बार्सिलोनालाई सान्चेसको चुनौती

एजेन्सी । इन्टर मिलानका एलेक्सिस सान्चेसले बार्सिलोनासँगको प्रतिस्पर्धा हेर्न लायक हुने बताएका छन् । भर्खरै म्यान्चेस्टर युनायटेडबाट इन्टर मिलानमा आएका उनले च्याम्पियन्स लिग अन्तर्गत समूह चरणमा हुने खेलहरुमा मिलानले बार्सिलोनालाई चुनौती दिने बताएका छन् ।

भर्खरै सार्वजनिक भएको च्याम्पियन्स लिगको समूह चरणको खेलहरुमा मिलान र बार्सिलोना एउटै समूह ‘एफ’ मा रहेका छन् । च्याम्पियन्स लिगको समूह एफमा बार्सिलोना, इन्टर मिलान, ब्रोसिया डर्टमण्ड र शाल्भिया प्रहा रहेका छन् । मिलानले बार्सिलोनासँग च्याम्पियन्स लिगको दोस्रो खेलमा क्याम्प नउमा प्रतिस्पर्धा गर्दैछ । मिलान र बार्सिलोनाबीचको खेल अक्टोबर ३ तारिखमा हुनेछ ।

बार्सिलोनाका पूर्व खेलाडी साञ्चेसले क्याम्प नउमा ३ वर्ष बिताएका थिए । उनले बार्सिलोनाका लागि सबैखाले प्रतियोगितामा गरि ६ ट्रफी जिताएका थिए । “बार्सिलोनाविरुद्ध खेल्न पाउँदा मलाई विशेष अवसरझैं लाग्छ । मैले त्यहाँ धेरै खेल खेलेको छु । बार्सिलोनाको टिम निकै राम्रो छ । उनीहरुविरुद्ध भिड्न गाह्रो त हुन्छ नै तर हामीले हाम्रो क्लबमा विश्वास गर्नुपर्छ । हामीसँग बार्सिलोनालाई पराजित गर्ने क्षमता छ,” साञ्चेसले भने ।

३० वर्षीय सान्चेसले आफूले नयाँ क्लबमा आएर च्याम्पियन्स लिगको ट्रफी जिताउने योजना भएको बताएका छन् । उनले मिलानलाई घरेलु लिग जिताउने पनि उत्कृष्ट प्रदर्शन गर्ने बताए । “म क्लबमा धेरै खेल्न चाहन्छु । मैले टिममा फिट हुुन खोजिरहेको छु । म इन्टर मिलानमा केही  जित्न चाहन्छु र त्यसको लागि मलाई टिममेटहरुसँग मिलेर भिड्नुपर्छ । पूरै टिमले उत्कृष्ट प्रदर्शन गरेमा असम्भव भन्ने केही छैन,” साञ्चेसले भने ।