सम्मान आफूले कायम राख्ने हो, सम्माननीय हुन
आर्थिक रुपमा हेर्ने हो भने वर्ष भरीमा एक छाक चामलको भात र मासु पेटभरी खान दशैँ कुर्नु पर्ने मान्छे देखि घरमा आधा दर्जन कुकुर पालेर दिनै पिच्छे मासुभात खुवाउने सम्मका मान्छे यहीँ छन। राजनैतिक रुपमा हेर्दा कलेजको पढाई नसकी पिताबाट दलको केन्द्रीय नेतृत्व अंश-स्वरूप पाउने देखि जिन्दगीभर केन्द्रीय नेता नदेखी मर्ने थुप्रै छन। अझै गाडी नदेखी ८० वर्ष पुगेका मान्छे गाउँमा छन । थुन्सेमा च्याँख्ला र सातु बोकेर ७ दिनको बाटो तिर्थ गर्न जाने देखि सबै तिर्थ सरकारी हेलिकप्टरमा डूल्ने दुबैखालेको त मैले सङ्गत नै गरेको छु।

इतिहासकार पुरुषोत्तम शम्शेरको एउटा सानो किताब छ, सम्झेका र सुनेका कुरा। त्यस्तै १०० पेज हाराहारीको किताबमा एउटा प्रसङ्ग छ राणाकाल पछि जनस्तरबाट भएका पहिलो प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाको। राणाकालीन सैन्य संस्कार नजीकबाट देखेका मातृकालाई राजा त्रिभुवनले अनररी जनरल (मानको खातीर) उपाधी दिन्छन। मातृका एक दिन जर्नेलको पोशाक लगाएर टुँडिखेल जान्छन, खरीबोटमुनी चौतारामा बसेका प्रधान सेनपति केशर शम्शेरले “त्यो मोटरबाट उत्रेको सैनिक जवान को हो?” भनेर सोध्छन। त्यही कुनै सैनिक अधिकृतले “प्रधानमन्त्री मातृकाप्रसादज्यू खाकी पोशाकमा मोटरबाट उत्रनु भए झैँ लाग्छ” भन्छन । केशरले कुनै वास्ता गर्दैनन।
अव मातृकालाई पदीय रबाफ जाग्छ। केशरलाई बोलाउन मातृकाले आफ्नो अङ्गरक्षक पठाउँछन तर केशरले उल्टै आफू तिरै आउन खबर पठाउँछन। तव हुन्छ हैसियतको लडाइँ। मातृका रिसाउँदै गाडी चढेर निवास फर्किन्छन र पछि राजा त्रिभुवनसङ्ग जाहेर गर्छन, राणा शासनको तुजुक बाँकि रहेको र प्रधानमन्त्रीको पदको अपमान भएको व्याख्या गर्दै। राजाले प्रधानमन्त्रीलाई “म बुझ्छु” भनेर पठाउँछन तर प्रधानसेनापतिसङ्ग पनि त बुझ्नु पर्यो। केशरलाई बोलाएर सोध्छन “तिमि प्रधानमन्त्रीले बोलाउँदा नगै किन उल्टै उनैलाई बोलाएको?” केशरले जबाफ दिन्छन “मातृका प्रसादले जर्नेली खाकी पोशाक र जर्नेली फरेसक्यापमा जर्नेली ब्याच समेत लगाई टुँडिखेलमा कबाज भैरहेको ठाउँमा आएर म प्रधानसेनापतिलाई बोलाउन पठाउँदछ भने म प्रधानसेनपतिले जर्नेल मातृकाप्रसादको अपमान गरेँकि जर्नेल मातृका प्रसादले म प्रधानसेनापतिको अपमान र अपहेलना गरे? यस विषयमा इन्साफ हुनु अनिवार्य छ”। अन्तमा त्रिभुवनले मात्रिकाको गल्ती देखाउँदा मातृकाले लाचारी व्यक्त गरे।
पढ्दा प्रसङ्ग रमाइलो भए पनि यसले हाम्रा नेताको मनोविज्ञान र “पुगिसरी आए यसो गर्थेँ” भन्ने भित्री मनमा गडेर रहेको तुष्टी उजागर गर्छ। मातृका प्रसाद राणाकै दरवारका कर्मचारी हुन। उनका लागि जर्नेल भन्ने चिज ठुलै आप्राप्य लक्ष थियो। प्रधानमन्त्री भैसके पनि उनमा गढेर रहेको जर्नेली शान बाहिर निस्कने कोशिसमा थियो, र त्यो अवसर त्यो “अनररी जर्नेल”को उपाधीले दियो।
हाम्रो समाजमा धेरै मातृका प्रसाद छन जसले आफ्नो “अनररी” अदको “अनर” नगर्दा बेला बखत “डिसअनर”का शब्द-प्रहार बेहोर्नु परेको छ। राष्ट्र-प्रमुख, सरकार प्रमुख, पूर्व राष्ट्र-प्रमुख र पूर्व मन्त्रीहरूमा सिमित नरहेर त्यो शब्द प्रहार गाउँ पालिकाका प्रमुख सम्म पुग्यो। हाम्रो सतही मिडियाले आफ्नो फ्रेम भित्र परेको कुरामा मात्रै देखाउँछ, बाहिरको कुरा देखाए मात्रै वातावरण र प्रसङ्ग देखिने हो।
खासमा सबै गाउँपलिकाका अध्यक्षहरू कुनै आसारे खेलकुदका रनिङ्ग सिल्डमा खेलाडीको सलामी ग्रहण गर्दै थिए। यो पञ्चायतको अन्तमा वीरेन्द्रसिल्ड हुँदा भए अञ्चालाधीश नत्र सिडिओले लिने सलामीको पुनारावृत्ति थियो । अञ्चलाधीश अञ्चल खेलकुद विकास समितिका अध्यक्ष र सिडिओ जिल्ला खेलकूद विकास समितिका अध्यक्ष हुने बेलाको चलन त्यो। पिर्के देखि टेबल सलामी बढ्दै गएर कार्टून र फोटोशप गरिएका फोटामा बाँस-लिङ्गे सलामी सम्म पुगेर मत्थर भए, ति ब्यङ्गका शृङ्खला।
राष्ट्रपतिका सवारीका सडक-बन्द देखि प्रधानमन्त्रीको सवारीका आकाश-बन्द सम्मका कामलाई उनीहरूकै आसेपासेले “पहिला देखिको चलन” भन्ने स्पष्टिकरण र ” के हाम्रा ख्वामित पैदल जानु पर्थ्यो?” भन्ने प्रतिप्रश्न बाहेक केहीले प्रतिरक्षा गरेको पाइन्न।
किन नेताको राजसी शानको विपक्षमा आम नेपाली छन भन्ने कुराको विष्लेषण नगरी हामी नयाँ सामाजिक पद-सोपान निर्मानमा लागेका छौँ। राज्य-स्तरमा, पार्टी-स्तरमा, स्थानीय निकाय-स्तरमा, सरकारी अड्डामा, सडकमा, संसदमा… सबै तिर?
यसमा म मातृका सिन्ड्रोम देख्छु; सामान्य मानवीय दोष र लुप्ताकाँक्षाको प्रकटीकरण मात्रै। यो सबैमा हुन्छ। म नै केही देखाउने ठाउँमा पुगे पनि देखाउँछु होला जसरी राष्ट्रपति र प्रधानमन्त्रीले देखाउँछन, अधिकाँस “पूर्व”हरूले निवृत्त भएको मिति विर्सिसकेका पूर्व गृहमन्त्रीले अझै सडकमा देखाइरहेका छन।
म र नेतामा एउटा तात्विक गुण भने फरक छ। लाखौँ मान्छेलाई भेडा बनाएर ६० वर्ष सम्म पछि लगाउन र मर्न-मार्न तयार गर्ने सक्ने मथिङ्गल भएर नै उनीहरूलाई हामीले मानेको हो। त्यस माथि पनि उनीहरूमा एउता अदभुत गुण हुन्छ। इच्छा, आकाँक्षा , चाहना, आवेग, संबेग र आशक्तिलाई दमन गर्ने क्षमता। र द्वेषलाई लुकाउन सक्ने र शत्रुप्रति सौहाद्रता देखाउन सक्ने क्षमता समेत।
त्यसैले नै चुनावका बेला गाउँ गएर हामी जस्तै भैदिने, हामीले खाए जस्तै खाइदिने र हाम्रा जस्तै लुगा लाइदिने काम उनीहरूलाई गाह्रो नभएको हो। कसैले यसलाई स्वतः प्राप्त गुण वा “गिभन क्वालिटी” मान्छन, कसैले आफैँ आर्जन गरेको “अक्वाइर्ड क्वालिटी” मान्छन।
प्रकृतिको देन होस वा आफ्नै आर्जन जो सङ्ग त्यो गुण हुन्छ, त्यो सफल नेता हुन्छ। तर मैले धेरै नेताहरू ति गुण बिनै सफल भएको देखेको छु। अहिलेका अधिकांश नेता पर्ने कोटी त्यही हो कि जस्तो लाग्छ।
नेपाल सबै खाले पदीय मर्यादा-ग्रस्त मुलूक हो। हिन्दू वर्णाश्रममा आधारित समाजमा काठमाण्डुको अर्ध-बौद्ध वर्णाश्रम मिसिएको छ। शासनमा त्यसको अझै प्रभाव छ। आर्थिक रुपमा हेर्ने हो भने वर्ष भरीमा एक छाक चामलको भात र मासु पेटभरी खान दशैँ कुर्नु पर्ने मान्छे देखि घरमा आधा दर्जन कुकुर पालेर दिनै पिच्छे मासुभात खुवाउने सम्मका मान्छे यहीँ छन। राजनैतिक रुपमा हेर्ने कलेजको पढाई नसकी पिताबाट दलको केन्द्रीय नेतृत्व अंश-स्वरूप पाउने देखि जिन्दगीभर केन्द्रीय नेता नदेखि मर्ने थुप्रै छन। अझै गाडी नदेखी ८० वर्ष पुगेका मान्छे गाउँमा छन । थुन्सेमा च्याँख्ला र सातु बोकेर ७ दिनको बाटो तिर्थ गर्न जाने देखि सबै तिर्थ सरकारी हेलिकप्टरमा डूल्ने दुबैखालेको त मैले सङ्गत नै गरेको छु। सिडिओले घरमै नागरिकताको प्रमाण-पत्र पुऱ्याइदिएको देखि तीन दिन हिँडेर सदरमुकाम आएर पनि तीन दिन पर्खिएर नागरिकता लिने मान्छे समेत देखेको छु, मर्नेबेलामा सुनपानी खुवाउने परम्परा धान्न खेतमा गएकि छिमेकीकि बुहारी बोलाएर उनको नाकमा छुवाएको पानी खुवाउने मान्छे देखी चर्पीमा कागज राख्न चाँदिको बट्टा बनाउन लगाउने मान्छे समेत आफ्नै आँखाले देखेको छु।
यही सामाजिक, आर्थिक, राजनैतिक र भौगोलिक असमनताकै धरातलमा नेपालमा कम्युनिष्ट राजनीति फस्टाएको हो भन्ने सबैलाई थाहा छ। कम्युनिष्ट प्रतिको पहिलो आकर्षण भनेकै उनीहरूको शासनमा त्यो विशृङ्खलता हुन्न भन्ने आम धारणा हो। मलाई सोध्नु परेन, आफ्नै घरमा कुनै ठेकेदार, दलाललाई चिनाउन आउने कार्यकर्ता होइन, केही आशा नगरी आउने जो कोहीलाई सोधे हुन्छ, तपाईँमा देखिएको परिवर्तन छर्लङ्गै छ। गेटबाहिर निस्कँदै धेरैले त्यो परिवर्तन प्रति टिप्पणी गर्दै निस्केको मैले देखेको छु।
अहिलेलाई धेरै नभनौँ, जो शासनमा छन, उनीहरूमा जनताका प्रिय भएर, जनताकै जस्तो जीवनशैलीमा फर्कने सम्भावना शत प्रतिशत सकिएको छ। भनिन्छ नि एक पल्ट मान्छेको रगत पिइसकेको बाघले मृगको सिकार कमै मन पराउँछ।
जनताले मुटुमा राख्न मिल्ने नेता खोजेको तपाइँहरूले जनताको टाउकोमा बस्ने शासक दिनु भएको छ। जनताले हृदयमा सजाउन सकिने नेता खोजेको तपाइँहरूले सुनौला कुचीले पोतिएका सुनका प्रतिमा दिएर पूजा गर्न लगाउनु भएको छ। जनताले सम्मान दिन खोजे तपाइँहरूको “सम्माननीय” हुने रहर रैछ। आखिर जन निर्वाचित ठूला पदमा पुगे पनि खाकी पोसाकमा टुँडिखेलमा झिल्किने आकाँक्षा त प्रकट हुने नै रैछ ।