३५ बर्षपछि निस्किएका लाखे


साउने झरीले घरमाथिको जस्ताका छानामा तपतप पानी बर्षाइरहंदा अनुप र उनका सहयोगीहरु लाखे नाचको तयारी गर्दै थिए । ३५ बर्ष सम्म बन्द रहेको गुंला लाखे नाच यस बर्ष फेरी निस्किएर थप दिनहरु नाच्नको लागि काठमाडौंको कमलाछि नजिकै भमूलु स्थित एक घरमा केही युवा वर्ग तल्लिन थिए, कोही ड्र्म त कोही भुस्या बजाउँदै अभ्यास गर्दै थिए ।

उक्त घर कुनै संगीतकारको भन्दा कम थिएन, घरको छानामा थुप्रै बाजाहरु झुन्डिएका थिए भने भित्ताहरुमा अटाइ न अटाइ प्रमाणपत्रहरुले भरिएका थिए । नेवार समुदायमा नायः खिं बाजाको छुट्टै महत्व हुन्छ र त्यही बाजाको दुनियाको चर्चित नाम बिष्णु बहादुर खड्गीको घरबाट नै उक्त लाखे निकाल्न लागेको थियो । अनुप उनै बिष्णु बहादुरका छोरा हुन जसको मनमा अघिल्लो बर्षहरु देखि नै कैयौं बर्ष बन्द रहेको लाखे निकाल्ने र लोप हुन नदिने इच्छा जागेको थियो । तर समय परिस्थिती, आर्थिक अवस्था तथा विभिन्न कारणले सम्भव हुन सकेको थिएन ।

बिष्णु बहादुरका अनुसार करिब ६० – ७० बर्ष अघि देखि नै खड्गी समूहले गुंला लाखे नागपञ्चमी देखि कृष्ण जन्माष्टमी सम्म नचाइने गरिन्थ्यो, उनी आफैं पनि धेरै पटक लाखे बनेर नारायणहिटी नजिकै राणाका दरवारहरु गएको स्मरण गर्छन। लाखे निकाल्ने परिवारको सदस्यहरुको मृत्यू पश्चात केही बर्ष बागबजार त कहिले धोबिचौरबाट पनि निकालेको उनी बताउंछन । आर्थिक भार र नाच निकाल्न चाहिने जनशक्तिको समूहका कारण पनि विस्तारै लाखे नाच बन्द हुदैं गएको हुन सक्ने कुरामा दुई मत छैन ।



तर यो बर्ष अनुपले साथीभाइहरुको सहयोगमा ललितपूरबाट मुकुट किनेर तान्त्रिक पूजा विधि पछि आठ जनाको समूहले करिब एक महिना नाच प्रशिक्षण गरि पुन लाखे नाचले गुंला महिनाभरि काठमाडौं गुञ्जायमन गर्नु आफैमा उदाहरणीय कार्यको थालनी हो । त्यसो त गुंला महिनाभरि नै उपत्यका लगायत देशको विभिन्न भागमा लाखे नाच निकाल्ने गरिन्छ , कहिं गठेमङ्घलको अवसरमा त कहिं गाइजात्रामा तर यस पटक काठमाडौंका गल्लीहरुमा अनायासै लाखे नाच देख्दा पूजागर्ने, पैसा दिने, फोटो भिडियो खिज्ने तथा कसैलाई टिकटकमा राख्न नि भ्याइ न भ्याइ थियो ।

यो बर्ष पूजाका लागि आह्वान गरिएका ठाउँहरुमा नाच देखाउन गएको भएता पनि अरु ठाउँहरुबाट बोलावट आए नाच्न जाने तयारी छ । यस बर्ष कोभिड,मौसम र आर्थिक खर्चका कारण हरेक दिन नाच निकाल्न नसकेकोमा अनुप अलि दुःखी देखिन्छन । कसै कसैले फगत मनोरञ्जनको ढोंगले निकालिएको लाखे भने पनि बुबा बाजे देखि चल्दै आएको संस्कृति लोप हुन नदिन आफैं अग्रसर भएकोमा गर्व पनि गर्छन अनुप र आगामी बर्षहरुमा निरन्तरताको लागि पनि द्दढ छन । कारण जे होस उपत्यकावासीले ३५ बर्ष सम्म बिर्सेको भिन्न लाखे नाच एक युवाको आँट र जोशले फेरी महसुस गर्न पाएको तथा उनको कला र संस्कृति प्रतिको लगावलाई सम्मान छ ।

शब्द / तस्विर : सुनिल शर्मा