के ओली साँच्चै राष्ट्रवादी हुन् ?

 

अहिलेसम्म नेपालका धेरैजसो नेताले निजी लाभ र सत्ता सुरक्षाका लागि भारतका सत्ताधारी नेता र कर्मचारीहरुलाई खुशी पार्ने शैली अपनाइ आएका छन्, त्यस्तो शैलीमाथि विराम लाग्नु जरुरी छ ।

 

एमाले अध्यक्ष केपी शर्मा ओली भारतीय गणतन्त्र दिवसका उपलक्ष्यमा भारतीय राजदूतावासद्वारा दूतावास परिसरमै आयोजित दिवाभोजमा नगएर ठूलो राष्ट्रवादी कहलिएको भोलिपल्टै भारतीय दूतावासद्वारा नै आयोजित राजधानीको आर्मी अफिसर्स क्लबमा सांस्कृतिक कार्यक्रम हेर्नचाहिँ पुगेछन् । सामाजिक सञ्जालमा आलोचनाको ओइरो लागि हाल्यो, ‘ओली भारतीय दलाल हो । महाकाली बेच्ने यही हो, फेरि भारतको चाकडी गर्न थाल्यो’ आदि इत्यादि ।

 

हिजो प्रशंसा, आज लाञ्छना । गएको दिन उनलाई महान् राष्ट्रवादी भन्नेहरु भोलिपल्टै खिस्रिक्क परे । गएदिनको महान् राष्ट्रवादी भोलिपल्टै भारतीय दलाल !

 

बडो गजबको ‘जजमेन्ट’ छ यार !

 

यस्ता प्रसंगलाई हल्काफुल्का रुपमा लिएर उडाउन पनि सकिन्छ तर यस आलेखमा त्यसो गरिने छैन । ’cause, गएको दिन राष्ट्रवादी ठहरिएको व्यक्ति भोलिपल्टै दलाल किन भनिन्छ, यसको केही कारण त होला पक्कै र यसको प्रमुख कारण हो नेताहरु बिक्ने शंका । त्यसमा जनमतले ओलीलाई पनि अपवाद मान्दैन । को राष्ट्रवादी, को होइन भन्ने सन्दर्भ विशेष गरेर भारतसित जोडिने गर्छ । राष्ट्रवादी भइने र दलाल बन्ने मापन वास्तवमा कुन प्रसंगमा भारतसित कस्तो सम्बन्ध राख्ने भन्नेमा निहित रहने गरेको छ । भनिरहनु नपर्ला, नेपाली जनमतको एउटा ठूलो हिस्सा भारतसित त्यति धेरै भावनात्मक निकटता नचाहने भइसकेको छ ।

 

त्यसैले संविधान निर्माणमा भारतको चासोविरुद्धको सार्वजनिक प्रस्तुति र निर्माणपछि प्रधानमन्त्रीका रुपमा भारतीय नाकाबन्दीविरुद्ध ओलीले लिएको अडान र चीनसँग गरिएको यातायात पारवहन सम्झौतापछि थाहै होला उनी उखान–टुक्काबाजबाट पदोन्नत भएर ‘स्वप्नदर्शी प्रधानमन्त्री’ बन्न पुगेका थिए ।

 

त्यसैको प्रतिबिम्बन थियो, पछिल्लो स्थानीय, प्रादेशिक र केन्द्रीय प्रतिनिधिसभाका चुनावहरुमा एमालेको शानदार प्रदर्शन ।

 

तीन तहकै चुनावमा एमालेले निक्कै अग्रता लिनुका पछाडि वास्तवमा भारतलाई हेर्ने यसको आलोचनात्मक दृष्टिकोण थियो । समग्र एमालेको भन्दा पनि ओलीको दृष्टिकोण । त्यसको गज्जबको फाइदा एमालेले पायो र प्रादेशिक तथा केन्द्रीय प्रतिनिधिहरुको चुनावमा, एमालेसँग गठबन्धनकै कारण माओवादीले पनि सोचेभन्दा धेरै बढी लाभ प्राप्त गर्यो । निश्चय नै नेपालमा जनमत निर्माताहरुको एउटा हिस्सा सदैव भारतप्रति आलोचनात्मक रहिआएको छ, पछिल्लो त्यसमा यता आएर निकै ठूलो समूह अरु थपिएको छ । अझ संविधान निर्माणको अन्तिम चरण र संविधान जारी भएपछि, भारतले नाकाबन्दीका दौरान र त्यसपछि त झन् भारतका प्रति नरम जनमतसमेत उसको त्यो रवैयाविरुद्ध नै उभियो ।

 

साँच्चै भन्ने हो भने संविधान जारी नहुँदै भारतीय दबाबविरुद्ध उभिएको छवि बनाएका र जारी भएको केही समयपछि प्रधानमन्त्री बनेका ओली, विशेष गरी चीनसँग यातायात पारवहन सम्झौतापश्चात् नेपाली राजनीतिका हिरो बनेका हुन् । ओलीलाई वास्तवमा भारतीय नाकाबन्दी र दिल्लीसँग अविश्वास चुलिएका बेला चीनसँग नजिकिएको सम्बन्धले राजनीतिक ऊचाइप्राप्त गर्न सर्वाधिक मद्दत पुग्यो र आज उनले पाएको महत्व, अरु कुनै कारणले भन्दा पनि यसै कारण हो र यो नै उनको भागमा परेको इतिहासले सम्झने राजनीतिक पूँजी हो ।

तर, जनमत र ओली आफैं भारतप्रति जतिसुकै आलोचनात्मक भए पनि नेपाल पूर्व, पश्चिम र दक्षिणतर्फ भारतबाट घेरिएको छ । राष्ट्रवादका जतिसुकै चर्का नारा हुन्, नेपालीहरुको दैनिकी भारत हुँदै र त्यतैबाट आपूर्ति नभए दुरुह हुन जान्छ ।

 

चिनियाँ रेल केरुङसम्म नआइन्जेल नेपालका लागि चीनको भूमि हुँदै समुद्रसम्मको पहुँच सम्भव छैन, एकमात्र विकल्प अहिले पनि भारत नै हो ।

 

त्यतिमात्र होइन, भारतसित नेपालको सम्बन्ध बहुआयामिक छ । त्यसमा सांस्कृतिक सामीप्य त पर्छ नै, सम्बन्धका अरु पनि असंख्य तारहरु जोडिएका छन् । लाखौं नेपालीहरु भारतमा बसोवास गर्छन्, त्यहाँ विभिन्न पेशामा आबद्ध छन् । यता आएर अध्ययनका अरु गन्तव्य थपिएका भए पनि हजारौं नेपालीहरु वर्षेनी भारत पढ्न जान्छन्, कतिपय उतै आफ्नो जीवनको बाटो बनाउँछन् ।

 

भारतसँग अलग–थलग नेपाल कल्पनाको कुरो हुन सक्ला, धरातलीय यथार्थ एकदमै फरक छ । त्यसैले जतिसुकै आलोचनात्मक दृष्टिकोण भए पनि भारतको बहिष्कार गर्न सक्ने अथवा धेरै टाढिने अवस्था र परिस्थिति दुबै छैन ।

 

यसको अर्थ नेपालीहरुले हमेशा भारतको तुष्टिमै आफ्नो सुख देख्नुपर्छ भन्ने किमार्थ होइन । यहाँ वास्तवमा भारतसँग मधुर सम्बन्ध राख्दाराख्दै निजत्व, राष्ट्रको आत्मसम्मान, स्वाभिमान र स्वाधीन अस्तित्वप्रति सचेत रहने नेतृत्वको आवश्यकता छ । ओली त्यस्तो नेता हुन सक्छन्, कि सक्दैनन् अहिलेको अहम् प्रश्न यही हो ।

 

फेरि नेपालको बनोट र अवस्थितिले, माथि पनि भनियो, भारतसित सघन सहकार्य माग गर्छ एकातिर । अर्कातिर, के पनि बिर्सन मिल्दैन भने उसले नेपालको आन्तरिक मामिलामा अनधिकार हस्तक्षेप गर्ने ब्रिटीश भारतकालीन कार्यशैलीलाई नै निरन्तरता दिएको छ । त्यसले गर्दा नै वास्तवमा नेपाल भारत–सघन सहकार्यमा तगारो लाग्ने गरेको छ । तथापि भारत आफू भने चीनसँग आर्थिक मामिलामा विविधस्तरमा सहयोग र सहकार्य गरिआएको छ तर जब नेपालको चीनसँग सम्बन्धको कुरा आउँछ भारतीयहरु सुरक्षा सतर्कताका कुरा उठाउन थाल्छन् ।

 

नेपालका कुनै पनि नेताले, सिवाय नेपालको भूमि कसैका विरुद्ध प्रयोग हुन दिँदैनौं भन्नु बाहेक, अझसम्म साँचो अर्थमा, भारतलाई आश्वस्त पार्न सकेका छैनन् । अब आउँदो समयमा ओलीले यसलाई आफ्नो प्राथमिकतामा राख्नुपर्छ । अहिलेसम्म नेपालका धेरैजसो नेताले निजी लाभ र सत्ता सुरक्षाका लागि भारतका सत्ताधारी नेता र कर्मचारीहरुलाई खुशी पार्ने शैली अपनाइ आएका छन्, त्यस्तो शैलीमाथि विराम लाग्नु जरुरी छ ।

 

निश्चय नै कसैको कसैसँग व्यक्तिगत सम्बन्ध हुनसक्छ, त्यो होस् र रहोस् तर त्यस्तो आफ्नो राम्रो सम्बन्ध छ भन्ने देखाउने गरी र देशहितलाई बन्धक राखेर व्यक्तिगत सत्तालाभका लागि हुनु हुँदैन ।

 

निष्कर्षमा यहाँ प्रश्न कहाँ गए, कहाँ गएनन् होइन, ओली साँच्चै राष्ट्रप्रेमी हुन् भने उनले तुष्टीकरणद्वारा आफ्नो सत्ता सुरक्षा खोज्ने छैनन् । भारतसँग पनि देशको सम्बन्ध मधुर राख्ने छन् तर राष्ट्रिय स्वाभिमान र हित समर्पण गर्ने छैनन् ।