बलात्कार न्याय प्रणाली र महरामा थपिएको दायित्व
रेप भए हुनेलाई थाहा हुन्छ, टेप भए गर्नेलाई थाहा हुन्छ, खेप भए भोग्नेलाई थाहा हुन्छ, पटाक्षेप भए देख्नेलाई थाहा हुन्छ । सभामुख हुँदै कृष्णबहादुर महरालाई बलात्कारको आरोप लाग्यो। पिडित भनिएकि महिला रेकर्डमै बोल्नु भयो, कहाँ (घटनास्थल)भयो, कसरी भयो, के लुटियो, के छुट्यो सवै बताउनु भयो।
रेप भयो, हुनेलाई नै थाहा हुने भयो। अनुसन्धान गर्ने अधिकारीको अनुमतिले डाक्टरले मात्रै हेर्न पाउने बलात्कृत अङ्ग बाहेक मिडियाले सबै हेरे । विषय यति उछालियो महराले सभामुख पद गुमाउनु भयो। सदस्य पदै गुम्नु पर्छ भन्नेको कमि थिएन तर त्यो पद निलम्बित मात्रै भयो ।
मिडियाले गर्ने त टेप हो। गर्नेलाई नै थाहा हुन्छ। एकजना विक्षिप्त महिलाले आफ्नो र आरोपीको नामै नलुकाई टेप गर्न दिनु भयो । पुलिसले फेरि टेप गर्यो प्रमाण जुटायो, अदालतका लागि। यो घटना एक पटक भयो कि धेरै खेप, तिनै भोग्नेलाई थाहा होला। पुलिस त्यता पसेन, पत्रकारले पनि वास्ता गरेनन। त्यसैले यदि विवाहेत्तर सम्बन्ध थियो भने पनि मुद्दाको विषय बनेन। हामी जस्ता पाखामा बसेर रमिता हेर्नेलाई त्यो पटाक्षेप भएको मात्रै थाहा भयो। हामीले महरालाई “बलात्कारी”मा राख्यौँ ।
तर रेप भयो भनिएकी महिला आफैँले भएकै छैन भनिदिनु भयो। एउटा दसी संकलनको त्रुटी महाराको पक्षमा आयो तर पिडितको साबिती नै अर्को यति ठूलो आधार भयो। महारा संसदमा पुनर्स्थापित हुनु भयो, सदस्यका रुपमा मात्र। लामो सङ्घर्षबाट खारिएर आउनु भएका व्यक्तित्व संसदमा त पुनर्स्थापित हुनु भयो, समाजमा पुनर्स्थापित हुनु भयो कि होइन परीक्षण हुन बाँकि नै छ। अहिलेका सामाजिक सञ्जाल हेर्दा त्यस्तै लाग्छ। सामाजिक सञ्जाल अर्को अभौतिक हो कि अतिभौतिक समानान्तर समाज हो जसले हावामा मान्छेको छवी कोर्छ र दिमागमा टाँस्छ।
यो आरोपको विषय नै अत्यन्त जटील थियो। संसार भर नै यो विषय जटील मानिन्छ। त्यसैले धेरै फौजदारी कानूनको जननी मुलुक वेलायतमै हेर्ने हो भने पनि त्यहाँ बलात्कारका मुद्दा पुलिसले Crown Prosecution Service (CPS) लाई रिफर गर्छ। CPSको रेकर्ड हेर्ने हो भने पनि बेलायत र वेल्समा २०१९मा ५८,६५७ वटा घटना घटेकोमा जम्माजम्मि १,९२५ मात्रै मुद्दा चलेको देखिन्छ। जवकि सन २०१६मा गोप्य अभियोजन दर ६० प्रतिशत पुर्याउने लक्ष राखिएको थियो। (स्रोतः https://www.bbc.com/news/uk-48095118) र https://www.bbc.com/news/uk-50812810 ) ।
अमेरिकाकै हेर्ने हो भने २०१० र २०१४ बीचमा जम्मा जम्मी ३१% मात्रै घटना पुलिसकोमा पुगेको देखिन्छ । तिनमा पनि ५.७% मात्रै पक्राऊ पर्ने, र एक प्रतिशत हाराहारी मात्रै दण्डित हुने रैछन। समग्रमा अमेरिकामा ३% बलात्कारी मात्रै कम्तिमा एक दिन जेल बस्छन, ९७% ले छुटकारा पाउँछन (http://worldpopulationreview.com/countries/rape-statistics-by-country/)। स्विडेनमा प्रति एकलाख जनसङ्ख्यामा ६३.५ जना माथि बलात्कार हुन्छ । यूरोपको सबै भन्दा खराब देश यही हो बलात्कारको आँकडा हेर्दा । त्यहाँ सन २०१८को शुरुमा भर्खर सहमतिबिनाको यौन सम्पर्कलाई बलात्कार मान्ने कानून पास भएको छ।
विश्वव्यापी प्रवृत्तिलाई हामीले चुनैती दिएका छौँ धेरै क्षेत्रमा । त्यसैले महरा काण्डलाई अन्यत्र कै जस्तो सामान्य घटना भनेर हेरिनु हुन्न। हामी मान्छेलाई देवता बनाउन र दानव बनाउन संसारभरमै सबै भन्दा छिटो छौँ । साढे चार महिना अघि महरा पक्राऊ पर्दा र अस्ति महरा छुट्दाको दृष्य हेर्ने हो नेपाली मानसिकता प्रष्टै झल्किन्छ। पक्राऊ पर्नासाथको दृष्य हेर्ने हो भने वहाँका पीए त के छोरा समेत आफ्नो अनुहार कसैका सामु नदेखियोस भन्ने मनोविज्ञानमा देखिन्छन। छुटे पछि भने पक्राऊ पर्दा उनका विरुद्ध खराब शब्द कोर्नेहरू समेत अगाडी देखिन लालायित छन। ति लालायित मध्ये केही खुलेरै घटनामा राष्ट्रवादी रङ्ग पोत्न तल्लिन देखिए। अराष्ट्रवादको कलेवर लगाएर पूरै घटनालाई अर्कै तिर मोड्ने एउटा जमात महराकै जानकारी वा अन्जानमै होस सकृय देखिन्छ । महरा आफैँ भने आफ्नो व्यवहारको सीमारेखा कोर्न नसकेको सानो असावधानीले आफ्नो प्रतिष्ठा र उन्नतिमा आएको तुषारापातलाई कसरी क्षतिपूर्ति गर्ने भन्नेमा चिन्तित हुनु हुन्छ होला जस्तो लाग्छ ।
यसरी हेर्दा बलात्कारका आरोपका कानूनी र सामाजिक दुई अलग पाटा छन। सामाजिक प्रतिष्ठाको पुनर्प्राप्ती त्यति सहज देखिन्न । महरालाई लामो समयसम्म नजिकै बाट हेरेकाहरूलाई थाहा छ वहाँको रक्सी पिउने, केटी जिस्क्याउने बानी छ कि छैन भन्ने कुरा। सङ्गत नगरेपनि मैले नजिकबाट वहाँलाई देखेको लामै भयो । विवाहेत्तर सम्बन्ध हुन सक्छ तर हातमा रक्सी बोकेर अर्काकि श्रीमति बलात्कार गर्न सेनाको सुरक्षा लिएर, गाडी चढेर जानु भयो होला भन्ने कुरा पत्याउन जसरी मलाई गाह्रो भएको थियो त्यसैगरी एउटा ठूलै समूह छ जसलाई त्यत्रो मिडियामा “सप्रमाण” आएको, पुलिसले आफैँ गएर राती नै हेरेको, प्रचण्ड र ओली बसेर तथ्य विष्लेषण गरेको कुरा झुटो थियो भनेर पत्याउन गाह्रो भएको हुन सक्छ। सम्मानित अदालतको फैसलालाई पनि शङ्काको दृष्टिले हेर्ने र संसारभरका प्रवृत्ति हेरेर यो घटना पनि त्यस्तै हाइप्रोफाइल मध्ये होला जसको निरुपण कुनै लेनदेनमा टुङ्गिएको होला भन्नेमा विश्वास गर्ने ठूलै जमात छ नेपालमा ।
महरा आफै अनगिन्ती कानून निर्माणको नेतृत्व गर्नु भएको मान्छे हो। वहाँमा अव एउटा ठूलो दायित्व आइपरेको छ, कानूनको कार्यान्वयनलाई जनविश्वाससङ्ग जोड्ने। जुन किसिमका कानूनको वहाँ सिकार बन्नु भयो (अदालतले बलात्कार भएको होइन भने पछि वहाँ पिडित हो) त्यस्ता कानून अझै धमाधम बन्दैछन यो देशमा। खुला छोड्दा प्रमाण लुकाउने, छानवीन प्रभावित पार्ने र भाग्ने सम्भावना नभए पनि “सोझै लगेर झ्यालखानामा कोच अनि आरोप सम्बन्धमा सोच” भन्ने नै हाम्रो अनुसन्धान पद्दतिको महत्वपूर्ण विशेषता हो। एक महिलाले “म माथि बलात्कार भयो” भन्दा जति छिटो पक्राऊ पर्नु भयो, बलात्कार भएकै छैन भन्दा छुट्न त्यतिनै ढिलो भयो। अन्तीम न्याय जारी नभै एकजना होनहार नेताले हदै सम्मको सजायँ भोगिसक्यो। अव वहाँलाई सभामुखको पदमा पुनर्स्थापितको त के कुरा राष्ट्रपति होइन राष्ट्रपिता नै बनाए पनि त्यो क्षतिको पुर्ति हुन्न। पुनर्स्थापित महराले सभामुख जस्तो ब्यक्ति नै अन्यायमा पार्न सक्ने न्यायिक प्रकृया सुधारको नेतृत्व लिनु पर्छ।
“राष्ट्रको स्वाभिमानको रक्षा गर्न कुनै कसर बाँकि नराख्ने” अमूर्त कुरा आफ्ना हनुमानहरूका कानको चिलाई मार्ने कपास बेरिएका काँटी मात्रै हुन। तिनका कानमा आउने आनन्दले महरालाई आफ्नै दल भित्र गुमेको स्थान प्राप्त हुने वाला छैन । वहाँ विरुद्ध गम्भीर षडयन्त्र नै भएको हो भने यस्ता अमूर्त कुराले वहाँको हित गर्दैन । यति चिप्ल्याइसके पछि वहाँको राष्ट्र-प्रमुख, सरकार-प्रमुख र पार्टी प्रमुखको तीनैवटा बाटा बन्द गर्न नसके पनि तिनले वहाँलाई भर्याङ्गको तल्लो खुट्किलामा झारिसकेपछि कुनै ठूलो प्रयासले मात्रै पहिलेको गति र स्थानमा पुनर्स्थापना सम्भव छ ।
सत्यको पक्षमा फैसला आयो कि प्रमाणको पक्षमा यो महरा बाहेक अरूलाई थाहा छैन। प्रमाणको पक्षमा आएको हो भने महरा चुप चाप बसेर विस्तारै आफ्नो गुमेको साख प्राप्त गर्दै जाने हो। घाऊ कोट्याउँदा पीडा मात्रै बल्झिन्छ, मुद्दा मात्रै उल्टिन्छ । होइन सत्यको पक्षमा फैसला आएको हो भने त्यो सत्यको निरुपण हुन जरूरी छ त्यो पनि वहाँकै नेतृत्वमा। सत्य के थियो भन्ने खोतल्न वहाँले सत्य बोल्नु पर्ने हुन्छ । एक जनाले बोलेको सत्यले यो देशको राजनीतिक संस्कारमा युगान्तकारी अर्थ राख्छ ।
वहाँ रोशनीकोमा जानु भएको भए यो कामले गएको, यस्तो घटना भयो, मैले यसो गरेँ, म बिरुद्ध यो यो मान्छेले यसो गरे, रोशनीलाई यसरी प्रयोग गरे सबै सत्य वहाँले उदाङ्गो पारिदिनु पर्छ । त्यसपछि वहाँमाथि त्यत्रो षडयन्त्र गर्नु पर्ने ठोस कारणमा पस्नु पर्छ। एमसीसीकै कारण हो कि, इन्डीया-चाइना-अमेरिकाको षडयन्त्र हो? यदि हो भने त्यो र ति षडयन्त्रका नेपाली पात्र वारे वहाँले पूरै भेद खोलि दिनु पर्छ। यति मात्रै गर्न सके अव पचास वर्षसम्म विदेशीका इशारामा चलेर आफ्नै सहकर्मी माथि गरिने घात र यस्ता अन्यायको शृङ्खलामा पूर्ण विराम लाग्ने छ र विदेशीले नेपाली षडयन्त्रकारीलाई पत्याउन छोड्नेछन, नेपालले आफ्नो निर्णय उताको इशाराबिनै गर्न सक्छ र नेपाल एक स्वाधीन राष्ट्र बन्ने छ।
मैले महरालाई यो सुझाव दिनुको कारण वहाँ वाँचेको जीवन मेरा लागि नै पनि तेस्रो हो भने वहाँले त अरू कति मृत्यू नजिकबाट देख्नु भयो होला। “महरा सहित धेरै माओवादी नेताको हताहत” शिर्षकमा मैले नै एउटा समाचार लेखिसकेको थिएँ। अर्को समाचार “महरा मारिए” शिर्षकमा पनि मैले नै लेखेको थिएँ । स्पेस टाइम पत्रिकामा काम गर्दा नै। यो दोस्रो तेस्रो जीवनमा वहाँले दिने ठूलो योगदान भनेकै विदेशीको हतियार बनेर आफ्नै साथीले आफ्नै साथी सिध्याउने पेशा नेपालमा कसरी फस्टाएको रैछ भन्ने उजागर गर्दिनु हो। होला आफ्नै साथी मध्ये कोही षडयन्त्रको मतियार बनेका रैछन भने तिनले दल भित्रको यात्रा कठिन बनाइदेलान तर महराले त्यो कठिन बाटो हिँड्ने आँट गर्नु पर्छ। महराले दिएको योगदानले देशको राजनीतिले अर्कै दिशा समाउँछ। नत्र यो देश “ज्ञात अज्ञात शहीद” भने जस्तै ज्ञात अज्ञात विदेशीका दलाल”हरूले हल्लई रहने छन। अन्यायमा परेका महराहरू कि मोहरा बन्नेछन कि महरा बन्ने छन, हामी कसैले कसैलाई बलात्कारी भने त्यही पत्याई दिने सदाचारी भने त्यही पत्याईदिने शुद्ध भेडामा परिणत हुने छौँ । मुड्कि ठड्याएर भ्या-भ्या गर्न जहिले सम्म हामीलाई सक्छन त्यतिबेला सम्म हामी उनीहरूलाई “महान” पगरी लगाई दिई रहनेछौँ ।