अनुदार देउवा र संकोची पौडेलको साँढे जुधाईमा कांग्रेस
काठमाडौं । ‘कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भन्ने चर्चित उखान यतिबेला नेपाली कांग्रेसका शीर्षस्थ नेतासँग ठ्याक्कै मिल्नपुगेको छ ।
सत्तारुढ दलको आन्तरिक सत्तासंघर्षको मारमा संसद् थिचिएको छ । संविधानले प्रदान गरेका नागरिकका मौलिक अधिकार खोस्नेगरी ऐन ल्याउन सरकारी सन्यन्त्र क्रियाशील छन् । पेशाकर्मी र सर्वसाधारण नागरिक आफ्नो अधिकारको रक्षा गर्न त्यस्ता ऐन ल्याउन नहुने र ल्याउन तयार भएका विधेयक फिर्ता गर्न माग गर्दै संगठित भैरहेका छन् ।
नागरिकका आवाज सुनेर बुझेर सरकारमाथि दवाव दिनुपर्ने प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस भने आङ कन्याएर छारो उडाउन व्यस्त छ । संसद प्रतिपक्षको हो भन्ने संसदीय मान्यताप्रति कांग्रेसका नेताको कुनै चासो न सरोकार देखिन्छ ।
दुइतिहाईको आडमा सरकार नियन्त्रित शासन चलाउन उद्यत भैरहेको छ भन्ने कुरा अब अस्पष्ट रहेन । उसका क्रियाकलापले आफैं यो कुराको पुष्टि गरिरहेका छन् । अझ प्रतिनिधि सभाको सभामुख निर्वाचन गर्ने बिषयमा भैरहेको नेकपाभित्रको आन्तरिक शक्ति संघर्ष र सूचना टाँसेर संसद बैठक सार्दै जाने श्रृंखलाले त राजनीतिक दुर्घटना नै निम्त्याउने हो कि भन्ने चिन्ता समेत जन्माउन थालेको देखिन्छ ।
यस्तो अवस्थामा कांग्रेस सभापति शेरबहादुर देउवा पार्टीभित्रको आन्तरिक विवाद मिलाउने नाममा राष्ट्रिय राजनीतिक बिषयलाई वेवास्ता गर्दै नेताका निवास चाहार्न व्यस्त देखिन्छन् । उनको कार्यशैलीले के देखाईरहेको छ भने देउवालाई नागरिकले उठाईरहेका मुद्दा र आवाजसँग कुनै सरोकार नै छैन । आफ्नै अनुदार कार्यशैली र प्रजातान्त्रिक संस्कार विपरितका निर्णयको बन्दी बनेका देउवासँग संसद्को बैठक सुचारु गराउन सरकारमाथि दवाव दिने नैतिक बल समेत कमजोर भैसकेको हो कि जस्तो देखिन थालेको छ । बिगतका कतिपय चर्चित निर्णयमा संलग्नता रहेको भनिएकाले पनि देउवा सरकारमाथि दवाव दिन हिच्किचाईरहेको कांग्रेस बृत्तमै चर्चा चलिरहेको छ ।
यता कांग्रेसभित्रको असन्तुष्ट भनिएको समूह पनि जति जिम्मेवार हुनुपर्ने हो त्यति जिम्मेवार देखिएको छैन । केन्द्रीय कार्यसमितिलाई बहुमतका आधारमा पेलेर निर्णय गर्नबाट रोक्न सक्ने ल्याकत र क्षमता नभएका नेता रामचन्द्र पौडेलको नेतृत्वमा संगठित त्यो समूह अब नैतिक बन्धनमा परेको देखिन्छ । देउवाले पेलेर गरेको निर्णय नाकको चालले मान्ने कि आफ्नो छुट्टै समूह बनाएर अघि बढ्ने भन्नेमा पौडेल समूह ठूलो धर्मसंकटमा परेको देखिन्छ । संकोची र कुण्ठित मनस्थिति बोकेका ‘वरिष्ठ नेता’ पौडेलले शहरका तारे होटलमा गरेको वुध्दिजिवीहरुसँगको परामर्श अब खोलाको गीत जस्तै भएको छ । पार्टी सभापतिसँग आँखामा आँखा जुधाएर आफ्नो पक्षको माग जमेर राख्न नसक्ने नेताले बेला घर्किएपछि जतिसुकै परामर्श गरेपनि त्यो स्यालको सिङ खोजेजस्तै मात्र देखिएको छ ।
यता प्रमुख प्रतिपक्षको आन्तरिक विवाद र सत्ता संघर्षको प्रभाव राजनीतिको मूल प्रवाहमा पनि पर्न थालेको देखिन्छ । यतिबेला संसद नै अवरुध्द छ । सरकारभित्रको स्पष्ट रुपमा देखिएको दुइ पक्षवीचको लडाईंको शिकार भैरहेको छ संसद । यसलाई सुचारु गराउन प्रमुख प्रतिपक्षको ठूलो र महत्वपूर्ण भूमिका हुन्छ । तर प्रमुख प्रतिपक्ष कांग्रेसको प्राथमिकतामा यो बिषय परिरहेको देखिँदैन । नेकपाका शीर्ष नेतासँगको गुप्त भलाकुसारीमाथि विश्वास गरिरहेका सभापति देउवाले संसद सुचारु गर्न माग गर्लान् भन्ने विश्वास गरिहाल्न नसकिने कांग्रेसकै कतिपय नेता टिप्पणी गर्छन् ।
यसरी कांग्रेसको आन्तरिक विवाद र सत्तारुढ दलको सत्ता संघर्षको मारमा परेको संसदले कहिले सुचारु हुने अवसर पाउने हो भन्ने कुनै ठेगान छैन । सिंगो राजनीति नै ठप्प जस्तै बनाउन जिम्मेवार देखिएका दुवै दलका शीर्षस्थ नेताहरु भने नागरिकका आवाज नसुनिनेगरी कानमा ठेडी ठोकेर बसेका जस्ता देखिन्छन् । यदि त्यसो नहुँदो हो त मौलिक अधिकारका बिषयमा नागरिकले उठाएको आवाजको कतै न कतै सुनुवाई भैसक्थ्यो । सरकारी प्रवक्ताको ओठे जवाफ बाहेक सरकारले यस’boutमा कुनै जिम्मेवारी प्रदर्शन गर्न सकिरहेको छैन ।
नेकपा र नेपाली कांग्रेसले आफ्ना आन्तरिक मामिलामा जोडेर संसदलाई नै बन्धक बनाउने काम तत्काल रोक्नुपर्छ । जननिर्वाचित सर्बोच्च संस्था नहुँदा बिगतमा दलहरुको के हालत भएको थियो भन्ने कुरा नेकपा र कांग्रेसका नेतालाई स्मरण हुनैपर्छ । निर्वाचित संसद दरबारमा बुझाएपछि आफैंले पनि कति हण्डर खानुपरेको थियो भन्ने कुरा कांग्रेस सभापति देउवाले पनि बिर्सिसकेको नहुनुपर्ने हो । इतिहासका गम्भीर गल्तीहरुको स्मरण गर्दै यथासिघ्र संसद सुचारु गर्नतिर दलहरुको ध्यान जाओस् । विलम्व नगरौं ।सरल पत्रिका