नेपाल भ्रमण वर्ष स्वागत गर्दै हात्ती महोत्सव

चितवनको सौराहामा प्रत्येक वर्ष आयोजना हुँदै आएको हात्ती महोत्सव यस वर्ष पुस १० गते १८ गतेसम्म ९ दिनसम्म अंँग्रेजी नयांँ वर्ष र नेपाल भ्रमण वर्षलाई लक्षित गर्दै सौराहाको बाघमारा चौरमा मनाइयोे।

‘हात्ती मेरो साथी’ भन्ने मुलनाराका साथ वन्यजन्तुको संरक्षणको सन्देश दिन र हात्तीबाट खेलिने मनोरञ्जनात्मक गतिविधिबाट पर्यटकलाई आकर्षित गर्ने उद्धेश्यले आयोजित १६ औं संस्करणको हात्ती महोत्सवको उदघाटन नेकपाका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नुभएको थियो ।

१६ बर्ष अघि चितवनको पर्यटकीय नगरी सौराहामा व्यवसायीहरुले शुरु गरेका चितवन हात्ती महोत्सव चितवनको बा्रण्डको रुपमा स्थापित भएको र यस बर्ष हात्ती महोत्सवसँगै नेपाल भ्रमण वर्ष २०२० लाई पनि स्वागत गर्ने गरि मनाएको क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दिपक भट्टराईले बताए ।

जंगलको भीमकाय जनावरको रुपमा लिइने हात्तीहरु महोत्सवको अवधिभरि शान्त र सौम्य देखिन्थे । महोत्सवमा वन्यजन्तुलाई माया गर्नुपर्छ भन्ने सन्देश दिनका लागि हात्तीहरुको बनभोज, हात्ती सुन्दरी प्रतियोगिता, हात्ती पेन्टिङ जस्ता कार्यक्रमहरु समावेश गरिएको थियो । विगतका वर्षमा पशुअधिकारवादीहरुले हात्तीलाई बढी दुःख र दबाब दिएर खेलहरु खेलाइएको भन्दै विरोध गरेकाले यो वर्षदेखि हात्तीमैत्री खेललाई प्राथमिकता दिइएको थियो । महोत्सवमा हरेक बर्ष झैं हात्ती फाष्ट वाक प्रतियोगिता, हात्ती पोलो, र छावाहरुबीच रोचक फुटबल र राष्ट्रिय तथा स्थानीय कलाकारहरुको विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो ।

हात्ती महोत्सवको सन्दर्भमा यो पटक डुंगा दौड र बीच भलिबल समेत आयोजना भयो । पर्यटकको बसाई अबधि लम्ब्याउन तथा भ्रमण वर्षलाई लक्षित गर्दै यस बर्ष नौ दिन सम्म सन्चालित महोत्सव हात्तीमैत्री, पर्यटन मैत्री बनाउन सफल भएको छ ।