नेपाल २ सय ८ रनको फराकिलो अन्तरले पराजित

काठमाडौँ । ईङ्ल्याण्डको मेरिलेबोन क्रिकेट क्लब एमसीसी सँगको तीन दिवसीय (फस्टक्लास) क्रिकेटमा नेपाल २ सय ८ रनको फराकिलो अन्तरले पराजित भएको छ । ब्याटिङमा अनुभवको कमी देखिँदा नेपालले फराकिलो हार ब्यहोरेको हो ।

टियु क्रिकेट मैदानमा शुक्रबार एमसीसीले दिएको ३ सय ९३ रनको फराकिलो लक्ष्य पछ्याएको नेपाल ४० ओभर ३ बलमा अलआउट भयो । नेपालले १ सय ८४ रनमा सबै विकेट गुमाउन पुग्यो ।

लन्च ब्रेकस अघि ९ ओभरमा १ विकेट गुमाएर ५१ रन बनाएको नेपालले टी ब्रेक अघि  ८ विकेट गुमाएको थियो । ८ विकेट गुमाउँदा नेपालको स्कोर  १ सय ४४ रन मात्र थियो ।  त्यसपछि थप ४० रन जोड्दा नेपालले बाँकि दुई विकेट गुमायो ।
नेपालका लागि दोस्रो इनिङमा सोमपाल कामीले ५१ रनको अर्धशतकीय पारि खेले ।

यस्तै राजु रिजालले ३१, सन्दीप लामिछानेले २५ रन जोडे । सन्दिपको प्रदर्शन दुबै इनिङमा दमदार रहयो । यस्तै आरिफ शेख १९ रनमा आउट हुँदा करण केसीले १८ रन बनाए । शरद भेषवाकरले १४  तथा कप्तान ज्ञानेन्द्र मल्लले ६ रन बनाए । आज दिपेन्द्र सिंह ऐरी, पवन सर्राफ र विनोद भण्डारीले खाता खोल्न सकेनन् ।

यसअघि एमसिसिले दोस्रो इनिङ्सको पहिलो सेसनमा ३६ ओभरमा ६ विकेट गुमाएर १८१ रन जोडेपछि  इनिङ्स समाप्तिको घोषणा गरेको थियो । एमसीसीका लागि दोस्रो इनिङ्समा बिली गोडलम्यानलाई ३९ , टम वेस्ट्लीले ३४ तथा एड योङले ३१ रन बनाए ।

नेपालका करण केसीले ३ विकेट लिए । यस्तै सोमपाल कामी, ललित नारायण राजवंशी र पवन सरार्फले १–१ विकेट लिए । यसअघि एमसीसीले पहिलो इनिङ्समा ३ सय ६४ रन बनाएको थियो । एमसीसीका विल रोड्स ७३ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए ।  विल भान्डेर्सपारले ५३ र मिल्स हाम्मोन्डले ५२ रनको अर्धशतकीय इनिङ्स खेले । यासिर अराफाट ६५ रनमा अविजित रहे । पहिलो इनिङमा नेपालका सन्दीप लामिछाने र करण केसीले ३–३ विकेट लिए । यस्तै सोमपाल कामी र शरद भेषवाकरले २–२ विकेट लिए ।

यस्तै पहिलो इनिङमा पनि नेपालले निकै कमजोर ब्याटिङ गर्दै मात्र १ सय ५३ रन बनाएको थियो । १ पहिलो इनिङ्समा नेपाल ४४ ओभर ४ बलमा १५३ रन जोड्दा अलआउट भएको थियो ।

नेपालले करिब १४ वर्षपछि घरेलु मैदानमा फस्ट क्लास क्रिकेट खेलको हो ।
अब नेपालले एमसीसीसँग टी–ट्वान्टी  खेल्नेछ । यसअघि भएको एकदिवसीयमा नेपालले एमसीसीलाई ५ विकेटले हराएको थियो भने यु १९ सँग भएको एक दिवसीय खेलमा एमसिसि बिजयी भएको थियो ।

नेपाली क्रिकेट विकासको लागि तयार गरेको लिगेसी टुर अन्तर्गत एमसीसी टिम नेपाल आएको हुन् ।