नेपाल बङ्गलादेशसँग पराजित
काठमाडौँ, २ मङ्सिर : बङ्गलादेशमा जारी एसिसी इमर्जिङ टिम्स एशिया कप क्रिकेट प्रतियोगितामा नेपाल घरेलु टोली बङ्गलादेशसँग पराजित भएको छ । ढाकास्थित साभार क्रिकेट मैदानमा आज भएको समूह चरणको खेलमा नेपाल बङ्गलादेशसँग आठ विकेटले पराजित भएको हो । नेपालले दिएको १३९ रनको लक्ष्यलाई बङ्गलादेशले २४ ओभरमा दुई विकेट गुमाउँदै भेट्टायो ।
यस जितसँगै लगातार तेस्रो जित निकालेको बङ्गलादेश समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । यसअघि बङ्गलादेशले हङकङ र भारतलाई पराजित गरेको थियो । बङ्गलादेशको जितमा नजमोल हुसेनले सर्वाधिक ५९ रनको योगदान दिए । छपन्न बल खेल्दै उनले दुई छक्का र छ चौका प्रहार गर्दै अविजित ५९ रनको योगदान दिएका हुन् ।
त्यस्तै बङ्गलादेशका अर्का ब्याट्सम्यान मोहमद्द नाइमले ४५, यसिर अलीले १८ तथा सोम्य सरकारले ११ रनको योगदान दिए । बलिङतर्फ नेपालका सोमपाल कामी र सुसन भारीले समान एक÷एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले ४४ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १३८ रनमा समेटिएको थियो । नेपालका लागि सोमपाल कामीबाहेक अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् । सोमपालले सर्वाधिक ३८ रनको योगदान दिए । उनले ६३ बलमा ४ चौकासहित ३८ रन बनाएका हुन् ।
त्यस्तै ज्ञानेन्द्र मल्लले २२ रन जोड्दा करण केसीले १८ रन जोडे । कुशल भुर्तेलले १०, करण केसीले १८, आरिफ शेखले ११, पवन सरार्फले नौ, विनोद भण्डारीले आठ, उपकप्तान दीपेन्द्र सिंह एरीले छ तथा शरद भेषवकरले एक रन जोडे ।
बलिङतर्फ बङ्गलादेशका सैयद मिन्हाजुल आबेदिन र सुमन खानले समान ३÷३ विकेट लिए भने तनवीर सिंह र मेहदी हसनले दुई÷दुई विकेट लिए । हारसँगै नेपालको सेमिफाइनलमा पुग्ने सम्भावना भने न्यून भएको छ । यसअघि बिहीबार भएको पहिलो खेलमा नेपाल भारतसँग सात विकेटले पराजित भएको थियो भने शनिबार भएको दोस्रो खेलमा नेपालले हङकङलाई ४० रनले पराजित गरेको थियो ।
विभिन्न आठ राष्ट्र सहभागी उक्त प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा भारत, बङ्गलादेश र हङकङ छन् । यस्तै समूह ‘ए’ मा श्रीलङ्का, पाकिस्तान, ओमान र अफगानिस्तान रहेका छन् । समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । (रासस)