हाम्रो द्वैध-चरित्र निर्माणको वैचारिक धरातल
हामी नेपाली अल्प-स्मरणका छौँ । हिजै प्राधानमन्त्रीले संसदमा नेपाली चरित्र’bout राम्रो ब्याख्या गर्नु भयो। हिजो जोसङ्ग दुष्मनी थियो आज उही मित्र भएका छन। समग्रतामा त्यस्ता क्रुर हिँसाका घटना दिमागमा राखेर र इतिहासमा पढेर पनि हामी शान्तिप्रीय र सहिष्णु छौँ । यो संसारमा बिरलै पाइन्छ । हिजोका घटना चट्ट बिर्सेर नयाँ धरातलमा सम्बन्ध विस्तार गर्दा हामीले धेरै अवसर गुमाएका छौँ केही साख बचाएका छौँ । सामाजमा, देशमा र अन्तरराष्ट्रिय मञ्चमा सबैतिर यो उदाहरण देखिन्छ ।
नेपालको एकिकरण अघि कसको शत्रु को थियो भन्ने कुरा अस्थिर थियो। कहिले गोर्खा र लमजुङ्ग नै शत्रु राष्ट्र थिए, कहिले पाटन र कान्तिपुर नै । गोर्खाका राजाको आफ्नै ससुराली मकवनपुरसङ्गै शत्रुता थियो। तर राज्य विस्तारका क्रममा जुन जुन राज्य गोर्खामा मिसिए, तिनले गोर्खाली भएरै थप लडाइँ लड्दै राज्य विस्तार काँगडा र टिस्टा पुग्यो। त्यसपछि पनि पाँडे र थापा बीच, दुई सौता महारानी बीच, दुई सरदार बीच, दुई भारदार बीच दुई राणा दाजु-भाइ बीच, दुई कोइराला बीच, दुई पञ्च बीच र दुई कम्युनिष्ट बीच मनोमालिन्य छ, यो अझै अनन्त सम्म रहन्छ हामीले जति आदर्शका गफ गरे पनि।
हामी भित्रै दुई धार किन छन? हाम्रो अल्प-स्मरण यहाँ देखिन्छ। हाम्रो दुईधारी नीतिका पछाडि हम्रो देशको वास्तुको ठूलो हात छ। यही वास्तुले हाम्रो मथिङ्गलमा पार्ने प्रभाव, उब्जिने खुराफाती र गरिने हर्कतलाई अहिले धेरैले भू-राजनीति भन्छन। मेरो अल्प-बुद्धिका भरमा यसमाथि धेरै व्याख्या गरेर नेपालका च्याऊसरी उम्रिनु भएका विद्वानहरूको मानमर्दन गर्नु छैन । त्यसैले मेरो सोझो परिभाषालाई नेपालीको द्वैध चरित्रको कसीमा राखेर हेर्ने मात्रै प्रयत्न गर्दैछु।
शासकका चिनीका प्रभावमा पण्डितले गुलियै इतिहास लेखेका छन वीररस र भक्तिरसको प्रयोग गरेर । त्यसैले नेपाली इतिहास पनि यिनै दुईरसको घोल हो। गोर्खालीले खन्याएका अरिङ्गालका गोलाका कारण अङ्ग्रेज भागे भन्ने मेरो आधिकारिक इतिहास भएकाले म त्यसलाई चुनैती नदिई अङ्ग्रेजसङ्ग मुठभेडका बखतको अवस्था मात्रै स्मरण गराउन चाहन्छु।
अङ्ग्रेजहरूको गहिरोसङ्ग गडेको भूराजनीतिक सोच समुद्रीतट नियन्त्रण गर्दै व्यापार कब्जा गर्ने र समुद्रभन्दा टाढाका भू-भागमा आधिपत्य जमाउने खालको थियो । पछि यसलाई “रिमल्याण्ड थ्योरी” भनियो। भूगोल विषयका प्रथम ब्रिटिस प्राध्यापकको हार्ट्ल्याण्ड थ्योरीले पृथ्वीको मियो भनेको यूरेसिया क्षेत्रहो यो कब्जा नगरी विश्वा कब्जा हुँदैन भन्ने मान्यता स्थापित नगरिञ्जेल (१९०४मा यो सिद्धान्तले व्यापकता पायो) बेलायतले विश्वास गर्ने भूराजनीति वरिपरि कब्जा गरेर मूख्य भूभागलाई अप्ठ्यारो पार्ने प्रभाव जमाउने नै थियो।
उहीलेका बात भनेर हामी धेरै गहिरोमा जान मन गर्दैनौ त्यतीवेलाको वेलायती र रुसी साम्राज्यबीचको प्रतिस्पर्धालाई। अहिले सम्म अफगानिस्तानमा किन तनाव छ? इराक, इरान, सिरिया किन अशान्त छन? बेलायतले किन तिबतसङ्ग सिक्किम साट्यो? नेपाल कसरी जोगियो? यि सवै हेरेर मात्र नेपालको अहिलेको द्वैध चरित्रलाई विश्लेषण गरिनु पर्छ। वेलायतले तिव्वतमा चीनको आधिपत्य स्विकार गर्नु र नेपाललाई गोर्खाली सैन्य राज्यका रुपमा पूर्व-पश्चिम तन्काएर छोड्नु, अफ्गानिस्तान र उत्तर-पश्चिम भारतमा लडाकूपनको प्रवर्द्धन गर्नु र डोग्रा, गोर्खाली शासकहरूसङ्ग मित्रता बढाउनुमा रुसी साम्राज्यलाई रोक्ने रणनीति बाहेक अरू केही उद्देश्य देखिन्न। चीन सङ्गको बेलायतको सम्बन्धमा नेपालको बलियो उपस्थिति त्यही रणनीतिको अर्को पाटो हो। एक प्रकारले “बफर स्टेट”को सिर्जनाको रणनीति भित्र नेपालको अस्थित्व अक्षुण्ण रहेको हो।
त्यही बफर स्टेट्को चरित्रले हाम्रा सबै बाह्य सम्बन्ध निर्देशित छन । हामीले जति असंलग्नताको श्लोक जपे पनि आधुनिक राष्ट्र-राज्यको निर्माणका बखत देखि नै हामीलाई रुस-बेलायत द्वन्द्व, बेलायत-चीन द्वन्द्व हुँदै भारत चीन द्वन्द्वले प्रभाव पारेका छन । राष्ट्र निर्माणसङ्ग राष्ट्रको चरित्रको निर्माण जोडिएको हुन्छ, इजरायल बन्दा इजरायली चरीत्र निर्माण भए जस्तै, अमेरिका बन्दा अमेरिकी चरीत्र निर्माण भए जस्तै र चीन बन्दा चिनिया चरीत्र निर्माण भए जस्तै।
दोधारे नीति हाम्रो चरित्र हो। यही नीतिका कारण एउटै घरमा, एउटै दलमा हामीले छिमेकी हेर्ने दृष्टिकोण फरक छन। तिनै दृष्टिकोण सङ्ग पात्र जोडिएर आएका हुन कुनै अति असल र कुनै अति खराव भएर होइन । त्रिभुवनलाई भारत प्यारो थियो होला, महेन्द्र चीनसङ्ग नजिकिए, वीरेन्द्र पश्चिमा प्रभावमा थिए होला, ज्ञानेन्द्र चीनसङ्ग नजिकिन खोजे । मात्रिका हिन्दुस्तानले रुचाइएका थिए बीपी मूलधार भारतका लागि अप्ठ्यारा थिए, किर्तिनिधि चीनका प्यारा थिए भने सूर्यबहादुर भारतका, जेएन अझै उत्तर हेर्छन भने केपी दक्षिण । तर यि पात्रको एकल प्रभुत्वमा देश निकै कम समय मात्र चलेको छ। दरवार भित्रै, काङ्ग्रेस भित्रै र कम्युनिष्ट भित्रै दुई तिर फर्केका विचार बोक्नेहरूको जवरजस्ती गठजोड गराइएर सन्तुलन गर्न खोज्ने चरित्र चाहिँ अहिलेको नेपाली चरित्र बनेको छ ।
अन्तरराष्ट्रिय राजनीतिमा हामी भारत विरोधी पनि असंलग्न आन्दोलनको अभियन्ता पनि एकै पल्ट बन्यौँ जवकी असंलग्न आन्दोलन रुसी रणनैतिक प्रोजेक्ट थियो। अहिले एमसीसी र बिआरआईको सन्तुलन मिलाउँन खोजि रहेका छौँ।
त्यो सन्तुलन मिलाउन खोज्ने राष्ट्रिय चरित्र चाहिँ जनस्तरमा खराव चरित्र भएर सडकमा खनिँदैछ । एकथरी मान्छे अमेरिकाले मिसाइल तेर्स्याएर हान्न काउण्ट-डाउन शुरु गरिहालेको बुझ्दै छन, अर्काथरी यो पैसा नल्याए नेपालले पश्चिम फर्किने आधार गुमाउने तर्क गर्दैछन। मलाई लाग्छ अमेरिका र चीन नेपालको चरित्रसङ्ग राम्रै परिचित छन र हाँस्दै होलान, नेपालीकाबीचमा कस्तो हड्डी फ्याँकिएछ भनेर ।
बुझ्ने मान्छेले दश मिनेटको बसाइमा अर्को मान्छेलाई पढि सक्छ भने २०० वर्षमा चीन र ७० वर्षमा अमेरिकाले नसक्ने कुरै भएन। दुवै तर्फ अहिले चर्को बोल्नेहरू मध्ये कति होलान आफ्ना सन्तानलाई छात्रवृत्ति माग्दै एम्बेसी पुगेकाहरू? कति होलान एउटा विचार गोष्ठी गर्न पैसो माग्दै दूतावास पुगेका? कति होलान प्रोजेक्ट्मा सन्तानका लागि जागीर माग्दै डिनर मिटिङ्ग वस्ने? कति होलान पैसोको स्रोत नखोजी नियमित भेलामा ममचा र कफी खाने?
जति राष्ट्रहितका मन्त्र फलाके पनि बहसमा उत्रिनेको ठूलो पङ्ति ऱ्याशनल भन्दा इमोशनल बढि छ भन्ने त छ्याङ्गै छ। तिन मध्ये बडःइ कुर्लनेहरू कोबाट प्रभावित छन भन्ने पनि बुझ्नेले बुझेकै छन । चीन-पूजकको नयाँ जमात त बजारमा खुलेरै हिँडेका छन, अमेरिका-पूजक पनि अदृष्य छैनन।
नेपालको राष्ट्रिय चरित्र नै दुईखाले विचारको सन्तुलन हो भन्ने बुझे यिनले यो रोइलोको आवाज सम्म घटाउँथे कि? आखिर यो सरकार पनि तिनै दुईखाले विचारको सही उदाहरण नै त हो। पोहोरसाल एकै पल्ट देखाएकैहो, सत्तारूढ दल पनि भेनेजुएला र डेभोसको सन्तुलन नै त हो। विकास गर्ने पनि एमसिसी र बिआरआई अन्तरगत नै त हो । प्रभावशाली कार्यकर्ताले पनि लेख्ने र बोल्ने समाजवाद नै हो, गर्ने जति उग्र-दलाली पूजिवाद नै त हो। कुर्लने समानता नै हो र थुपार्ने पहूँचवालाकोमा अकूत ध नै त हो।