पौराणिक कार्तिक नाच (फोटो फिचर )


ललितपुरको मङ्गलबजारस्थित कार्तिक डवलीमा सिद्धि नरसिंह मल्लको पालादेखि नचाइँदै आएको ३७३ वर्षपुरानो साँस्कृतिक कार्तिक नाच यस बर्ष सम्पन्न भएको छ ।

राजा सिद्धिनरसिंह मल्लले शुरु गरेको यो नाचलाई संसारकै लामो नाट्य परम्पराको रुपमा लिने गरिन्छ । सिद्धिनरसिंह मल्लले कृष्णलीलामा आधारित नाचहरु प्रदर्शन गरी एक साता चलाएको र उनका छोरा श्रीनिवास मल्लले लोक नाटकहरु थपेर १५ दिन र्पुयाएको बताइन्छ । श्रीनिवास मल्लका छोरा योगनरेन्द्र मल्लले शास्त्रीय नाचहरु थपी एक महिना सम्म प्रदर्शन गर्ने परम्परा बसालेको इतिहासमा उल्लेख छ ।

प्रत्येक दिन कार्तिक नाचमा नृसिंह अवतार, हिरण्यकश्यपु वध, वराह अवतार, बौद्ध अवतारलगायत धार्मिकग्रन्थका पात्रहरू प्रस्तुत गरिन्छ । कार्तिक नाच प्रवन्ध समितिले जनाएअनुसार, बाःथ प्याखँ, कौलाखिचा, दाजुपिं मियेगु, महामूख युद्धकला, शितज्वर, विष्मज्वर, कृष्ण, महादेव, देवी प्याखँ, द्योला, ख्याः कवं, भैरव, कुमारी, महालक्ष्मी, जलशयण, मधु कैटववध, हिरण्याक्ष वध, वस्त्रहरण लीला प्रस्तुत गरिएको छ । मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले हरेक वर्षकार्तिक महिनामा नृसिँह नाचका रूपमा पाटन दरबारको पश्चिममा रहेको डबलीमा देखाउने गरेकाले यसलाई कात्तिक नाच भनिएको बताइन्छ ।

विक्रम सम्वत् १६९७ मा राजा सिद्धिनरसिंह मल्लले आफ्ना गुरु तथा ज्योतिषहरूको सल्लाहअनुसार देश तथा जनताको कल्याणका लागि कात्तिक महिना पारेर सो नाच चलाएका थिए । यो वर्ष १२ दिन प्रस्तुत गरिएको कार्तिक नाच आगामी भ्रमण वर्ष २०२० लाई लक्षित गरि २७ दिन नै कार्तिक नाच संरक्षण समितीले देखाउने तयारीका साथ विदा भएकोे छ ।