प्रथम कुरी स्की च्याम्पियनसिप नेपाली सेनाका पुण्डरिकको पोल्टामा
शब्द / तस्विर : शम्भु गौतम
दोलखा, माघ ११
दोलखाको प्रसिद्ध कालिन्चोक स्थित कुरीमा प्रथम कुरी स्की तथा स्नोबोर्ड च्याम्पियनसिप २०२० सम्पन्न भएको छ ।
स्की तर्फको प्रतियोगितामा तारादल गणका पुण्डरिक पाण्डेले च्याम्पियनसिप उपाधि हासिल गरेका छन् । त्यसैगरी कुरीका छिरिङ शेर्पाले दोस्रो स्थान हासिल गरे भने कुरीकै रमेश पाख्रिनले तेस्रो स्थान हासिल गरेका छन्।
आजै भएको स्नोबोर्ड च्याम्पियनसिपको उपाधि कुरीका विशाल तामाङले प्राप्त गरेका छन् । त्यस्तै कुरीकै १४ वर्षका दावा तामाङले दोस्रो र कुरीकै १२ वर्षीय नवीन तामाङले तेस्रो स्थान हासिल गरेका छन् ।
विजयी खेलाडीहरुलाई कालिन्चोक गाउँपालिकाका प्रमुख विनकुमार थामीले मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरेका छन्।
ट्रफी वितरण गर्दै कालिन्चोक गाउँपालिका प्रमुख थामीले कालिन्चोक गाउँपालिकाले दोलखाको र कालिन्चोकको पर्यटन प्रवद्र्धनका लागि लागिपर्ने बताए ।
यो क्रममा नेपाल स्नो स्पोर्टस फेडेरेसनका अध्यक्ष गोविन्द भट्टराईले दोलखा जिल्ला यस्ताखाले थुप्रै साहसिक तथा पर्यटकीय खेलको लागि अत्यन्त उर्वर रहेको बताए ।
यस प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुले आगामी बुधवार नेपाल माउण्टेन एकेडेमीले आयोजना गरेको राष्ट्रिय च्याम्पियनसिपमा भाग लिन जाने कुरा प्रतियोगिताका इभेन्ट म्यानेजर सौगात थापाले जानकारी दिए ।
कार्यक्रम स्की तथा स्नोबोर्ड प्रतिष्ठान नेपालका अध्यक्ष उत्सव पाठकको अध्यक्षतामा भएको थियो ।














