बन्दैछ नेपाली मिनी पानीजहाज


हरेक नेपालीको आफनै देशमा पानीजहाज चढ्ने सपना अब पूरा हुन भएको छ । सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै नारायणी नदीमा नेपालमा पहिलो पटक रिभर क्रुजसिप (मिनी पानीजहाज) सञ्चालनमा आउने भएको छ । करिब ३७ करोडको लगानीमा राइनो वाटर ईन्टरटेन्मेट प्रा.लि ले भरतपुर १६ मा रहेको ज्ञानेश्वर सामुदायिक बनको काभ्रेघाटमा निर्माण गरिरहेको रिभर क्रुज दशैं अगाडि नै स्वदेशी तथा विदेशी पर्यटकहरुलाई क्रुजिङ्ग गराउने उद्देश्यले काम तिब्र गतीमा अघि बढिरहेको प्रबन्ध निर्देशक राम चन्द्र कडेंलले जानकारी दिए । 


१०० फिट लम्बाई र २५ फिट चौडाई रहने यस क्रुजमा एकपटकमा २०० जनालाई सेवा दिन क्रुजको भुइँतला वातावरण अनुकूलित हुनेछ भने माथिल्लो तला खुला रहनेछ । काभ्रेघाटदेखि शुरु यात्रा देवघाट पुगेर गोलाघाटसम्म २५ किलोमिटरको दूरी रहेको यो जलयात्रामा पर्यटकहरु बाटोमा रहेको जनावर, पंछीहरु तथा अन्य रमाइला दृश्यअवलोकन गर्न सकिन्छ । प्रत्येक क्रुजिङ करीब तीन घण्टाको हुनेछ । क्रुजमा बिहानको ब्रेकफाष्ट खाँदै नदीमा सयर गर्न चाहनेहरुले ब्रेकफाष्ट क्रुजको मज्जा लिनेछन् । अपराह्न खानानै क्रुजमा खाँदै रमाउन चाहनेका लागि लञ्च नै क्रुजमा हुनेछ र साँझमा डिनर क्रुज हुने कँडेलले बताउनुभयो । क्रुजलाई तीन सिफ्टमा सन्चालन गरिने छ । 


क्रुज निर्माण गत वर्षको चैतबाट थालिएको हो । यो निर्माणका लागि १५ फिट गहिरो पोखरी निर्माण गरिएको छ । क्रुजको अघिल्लो भागमा एकसिङ्गे गैँडाको टाउको आकृति हुनेछ । क्रुज र सेवाग्राहीको सुरक्षा तथा बातावरणिय संरक्षणमा बिशेष साबधानी अपनाउदै निर्माण कार्य भईरहेकोे छ । ज्ञानेश्वर सामुदायिक वनसँग २० वर्षको सम्झौता गरी क्रुज निर्माण गरिएको हो । 


हुन त नारायणी नदीमा स साना मोटरबोटहरु सञ्चालन भएपनि नेपालमा जल यातायातको सम्भाव्यतामा प्राविधिक आधार तयार पार्न समेत निर्माणाधिन रिभर क्रुजले मद्दत गर्ने कुरामा कडेंल विश्वस्त छन् । चितवनमा नै क्रुज सन्चालनमा आए पछी  नयाँ पर्यटकीय गन्तवस्थल निर्माण हुने,लाखौं पर्यटकलाई नेपाल भित्र्याउन सकिने तथा राष्ट्रकै अर्थतन्त्रमा ठुलो टेवा पुग्ने आशा गर्न सकिन्छ  ।