देउवासँग शशांकका प्रश्नैप्रश्न


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइराला सामान्यतया कसैप्रति व्यक्तिगत तहमा आरोप प्रत्यारोपमा उत्रिनहाल्ने नेता मानिन्छन् । कडा अभिव्यक्ति नदिने र विरोधीप्रति पनि सम्मानभावका साथ बोल्ने –व्यवहार गर्ने कोइरालाको स्वभाव देखिन्छ ।

यसपटक भने उनी आफ्नै पार्टी सभापतिसँग निकै असन्तुष्ट देखिएका छन् । सभापति शेरबहादुर देउवाको अनुदार कार्यशैली व्यवहारमै देखिएपछि कोइराला देउवासँग झस्किएको बुझ्न सकिन्छ । असहमत पक्षलाई उपेक्षा गर्दै केन्द्रीय कार्यसमितिबाट आफूखुशी निर्णय गरेका देउवाप्रति कोइरालाको असहमति, विरोध र आलोचना जे भने पनि कारण यही नै मान्छन् कांग्रेसजनहरु ।

महामन्त्री कोइरालाको भनाई छ, ‘महाधिवेशनको मिति तोक्नु नै थियो भने पनि सबभन्दा पहिले सबैसँग सल्लाह परामर्श गर्नुपथ्र्यो । समयमै महाधिवेशन होस् भन्ने त हाम्रो पनि चाहना छ नि । तर, उहाँ (देउवा) ले एकलौटी गर्न खोज्नुभएको छ, यो दुर्भाग्यपूर्ण कुरा हो ।’

देउवा एलौटी ढंगले अगाडि जान चाहेको कोइरालाको बुझाई छ । आफूहरुको विमति महाधिवेशनको कार्यतालिका घोषणा गरेकोमा नभै देउवाले सल्लाह र परामर्श किन नगरेको भन्ने चैं रहेको उनको भनाई छ । सभापति देउवासँग कोइरालाको प्रश्न छ– ‘हामी सबै मिलेर त्यही मिति तय गरेको भए के बिग्रिन्थ्यो र ? शेरबहादुरजीले किन सहमति गर्न चाहनुभएन ? त्यसैमा उहाँप्रति शंका उत्पन्न हुन्छ ।’ 

अलिक कड्किएर कोइरालाले सभापतिसँग कैयौं प्रश्न गरेका छन्– ‘कांग्रेसमा शेरबहादुरजीसँग मात्रै पकड छ र ? हामीसँग पनि पकड छ नि । उहाँले २८ बाट बढाएर ४७ विभाग बनाउनुभयो । त्यो पनि सहमतिमा आउन सक्थ्यो । अहिले विभाग किन बनाउनुभयो ? यी सबै बहाना पार्टीलाई आफ्नो कब्जामा ल्याउने रणनीति मात्रै हो । पहिलो ६ महिनाभित्रै उहाँले विभागहरु गठन गर्नुपथ्र्यो । यत्रो चार वर्ष किन गर्नुभएन, अन्त्यमा आएर फेरि किन गठन गर्नुभयो ? अहिले विभाग बनाएर पार्टीलाई के उपलब्धि ? विभाग बनाउनुको कारण खाली मान्छे चोर्नलाई मात्रै हो । हाम्रो मान्छे पनि चोरेर उहाँले बनाइदिनुहुन्छ । उहाँ पार्टी कब्जाको रणनीतिमा हुनुहुन्छ ।’

देउवाको नेतृत्व रहेसम्म कांग्रेसको भलो नहुने निष्कर्षमा पुगेका कोइराला भन्छन्–‘ आगामी महाधिवेशनमा सभापति पदमा एउटै मात्र उम्मेदवारी दिने गम्भीर बिषय छ । यसमा हामी एक हुनुहुपर्छ । यति पनि बुझ्दैनन् नेताहरुले भने पार्टीभित्र गम्भीर खतरा उत्पन्न हुन्छ । कांग्रेसलाई एक बनाउने सबैभन्दा ठूलो भूमिका सभापतिको हुन्छ । त्यसैले सभापति नै परिवर्तन गरेर पार्टी एक बनाउनुपर्छ । शेरबहादुरजीको नेतृत्व भएसम्म काँग्रेस एक हुँदैन ।’

महामन्त्री कोइराला संसदमा पार्टीको उपस्थिति र भूमिकासँग पनि सन्तुष्ट छैनन् । संसदमा कांग्रेसको स्वर कमजोर रहेको र त्यसलाई बलियो बनाउन आवश्यक रहेको उनको भनाई छ । संसदको यस्तो अवस्थाको दोष पनि सभापतिमाथि नै लगाउँछन् महामन्त्री कोइराला । उनको भनाई छ, सभापति परिवर्तन नहुँदासम्म न कांग्रेसमा एकता हुन्छ, न त कांग्रेस उँभो लाग्छ । महामन्त्री कोइरालाले भने– ‘शेरबहादुरजी असफल हुनुभयो । उहाँ एउटा गुटको मात्रै सभापति हुनुभयो । उहाँले सम्पूर्ण कांग्रेसको सभापति हुनुपथ्र्यो ।’ 

महामन्त्री कोइराला सोमबार झापाको बिर्तामोडमा कार्यकर्तामाझ आफ्ना धारणा राख्दै थिए । उनले संसद अवरोध भएकोमा पनि असन्तुष्टि जनाउँदै सत्तारुढ दल नै यसप्रति पूर्ण जिम्मेवार रहेको बताएका थिए ।  सरल पत्रिका