बुर्जुवा शिक्षाको पुड्के र बयर दोहोऱ्याएर पढ्ने कि कमरेड?
सोझै निम्न माध्यमिक कक्षामा भर्ना भएकालाई त सम्झना नहोला तर जगै देखि प्राथमिक कक्षा हुँदै विद्यालय शिक्षा सकेकाहरूले एउटा कथा अझै सम्झिन्छनः पुण्टे र बयर। घैँटो भित्रका सबै बयर एकै मुट्ठिमा तान्न खोज्दा पुण्टेको हात घैँटोभित्रै अड्किन्छ ।
हाम्रा बौद्धिक पुड्केहरू पनि आवधिक निर्वाचनले राष्ट्रिय सम्पत्तिको “व्यवस्थापक” होइन “मालिक” छानेको बुझ्दैछन। र घैँटो भित्रका सबै बयर एकै पल्ट निकाल्ने र स्वस्थानीका प्रसाद आठ रोटी जस्तै श्रीमान भए श्रीमनलाई, नभए छोरा, छोरा नि नभए मित छोरा समेतलाई बटवारा लगाउने कोशिसमा छन । यो कुरा केही “औसनी-साझेदार” र “सच्चा बफादार” बाहेक आम कार्यकर्ता, आम जनता सबैले बुझि सके।
सहरमा चर्चा छ बाघको छालामा स्यालको रजाइँको, अर्थात राजाको सम्पत्तिमा यतीको रजाइँको र यतीका मित बाको उदार मनको। दुई चार दिनका अखबार हेर्ने हो भने देश समानान्तर रुपमा “यती”ले “होल्ड” गरेको छर्लङ्गै भएको छ, “यती होल्डिङ्ग”कै रुपमा। राजाको सम्पत्ति, देउताको सम्पत्ति, जनताको सम्पत्ति कुनैको भोग चलन “यती”ले मलाई यतिले पुग्यो अरूलाई पनि देऊ नभनी अरूको भोग चलनमा जानेवाला छैन, गएको पनि देखिएन।
अखवारहरूले बलियो प्रमाण सहित पस्केका समाचार हेर्नुस तः
सगरमाथा निकुञ्जको ठूलो अंश माओवादी आक्रमणमा मारिएका मालपोत अधिकृतको किर्ते कागजबाट “यती”कोमा गयो, अख्तियारले खोज्यो अदालतले ” तँ को होस सम्पत्ति कसको हो भनेर छुट्याउने?” भन्ने जबाफ दियो, “यती” मालिक बन्यो।
गोकर्ण धन्न “आङ्ग छिरिङ्ग शेर्पाका पनातीसम्म अरूले दावी गर्न नपाउने” भन्ने लाल सरकारको लालमोहोर सहित चाहिँ गएनछ, छ वर्ष बाँकि हुंदै दिर्घ जीवन पाएछ, मर्न समेत कानूनी रुपमा नपाउने गरी। लुम्बिनीको होड्केमा पहिल्यै “टोड्के” (आँखा) लगाईसक्या रैछ, घुमाउरो पाराले सबै लिएकै रैछ। पोखराको ताल छेऊको हिमा गृहमा आँखा लगाएको त मलाई नै थाहा थियो। रत्न मन्दिरको कथा अलग्गै रैछ, भर्खरै बाहिर आयो। पाथिभरा माईकोमा जान सहज बनाउने रज्जुमार्गको खेल भर्खरै सुनियो। राजदरवार भित्रको सवै भन्दा ठूलो कोठा देखि राजदरवारको आँगनको सबै भन्दा ठूलो चोक्टा सम्म “यती”ले पुग्यो नभनी अरूको हुने कुरै भएन। पार्टी अफिस बसेको घर त “ट्रस्ट” भएको दललाई नै दिनु पर्यो, नत्र के हो के हो?
चीनसङ्गको हवाई सम्झौतामा सरकारी ध्वजाबाहक भन्दा हिमालयन एयरलाइन्स किन प्राथमिकतामा पऱ्यो भन्ने सवै छर्लङ्ग भयो, बेइजिङ्ग उडानको अनुमति किन नेवानि भन्दा पहिले यसले पायो भन्ने कथा थप चाख लाग्दो छ, रिटायर्ड भएपछि कर्मचारीले सुनाउने छन। अझै चाख लाग्दो कुरा त के छ भने हिमालयनमा ५०% भन्दा बढि लगानी चीनकै छ, उसैको देशमा नेपाली जहाज भनेर उडान स्लट लिएको छ, त्यो पनि सरकारी भन्दा अघि उछिनेर। वाइड-बडीको चर्चा सेलाएको छ। ठूलो आर्थिक लेनदेन हुन नपाए पनि नेपालबाट त्यस्तो जहाज लिने सेटिङ्ग मिलाउने को हो भन्ने कुरा सुने सवै आश्चर्यमा पर्ने छन। त्यसमा “यती” कुनै तरीकाले संलग्न छ कि छैन पछि खुल्ने नै छ। अझै डरलाग्दो त सुरक्षण मुद्रणको कथा छ। अहिले आइडी कार्ड मात्रै छाप्छ अर्को सालदेखि बैंक नोट छाप्न थाल्छ ।
खोतल्यो भने राष्ट्रवादी अडानका कारण चर्चित हाम्रा वर्तमान शासकले राष्ट्रिय सम्पत्तिको संरक्षणमा बडो बुद्धिमतापूर्ण निर्णय गरेको व्याख्या गर्ने ठाउँ रैछन। सम्पत्ति जत्ति लगेर थामसेर्कुमा लुकाएपछि भारततिरबाट अतिक्रमण हुने डर भएन, चीन तिरबाट त्यता त्यति सहज बाटो छैन। अव अर्थ मन्त्रालय र सेनाका खर-खजाना बाँकि रैछन अरू सबै थामसेर्कु तिर लगेर गार्धन भै सकेका रहेछन।
हो, “यती”लाई यति नै दिनु पर्छ र यो भन्दा बढि दिनु भन्ने कतै सीमा छैन। यतीले यति पायो अव याकले यति पाउनु पर्छ भन्ने तर्कमा पनि कुनै आधार छैन। तर यतीले यति कसरी पायो भन्ने प्रश्नको जबाफ जनताले पाउनु पर्छ, जनताका प्रतिनिधिको संस्था संसदले चाहिँ पाउनु पर्छ, यदि वर्तमान शासकले आफूलाई “जननिर्वाचित” भन्छन भने।
कुनै नीति बनाउँदा “मितछोरा”लाई मात्रै मिल्ने गरी बनाईएको छ भने नीतिगत भ्रष्टाचार हो। प्रतिस्पर्धा नगराईकन “मितछोरा”लाई दिएको छ भने आर्थिक लेनदेन नभएपनि आर्थिक भ्रष्टाचार हो, सोझै तोकेर फलानालाई दिने भनेको छ भने त झन महा-भ्रष्टाचार हो । यो महा-भ्रष्टाचारका यथेस्ट प्रमाण बजारमा आइसके पछि कागज नबोले पनि दुनियाँ बोलि सक्यो।
प्रधानमन्त्रि ज्यू ! आफ्ना जैबिक सन्तान नभएकाले तपाइँ भ्रष्टाचारमा लिप्त हुने सम्भावना छैन भन्ने आम बुझाई हो। अहिले पनि मलाई तपाइँ आफैँ पाँच पैसोमा ऱ्याल चुहाउँदै हुनुहुन्छ भन्नेमा रत्तिभर विश्वास छैन तर तपाइँका मितछोरा “पुण्टे”को घैँटोमा हात अड्किई सक्यो । सबै एकै पल्ट गमर्क्याउँन खोज्दा हात अड्किन्छ, विस्तार-विस्तार तान भनि दिन सक्नु हुन्थ्यो कि? उसले मितबा को बाहेक सुझाव मान्दैन।