भूत पुज्ने देशको कथा
युद्धमा देशले सर्मनाक पराजय भोग्यो, सेनापति कोही विदेशी सेनामा “लाहुरे” भए, कोही आफ्नो छोरा, केही थान बन्दूक सहित गोसाइँकुण्ड तिर लागे, बाँकि होनहार योद्धाहरू युद्धमै मारिए। अर्काले लेखेको सन्धी ३ महिना आलटाल गरेपनि बाध्य भएर हु-बहु अनुमोदन गरियो । जसले सत्तालाई च्यालेञ्ज गर्न सक्थे युद्धपछि बिभिन्न खाले दरवारिया षडयन्त्रमा मारिए र आफैँ भूत बने । यो सङ्गै देशको वर्तमान एक प्रकारले सकियो, भविष्य देख्ने आँखा समेत बन्द भए, र शुरु भयो एक प्रकारले भूतलाई पूजा गर्ने युग। यति गर्दा पनि सबै सकिएनन, जो बचे ति “पर्व”हरूमा मारिए । ति पर्व राणा शासन शुरु हुने देखि सुदृढ हुने विभिन्न पर्वको रुपमा हामी पढ्छौँ ।
तर गिरेको नूर उकास्नु थियो । हामीले हाम्रो विगतलाई वीररसमा उतार्यौँ नेपाले भाषाको व्यापक फैलावटको युग सङ्गै। सवै वीरलाई पूजा गर्यौँ तिनका वीरताको नतिजाको आलोचनात्मक मूल्याङ्कन नगरी। हामीले इतिहासलाई अनुसन्धानको विषय नै बनाएनौँ, थोर-बहुत भएका अनुसन्धानलाई पनि शिलालेख, वंशावली, ताम्रपत्र, श्रुती आदिको व्याख्याको साँघुरो घेरा भित्र राख्यौँ, आलोचनात्मक आँखाबाट हेरेर तिनबाट पाठ सिक्ने कुनै काम गरेनौँ । पन्तहरूका प्रयासको संशोधन मण्डल आर्थिक स्रोतको अभावमा मृत्यू सैयामा छ र योगी नरहरिनाथको काम उत्तराधिकारी नपाएर बालाराम घर्तिमगरको पहलमा प्रकाशित “इतिहास प्रकाशमा सन्धिपत्र सङ्ग्रह”नै अन्तिम हुन पुगेको छ।
अव खोजीपूर्ण इतिहास नै नभएको, भएका पनि विदेशीले लेखिदिएका इतिहासका पुस्तकको छायाँ-प्रति स्वरुप अस्थित्वमा रहेको, इतिहास पढ्नु लज्जाको विषयको रुपमा विद्यार्थी माझ चित्रित गरिएको, इतिहास पढ्ने एक जना विद्यार्थी विश्व विद्यालयमा नभएको र इतिहास पढाउने प्राध्यापकले अनुसन्धानकेन्द्र र विश्वविद्यालय नटेकेको महिनौँ भएको हाम्रो जस्तो देशको इतिहास के हो? मलाई लाग्छ मेरा बच्चा बच्चीले सुनाउने भूतको कथा ।
आज मलाई त्यस्तै भूतको कथा सुनाउने मात्रै होइन भूत निर्माण र भूत पूजनमा राज्यले गरेको लगानीको मुक्त कण्ठले प्रसंशा गर्न मन छ। मैले गत सप्ताहन्तमा काठमाण्डु देखि चितवन, नवलपरासी, हेटौँडा, चन्द्रनिगाहपुर, वर्दिबास हुँदै सिन्धुलीको बाटो फर्किउञ्जेल करीव ७०० किलोमिटर यात्रा गरेँ; पृथ्वी राजमार्ग, त्रिभुवन राजपथ, महेन्द्र राजमार्ग, वीपी राजमार्ग, अरनिको राजमार्ग र मदनभण्डारी पथ हुँदै। बाटो छेऊमा दाश ढुङ्गा र वीपी कोइराला मेमोरियल क्यान्सर हस्पिटल भेटिए, छेऊ-छाऊमा दियालो बङ्गला, पत्थर घट्टा, हेटौँडा सहीद पार्क, भिमान सहीद पार्क आदि पर्थे हेर्न गैएन र सिन्धुलीगढी पनि उक्लिइएन । इतिहास सिक्नेबेलाका छोरा-छोरीलाई कचकच गरे बरू आफ्नो फोन दिएर कुनै कार्टून हेर्न लगाइयो होला ति ठाउँका ’boutमा व्याख्या गर्ने कुनै कष्ट गरिएन । जुन चिजमा आफूलाई विश्वास नै छैन, ति बच्चालाई कसरी विश्वास दिलाउनु? त्यो झञ्झटनै गरिएन, ढुक्कै।
भ्रमणबाट फर्किएर अफिस आएका दिन सामाजिक सञ्जाल पृथ्वीनारायणमय देखेँ; कसैले राक्षस बनाएका, कसैले इश्वर बनाएका । थप्न त मन थियो तर अर्थ देखिनँ । सोमबार पृथ्वीनारायण जन्मिएको ३०० वर्ष लाग्यो। अहिलेको चश्माले ३०० वर्ष अघिको घटना हेर्ने दुस्सासह नगरेकै ठिक लाग्यो यस्तो विभाजित समाजमा। जसले तथ्यमा आधारित हुन्छु भनेर सञ्जालमा खोके पनि त्यो दृष्टिदोष प्रष्टै देखिन्थ्यो भने त्यो पङ्तिमा म किन उभिनु? पृथ्वी राजमार्गमा छोरीले “बाबा किन यो सडकलाई पृथ्वी राजमार्ग भनेको?” भनेर सोधेकिभए मैले दिने उत्तर नै अर्ध सत्य हुने रैछ, कम्तिमा पृथ्वीनारायणका वारेमा । त्यस्तै त्रिभुवन राजपथमा नि त्यस्तै । दाशढुङ्गा पुग्दा मदन-आश्रितलाई कतै डील तिर धकेलिएको हो कि सडक भित्तातिर सरेको थाहा नहुने भैसकेछ। “मदन-आश्रित को हुन? कसले किन मारे?” भनेर छोरीले सोधेकिभए पनि मेरो जवाफै थिएन । उनलाई षडयन्त्र गरेर मारिएको भन्ने कथा भनौँ भने छाननवीन कर्ताकै पूर्ण नियन्त्रणमा शासन छ, उनैकि श्रीमतिका हातमा राज्यको सम्पूर्ण बागडोर छ तर त्यो हत्याको फाइल खुलेको सम्म छैन। आफैँ गाडी चलाउँदा मरेका भनौँ भने कुनै प्रमाण छैन।
महेन्द्रका ’bout पनि त्यस्तै। उनलाई गाली गरेर हुर्किएको मेरो पुस्ता चितवनमा अहिले भएको समृद्धिको आधार उनैले तयार गरे भन्न सक्दैन, क्यान्सर अस्पतालसङ्गै नाम झुण्डिएका वीपी कोइरालालाई जेलमै सडाएका महेन्द्रले जङ्गल फडानी गराएर वस्ती बसाले, समृद्ध चितवनको जग हाले भनेर भनौँ भने अस्पतालबाट निस्कँदै गरेको विमारीले पत्याउँदैन। दियालो बङ्गलामा महेन्द्रलाई हृदयाघात भयो कि अरू केही भन्ने सम्मको आधिकारिक इतिहास छैन । पत्थरघट्टामा जङ्गबहादुर मरेको र सिन्धुलिगढिमा अरिङ्गालले अङ्ग्रेज खेदेको त झन दन्त्यकथै भैसके, यो कथा भनौँ भने छोरीको प्याच्च जबाफ आउँछ, “त्यतिबेलाका अलिङ्गाल अहिलेका भन्दा राष्ट्रवादी हगी बाबा, विदेशीलाई चिल भन्ने आदेश आउँदा खैरो छाला भएकालाई मात्रै छानी छानी चिल्ने।”
हाम्रो इतिहासका हरेक पात्र विवादास्पद छन वा तिनका पछिको कथ्य रहस्यमय वा विवादास्पद छ । त्यसैले तिनलाई हेर्ने हाम्रो दृष्टिकोण पूर्वाग्रही वा खोटपूर्ण छ। खोटपूर्ण दृष्टिकोण भएकाहरूले इतिहासको गफ दिनु नै बेकार छ। आफूलाई लागेको कुरालाई मिल्ने तथ्य खोजेर विश्वसनीय बनाउनु मात्रै इतिहास मानिएकोले मैले इतिहासका वहसमा धेरै टाउको नदुखाउने नीति लिएको छु। बरू इतिहास आफैँमा भूत हो । त्यसलाई प्रेत समेत थपेर पूजा गर्ने नीति लिएको छु ता कि त्यसले आफूलाई दुःख नदेओस् । त्यो नै अहिलेको राज्यको नीति-सङ्गत पनि देखिन्छ। राज्यले वर्तमानलाई जवर्जस्ती भूत बनाउँछ र त्यसलाई पूजा गर्छ। बीपी, मदन भण्डारी देखि अहिलेका दिलीप महतो सम्म हेर्नुस त । ति सवै वर्तमान थिए र तिनका आँखामा भविष्य थियो। तिनको असामयिक मृत्यू भयो, राज्यलाई जिम्मेवार देख्ने आधार समेत तयार गरेर। तर तिनको पूजा मरे पछि मात्र शुरु भयो राज्यकै ठूलो धनराशी लगानीमा। तिनका नाममा अस्पताल खुले, राजमार्ग बने विश्वविद्यालय बन्दैछन, सालिक त सहरै पिच्छे।
बीपी, मदन अकालमा मरे। अहिले राज्यकोषबाट शक्तिशालीहरूका उपचारमा करोडौँ खर्च भएको छ बीपीको स्वास्थ्यमा पनि त्यस्तो खर्च हुन सक्थ्यो; मन्त्रीभएको तिथि-मिति विर्सिसकेका भूपू मन्त्रीले समेत अघिपछि हाइँ-हाइँ र हुइँ-हुइँ पार्दै धुम्बाराही जाँदैछन भने मदनका पछि पनि एउटा पुलिसको खटेरो गाडी दौडिन सक्थ्यो।
दिलिप महतोको पूजा पनि ५लाख भेटिबाट शुरु भैसकेको छ । धम्की आएको सुनिसकेपछि केही कदम चाल्न सकिन्थ्यो। खानी क्षेत्रमा निगरानी बढाउन सकिन्थ्यो । केही भएन । नदिजन्य पदार्थ दोहन राज्यकै संरक्षणमा भएको छ। घाइतेलाई सुताएर माथिबाट ट्रिपरले किच्ने जस्तो अपराध अहिलेको सभ्य युगमा भूतको कथा जस्तो लाग्छ तर राज्यकै आँखा अगाडी भएको छ । दिलिप एउटा वर्तमान थिए, होनहार अभियन्ता जसले घरछेऊमा भैरहेको पर्यावरणको नाङ्गो दोहनको विरुद्ध आवाज उठाएका थिए। उनी भविष्य थिए जसले इञ्जिनीयर बनेर नदिजन्य पदार्थको विकल्प पत्ता लगाउन सक्थे । तर उनी अव पूज्य भए किन कि उनी भूत भए। अव राज्यले उनका स्मृतिमा शालिक बनाउँन सक्छ र पहिला केही वर्ष वर्षेनी माल्यार्पण पनि गर्न सक्छ।
दिलिप जस्ता अनेकन वर्तमान र भविष्यलाई हामीले पहिला भूत बनाउने र पूजागर्ने अभ्यास गरिरहेका छौँ । इतिहासबाट हामी केही सिक्दैनौँ किनकि हाम्रो इतिहासलाई हेर्ने दृष्टिमै खोट छ । महतो हत्याकाण्ड एउटा भविष्यको इतिहास हो। राजनीतिक संरक्षणमा मौलाउँदो व्यवसायले कति वर्तमानलाई सिध्याएको छ, कति भविष्यलाई निमोठेको छ । अहिले डोजरले बनाएका खाल्डा भोली सबै दलका लागि चिहानमा परिणत हुँदैछन । सवैभन्दा सजिलो पैसा आर्जनका माध्यम यि डोजर-टिपर भोली दलभित्रको शक्तिसङ्घर्षका प्रमुख प्रेरक र शक्तिका प्रमुख निर्धारक बन्दैछन । हाम्रो राजनीतिक वृत्त त्यस्ता व्यवसायको शुद्धिकरणमा लाग्नुको सट्टा त्यहीँको आम्दानीले थप फूल-मालाको जोहो गर्दैछ’ भविष्यका अरू भूत-पूजनका लागि। भूत-पूजन हाम्रो संस्कार बनिसकेको छ।