विश्व पानी दिवसमा कोरोनाको प्रभाव (फोटो फिचर)
मार्च २२, अर्थात विश्व पानी दिवस । संसारभरि नै हरेक बर्ष विभिन्न नाराका साथ यो दिवस मनाउने गरिन्छ । तर यो बर्ष सिंगो विश्व नै कोरोना (कोभिड- १९) संक्रमणको चपेटाको भूमरीमा रुमलिरहँदा पानी दिवसको खासै महत्व रहेन ।
नेपालमा पनि केही निकायहरुले विज्ञप्ती निकाल्ने बाहेक खासै केही गरेनन् । तर कोरोनाको संक्रमणबाट बच्न सबैभन्दा महत्वपूर्ण हात धुन चाहिने पानीको महत्व ,पानी दिवसको दिन पनि कसैले सम्झन चाहेनन् ।
“ढुंगेधाराबाट थोपा थोपा गरेर घण्टौ लगाएर भरेको एक जार पानी पिउनु कि हात धुनु ?” एक महिलाले गम्भिर प्रश्न उठाइन । सरकारले अहिलेको संवेदनशील समयमा अति आवश्यक भए मात्र घरबाट निस्कन अनुरोध गरिरहँदा, राजधानीमा नै पानीको लागि मानिसहरु ढुंगेधारा,पानी पसल चाहरिरहेका थिए ।
सरकारले अति आवश्यक सेवामा पानी राखेपनि नियमित तथा उचित रुपमा पानी वितरण हुन नसक्दा राजधानीमा पानीको हाहाकार ज्यूका त्यूं नै छ । कोरोनाका कारण राजधानीवासीले पानी दिवसका दिन मेलम्ची विर्सेपनि भोलिका दिनमा पानीको मुहानको उचित संरक्षण तथा नियमित वितरणको व्यवस्था हुन जरुरी देखिन्छ ।











