समृद्धि रेल र जहाज चढेर आउँदैन

देशमा प्रजातन्त्र आए पछि राजनीति दलबाट पनि जनता नै ठगिए । जनताको गरिबी बढ्दै जादा सत्ताका हर्ताकर्ता भने रातारात नव सामन्तमा बदलिए । अकुत सम्पत्तिका मालिक बने । चप्पल लगाएर काठमाण्डौं छिरेका पजेंरो चडेर फर्किए । एक छाक पेटभरि खान जनताको घर दैलोमा पुग्नु पर्ने नेताहरु आलिसान महलका मालिक भए । भातको सट्टा भुजा ज्युनार गर्ने भए ।
-सुभाषचन्द्र देवकोटा
आज समृद्ध नेपालको बिषय सर्बाधिक चर्चामा छ । दुई तिहाई प्राप्त नेकपा नेतृत्वको सरकारको समृद्ध नेपाल बनाउने संकल्पले आम नेपाली जनतालाई एकपटक भविष्यप्रति आशामुखि बनाएको छ, सुखि भविश्यको सपना देखाएको छ । जुन कुरा अस्वभाविक भने पटक्कै होइन । तर कुनै पनि देशको समृद्धि रेल वा बसमा चडेर आउने बिषय होइन, यसको लागि राजनीति नेतृत्वको प्रतिबद्धता र निष्ठा,निर्णय क्षमतामा र परिणाम मुखि योजनाको खाँचो पर्दछ ।
नेपालको सन्दर्भ कै कुरा गर्ने हो भने,बिगतमा पनि विभिन्न कालखण्डमा सत्ताधारीले प्रयोगगरेका भाष्य फरक भए पनि प्रकारान्तले बिकास र समृद्धिका कुरा पटक पटक गर्दै आएका छन् । उहिल्यै पञ्चायति शासन कालमा पनि महेन्द्रले सुरु गरेको गाँउ फर्क राष्ट्रिय अभियान र पछि बीरेन्द्रले भन्ने गरेको एशियाली मापदण्डमा देशलाई पु्याउने कुरा समृद्धिसंगै जोडिएर गरिएका बिषयहरु थिए । त्यस बेला यी कुराहरु कम आकर्षक बिषय थिएनन् । देशले अब तरक्कि गर्ने भो भनेर सर्बसाधरण जनता दंग परेकै थिए ।
तर पछि यी सबै कुरा पञ्चायत राज टिकाउन गरिएको राजनैतिक स्टन्ट मात्रै सबित भयो । पंचायति शासनको ३० बर्षे अबधि नेपाली राजनैतिक इतिहास मै कालरात्रीका रुपमा चित्रित हुन पुग्यो । सर्पका छाला काण्ड, गाई काण्ड, गलैचा काण्ड, वन काण्ड मात्र घटेनन् ,हत्या हिंसाको अन्त्यहिन शृंखलाह नै चलाइयो । यति मात्र नभएर नेपालका कला संस्कृतिलाई तस्करी गर्ने कुकर्म र अपराधमा पञ्च भाइभारदार नै लागे । जनताहरुलाई बिकासको भूलभूलैमा पारेर आफूहरु धनकुवेर बने । पुस्ता पुस्ताको लागि सम्पत्तिको जोहो गरे ।
२०४६ सालमा व्यवस्था बदलियो । पञ्चायति एकाधिकारवादी कालरात्रीको अन्त्य भयो । व्यवस्था बदलिएसंगै देशमा फेरी बिकास र समृद्धिको सपना बाढ्ने काम भयो । त्यस बेलाको राजनैतिक नेतृत्व गरेको नेपाली काँग्रेसले नवउदारबाद र खुला वजार अर्थतन्त्रलाई समृद्धिको मूल आधार भनेर व्याख्या गर्यो । बेला बखत सरकारको नेतृत्व गर्ने अवसर अन्य राजनैतिक दलहरुले पाए पनि करिव २० बर्षसम्म नवउदारबाद र खुला वजार अर्थतन्त्रको मूलबाटोमा देशको राजनीतिलाई हिडाइयो । तर, यहाँ नेर राजनीति दलबाट पनि जनता नै ठगिए । जनताको गरिबी बढ्दै जादा सत्ताका हर्ताकर्ता बनेका भने रातारात नव सामन्तमा बदलिए । अकुत सम्पत्तिका मालिक बने । चप्पल लगाएर काठमाण्डौं छिरेका पजेंरो चडेर फर्किए । एक छाक पेटभरि खान जनताको घर दैलोमा पुग्नुपर्ने नेताहरु आलिसान महलका मालिक भए । भातको सट्टा भुजा ज्युनार गर्ने भए ।
यै कालमा २० सौं नेपाली उद्योग कौंडिको भाउमा बेचियो र आफ्नै खल्ति भर्ने काम गरियो । यसरी देशलाई आत्मनिर्भर बनाउने अभियानको भ्रुण नै मास्ने काम भयो । युवालाई रोजगार सृजना गनुपर्ने दायित्व बोकेका नेता र कार्यकर्ता नै मानब बेचविखन गर्ने कम्पनीका मलिक बनेर मालामाल भए । शिक्षा, स्वास्थ्य लगायत जनताका आधारभूत अधिकारका कुरासमेत व्यापारिकरण गरेर ब्रम्हलुट मच्चाईयो । देशलाई कंगाल र परनिर्भर वनाइयो । राजनीति र प्रशासनिक हरेक क्षेत्रमा सेन्डिकेट प्रथा थोपरियो । जनताको समृद्धि र सुखि सपनाको मनमर्दन गरियो ।
२०६२/०६३ सालको जनबिद्रोहबाट राजतन्त्रको अन्त्य भएर देशमा संघीय गणतन्त्रको स्थापना भयो । जनतालाई सार्वभौम भएको घोषणा गारियो । बिभिन्न बाह्य र भित्रिया शक्तिको अबरोध र दश बर्षसम्मको रस्साकस्सी छिचोल्दै नेपाली जनताले आफ्नै जनप्रतिनिधिद्वारा तयार गरिएको संविधान पनि पाए । सबै नेपालीको लागि यो सुखद र अबस्मरणीय क्षण थियो । संविधान घोषणा पश्चात समम्पन्न पहिलो आमनिर्बाचनमा तत्कालिन एमाले र माओवादी केन्द्रको गठवन्धनलाई प्रचण्ड बहुमत प्राप्त भयो । तत्पश्चात एमाले र माओवादी केन्द्र बीच एकता भएर बनेको नेकपाको नेतृत्वको अत्याधिक वहुमतको सरकार बनेपछि फेरी एक पटक नेपाली जनतामा स्थीरता र समृद्धिको सपना जागृत भएको छ र अपेक्षा पनि बढेका छन् । चीरप्रतिक्षित कम्युनिष्टको सरकारबाट जनताले अपेक्षा र भरोसा राख्नु स्वभाविक पनि हुन आउँछ । तर, जनताको यो आशा, भरोशा र समृद्धिको अभिलासालाई सरकारले कसरी सम्बोधन गर्छ, यो भने हेर्न बाँकि नै छ।
समुद्धि आफैमा आकर्षक विषय हो । कुनै पनि देशलाई समृद्ध बनाउने बिषमा विभिन्न मान्यता बिधि र प्रकृयाहरु प्रचलनमा छन् । चीनीया,अमेरिकी र युरोपीय देशले आफ्आफ्नै बिषेशता युक्त समृद्धिका मोडल अभ्यासमा ल्याएका छन् । चीनले चीनीया बिशेषता युक्त समाजवादलाई समृद्धिको मोडल बनाएको छ । तर, हामी कुन मोडल अनुरुप देशको समृद्धि कुरा गरिरहेका छौं, त्यस’bout स्वंयम समृद्धिको रथ हाँक्न तम्सिएका नै अलमलमा देखिएका छन् । समृद्धि आफैमा एउटा बृहद विषय हो । आर्थिक सूचांकको आधारमा मात्र यसको मापन हुदैन । यसका बिभिन्न आयामहरु हुन्छन् । तर, यी अयामहरु’bout नेपाल सुहाउदो आधिकारिक व्याख्या र एकीकृत योजना निर्माणमा ढिलाई र संविधानले नै स्वयत्त अधिकार दिएको स्थानीय र प्रदेश संरचनाबीच घनिभूत छलफ र तारतम्यता कायम गर्न नसक्दा समृद्धिको अभियानले गति लिन सकेको छैन ।
हामीले देखेको बिकास र समृद्धिको सपनालाई गरिब, विपन्न र सीमान्तकृत वर्गको नजरबाट हेरिनु पर्दछ । हाम्रो समृद्धिले यिन सीमान्तकृत बर्ग तथा समुदाहरुको आर्थिक, राजनैतिक र सामाजिक शसक्तिकरण गर्नुपर्दछ । अब पनि समृद्धिको नाउँमा उनै हुने खाने सभ्रान्त बर्गलाई नै लुट मच्चाउन अबसर दिनु भनेको सर्बसाधारण जनताको गोडामा बञ्चरो हान्नु जस्तै हो । पुनः फेरी देशको शान्ति र स्थायित्वलाई खतरामा पार्नु हो । सबैको एकीकृत प्रयास र एकीकृत अभियायान बिना आफ् आफ्नो डम्फु वजाएर समृद्धिको लक्ष प्राप्त गर्न सकिदैन भन्ने कुरा देश हाँक्ने नेतृत्वले बुझेको छैन होला भनेर कसरी अनुमान गर्ने ।
समृद्धि र सुशासन एक अर्काका परिपूरक हुन । सुशासित राज्य र राजनैतिक संरचना समृद्ध नेपालका लागि आधारभूत कुरा भए पनि देशमा अझै राजनीतिको छहारीमा संस्थागत बनेका भ्रष्टाचार, कमिशनतन्त्रको महामरी मन्थर भएको छैन । तसर्थ, यदि देशको स्थायित्व र समृद्धिको कुरा हाम्रो प्राथमिकताको बिषय हो भने समृद्धिको बाटोमा तगारोको रुपमा रहेका त्यस्ता अबरोध हटाउन आफ्नो अर्को नभनिकन प्रशासनिक र राजनैतिका सबै तहका संरचना तथा तीनका कार्य पद्यतिलाई परिवर्तन गरेर जनमुखि बनाउन सक्नुपर्दछ । तर, यसको लागि राजनीति नेतृत्वले नै आफ्नो बानी व्यहोरा, आचरण र जीवन शैली बदल्ने अठोट गर्न सक्नुपर्दछ । हरेक क्षेत्रमा जब्बर भएर बसेका सिन्डिकेटको घेराबन्दी तोड्न सक्नु सक्नुपर्दछ । जबसम्म राजनीति र प्रशासनिक संयन्त्रहरुलाई सुशासित, मर्यादित र जनपक्षिय रुपान्तरण गर्न सकिदैन तबसम्म समृद्धिको गायत्री मन्त्र जपेर मात्र कुनै परिणम हात पर्ने वाला छैन ।
समृद्धिको यात्राको रथ हाँक्ने राजनैतिक नेतृत्वले नै हो । तर, समृद्धिको बाटोमा बाँधकको रुपमा रहेका भ्रष्टाचार, अनियमितता र कुशासनलाई जरैदेखि उखेलेर फ्याक्न नसक्ने हो भने समृद्धिको कुरा फगत सोम शर्माको सातुको कथाबाहेक केहि हुने छैन।
सबैलाई थाहा छ, सबृद्धि रेल र मोटर चडेर आउने कुरा होइन । आजसम्म जनतालार्इ सपना देखाउने काम मात्र भयो । तर अब समय बदलिएको छ अब उहि पुरानै ढर्रामा देश चल्न सक्दैन । तसर्थ, यो यात्राको डुङ्गा पार लगाउन नेतृत्व अनुशासित, मर्यादित र दृढनिश्चयी हुनै पर्दछ। अन्यथा समयले कसैलार्इ माफि दिने छैन । चेतना भया ।
