गढीमाइ मेलाको महिमा

गढीमाई मन्दिर बाराको महागढीमाई नगरपालिका अन्तर्गत बरियारपुर गाउँमा पर्छ । तराईमधेस क्षेत्रको विश्व प्रसिद्ध शक्तिपीठ हो । बारा जिल्लाको सदरमुकाम कलैया नगरपालिकाबाट झण्डै आठ किलोमिटर पूर्व बरियारपुरस्थित गढीमाईको मेला हरेक पाँच–पाँच वर्षमा मंसिर शुक्ल सप्तमीदेखि आरम्भ हुन्छ ।

मेलामा लाखौंको संख्यामा दर्शनार्थीको भिड देखिन्छ । पञ्चेबर्षे मेलामा दुई दिन पशुबली दिने कार्यक्रम हुन्छ । उक्त दिन मुख्य पूजाको दिन भएकाले भिड निकै हुन्छ । बरियारपुरदेखि कलैयासम्म गढीमाई जाने आउने भक्तजनको घुँईचो हुन्छ । गढीमाई मेला नेपालका विभिन्न स्थानबाट मात्रै नभएर भारतबाट समेत उल्लेख्य संख्यामा भक्तजन आउने गरेका छन् । सीमावर्ती सहर रक्सौल, आदापुर, घोडासहन लगायत विहार राज्यका विभिन्न स्थानबाट भक्तजन मेलामा आउने गर्दछन् । मेलामा दर्शनार्थीले पशुबली दिने गर्दछन् ।

गढीमाईमा भक्तहरूले बलि दिनुअघि पुजारीले बोका, कुखुरा, परेवा, मुसा र राँगाको पञ्चबलि दिन्छन् । पशुबली अघि नरबली दिने चलन छ । चौधरी समुदायका धामीले जिब्रो, आँखा मुनि, छाती, पाखुरा र तिघ्राबाट पाँच थोपा रगत झिकेर चढाउँछन् ।

सिमरी गाउँबाट आएका दुखा धामीले यसवर्ष मेलामा नरबली दिएको मूल पुजारी शिव चौधरीले बताए । बाराको गढीमाई मेलामा आफूले भाकल गरेको र मनोकामना पूरा भएको भन्दै नेपाल र भारतका विभिन्न ठाउँबाट राँगा, बोका तथा परेवा बलि दिनका लागि हजारौँ सङ्ख्यामा भक्तजन मेला स्थलमा पुग्ने गर्दछन् ।