बम बिसाउ विप्लव, मूलधारमा आउ
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई मानिसहरु अचेल ‘बाम नेता’ हैन ‘बम नेता’ भन्न थालेका छन् ।
अचेल कुनै न कुनै स्थानमा विप्लवका कार्यकर्ता बम पड्काइरहेका छन् । पहाडी र ग्रामीण इलाकाका जनतामा बम आतंक छाएको छ । प्रचण्डले क्रान्तिलाई धोखा दिएको भन्दै विप्लवका कार्यकता ‘बम क्रान्ति’ गरिरहेका छन् । यो बम क्रान्तिको राजनीतिक उद्देश्य के हो ? किन विप्लव यसो गरिरहेका छन्, त्यो आफंैमा अन्यौलपूर्ण बिषय छ । अहिलेसम्मको श्रृंखला हेर्दा जनतामा भय र आतंक सिर्जना गर्नु र यही बहानामा फेरि देशमा हिंसात्मक द्वन्द चर्काउनु नै बम विष्फोटनको एक मात्र उद्देश्य देखिन्छ ।
विप्लवको यस्तो हर्कत पुरापुर जनविरोधी देखिन्छ । दशक लामो हिंसात्मक श्रृंखला बेहोरीसकेका कोही पनि जुनसुकै नारा र उदेश्यका लागि हिंसा स्वीकार्न तयार छैनन् । सिंगो जनमत हिंसाको विपक्षमा छ । नयाँ संविधानप्रति असन्तुष्ट शक्तिहरुसमेत हाललाई यही संविधानलाई सहमति र समझदारीको मिलनविन्दु बनाउँदै अघि बढ्न तयार छन् । संविधान संशोधनका अनेक माग पुरा नभए चुनाव हुन दिन्नौं भन्दै आएका महन्थ ठाकुर र राजेन्द्र महतोलगायतका मधेशी दलहरु सबै असन्तुष्टी थाँती राखेर जनताको घरदैलोमा मत माग्न पुगेका थिए, गत निर्वाचनमा ।
‘संघीयताले देश टुक्रिन्छ’ भन्दै कुर्लीने चित्रहादुर केसीले पनि संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने चुनावमा सहजै भाग लिएका थिए ।
हिन्दू राष्ट्र र राजतन्त्रको दुहाइ दिइरहेका कमल थापालाई पनि राजनीतिको रोटी सेक्न त्यही ‘चुनावकै चुल्हो’ स्वीकार भएको थियो । हुँदाहुँदा ‘यो पुँजीवादी व्यवस्थाको अन्त्य नभएसम्म मुलुकको भलो हुँदैन’ भन्दै आएका नारायणमान विजुक्छे रोहितले समेत २०४६ साल यता हरेक चुनावमा सहभागिता जनाउँदै आएका छन् ।
राजनीतिमा निर्णायक भनेका जनता हुन् र जनमतको कदर गर्नु राजनीतिक दल र नेताको धर्म हो । सके आफ्नो बिचारमा जनतालाई गोलबन्द गर्ने हो, नसके बहुमत बिचार र पद्धतिलाई आत्मसात गर्ने हो । हामीले २००७ सालमै भन्यौं, जनताले आफ्नो संविधान आफैं बनाउन पाउनुपर्छ । तीस वर्षसम्म त्यो मौका मिलेन । अन्ततः संविधानसभामार्फत नेपाली जनताले त्यो मौका पाए । सत्तरी वर्षदेखिको सपना पुरा भयो ।
संविधान भनेको राजनीतिक सहमतिको दस्तावेज हो । यही कारण यो संविधान न त नेपाली कांग्रेसले मात्र भनेजस्तो बन्यो, न एमालेले चाहेजस्तो बन्यो । न माओवादीले सोचेजस्तो बन्यो, न राजाबादीहरुले भनेजस्तो भयो । दुइ–दुइपटकको संविधानसभाको रस्साकस्सीपछि र २०७२ सालको महाभूकम्पको त्रासदीले नेताहरुको बुद्धिको बिर्को खोलिदिएपछि आमसहमतिको दस्तावेजका रुपमा यो संविधान आएको हो ।
सामाजिक न्यायमूलक, लोककल्याणकारी र सहभागितामूलक लोकतन्त्र । नेपालमा हालसम्म भएका क्रान्तिको राजनीतिक निश्कर्ष नै यही हो । अब यही मोडेल अनुसार हामी सबै आर्थिक समृद्धिको दिशामा लम्कने हो ।
विप्लवले बुझ्नुपर्छ, आजको पुस्ता कहिले केरुङबाट काठमाडौंमा रेल आउला र त्यो रेल चढेर पोखरा, लुम्बिनी हुँदै दिल्ली पुगौंला भनेर प्रतिक्षा गरीरहेको छ । नाती पुस्तामा यो देश स्वीजरल्याण्ड होला भनेर आजको पुस्ता चित्त बुझाएर बस्नेवाला छैन । यही कारण आजको पुस्ता कार खोजीरहेको छ, क्रान्ति या हिंसात्मक विद्रोह हैन । एउटा अकाट्य सत्य के हो भने, संसारको कुनै पनि संविधान सर्वस्वीकृत हुँदैन । संविधानप्रति कसै न कसैको बिमति त भइहाल्छ । तर, त्यो विमतिले देशको बिकास, समृद्धी र अग्रगतिको बाटो रोक्दैन र रोक्नु हुँदैन ।
नेत्रविक्रम चन्द ‘विप्लव’का गतिविधिले सात सालदेखि जनताले चलाउँदै आएको बाम–लोकतान्त्रिक संघर्ष, उनकै सक्रिय सहभागितामा भएको ‘जनयुद्ध’ र पछिल्लो लोकतान्त्रिक जनआन्दोलनबाट प्राप्त जनअधिकारलाई संस्थागत गर्ने प्रकृयामा बाधा पु¥याइरहेको छ । आखिर उनी किन त्यसो गरिरहेका छन् ? बहुमत जनताले रोजेको र चाहेको दिशामा मुलुक अघि बढिरहँदा त्यसमा भाँजो हाल्नुको उद्देश्य के हो ?
कहिलेकाहीँ राजनीतिक स्पेश बनाउन पनि यसखालका गतिविधि हुनेगर्छन् । विप्लवलाई अहिलेको मूलधारमा समेट्न नसक्नु केपी ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरुको कमजोरी पनि हो । साथै विप्लवको उग्र आवेग र माओवादी धङधङीको प्रतिफल पनि हुनुपर्छ । चर्को क्रान्तिकारी कुरा गरेर समाजमा एकखालको दवदवा बनाउने चाहनाले पनि उनलाई अहिलेको विध्वंशात्मक बाटोतर्फ होमेको हुनसक्छ ।
बरालिएको प्रतिभा
विप्लव यो देशलाई माया गर्ने तमाम युवाहरुकै पंक्तिमा पर्छन् । २०५२ सालमा माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा उनी पनि विद्रोहमा होमिएका थिए । त्यो विद्रोहको बाटो उचित थियो या थिएन भन्ने बहस गर्ने बेला पनि अब घर्किसकेको छ । अब मुलुक नयाँ चरणमा प्रवेश गरिसकेको छ । विद्रोह भइरहँदा विप्लव एक जुझारु नेता, बिचारले प्रशिक्षित, कुशल संगठक र लोकप्रिय व्यक्तित्व मानिन्थे । कुनैबेला उनी अध्यक्ष प्रचण्डका अति प्रिय र दाहिने हात झैं थिए ।
शान्ति प्रकृया प्रारम्भ भइसकेपछि सायद प्रचण्डको निकटमा वर्षमान पुन अनन्त, जनार्दन शर्मा प्रभाकर र नन्दकिशोर पुन पासाङलगायतका नेताहरु पुगे । विप्लवमा बिचारशील क्षमता पनि भएकाले उनको बैचारिक चेतलाई टक्कर दिन नसक्नेहरु विप्लवलाई आफ्नो प्रतिद्वन्द्वी नै ठान्थे । शान्ति प्रकृया प्रारम्भ भइसकेपछि निश्चय नै माओवादीमा सुविधाभोगी प्रवृत्ति बढ्यो । क्रान्तिकारी नारा दिनेहरु सत्ता, पद, पैसा, ठेक्का–पट्टा र अनेक प्रलोभनको पछाडि दौडिए । सहकर्मी कृष्णबहादुर महरा उच्च आशनबाट नैतिक पतनको खाडलमा जाकिएको पनि विप्लवले देखे । सत्ता र शक्तिको त्यो जोडघटाउमा विप्लव धेरै पछि परे ।
प्रचण्डका पनि गुरु मोहन बैद्य र डा. बाबुराम भट्टराईसमेत एउटै पार्टीमा अट्न नसकेपछि विप्लव सामु पार्टीभित्रै विद्रोह गर्नुको विकल्प थिएन सायद । त्यसैले उनले सुरुमा प्रचण्डसँग विद्रोह गरे, पछि वैद्यसँग पनि विद्रोह गरे । यसरी मूलधारको राजनीतिभन्दा अलि ‘विद्रोही नेता’ को छवि उनले बनाए । यो छविलाई जनमानसमा कायम राख्ने चुनौति उनका सामु थियो । त्यसैले कहिले उनले गोदाममा छापा मारेर लुकाइएका ग्यास सिलिण्डर खोसे भने कहिले बोर्डिङ स्कुल र कलेजहरुमा हाटहुट गरे ।
बम हैन, बिकास
मुलुक निर्माणको दिशामा अघि बढेको छ, तर विप्लवजस्ता जुझारु र बौद्धिक प्रतिभा ध्वंशात्मक बाटोतर्फ अग्रसर छन् । आम जनताको गुनासो विप्लवप्रति पटक्कै छैन, किनकी उनी असल मानिस हुन् भन्ने सबैलाई थाहा छ, तर जनताको चाहना छ, उनी मूलधारमा आउन् । एउटा प्रतिभा यसरी बरालिएको जनतालाई पटक्कै मन परिरहेको छैन । ढिलो चाँडो विप्लव पनि मुलुकको समृद्धिको यो अभियानमा आफ्ना फरक बिचार राख्दै समाहित हुनुपर्छ ।
किनकी, उनको नेतृत्वमा मुलुकमा ठूलै क्रान्ति हुने सम्भावना छैन । कुनै पनि क्रान्ति सम्पन्न हुनका लागि ठूलै जनमतको साथ हुनुपर्छ । अहिले कांग्रेस, नेकपा, मधेशबादी, राजावादीदेखि संघीयताविरोधी जनमतसमेत यही संविधान मानेर अघि बढ्न चाहिरहेको प्रष्ट छ ।
न त अहिले नेपालमा कुनै क्रान्ति हुने अवस्था छ, न त्यसको खाँचो नै छ । अनि न अन्तर्राष्ट्रिय परिस्थिति त्यस अनुकूल छ । नेपाली जनता अब राजनीतिक बहस हैन, मुलुकको समृद्धि चाहन्छन् । नयाँ संविधानले लोकतान्त्रिक, समानुपातिक, समावेशी र सहभागितामूलक ढंगले सबैलाई आफ्नो अधिकार उपभोग गर्नपाउने अधिकार दिएको छ । अब मुलुकको एकमात्र एजेण्डा भनेको आर्थिक समृद्धि नै हो । आर्थिक क्रान्ति हो । र, आर्थिक क्रान्ति बम हानेर हुँदैन, बम पड्काउने नै हो भने अब पहरो भत्काएर सडक बनाउन पो पड्काउनुपर्छ ।
जनता भनिरहेका छन्, ‘मूलधारमा आउ विप्लव । अहिले देशमा विध्वंश मच्चाउने बम हैन, बरु बिगतमा च्यातिएका हाम्रा सद्भाव, संवेदना र भाइचारालाई जोड्ने गमको खाँचो छ । दश वर्षसम्म तिमीले एसएलआरदेखि जिपिएमजीसम्म पड्कायौ । हजारौं मानिस मारिए । नेपाली इतिहासको त्यो दूश्चक्रको समापन भइसकेको छ । अब आउ मिलाउँ हाम्रा हातहरु । बम फाल, बिकास रोज ।’
प्रकाशको पर्व तिहारमा सबैलाई शान्ति,मैत्री र सद्भावपूर्ण मार्गमा हातेमालो गर्दै अघि बढ्ने प्रेरणा मिलोस्,मंगलमय शुभकामना !