बिदाई घातक नबनाउने कि ?

अहिले त्यही सीटलाई आधार मानेर बजारिया विश्लेषकहरू दुई-तिहाइको गफ दिँदैछन । ओली आफैँले “जनादेश मेरो पक्षमा छ, परमादेश शेरबहादुर जीको पक्षमा आयो” भन्नु भयो । जथाभावी सिँगौरी हानेर एउटा सिङ्ग फुकालेको साँढेलाई टाढाबाट हेर्दा त बलियो नै देखिन्छ तर  छेऊमा गए मात्रै थाहा हुन्छ उसले कति ऱ्याल काढेको छ, कति स्वाँ-स्वाँ गरेको छ , अनि जुध्दा मात्रै थाहा हुन्छ कति गलेको रैछ। अस्तिको आफ्नै भाषण उहाँले नै फेरि सुने हुन्छ, इतिहासमै सबै भन्दा कमजोर छ, दम बिनाको।


मलाई थाहा छ,  अव निवर्तमान प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीका बिरुद्ध चारै वेद अठारै पुराणका ऋचा, मन्त्र वा श्लोक जत्तिकै शब्द खर्च हुनेछन, उहाँको राक्षसीकरण गर्न । नहुन पनि किन ? आफैँ पैसो खर्चेर पालेका ३८-४० जनाको एकहूल, जसलाई  उहाँकै साथीहरूले “साइबर सेना” भन्छन, त्यो;  पहिले माधव वा झलानाथको चाकरीमा आधा जीवन व्यतित गरेको तर अहिले ओलीभक्ति प्रमाणित गर्न बेला न कुबेला छाती चिरेर देखाउने करीव तीन-चार जनाको हुल; र पीए बन्न बायोडाटा लिएर दरवार छिर्दा हाकीम पद नै पड्काउन सफल  १५ -२० जना बाहेक अरूले मुग्ध भएर उहाँको स्तुती गाएनन् । अर्थात जसका हातमा अक्षर उत्पादन गर्ने भाँडो र  कच्चा पदार्थ थियो सबै उहाँको बिरुद्ध शब्द-बाण लिएरै बसे, कम्तिमा गएका डेढ वर्ष भरि । सत्तामा हुँदा त प्रहार गर्नेले बहिर्गमन पछि नगर्ने कुरै भएन ।

हाम्रो आम सञ्चारको र सामाजिक सञ्जालको बजार नै त्यस्तै छ । पहिले कसैका बिरुद्ध प्रयोग गर्न गोजीमा सदस्यता हालिदिएर, नियुक्तिको आश्वासन दिएर धार लगाएर राखिएको हतियार  या त मिडियामा या सञ्जालमा छरिएको छ, उसले त  आफ्नो कला देखाउँछ नै । यो अस्वाभाविक होइन । तर गलत मान्छेका हातमा एउटा बहस निर्माणको जिम्मेवारी जाँदा त्यो बहस गलत दिशा तिर जान्छ, सिर्जना होइन ध्वंस गर्छ र देउतालाई राक्षस बनाई दिन्छ, राक्षसलाई देउता । त्यसैले ओलीको राक्षसीकरण वा देवत्वकरण त्यही प्रतिस्पर्धाको अंश मात्रै हो, आकाश खसेको रुपमा म हेर्दिनँ ।

म चाहिँ ओलीलाई एउटा सामान्य मान्छेको रुपमै हेर्छु अझै, राक्षस, देउता केही होइन। तर म त यो बजारका करीव १०,००० अक्षर-खेतीवाल मध्येको एउटा हुँ, त्यो पनि अत्यन्त सानो पाठक समूह भएको र अत्यन्त सानो प्ल्याटफर्ममा रमाएर बसेको ।

मैले ओलीको सत्तारोहणको एक वर्ष भित्रै लेखेको थिएँ अवसर एक पल्ट आउँछ, आफ्नो राक्षसी तस्वीर जनताको दिमागमा छाप्ने कि दैवी तस्वीर छाप्ने आफै हातमा हुन्छ भनेर । आफूलाई चिन्ने आफू बाहेक अर्को भरपर्दो आँखा हुन्न, त्यसैले भनिएको होला ऐना मात्रै हाम्रो सबैभन्दा इमान्दार साथी हो । बाहिर सार्वजनिक खपतका लागि आफू शक्तिशाली छु भनेर देखाउनु र  शान्त वातवरणमा एक्लै बसेर आफ्नो क्षमता ’bout समीक्षा गर्नु दुई अलग-अलग पाटो हन्,   एउटा सफल नेताका लागि । सफल नेता र असल नेताबीचको दूरी त झन ठूलो छ । सबै सफल नेता असल हुँदैनन । असल नेताको दैवी छापको आयु लामो हुन्छ, सफल नेताको छोटो ।  जुनसुकै हर्कतबाट शक्ति आर्जन गरेर छोटो समयमा सफल बनेका धेरै नेताको अहिले राक्षसी छाप जनताको मानसपटलमा छ, भलै शक्तिको चतुर प्रयोगले ति सफलताको चुलीमै किन नहून ।

सफल हुने कि असल भन्नेमा ओलीमा द्विविधा शुरु देखि नै थियो ।

आफूलाई यथार्थमा भन्दा बढी शक्तिशाली ठान्नु र आफूलाई यथार्थमा भन्दा निम्छरो ठान्नु दुवै एक प्रकारका मानसिक समस्या हुन्। आफ्नो क्षमता बुझिसकेपछि त्यो भन्दा बढी शक्ति आफूमा थुपारेर काम गर्न खोज्नु यान्त्रिक दृष्टिले समेत घातक हुन्छ, मानसिक मात्रै होइन, शरीर र अवयव नसुहाउने ठूलो इञ्जीन-जडित यन्त्रले काम नगरे जस्तै।  ओलीमा शक्तिशाली यन्त्र थियो र त्यसलाई थाम्ने बलियो अवयव समेत थियो। सेना, कर्मचारी र मजदूर समेत दलको सदस्य हुने एकाध कम्युनिष्ट पार्टीलाई छोड्ने हो भने नेकपा संसारको सबै भन्दा बलियो र सुसङ्गठित राजनैतिक दल हो, र अनुशासित र राज्यका सबै अङ्गमा राम्ररी घुसेका कार्यकर्ता पङ्ति यसको शक्तिको प्रमुख स्रोत हुन् । त्यसमाथि माओवादी कार्यकर्ता थपिँदा ओलीनामको यन्त्र चिताएको सबै काम फत्ते गर्न सक्ने आफैँमा एउटा शक्तिशाली यन्त्र बनेको थियो ।


नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली निजी निवास बालकोटबाट कार्यकर्ताको भीडलाई हेर्दै । तस्विर :रासस

पृथ्वीनारायणको जस्तो चोर औँला ठड्याउने शालिक बनाउने र आफूलाई इन्द्र जस्तो अमरावतिको मालिक बनाउने सपना नदेख्या भए उहाँमा देश बनाउने एउटा अवसर थियो। आफ्नै जैविक सन्तान नभएका र जीवनको उत्तरार्धमा पुगेका मान्छे सँग धेरैले अर्कै केपी (कृष्ण प्रसाद भट्टराई) सरहको सादगीको अपेक्षा गर्छ । व्यस्त छु भन्ने वहानामा आधारातसम्म अनावस्यक फोन-गफ गर्नुको सट्टा केही राम्रा मान्छेसँग वैचारिक गन्थन-मन्थन होस भन्छ, बजारमा क्षुद्र भनेर नाम कहलिएकाको झुण्ड राखेर अरूलाई खुइल्याउने र आफ्नो स्तुती गाउन लगाउने  कामको अपेक्षा गर्दैन । ओलीको खराव शुरुवात यिनै थिए ।


तर अनजानमा हो कि जानाजान त्यो यन्त्रको गलत प्रयोग भयो।  नहान्ने ठाउँमा प्रहार भयो, हान्नु नपर्ने ठाउँमा प्रहार भयो र गलत समयमा प्रहार भयो । यो कुरा न ओलीले स्वीकार्नु हुन्छ न उहाँका भक्तहरूले । त्यसैले मेशिन क्र्यास भएको छ । अब त्यो मेशिनलाई रिपेयरिङ्ग गरेर, वेल्डिङ्ग गरेर वा रिफर्विस गरेर चलाउने हो। नयाँ इञ्जीन र मर्मत गरेर चलाइएको इञ्जीनको कार्य क्षमता वा कार्यकुशलतामा कति फरक पर्छ, इञ्जीनको सञ्चालक वा गाडीको सहचालक वा खलाँसी (हीनताबोधी शब्द भए माफ गर्नु होला)लाई समेत थाहा हुन्छ । अव मर्मत गरेको नेकपा नामको इञ्जीनमा अनावस्यक शक्ति थप्ने होइन चिरा परेको ठाउँलाई बिस्तारै टालिने मौका दिनु पर्छ र मात्रै इञ्जीन लयमा फर्किन्छ, पहिलेकै अवस्थामा नभए पनि काम गर्ने अवस्थामा फर्किन्छ ।

ओलीले त्यो यन्त्रको हर्सपावर कसरी बढेको हो भन्ने स्वीकार मात्रै गर्दिनु भएको भए त्यो मेसिन क्र्यास हुन समय लाग्थ्यो। अघिल्लो संसदीय चुनावमा नेकपाको समानुपातिक तर्फको भोट नेपाली काङ्ग्रेसको भन्दा ०.४७ प्रतिशत अर्थात ४५,१०५ भोट मात्रै बढी हो ।  अझ प्रत्यक्ष तर्फ एमाले एक्लैले पाएको भोट त नेपाली काँग्रेसको भन्दा ५,०८,५१६ अर्थात नेकाको भन्दा ५.०७ प्रतिशत कम हो। यसमा माओवादीको प्रत्यक्ष तर्फको १५.०४ प्रतिशत र समानुपातिक तर्फको १३.६६ प्रतिशत मत  थपियो, त्यो नै ओलीको शक्तिको स्रोत हो। त्यसैले काङ्ग्रेस भन्दा अलिकति बढ्ता मात्रै समानुपातिक मत र ५ लाख भन्दा कम प्रत्यक्ष तर्फको मत भए पनि प्रतिनिधिसभामा ६३.२७ प्रतिशत सीट पुगेको हो।

अहिले त्यही सीटलाई आधार मानेर बजारिया विश्लेषकहरू दुई-तिहाइको गफ दिँदैछन । ओली आफैँले “जनादेश मेरो पक्षमा छ, परमादेश शेरबहादुर जीको पक्षमा आयो” भन्नु भयो । जथाभावी सिँगौरी हानेर एउटा सिङ्ग फुकालेको साँढेलाई टाढाबाट हेर्दा त बलियो नै देखिन्छ तर  छेऊमा गए मात्रै थाहा हुन्छ उसले कति ऱ्याल काढेको छ, कति स्वाँ-स्वाँ गरेको छ , अनि जुध्दा मात्रै थाहा हुन्छ कति गलेको रैछ। अस्तिको आफ्नै भाषण उहाँले नै फेरि सुने हुन्छ, इतिहासमै सबै भन्दा कमजोर छ, दम बिनाको। अर्थात त्यहाँ ऱ्याल देखिन्थ्यो र स्वाँ-स्वाँ सुनिन्थ्यो।

मान्छेका कमजोरी हुन्छन, कतिले सच्याउँछन, कतिले ढाकछोप मात्रै गर्छन तर अर्को-अर्को कमजोरी गरिरहन्छन । पचास वर्ष लामो सम्बन्धमा कहिले राम्रा मात्रै कुरा भए होला, कति  बानी बेहोरा र चरित्रका कुरा उठे होला, कति उजूरी नै परेर छलफल भएका कुरा होलान्, आन्दोलनमा हुँदा वा भूमिगत हुँदा कति गलत काम मिलेमतोमा नै पनि भए होला, सत्तामा आएपछि कति अर्थोपार्जनका काम एक अर्काले देखेरै तर आँखा चिम्लिएर भए होला । तिनै  कमजोरीको नेकीवेदी तयार गरेर त्यसैका आधारमा पार्टीको आन्तरिक प्रतिस्पर्धा निर्देशित गर्नु  र अर्को पक्षलाई निषेध गर्न खोज्नु नेकपा नेताहरूको कमजोरी थियो अझ एमाले को पुनर्जीवन पछि त्यो क्रम बढ्नु त झन गलत काम थियो। आन्तरिक प्रतिस्पर्धामा भएका असहयोग र तिनै पुराना व्यक्तिगत वा चारित्रिक तुष बाहेक माधव नेपाल र ओलीका बीच ठूलै मनोमालिन्यको अर्को विषय हामी जस्ता बाहिरबाट हेर्नेहरूले देखेको छैन। नेपाल बिरुद्ध अख्तियार लगाउने मेसेज जस्ता घटना त हामीले सुनेका मात्रै हौँ, देखेका छैनौँ । ओलीले सजिलै आफ्नो हैसियतलाई स्वीकार नगरेपछि  र राज्यशक्ति प्रयोग गर्दैछन भन्ने बुझेपछि नेपाल बिच्किनु स्वाभाविक हो । त्यही मनमुटावमा प्रचण्डले खेल्ने नै भए र माधव-प्रचण्डको मोर्चाबन्दी विकसित हुने नै भयो। 

तर  त्यो अन्तरसंघर्षको प्रकृति के एकपक्षको पूर्ण विनास मै पुग्नु पर्ने खालको थियो ?  प्रचण्डलाई घटाए त ओलीको शक्ति त्यही ३३ प्रतिशत जनमत होइन र ?  त्यसमा पनि माधव नेपालको घटाउँदा त २० वा १८ प्रतिशतमा त झऱ्यो होला नि ? माधव नेपालका भक्त संसदमा कम भए होलान् तर नवौँ महाधिवेशनमा जम्मा ४४ भोटले त हार्नु भएको हो नेपाल । ५-६ वर्षमै के त्यस्तो तुच्छ काम गर्नु भयो र नेपालको हैसियत शून्यमा झार्नै पर्ने ? नेपालले पहिला ओलीको अस्थित्वमाथि धावा बोल्नु भयो कि ओलीले नेपालको अस्थित्वमाथि भन्ने जानकारी नै कार्यकर्तालाई नदिई सोझै वार कि पारको लडाइँमा उत्रिनु गल्ति थियो । यति कुरा महसूस नगरी अहिले फेरि मिलापको आलाप गाइँदैछ । गूट बलियो बनाएर माधव पक्षलाई तलै देखि पत्तासाफ गर्दिने ओलीको योजना छ भनेर तर्सेको हो नेपाल समूह । त्यसै मनोविज्ञानमा अडेको छ नेपालको ओली हटाउने गतिबिधि ।  त्यो मनोविज्ञानलाई सम्बोधन नगरी कसरी मर्मत हुन्छ फुटेको मेशिन?

इच्छा शक्ति, मान्छेलाई सम्झाउन सक्ने क्षमता र कुनै पनि मुद्दा प्रतिको दृष्टोकोणका आधारमा हेर्दा त बजारमा उपलब्ध अरू नेता मध्ये ओली माथि हुनुहुन्छ नि । तर नकारात्मकता, आत्मरति वा आत्मश्लाघा र दुर्वचनका यति बढ्यो कि उहाँमाथिको राक्षसीकरण सामान्य बन्दियो । उहाँलाई राक्षस बनाउनेकै हातमा अहिले (डिस्कोर्स) बहस निर्माणको चाबी छ ।

पृथ्वीनारायणको जस्तो चोर औँला ठड्याउने शालिक बनाउने र आफूलाई इन्द्र जस्तो अमरावतिको मालिक बनाउने सपना नदेख्या भए उहाँमा देश बनाउने एउटा अवसर थियो। आफ्नै जैविक सन्तान नभएका र जीवनको उत्तरार्धमा पुगेका मान्छे सँग धेरैले अर्कै केपी (कृष्ण प्रसाद भट्टराई) सरहको सादगीको अपेक्षा गर्छ । व्यस्त छु भन्ने वहानामा आधारातसम्म अनावस्यक फोन-गफ गर्नुको सट्टा केही राम्रा मान्छेसँग वैचारिक गन्थन-मन्थन होस भन्छ, बजारमा क्षुद्र भनेर नाम कहलिएकाको झुण्ड राखेर अरूलाई खुइल्याउने र आफ्नो स्तुती गाउन लगाउने  कामको अपेक्षा गर्दैन । ओलीको खराव शुरुवात यिनै थिए । गलत मान्छेको जथाभावी नियुक्ति र काला व्यापारीको स्वार्थ्य-पूर्ति केन्द्रित निर्णय त सार्वजनिक लेखा परीक्षणकै विषय हुन, ओलीको जीवन पर्यन्त तिनले छोड्दैनन ।


नेकपा (एमाले) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई निजी निवास बालकोट जाने क्रममा स्थानीयवासीले बालकोटमा स्वागत गर्दै । तस्विर : रासस

ओलीको वहिर्गमन भए पनि उहाँमा आफ्ना केही गलत काम कसरी आफू बिरुद्धको मोर्चबन्दीका कारक थिए भन्ने महसूस भएको देखिएन। उहाँमा निर्वाचनबाट मालिक छानिन्छ भन्ने भ्रम हिजोसम्म कायम देखियो । लोकतन्त्रमा आवधिक निर्वाचनले मालिक होइन व्यवस्थापक छान्ने हो त्यो पनि ५ वर्षे करारमा भन्ने कुरा महसूस हुनासाथ उहाँमा सकारात्मक सोच पलाउने छ । उहाँलाई भ्रम हुन सक्छ आफ्ना भक्तले नमरुञ्जेल आफ्नो स्तुती गाई रहने छन् भन्ने । तर शक्ति बाहिर ५ साल बसेर हेर्नुस्, अहिलेका गिट्टिढुङ्गावादी कहाँ पुग्छन, अहिले आफ्नै पुत्रको जस्तो व्यावहार गर्ने युवाहरू कहाँ पुग्छन र अहिले ढोकामा ढुकेर बसेका अश्वेत व्यापारी कसको ढोका कुर्न थाल्छन् ।

अझै अवसर छ, माधव नेपाल ग्याङ्गलाई अपराधी वर्करार गर्नमै आफ्नो अमूल्य शक्ति खर्चिरहनुभयो र यो डेढवर्षमा भएका  गलत हर्कतमै रुमल्लिनु भयो भने घाटा तपाइँलाई नै छ । फूर्सद भए पछि तपाइँकै भक्तले प्रश्न गर्न थाल्नेछन्- फलानो कसको सिफारिशमा जीएम बनेको थियो, ढिस्कानोलाई कसले राजदूत बनाएको थियो, उसलाई कस्ले आयुक्त बनाएको र उसलाई कस्को सिफारिसमा मन्त्री । एउटा कम्युनिष्ट पार्टीमा एउटा मात्र पनि पजनी पार्टीको जानकारी बिना हुन्छ भन्ने त ति भक्तले समेत पचाउन सक्दैनन । तपाइँको जानकारीमा नहुन सक्छ तपाइँसँग जोडिएका कति मान्छेले आफ्नो हैसियत भन्दा ठूलो आर्थिक लाभ गरेका छन ? त्यो कुरो अरूले होइन ति भक्त मध्येकै केहीले प्रश्न गर्ने छन्, आखीर प्रतिस्पर्धा त भक्तहरूबीचै पनि त छ।

सक्नु हुन्छ आफू लगायत माधव नेपाल समेतलाई सल्लाहकारको सक्रिय भूमिकामा थन्क्याएर पार्टीभित्र नयाँ लोकतान्त्रिक अभ्यास खुला गर्दिनुस्, कसैलाई काखी नच्यापिदिनुस् । गूट बिना प्रतिस्पर्धाबाट आउने मान्छे भनेको असल नै हुन्छ र कार्यकर्तामा जरो गाडेको नै हुन्छ ।  गूटका आधारमा बन्ने तपाइँको हैसियत मूतको न्यानो मात्रै हो, अहिलेको झाङ्गिदै गरेको गूटीय प्रतिस्पर्धालाई अहिले नै बन्द गर्दिनु भएन भने तपाइँकै जीवनकालमा एमाले खिइएर मालेमा परिणत हुन्छ । 

दल भित्र मात्रै होइन, राष्ट्रिय राजनीतिमा पनि तपाइँले प्रतिशोधको भावना राखेर अघि बढ्नु भयो भने तपाइँको बिदाई घातक बन्न सक्छ । तपाइँ आफूलाई यथार्थ भन्दा बढी नआँक्नुस, ३०-३३ प्रतिशत जनतामात्र तपाइँको साथमा छन अहिले कायम जनमत हेर्ने हो भने र आफ्नो पार्टी एक ढिक्का राख्नु भयो भने । युथ फोर्स ब्युँताउने, भौतिक झडपमा उतार्ने कामले त्यो जनमत बरू २० प्रतिशत तिर झार्छ ३५ तिर पुऱ्याउँदैन । सडकमा उत्रने युवाको खस्कँदो सङ्ख्या कतिको नजीकबाट हेर्नु भएको छ कुन्नी ? अहिले युवा सडकमा गएर झडप गर्न चाहँदैन? कम्प्युटरमै किन नहोस्, रचनात्मक बहसमा उत्रिन खोज्छ ।  अव दललाई सुदृढ पारेर आफ्नै बहुमत ल्याउँछु भन्ने भए नयाँ सरकारलाई एक वर्ष काम गर्ने वातावरण मिलाईदिनुस्, त्यसले तपाइँको पार्टीलाई नसोचेको फाइदा हुन्छ । आफू कसरी सही थिएँ भनेर आफ्नो सुपरइगो को रक्षाकालागि चुनावमा जाने बाटो मात्रै खुल्ला राखिदिनु भयो भने तपाइँको दलको एकता सुदृढ हुनै नपाइ चुनाव हुन्छ,र घाटा तपाइँलाई नै हुन्छ ।  त्यसैले यो बिदाईलाई देशका लागि, दलका लागि घातक नबनाई दिनुस् ।