पोलमा झुण्डिएको समृद्धिको खोल

नयाँ युग प्रारम्भ भएको खुशीयालीमा आलुको भाउ त घटेको होला भनेर पसलमा गएर सोधेंको त अहो, आलुको भाउ त अघिल्लो दिनको भन्दा प्रतिधार्नी २० रुपैयाले बढेको पो पाइयो ।

‘आलु सकिएको छ, घर आउँदा एक धार्नी ल्याउँनुहोला’, श्रीमतिले भनिन् ।
म बस चढेर रत्नपार्कबाट भक्तपुरतर्फ लागि रहेको थिएँ, नयाँ बानेश्वरमा झरें ।
व्यापारी अजय सुमार्गीको भव्य टावरनेर पुगेको थिएँ, पारीतर्फ सडक किनारमा बिजुलीको पोलमा एउटा तस्विर झुण्डयाइएको देखियो । धुलो र धुवाँले प्रदुषित यो काठमाडौंमा त्यो तस्विर मैले तत्काल ठम्याउँन सकिन ।
शाही कालमा तत्किालन राजा ज्ञानेन्द्रको अभिनन्दन हुँदा यसैगरी पोलमा उनको तस्विर झुण्डयाइएको थियो । गणतन्त्र आइसक्दा पनि किन त्यहाँबाट ज्ञानेन्द्रको तस्विर नहटाएका होलान् भन्ने पनि लाग्यो । तर, नजिकै गएर हेर्दा त हाम्रै प्रधानमन्त्री केपी ओलीको ओजपूर्ण तस्विरको पो दर्शन भो ।
आलु किन्न छाडेर म केहीबेर सोही तस्विरमा घोत्लिएँ । त्यसमा ‘नयाँ युगको शुभारम्भ’ भनेर लेखिएको रहेछ । अहो, नयाँ युग सुरु भएछ भनेर एकछिन दँग पनि परियो । लाग्यो, प्रधानमन्त्रीको दिव्य चमकसहितको तस्विर पोलमा टाँस्दा नै मुलुकमा नयाँ युगको प्रारम्भ हुँदो रहेछ ।
विगतमा त्यत्रो झापा विद्रोह गरेर सामन्ति सफायाका नाममा सुतिरहेका ढकाल बन्धुहरुको टाउको नगिंडेको भए हुने रहेछ । गारामनी हाइस्कुलका भित्ता र सुखानीका जँगलमा जताततै ओलीकै दिव्य जुझारु मुहारसहितको तस्विर टाँसेको भए उतिबेलै नयाँ युग प्रारम्भ हुने रहेछ ।
मानौं, प्रचण्ड र बाबुरामहरुले बेकारमा जनयुद्ध गरेछन् । रुकुम र रोल्पाका घरघरमा ‘नयाँ युगको प्रारम्भ’ लेखेर ओलीजीको तस्विर टाँसेको भए गणतन्त्र त बयलगाडा चढेरै आउने रहेछ । १७ हजारको बलिदान पनि त दिनु पर्दैनथ्यो ।
यस्तै कल्पनामा डुब्दा आलु किन्नै भुले छु । नयाँ युग प्रारम्भ भएको खुशीयालीमा आलुको भाउँ पनि त घटेको होला भनेर पसलमा गएर सोधें । अहो, आलुको भाउ त अघिल्लो दिनको भन्दा बढेको रहेछ ।
‘साहुजी आलुको भाउ धार्नीमै एक्कासी बीस रुपैयाँले बढेछ नी’, मैले सोधें ।
‘तपाइ पुरानै युगमा हुनुहँदो रहेछ हजूर ? नयाँ युग सुरु भइसकेको छ । त्यसैले आलुको मुल्य पनि त नयाँ युग सुहाउँदो हुनुपर्यो नी’, साहुजीले भने ।
मैले फेरी एक पटक मुसुक्क मुस्कुराइरहेको प्रधानमन्त्रीको आलुजस्तै पुष्ट गाला नियालें ।
नयाँ युग सुरु भइसकेको होला, मलाई मात्र त्यस’boutमा जानकारी नभएको होला भन्ने लाग्यो । अनि नयाँ युगको लक्षण र संकेतहरु नियाल्न थालें ।
बानेश्वर चोकमा ट्राफिक जाम थियो । बसमा मानिसहरुको कोचाकोच थियो । यसो नियालें, बसभित्रको निसास्सिदो सिन्की कोचाकोचमा एउटी महिला असिनपसिन हुँदै निन्याउँरो मुख लगाएर उभिइएकी थिइन् । यता विजुलीको पोलमा नयाँ युग शुभारम्भ भइसकेको थियो । पोलमा प्रधानमन्त्रीको दिव्य मुहार देख्दा लाग्यो, अब त्यो बिजुलीको पोल हिँडनेछ, नाच्नेछ । समृद्धिको तिव्र गतिमा अघि बढने छ ।
फुटपाथमा एकजना बाजे बोरा ओछ्याएर पत्रिका बेच्न बसिरहेका थिए । उनले लगाएको ढाका टोपी हल्का फाटेको थियो । पत्रिका धेरै बेरसम्म उभिएर पढने र नकिनी फयात्त फालेर जाने छट्टुबाट आजित भएर उनले हरेक पत्रिकामा स्टीच मारेका रहेछन् । त्यो दिनको एउटा पत्रिका किनेर हेर्दा पत्रिकाको प्रथम पृष्ठमा पनि प्रधानमन्त्रीको उही दिव्य मुहारको तस्विरसहित नयाँ युग प्रारम्भ भएको रहेछ ।
पत्रिकाको भित्री पृष्ठ पल्टाएँ, त्यहाँ भने पुरानै युग रहेछ । त्यहाँ निर्मला पन्तकी आमा छोरीको न्यायका लागि धर्ना बसीरहेको समाचार रहेछ अनि निर्मलाका बुबालाई शिक्षण अस्पतालमा मेन्टल डिअसर्डरको उपचारका लागि भर्ना गरिएको खबर रहेछ ।
भित्री पृष्ठमा वाइड बडी विमान खरिदमा करीब सात अर्व रुपैयाँ घोटाला भएको भन्ने संसदको सार्वजनिक लेखा समितिको ठहरलाई समाचार बनाइएको रहेछ । अनि बक्स न्यूजमा पर्यटन मन्त्री रविन्द्र अधिकारीलाई पर्यनट नगरी पोखरामै कालो झण्डा देखाइएको खबर पनि रहेछ ।
पत्रिकाको भित्री पृष्ठमै राष्ट्रपति विद्या भण्डारीको सुरक्षा र सुखको ख्याल गर्दै अठार करोडको गाडी किन्नु जायज भन्ने सञ्चारमन्त्रीको भाषण पनि छापिएको रहेछ । भित्री पृष्ठमै प्रदेश नम्बर एकका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले झापाका स्थानीय जनतालाई ज्यान मार्ने धम्की दिएको खबर पनि थियो ।
बाटो निर्माण गर्न ठेकेदारलाई दबाब दिन स्थानिय जनताले जुलुस निकालेका रहेछन्, प्रधानमन्त्री ओलीका विश्वास पात्र मानिने मन्त्री कार्कीले स्थानीय टंक खनाललाई बाटो अबरोध नखोले ज्यानमार्ने धम्की दिइरहेको खबर थियो ।
तर पत्रिकाको प्रथम पृष्ठमा भने प्रधानमन्त्रीको हँसिलो मुहारसहित नयाँ युग सुरु भइसकेको थियो । ज्यान मार्ने धम्की त पुरानो युगको कुरा भयो, नयाँ युगमा ‘सामाजिक सुरक्षा’को नारा गुञ्जायमान थियो ।
मलाई शंका लाग्यो, कतै मलाई सिञ्जोफ्रेनिया नामक रोग त लागेन ? यो यस्तो रोग हो, जसमा मानिसले यथार्थभन्दा भिन्न कुरा देख्छ । जस्तै, थोत्रो टेम्पोलाई उसले बुलेट रेल देख्छ ।
या बुलेट रेललाई कोचाकोच भरिएको माइक्रो बस देख्छ । प्रधानमन्त्री नयाँ युगमा प्रवेश गरिसक्नु भो, म चाहिँ पुरानै युग देखिरहेको छु । पत्रिकाका प्रथम पृष्ठ र विजुलीका पोलमा नयाँ युग सुरु भइसक्दा मलाई त्यसको आभास भइरहेको थिएन । कतै मलाई पनि सिञ्जोफ्रेनिया त भएन ?
प्रधानमन्त्रीले नै देश समृद्धितर्फ अघि बढेको, दुइ वर्षभित्रै रेल कुदने र पानीजहाज तैरने पक्का भएको, हावाबाट विजुली उत्पादन गर्न सकिने अवस्था आउँनै लागेको र घरघरमा पाइपबाट ग्यास पु¥याउँने तयारी भइसकेको भनेकाले उनकै कुरा आधिकारिक हो ।
मलाई त्यस्तो नलाग्नु भनेको मेरै मानसिक अवस्था ठिक नहुनु हो भन्ने मलाई लाग्यो । निर्मलाका पिताको मानसिक अवस्था ठिक नहुनुको कारण पनि त यही हो ।
उनले देशमा महिलाको यत्रो सुरक्षा भइरहेको, सरकारले महिला हिंसाका विरुद्ध सामाजिक सुरक्षा कार्यक्रम ल्याएको र मुलुक नयाँ युगमा प्रवेश गरेको देख्दै देखेनन् । हो त, सरकारको विरोध गर्नेले यथार्थ दृश्य देखि रहेका छैनन् । उनीहरु सबै सिञ्जोफ्रेनिया रोगको शिकार भएका त हैनन् ?
यही मानसिक उल्झनविच मेरो मनमा अर्को चिन्ता पनि पलायो । विजुलीको पोलमा झुिण्डएको प्रधानमन्त्रीको तस्विर कहिलेसम्म सुरक्षित रहला ? रुसमा लेनिनको सालिक ढलेको त हामीले देखेकै हो । पोलको तस्विर कहिलेसम्म सही सलामत रहला ?
अनि मलाई लाग्यो, जनताले आफ्नो हृदयबाट फयाँकेको प्रधानमन्त्रीको तस्विर लाई कम्तिमा बालकोटमै ठूलो फ्रेममा सजाएर राखेको भए तस्विरको रक्षा, मान र सम्मान बरकरार रहन्थ्यो, त्यसरी सडकमा ल्याउँनुु हुन्थेन ।
फुटपाथमा ठडिएका बिजुलीका पोलमा लगेर झुण्डयाउँदा तस्विरको जग हँसाइ भो । यतिबेला प्रधानमन्त्री जनतामाझ अलोकप्रिय छन् । उनले बिगतमा धेरै त्याग र योगदान दिएकै हुन्, १४ वर्ष जेल परेकै हुन् ।
तर, आजको उनको भूमिका प्रितिकर छैन । अतः उनको पात्रतालाई कुनै पनि अभियानको ब्रान्ड एम्बेसडरका रुपमा उपयोग गर्नुको खासै तुक थिएन । जुन अनुहार जनतालाई यतिबेला पटक्कै मन परिरहेको छैन, त्यही अनुहार यत्रतत्र सर्वत्र झुण्डयाउँदा के त्यो सामाजिक सुरक्षा अभियान सफल होला ?
चिन्ता के हो भने, दुई चार दिनपछि त्यो तस्विरको विरुप हामीले देख्नु पर्ने छ । काठमाडौका मेयर बिद्या सुन्दरजीको काँधमा एउटा गहन जिम्मेवारी आइपरेको छ । अब उहाँ सामु ति तस्विरको सुरक्षाको सवाल घनिभूत भएर तेर्सिएको छ ।
सार्वजनिक स्थान र सम्पतिको सुरक्षा गर्न असक्षम राज्यमा ति तस्विरको सुरक्षा कसले गरिदिने ? सके विप्लववालाले त्यसमा ढुँगा हान्दै हिँडलान् । किनकी, हिंजो आफ्ना ‘ठेटना’लाई सडकमा रेलिङ भाँच्न र टेलिफोन बुथ भत्काउँन सिकाएको त ओलीले नै हो ।
प्रधानमन्त्रीको तस्विर छोप्ने गरी कसैले ‘भोटे बुढाको कोरियन भाषा सिक्ने ठाउँ’ भन्दै पोस्टर टाँस्लान् । कसैले त्यसमा ‘यौन दुर्बलताको अचुक उपचार’वाला पोस्टर टाँस्लान् ।
कसैले त्यसमा ‘मृगौला पिडिलाई सहयोग गरौं’ भन्ने सूचना टाँसी देलान् । या कसैले त्यहाँ ‘गोविन्द केसीको माग पुरा गर’ भनेर लेखिदेलान् । हैन भने कुनै दिन त्यसमा श्रृंखला खतिवडा अभिनित चलचित्रको पोस्टर नटाँसिएला भनेर कसरी भन्न सकिएला ?
मनमा यस्तै तर्कना खेलिरहेका थिए । विजुलीको पोलमा भने नयाँ युग सुरु भइसकेको रहेछ ।
अनि मानसिक रोगको उपचार गर्न म डा. विश्ववन्धु शर्मालाई खोज्दै मैतीदेवीतिर लागें ।
लुजा, आलु त किन्नै विर्सिएछ । भरे बुढीले मार्ने भई ।

