्ट्र चीनले नेपालमा विद्युतीय यातायात सेवा विकास गर्ने सुझावसहित काठमाण्डौ उपत्यकामा त्रिपुरेश्वरदेखि सूर्यविनायकसम्म चल्ने ट्रलिबससमेत स्थापना गरी दिएको थियो ।

 

यो यातायात सेवाले नेपालमा सार्वजनिक यातायातको भविष्यको गोरेटो थियो । तर, तत्कालिन सरकारले यसलाई दिगो र टिकाउ स्वरुप दिन सकेन । पञ्चायतकाल भरि यो सेवा तुलनात्मक रुपले प्रभावकारी ढंगले सञ्चालन भएको थियो । सन् १९७५ देखि २००१ सम्म यो यातायात सेवाले उपत्यकाको शहरी यातायातको क्षेत्रमा उल्लेखनीय सेवा प्रदान गरेको थियो ।

 

नेपाली काँग्रेसको सरकारको औद्योगिक नीजिकरणको नीतिको कार्यान्वयनसँगै सरकारी स्वामित्वमा भएको ट्रली बस सेवा पनि उपेक्षा र दुरुपयोगको शिकार हुन थाल्यो । यसभित्र भ्रष्टाचार मौलायो र सत्तासीन दलले यसलाई आफ्ना कार्यकर्तालाई जागिर ख्वाउने भर्तिकेन्द्र बनाए । जनताको दवाबमा सरकारले २००९ सम्म बन्द गर्दै चलाउँदै गर्यो । अन्ततोगत्वा त्यस बर्षको नोभेम्बरदेखि यसको सेवालाई पूर्णरुपले बन्द गरियो ।

 

साझा बस सेवाको पनि यस्तै इतिहास छ । सन १९६१ मा जनतालाई सस्तो यातायात सेवा दिने उद्देश्यसहित स्थापित साझा बस सेवा एकपटक देशको यातायात व्यवस्थाको मेरुदण्ड थियो । यस कम्पनीका १८३ वटासम्म बस सञ्चालित थिए । यो बस कम्पनीले काठमाण्डौ उपत्यकाका जनतालाई भरपर्दो सेवा दिएको मात्र होइन देशका अन्य महत्वपूर्ण गन्तव्यहरुमा पनि सेवा प्रदान गरेको थियो ।

 

यो बस सेवा पनि प्रजातन्त्र आएपछि अराजक व्यवस्थापनका कारण धरासायी भयो । सन २०१६ देखि यो सेवालाई काठमाण्डौ नगरपालिका र सहकारी क्षेत्रको संयुक्त लगानीमा पुनर्जीवन दिइएको छ । अहिले यसले सार्वजनिक यातायातलाई फेरि लिकमा फर्काउँने हो कि भन्ने आशासमेत सञ्चार गरिरहेको छ । फेरि यो सेवा भ्रष्टाचार र दुव्र्यवस्थापनको शिकार भएर धरासायी नहोस भनेर नेपाली जनता प्रार्थना गरिरहेका छन् ।

 

नेपालमा प्राय जनताको जीवनस्तरमा कायापलट गर्ने सम्भावना भएका परियोजनालाई जीवन उपयोगी साधनको रुपमा भन्दा पनि प्रदर्शनको विषयबस्तु बनाउँने परम्परा रहेको पाइन्छ । नेपालमा चन्द्र शमशेरल १९११ मा फर्फिङ जलविद्युत योजनाबाट विद्युत उर्जा उत्पादन गरी नेपालमा विद्युत उर्जाका असीमित सम्भावनाको ढोका खोलेका थिए । तर, त्यसको सयबर्षभन्दा बढी समयसम्म पनि नेपाल उर्जामा आत्मनिर्भर हुन सकेन ।

 

यो देशमा सन् १९६४ सालमा भूमी सुधार कार्यान्वयन गरी भूस्वामित्वमा हदबन्दी लागुभएको थियो, तर अहिलेसम्म पनि भूमिमाथिको स्वामित्वको सवाल समाधान भएको छैन । १८८९ सालमा वीरशमशेरले सार्वजनिक स्वास्थ्यको विकासको ढोका खोल्ने उद्देश्यले वीर अस्पताल स्थापना गरेका थिए । र, १९२५ मा त्रिचन्द्र सैनिक अस्पताल निर्माण भएको थियो । तर, त्यसपछिका सरकारहरुले यी संस्थाहरुलाई स्वास्थ्य सेवाको अग्रणी संस्थाको रुपमा विकास गर्नु सकेनन् । अहिले पनि यिनीको घिडघिडो टिकाउँन मात्र सकिएको छ ।

 

नेपालमा शिक्षाको विकास गर्ने उद्देश्यले सन् १९५९ सालमा स्थापना भएको त्रिभुवन विश्वविद्यालय पनि अपेक्षा गरिएअनुसार विकास भएको छैन । सार्वजनिक शिक्षाको मेरुदण्डको रुपमा विकास गरिनु पर्ने देशको सवभन्दा पुरानो विश्वविद्यालय अहिले जीवन र मृत्यको दोसाँधमा छ ।

 

विगतका नजिरहरु निराशाजनक छन् । तर, पनि बिद्युतचालित बस सेवा शुरु गरेर केपी ओलीले नेतृत्वको नेकपाको सरकारले सह्रानीय काम गरेको छ । यो युगान्तकारी र ऐतिहासिक कदम हो । तर, यस्ता परियोजनाको उद्घाटन गरेर मात्र सरकारको दायित्व पुरा हुँदैन । यीनिहरुको दिगोपनको सुनिश्चितता हुन सक्यो र जनताको आकांक्षाअनुसार यीनिहरुको विस्तार हुन सक्यो भने मात्र जनतामा बाँडेका सपनाको कार्यान्वयन शुरु भएको मान्न सकिन्छ ।