मोदीले यसरी मनाए साउने सोमबार, चौथौ कसरी मनाउलान्

काठमाडौं । भारतीय प्रधानमन्त्री  नरेन्द्र मोदीले साउनका सबै चारवटै सोमबार नयाँ दूरगामी महत्वका निर्णय गरेर मनाउने भएका छन् । मोदीले यसअघिका तीनवटा सोमबार भारत र अन्तर्राष्ट्रिय राजनीतिमै तरंग ल्याउने तीन निर्णय गरिसकेका छन् । 

अब साउनको एकमात्र सोमबार बाँकी छ । यो अन्तिम चौथो सोमबार पनि मोदी सरकारले यस्तै गम्भीर महत्व राख्ने कुनै एक निर्णय गर्न लागेको एक उच्च समाचार सूत्रले बताएको छ ।

भारतीय जनता पार्टी दोस्रो पटक बलवान भएर सत्तामा आएपछि भारत र दक्षिण एशियाको क्षेत्रीय राजनीतिमा कुनै नयाँ परिस्थिति उत्पन्न हुनसक्ने राजनीतिका पण्डितहरुले आँकलन गरिरहेका थिए । 

वैदिक सनातन हिन्दू धर्म संस्कृतिका कट्टर अनुयायी प्रधानमन्त्री मोदीले आराध्यदेव शिवको महिना साउनको पहिलो सोमबार अन्तरिक्षमा भू–उपग्रह पठाएर मनाए । 

दोस्रो सोमबार पनि मोदीले तलाक सम्बन्धी कानूनमा संशोधन गरी नयाँ निर्णय गरे,जसले भारतीय समाजमा निकै चर्चा पायो । 

यसैगरी तेस्रो सोमबार गरिएको निर्णयले त भारत मात्र होईन विश्व राजनीतिमै तरंग उत्पन्न गरिदियो । यो अझै थामिएको छैन । जम्मु कश्मिरलाई केन्द्रीय शासन अन्तर्गत ल्याउनेगरी गरिएको यो निर्णयको दूरगामी प्रभाव रहने विश्लेषण गरिँदैछ ।

समाचार सूत्रका अनुसार, आगामी सोमबार पनि मोदीले धर्म सम्बन्धी कुनै महत्वपूर्ण निर्णय लिँदैछन् । जसले भारतमात्र होइन नेपाललाई समेत असर पुग्ने छ । 

भारतीय जनता पार्टीका वरिष्ठ नेता सुब्रमन्यम स्वामीले केही दिन अघि काठमाडौंमा आएर भारत नेपालमा वैदिक सनातन हिन्दू धर्म पुनस्थापना भएको हेर्न चाहन्छ भनी स्पष्ट भनेका थिए । 

स्वामी भन्दा अघि काठमाडौं आएका गुप्तर संस्थाका प्रमुखले त सत्तारुढ दलका नेताहरुसँग यही बिषयमा गम्भीर वार्ता गरेका समाचार प्रकाशमा आईरहेका छन् । (फायल तस्बिर: प्रधानमन्त्री मोदीले भारतमा आमनिर्वाचन सकिए लगत्तै गुफा पसेर ध्यान गरेका थिए ।)