कालिञ्चोक – हिउंदको गन्तव्य
समुन्द्रसतहदेखि करिब ३८०० मिटर उचाइमा रहेको तथा काठमाडौंदेखि झन्डै १५० किलोमीटरको दूरी पारेर पुग्न सकिने कालिञ्चोकमा वर्षेनी पर्ने हिउँले कारण पर्यटकीय आकर्षणको केन्द्रमा रहने गरेको छ । । कालिन्चोकमा मंसिर देखि फागुनसम्मै हिउँ पर्ने गर्छ ।
सबैतिर हिउँले ढाकिएको कालिञ्चोकमा कालिञ्चोक भगवती दर्शन गर्न आन्तरिक तथा भारतीय पर्यटकको पनि बढ्दो चाप देखिन्छ । घुम्न आउने मानिसहरू मन्दिर दर्शन गर्न जान केवलकार चढ्ने गरेका छन् भने कोहि पैदल हिडेरै दर्शन गर्न पुग्छन् । मानिसहरु आफनो व्यस्त समय बाट केही क्षण रमाइलो गर्न कालिञ्चोकमा एक वा दुई दिन बस्ने गरि आउंछन ।
हिउँ परेको समयमा कालिञ्चोक स्थित मुख्य पर्यटकिय स्थान कुरीमा बास बस्न होटलहरुको अभाव नै हुन्छ । अझ होटल व्यावसायीहरुले आफनो पाहुनाहरुको लागि क्याम्प फायर तथा संगित, नाचगानको समेत सुविधाका कारण आगन्तुकहरुले हिउंमा पनि जाडो महशुस नै गर्न पाउंदैनन् ।
कालिञ्चोक भगवती डाँडाबाट विहानको समयमा सूर्योदयको तथा कुरी र शैलुङको मनोरम दृश्य आफनो क्यामेरा तथा मोबाइलमा कैद गर्नेको तातीं नै लाग्ने गर्दछ । हिउं परेको समयमा स्कीतथा स्नोबोर्ड प्रतिष्ठान नेपालद्वारा खेलाडीहरुलाइ प्रशिक्षण तथा च्याम्पियनशिपको आयोजना गरेर साहसिक खेलकुदको माध्यमबाट यो क्षेत्रको पर्यटन प्रर्वद्धन गर्न मद्दत गरेको छ । देशमा अहिले नेपाल भ्रमण बर्षको लहर चलेको छ ।
कालिन्चोक आइ पुग्दा धर्तीको स्वर्ग पुगेको अनुभव भएता पनि यहाँ सम्म आइपुग्ने कहाली लाग्दो बाटोको उचित व्यबस्थापन हुन सके बर्षै भरि आन्तरिक तथा बाह्य पर्यटकको घुइंचो लाग्नेमा दुई मत छैन ।


























