प्रधानसेनापति म्याराथनको उपाधि होमलाललाई


काठमाडौँ, ३ फागुन : प्रधानसेनापति खुला म्याराथनको पाँचौँ संस्करणको उपाधि नेपाली सेनाका जमदार होमलाल श्रेष्ठले जितेका छन् ।

नेपाली सेनाले आज आयोजना गरेको सो प्रतियोगितामा उनले ४२ दशमलव १९५ किलोमिटरको दुरी दुई घण्टा २२ मिनेट १७ सेकेण्डमा पूरा गरे ।

होमलालले साविक विजेता सेनाकै जमदार कृष्ण बस्नेतलाई पछि पार्दै रु एक लाख २५ हजार तथा मोटरसाइकल पुरस्कार प्राप्त गरे । दोस्रो भएका कृष्णले उक्त दूरी दुई घण्टा २३ मिनेट ४९ सेकेण्डमा पूरा गरी रु ६५ हजार तथा तेस्रो भएका सेनाका प्यूठ नवराज साउदले दुई घण्टा २९ मिनेट ३६ सेकेण्डमा दूरी पूरा गरीरु ३५ हजार पुरस्कार प्राप्त गरे । यस्तै सेनाका अमल्दार ज्ञानप्रसाद भट्टराई र जमदार वेद सुनवार चौथो र पाँचौ हुँदै क्रमशः रु २५ हजार र रु १५ हजार प्राप्त गरे ।

यसैगरी सेनाका अमलदार मोहनदेव जोशी, सिपाही जुनेश खड्का, सिपाही भूमिराज राई, अमलदार विनोद सिजापति र सिपाही निरजसिंह मडै क्रमशः छैटौँ, सातौँ, आठौँ, नवौँ र दशौँ भए । उनीहरुले क्रमशः रु १० हजार, रु सात हजार, रु पाँच हजार, रु तीन हजार र रु दुई हजार पुरस्कार प्राप्त गरे ।

म्याराथनको पहिलो संस्करणको उपाधि नेपाल पुलिसका भुमिराज राई, दोस्रो संस्करणको उपाधि सशस्त्र प्रहरी बलका गोपीचन्द्र पार्की तथा तेस्रो र चौथो संस्करणको उपाधि सेनाकै कृष्ण बस्नेतले जितेका थिए ।

यस्तै पुरुष हाफ म्याराथनको उपाधि भारतीय सेनाका तीर्थ पुनले जिते । उनले २१ किलोमिटर दूरी एक घण्टा पाँच मिनेट पाँच सेकेण्डमा पूरा गरे । सेनाका खगेन्द्र भाटले एक घण्टा पाँच मिनेट ५८ सेकेण्डमा सो दूरी पूरा गरी दोस्रो तथा सेनाकै दीपक अधिकारीले एक घण्टा सात मिनेट दुई सेकेण्डमा उक्त दूरी पूरा गर्दै तेस्रो भए ।



महिलातर्फको हाफ म्याराथनको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबकी पुष्पा भण्डारीले जितिन् । उनले निर्धारित दूरी एक घण्टा १७ मिनेट आठ सेकेण्डमा पूरा गरिन् । यस्तै नेपाल पुलिसकी राजपुरा पछाईले उक्त दूरी एक घण्टा १८ मिनेट ३७ सेकेण्ड तथा सेनाकी विश्वरुपा बुढाले एक घण्टा २० मिनेट २२ सेकेण्डमा पूरा गर्दै क्रमशः दोस्रो र तेस्रो भए । हाफ म्याराथनमा पुरुष र महिला दुवैतर्फका पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः रु ५० हजार, रु ३५ हजार र रु २५ हजार पुरस्कार प्राप्त गरे ।

यसैगरी हाफ म्याराथनको ४५ वर्षभन्दा बढी उमेरतर्फ धर्म महर्जनले उपाधि जिते । सो स्पर्धामा भीमबहादुर गुरुङ दोस्रो तथा भिमसेन अवाले तेस्रो भए । उनीहरुले क्रमशः रु ४० हजार, रु २५ हजार र रु १५ हजार पुरस्कार प्राप्त गरे । दश किलोमिटर दौड सैनिक सहचारी पुरुषतर्फ भुपेन्द्र सिंह रावत पहिलो, दिशेन घले दोस्रो तथा दुरा इमुरुगन तेस्रो भए । यस्तै १० किमी दौड अधिकृत पुरुषतर्फ सह–सेनानी नवराज थापा पहिलो, सह–सेनानी अजयजंग सुवेदी दोस्रो तथा सेनानी चन्द्रबहादुर थापा तेस्रो भए । दश किमी दौड अधिकृत महिलातर्फ सह–सेनानी देवी पुन, सह–सेनानी रश्मिला अर्याल र उप–सेनानी सीता कुवँर क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । उनीहरुले क्रमशः १० हजार, रु सात हजार र रु पाँच हजार पुरस्कार प्राप्त गरे ।

पाँच किमी दौड छात्रतर्फ सैनिक आवसीय महाविद्यालयका इश्वरचन्द्र बस्नेत पहिलो भए । सोही विद्यालयका प्रविणराज अधिकारी दोस्रो तथा थापसी तिलिङ्गटारका सविन राई तेस्रो भए । छात्रातर्फ विजेश्वरी ज्ञान मन्दीरकी स्वेच्छा बलामी मगर पहिलो, सोही स्कुलकी सुनिता श्रेष्ठ दोस्रो तथा विजेश्वरीकै रचना राना मगर तेस्रो भइन् । उनीहरुले क्रमशः १० हजार, रु सात हजार र रु पाँच हजार पुरस्कार प्राप्त गरे ।(रासस)