काठमाण्डुले थप बिपत् धान्दैन, आधा राजधानी सारौँ

आपत अहिले आइलागेको छ, कोरोना कहर बनेर । पहिले घरसङ्ग डर थियो अहिले आफन्त, पाहुना र साथी सङ्ग। विज्ञले मास्क लगाऊ भन्छन, यो सहरमा मास्क समेत छैन, एक मिटरको दुरीमा उभिऊ भन्छन हरेक मान्छेले १-१- मिटरको दुरी कायम गर्ने हो भने सहरी क्षेत्रको १० हजार हेक्टर जमीनमा ३० लाख मान्छे, कसरी सम्भाव छ?
जैले जैले बिपत्आइलाग्छ, मेरो दिमागमा तीनवटा प्रश्न एकैसाथ उब्जिन्छनः यो काठमाण्डुको मान्छे थेग्ने क्षमता कति हो? सबै यहीँ थुप्रिनु पर्ने कारण के हो? र यसैले राजधानी रही रहनु पर्ने कारण के हो?
मैले २०५१ सालमा यहाँ आएपछि साना ठूला अनेकन बिपत्ति बेहोरेँ । हप्तौँको बन्द र महिनौँको कर्फ्यू त सजिलै पचाइयो। तर तीन वटा बिपत् मेरो पुस्ताले कहिल्यै बिर्सन्न । भुइँचालो, नाकाबन्दी र कोरोना।
बसाइ पोखरा भए पनि २०७२ सालको भूकम्पका बेला म काठमाण्डु मै थिएँ । मेरो प्राथमिकता परिवार भएको ठाउँ, पोखरा पुग्नु थियो। कलङ्की पुगेँ गाडी वन्द । एयरपोर्ट गएँ प्लेन बन्द। त्यो रात बखुण्डोलको सडकमा र भोलिपल्टको रात नर्वेजियन दूतावास छेऊ हाल होटल बनेको ठाउँमा खाली जग्गा थियो, त्यही जग्गामा प्लास्टिकको पालमुनी बिताएँ, र तेस्रो दिनमात्रै पोखरा पुगेँ । छेऊ छाऊमा खाली जग्गा नभएर कसैको घरकै चौघेरा भित्र जबर्जस्ती बसेका थियौँ हामी।
मैले भोगेको अर्को विपत थियो भारतीय नाकाबन्दी, एउटा मानव निर्मित बिपत्। ग्यास छैन, पेट्रोल छैन, सबै चिजको हाहाकार। एक नातेदारले बाइक चलाउने तेलै छैन भनेकोले २० लिटर पेट्रोल समेत मैले पोखरा देखि ल्याइदिएको छु। काठमाण्डुमा बिकल्प नभएर। पोखरा फर्किने बेला सबै पेट्रोल पम्प चाहार्दा चाहार्दै १० लिटर पेट्रोल सकियो पेत्रोल पाइनँ र आखीर ३५ लिटर कालो बजारमा किनेर हालेर पोखरा पुगेँ ।
डेरामा बसेको भएपनि पोखरा मेरो घर जस्तै थियो, छिमेकमा फलेका स्कुस, घिरौँला मेरो भान्सामा सजिलै आए, बिहान ४ बजे गएर लाइनमा बसेँ तर गाडी कहिल्यै खाली बसेन, छिमेकको घरमा बाहिरपट्टि दाउरा बालेर सेल पकाएर खाइयो, बिरौटाको सडकमा साङ्लाले सिलिण्डर बाँधेर भए पनि ग्यास जोहो गरियो। अर्थात पोखरा बसाइमा म कहिल्यै पराई भइँन । काठमाण्डुको कस्मोपोलिटान बसाइमा मैले सँधै मिस गर्ने त्यही थियो, अझै छ।
तेस्रो आपत अहिले आइलागेको छ, कोरोना कहर बनेर । पहिले घरसङ्ग डर थियो अहिले आफन्त, पाहुना र साथी सङ्ग। विज्ञले मास्क लगाऊ भन्छन, यो सहरमा मास्क समेत छैन, एक मिटरको दुरीमा उभिऊ भन्छन हरेक मान्छेले १-१- मिटरको दुरी कायम गर्ने हो भने सहरी क्षेत्रको १० हजार हेक्टर जमीनमा ३० लाख मान्छे, कसरी सम्भाव छ?
सन २०११को जनगणनामै करीव ६ प्रतिशत जनसङ्ख्या वृद्धि थियो । १० लाख जनसङ्ख्या वार्षिक रुपमा ५.७ प्रतिशतका दरले बढ्यो भने नौ वर्षमा १६लाख ४६ हजार हुन्छ । तर त्यो भन्दा बृद्धिदर निकै बढि छ । आधिकारिक तथ्याङ्क त अर्को वर्ष आउला नै । अहिलेकै अनुमानमा सहर भित्रको जनघनत्व काठमाण्डुमा ५२,५५० प्रति वर्ग माइल छ भन्ने केही अध्ययनमा देखिन्छ। (स्रोतः https://worldpopulationreview.com/world-cities/kathmandu-population/) एक वर्ग माइलमा ५२ हजार भन्दा बढि जनता कसरी १-२ मिटरको दुरी कायम राख्नु?
धन्न अहिले सम्मका बिपत् एक पछि अर्को पालो मिलाएर आएका छन, हामीले नै माग गरे जस्तै। कल्पना गरौँ टुँडिखेल वा सम्मेलनकेन्द्र वा इञ्जीनियरिङ्ग क्याम्पसका चौरमा पालमा बसेका बेला कोरोनाको डर फैलिएको भए के हुन्थ्यो? अहिले सबैको बस्ने कम्तिमा एउटा छाप्रो छ, भान्सासङ्ग साझा भएपनि एउटा कोठा छ । तर साँच्चै कोरानाका एकदुई केश मात्रै आए भने त्यो छाप्रो र त्यो कोठोले काम दिन्छन?
हरेक बिपत् पछि काठमाण्डु छोड्नेको सङ्ख्याले नै भन्छ काठमाण्डु प्रति तिनको भर छैन, विश्वास छैन। यसपाली त सरकारले घर जाऊ भनेको होइन नि, जहाँ छौ, त्यहीँ बस पो भनेको हो त । तर शनीबार दिउँसो एउटा औषधी घर पठाउन कोटेश्वर पुगेँ । ठ्याक्कै २०७२को भुइँचालो पछिको जस्तो दृश्य थियो त्यहाँ । झोला-झ्याम्टा सहीत बसाइँ सर्ने मान्छेको भीड हेर्दा लाग्थ्यो काठमाण्डु अर्को सिरिया वा यमन भएको हो। सरकारी तथ्याङ्क हेर्दा शनीवार मात्रै १८६५४९ ले छोडेको देखिन्छ (स्रोतःकान्तिपुर चैत्र ९) तर यो भन्दा ठूलो सङ्ख्या तथ्याङ्कमा असमाबिष्ट छ भन्ने अरू मिडियाका समाचारमा प्रष्ट देखिन्छ।
भुइँचालो र यसपछिको नाकाबन्दीका बेला एउटा पिछडिएका गाउँमा बस्ने मेरा बुवाले फोन गरेर भन्नु भयोः “कि यतै आउछौ त हौ?” बुवाको निम्तामा एउटा गहिरो भाव लुकेको छ। तीस वर्ष जागीर खाएको, दुईलाख भन्दा बढि मासिक तलब थाप्ने छोराका लागि समेत काठमाण्डु भन्दा गाउँ सुरक्षित छ। काठमाण्डुमा कमाएको पैसोले समृद्धि, सुख दिएको छ तर सुरक्षाको प्रत्याभूति दिन सकेको छैन ।
हो, काठमाण्डु सुखकालको सहर हो। जो-जो बाहिरबाट आए पनि पालेको छ, समृद्ध बनाएको छ । यतिमात्रै होइन शासकका रुपमा सबैलाई स्विकारेको छ । तर आफू विस्तारै वस्न अयोग्य सहर बन्दै गएको छ ।
अहिलेका शासक १२ आनामा घर बनाएर शासन गर्दै होलान, पहिलेकाले १२ बिघामा बनाएर शासन गरे। हरेक शासकले शासन केन्द्र छेऊ नै आफ्नो आवास हेर्ने इच्छा राख्दा एक वर्षको उत्पादनले ४ वर्ष बसी बसी खान पुग्ने यो सहर विस्तारै ४ दिन बाहिरओ सामान नआए जनता पाल्न नसक्ने भएको छ, चार दिन बाह्य सम्पर्क टुटे आत्तिनु पर्ने हालतमा पुगेको छ।
शासकहरूका अदूरदर्शी नीतिले गर्दा २ आना र ३ आनाका टुक्रामा बिभक्त भएको काठमाण्डुले आपत विपतमा अव छाप्रो हाल्ने ठाउँ दिन सक्दैन, न भोकका बेला पेट भर्दिन सक्छ। भएका सार्वजनिक स्थालहरू सबै या त सेनाको कब्जामा छन या ठेकेदारका र गाडी साहूका जिम्मामा। जो आउँछ, फर्किँन मान्दैन बरू शासक हुने सपना देख्छ। यसको भार-बहन क्षमता कति हो हामीलाई थाहा छैन। कुनै पुलको भार बहन क्षमता स्थिर भार हुँदा र चलायमान भार हुँदा कति फरक पर्छ हामीलाई थाहा छैन। यो उपत्यकाको पनि जनता राख्ने भार स्थिर र चलायमान दुई अवस्थामा फरक फरक होलान नि! जब जनसङ्ख्या हल्लिन्छ, उपत्यकाले त्यो भार बहन गर्न नसकेर सँधै हल्लिन्छ। हरेक समस्यामा कम्तिमा १०लाख जनसङ्ख्या बाहिरिन्छ र अर्को १५ लाख यहीँ दुःख झेलेर बस्छ। त्यो १५ लाखले यहाँको जेनतेन वस्न योग्य अर्को २५ लाख जनसङ्ख्याको आधारभूत सुविधा र सुखलाई असर पारिदिन्छ । हामीले भोगीसक्यौँ, एक पल्ट होइन पटक-पटक ।
“मूर्खले कुनै बौद्धिक उत्तरबाट सिक्न सक्ने भन्दा बढि एउटा बुद्धिमान ब्यक्तिले एउटा मूर्ख प्रश्नबाट धेरै सिक्न सक्छ” भन्ने ब्रुस-लीको भनाईमा टेकेर म एउटा मूर्ख प्रश्न गर्दै छु। छँदा-खाँदाको राजधानी, रातारात पीचमाथि पीच थपिने राजधानी, विश्वस्तरीय पढाइ हुने स्कूल भएको राजधानी, हरेक शासकको आफ्नै घर र हरेक शासक नजीककाहरूको आफ्नै कम्तिमामा ३ आना दुई पैसा जग्गा भएको राजधानी, बाँकि विश्वसङ्ग जोड्ने एकमात्रै “गेट-वे”को रुपमा रहेको राजधानी, समृद्धिको इतिहास र सुखको भविष्य बोकेको राजधानी यसरी सारौँ भन्नु आफैँमा एउटा धृष्टता त हो नै अझ “किन काठमाण्डु मात्रै राजधानी राखिराख्नु पर्ने?” भन्ने प्रश्न त मूर्ख प्रश्न नै हो । तर त्यही मूर्ख प्रश्नबाट बुद्धिमान शासकले केही सिक्न सक्छन कि भन्ने आशले एउटा ऐतिहासिक निर्णय लिन म शासकहरूलाई अनुरोध गर्दछु।
सबैलाई थाहा छ, रबरको तन्किने निश्चित क्षमता हुन्छ। बढि तन्काउन खोजे त्यो चुँडिन्छ । बिपत् मा गाँस र बास दिन नसक्ने, आफ्नो मल-मुत्र र तरकारीका बोक्रा आफैँ बिसर्जन गर्न नसक्ने, आफ्नै कुनै पानीको स्रोत नभएको काठमाण्डु, सबै जहाज र गाडीका भरमा बाँचेको काठमाण्डुको तन्किने क्षमता सकियो। बिपतमा यसको तन्किने क्षमताको माग झन बढ्छ। अवको विकल्प यो रबरलाई चुँडिनबाट रोक्ने मात्रै हो, बढि नतान्ने हो र यसको भार घटाउने हो। भार घटाउने भनेको यहाँको जनसङ्ख्याको चाप घताएर व्यवस्थापन-योग्य बनाउने हो, र यो त्यतिबेला मात्र सम्भव हुन्छ जतिबेला हामी यहाँका सुबिधा बाहिर लगेर जनतालाई त्यतै डोऱ्याउन सकिन्छ। त्यसैले अझै अवेर भएको छैन राजधानी सारौँ, पूरै होइन आधा-उधी।
राजधानी सार्ने भनेको कुनै आकाश खसाउने निर्णय होइन र सरकारको कोषबाट मात्रै खर्च गर्नु पर्ने कुनै मेगा प्रोजेक्ट पनि होइन, कजाकास्तानका राष्ट्रपति नूरसुल्तान नजर्बाएभले राजधानी अल्माटीबाट अस्ताना सार्ने बेलामा भने जस्तो। सार्वजनिक निर्माण, मन्त्रालय विभाग सरकारले बनाउने हो, अरू ज-जसको सेवा हो उसैले बनाउँछन। स्कुल, कलेज सबैलाई निश्चित वर्षे लीजमा जग्गा दियो, केही सहुलियत दियो, आफैँ बनाउन सक्छन। यो फेरि नेपालले मात्रै गर्ने कुनै नौलो अभ्यास पनि होइन । पाठ सिक्न अन्यत्रका थुप्र उदाहरण छन, हेर्न सकिन्छ।
सन १९५६ देखि २००० सम्म मात्रै १३ वटा देशका राजधानी सहर सारिएको देखिन्छ, कुनै राजनीतिक परिवर्तनको अनुभूति दिलाउन, कुनै शासकको पाहिचानका लागि, कुनै सन्तुलित विकासका लागि, कुनै प्राकृतिक प्रकोपका कारण, कुनै विवाद समाधान गर्नका लागि, र सबै भन्दा महत्वपूर्ण उद्देश्य भनेको जनसङ्ख्याको चाप धान्नका लागि (स्रोतःEdward Schatz. When Capital Cities Move: The Political Geography Of Nation And State Building. Southern Illinois University. २००३) । सन २००० पछि पनि म्यान्मार, बुरुण्डि, पलाउ लगायत कति देशले राजधानी सारिसकेका छन ।
राजधानी किन सारिन्छ भन्ने केही उदाहरण हेरौँ ।
नाइजेरियाको राजधानी लेगोस संसारका दुषित मध्येको राजधानी थियो। १९७६मा सैन्य सरकारले त्यसलाई सार्ने योजना बनायो र १९९१मा अबुजा सारियो। राजधानी सार्ने काम जनसङ्ख्या व्यवस्थापन र भौतिक सुबिधाको दृष्टिले मात्रै हेरिन्न। यसको राजनैतिक आयाम पनि हुन्छ । नाइजेरियाको निर्णयका पछाडी योरुबा, इग्बो र हौसा-फुलानी तीन प्रमुख जातीहरू मध्ये कुनै एक मात्र जातीको प्रभावबाट राजधानी सहरलाई मुक्त गर्ने ध्येय थियो।
भारतको राजधानी १९११मा नयाँ दिल्ली सारियो, भूगोल हेरेर र ब्रिटिस साम्राज्यको शासकीय क्षमता सुदृढ गर्न। पाकिस्तानको राजधानी १९६०मा कराँचीबाट रावलपिण्डी हुँदै १९६७मा इस्लामाबाद सारियो राजनैतिक उद्देश्यले । भन्न त देशको सबै भूभागको विकास विविधिकरण गर्न भनियो तर त्यसको उद्देश्य सैन्य थियो । कराँची भारतको धेरै नजीक र सामरिक हिसाबले कमजोर भूभागमा अवस्थित थियो । अझै मिलिटरी हेडक्वार्टर आ्दि रावलपिण्डीमा नै पनि छन।
टर्कीको अटोमन साम्राज्य ढलेर गणतन्त्र आए पछि १९२३मा कन्स्टान्टिनोपलको ठाउँमा अङ्कारा जन्मियो। बोल्सेभिक क्रान्तिले १९१८मा सेन्ट पिटर्स्बर्गलाई मस्को साऱ्यो, मेरिल्याण्ड र भर्जिनियाको भूभागबाट एउटा वर्गाकार टुक्रा लिएर वासिङ्टन डिसी बन्यो, सन् १८००मा, र अस्थायी राजधानी फिलाडेल्फियाका सबै प्रशासनिक संरचना सारियो।
सिड्नी र मेल्बर्नका झगडाका कारण अस्ट्रेलियाको राजधानी १९१३मा क्यानबेरामा बनाइयो। सिड्नी र मेल्बर्न दुवै सामुद्री किनारामा भएकाले बाह्य आक्रमणको डर छ भन्ने बहाना बनाएर समुद्र सङ्ग नजोडिएको भू-भाग (इनल्याण्ड)मा दुई अमेरिकी वास्तुवीदले डिजाइन गरेको नयाँ सहर खडा गरेर अस्ट्रेलियन क्यापिटल सिटी (एसिटी) बनाइयो, दुई सहरको सहमतिको राजधानीका रुपमा। स्थानीय ङुनावाल भाषामा क्यानबेरा भनेकै “मिटिङ्ग प्लेस” अर्थात सङ्गम-स्थल हो। क्यानडामा हेर्ने हो भने मन्ट्रियल र टोरन्टोको बिवादबाट ओटावा जन्मिएको हो, १८५७मा। सन १९४८मा मनिलाबाट क्वेजोन सहरमा सारिएको फिलिपिन्सको राजधानी १९७६मा फेरि मनिला नै सारियो। यसको नितान्त राजनैतिक नियत थियो।
म्यान्मारले २००५मा रङ्गूनबाट राजधानी नेप्यिदो साऱ्यो, नितान्त जुन्ताका सुबिधाका लागि। यस अघि धर्मभीरु राजा मिन्दोँले बुद्ध धर्मसङ्ग जोडिएको अलग्गै सहर बसाएका थिए, मन्डले, जुन अझै म्यान्मारको दोस्रो ठूलो सहर हो।
प्राकृतिक प्रकोपले ध्वस्त भएका कतिपय राजधानीको बिकल्प खोज्ने चलन संसार भर नै छ।
बेलिजको राजधानी १९७०मा बेल्मोपन सार्ने एउटै कारण हाट्टी नामक सामुद्रिक आँधीले १९६१मा पुर्याएको क्षति थियो। नर्वेमा १६२४ को आगलागीबाट ओस्लो ध्वस्त भए पछि राजा क्रिष्टियन चतुर्थले ओस्लोको पश्चिम तटमा नयाँ सहर बसाए र नामै क्रिष्टियाना राखे। १८५९मा दुई सहर गाभियो र १९२५मा दुवैलाई ओस्लो कै नाम दिइयो।
धान्नै नसक्ने जनसङ्ख्या भए पछि रियो दि जेनेरियो १९६०मा ब्रासिलिया सर्यो। सामुद्रिक किनारा भन्दाका भित्री सहरहरूको पनि विकास गर्ने, भौगोलिक हिसाबले वीचमा पर्ने र समुद्रबाट हुने आक्रमणमा बढि सुरक्षित देखिने हुँदा ब्रासिलिया सारिएको भन्ने तर्क गरियो। चाख लाग्दो कुरा ब्राजिलको १८९१को सम्बिधानले नै भौगोलिक रुपमा सबैलाई पायक पर्ने बीच तिर राजधानी हुनु पर्ने व्यवस्था गरेको रैछ । यो सङ्घीयताको मर्म अनुरुप मानियो। यसको नितान्त राजनैतिक कारण थियो।
जकार्ताले जनसङ्ख्या धान्न नसकेको र समुद्रको पानीको तह बढ्नाले जोखिम बढेको भन्दै २०१९ अगस्टमा इन्डोनेसियाका राष्ट्रपति जोको विदोदोले पूर्वी कालिमन्तानको बोर्नियो टापुमा नयाँ राजधानी बसाल्ने घोषणा गरेका छन। दुई रिजेन्सीको भूभाग काटेर २०२०मै राजधानी निर्माणको काम सुरु गर्न संसदले समेत अनुमति दिइसकेको छ। २७ बिलियन पाउण्ड खर्च हुने परियोजनाले वन विनास गर्ने र प्रदुषण फैलिने भने भनेर वातावरण अभियन्ताहरू कराइरहेका छन।
इजिप्टले पनि काइरोको पूर्वमा नयाँ सहर बसाएर राजधानी बनाउने २०१५मै प्रस्ताव गरिसकेको छ। २०५० सम्म सम्पन्न हुने त्यो नयाँ सहरले ४ करोड जनसङ्ख्या थेग्ने छ। हालै राजधानी सार्ने देश मलेसिया पनि हो। मलेसियामा सरकारका प्रशासनिक निकायमात्रै क्वालालम्पुरबाट पुत्रजया सारिएको हो २००१मा, न्यायालय समेत। राजा अझै क्वालालम्पुरमै बस्छन र केन्द्रीय व्यवस्थापिका समेत त्यहीँ छ।
थुप्रै देशले राजधानी सारेका छन, सार्न योजना बनाई रहेका छन । यो एउटा विकासको सामान्य नियम हो। किन राजधानी सार्ने भन्ने संसार भर अनेक तर्क छन। गोर्खा राज्यको राजधानी पनि काठमाण्डु सरेको यसपाली २५० वर्ष पुग्दै छ । यहाँको समृद्धि, संरचना, संस्कृतिका अलावा यहाँ सार्ने उद्देश्य भनेको शासकको स्थायी उपस्थिति सुनिश्चित गर्नु थियो। आफू गोर्खा फर्किँदा, आफ्नो अनुपस्थितिमा हुनसक्ने विद्रोहलाई हेरेर पृथ्वीनारायणले गोर्खालाई यता सारे तर शीतकालिन राजधानी त पछिसम्म नुवाकोट कायमै थियो। अर्को प्रमुख कारण दक्षिणमा फैलँदो बृटिस साम्राज्यको प्रभाव,सम्पर्क र आक्रमनबाट राजधानीलाई टाढा राख्नु पनि थियो। त्यतिबेलाको रणनैतिक महत्व अहिले सक्किइसकेको छ। राजधानी वारे अव पुनर्विचार गर्दा केही फरक पर्दैन ।
विकल्प के छन त?
हामी मलेसियाको मोडलमा जान सक्छौँ भन्ने मलाई लाग्छ। कार्यपालिका पूरै चितवन र नवलपरासीको चौडा भूभाग तिर सार्न सकिन्छ। व्यवस्थापिका र राष्ट्रपति यहाँ राख्ने हो भने अहिलेका धेरै विकृतिको पनि अन्त हुन्छ। सांसद कानून निर्मांणमा यहीँ व्यस्त हुन्छन र कार्यलालिकाले चितवन-नवलपरासीबाट सांसदहरूको न्यूनतम हस्तक्षेपमा दैनिक प्रशासन चलाउँछ।
यस्तो निर्णय यदि गरियो भने त्यसको दिर्घकालिन राजनीतिक, आर्थिक र सामाजिक महत्व हुने छ । राजनीतिक फाइदा हेर्दा सबै प्रदेशको पायक पर्ने ठाउँमा केन्द्रीय राजधानी प्रदेश पर्ने छ र सङ्घीयताको केही हदसम्म भए पनि अनुभूति यो निर्णयले दिलाउन सक्छ। वास्तविक परिवर्तनको अनुभूति भनेको राष्ट्र निर्माणमा एउटा कोशेढुङ्गा हो। अहिले सम्मका काठमाण्डु केन्द्रित विकास थोरै मात्रामा भए पनि बाहिर जानेछन । एउटै थापाथली र बबरमहलको सडक खण्डमा वर्षमा तीन पटक पीच गर्ने अहिलेको जस्तो अनुत्पादक विकास मोडल र ठसठसी कन्दै ट्रकले उकालोमा चामल तानेर जनता पाल्नु पर्ने काठमाण्डुको बाध्यता केही हदसम्म भए पनि हट्ने छ ।
धान्न सक्ने जनसङ्ख्या भए पछि काठमाण्डुलाई पर्यटन, हस्तकला लगायतका आफ्नो स्रोतको प्रचुरमात्रामा प्रयोग गर्न बाटो खुल्ने छ । अर्थतन्त्र केही हद सम्म आत्मनिर्भर हुने छ | सेवा र जनसङ्ख्याको सम्बन्ध अङ्कगणितीय र ज्यामितीय जस्तै हुन्छ । फाल्तु जनसङ्ख्याका लागि सार्वजनिक सेवा प्रदानको हिसाव हेर्दा आधा जनसङ्ख्या घट्दा चारगुणा भन्दा बढिको बोझ घट्छ । त्यो त्यसको लामो व्याख्या चाहिए म पछि गर्ने छु, आइडियल पपुलेशन के हो भन्ने कुरा धेरैले बुझेको विषय हो। केही मन्त्रालय बाहिर लगेर उपत्यकाबाट २०-२५लाख जनसङ्ख्या घटाउन सकियो भने काठमाण्डु आफैँमा बस्न योग्य ऐतिहासिक सहरको रुपमा पुनर्जिवित हुने छ । मैले यसैलाई आर्थिक महत्व भनेर देखाउन खोजेको हुँ ।
सामाजिक महत्व हेर्दा अहिले ५० लाख जनसङ्ख्या भएको काठमाण्डु उपत्यका सरकार बिहीन छ । हेटौँडाको सरकारलाई कुनै हालतमा यसले आफ्नो मानेको छैन । सघन उपस्थिति भएका दुई जाती-नेवार र तामाङ्ग, यसमा गाँसिएका छन । प्रदेशको आधा भन्दा बढि जनसङ्ख्याले आफू सामु प्रदेश सरकारको अनुहार देख्न नसकेको बेला प्रदेश राजधानीलाई हेटौँडाबाट काठमाण्डू सार्न यो निर्णयले मद्दत पुऱ्याउने छ ।
धेरै अर्थमा लोथर देखि दाउन्ने पूर्वको मैदान राजधानीका लागि उपयुक्त छ। एक हिसावले त्यो जमीन भर्जिन छ , योजना तयार पारेर जे पनि बनाउन पुग्ने ठाउँ छ । ठूला स्कुल कलेज सार्न पर्याप्त जमीन छ सार्वजनिक जग्गाको उपलब्धता, पानीको पर्याप्तता, चितवनको जातीय बनोट आदिले यसलाई राजधानी बन्न सक्ने हैसियत दिलएका छन । जातीय बनोटले यसलाई केन्द्रीय राजधानी प्रदेश बन्न अत्यन्त उपयुक्त गुण दिएको छ। यि सबैभन्दा ठूलो गुण भनेको यो ठाउँको क्षमता ठूला ठूला विपत धान्न सक्ने खालको छ। अवको योजना नै विपत-सम्बेदनशील हुनेछ। जोखिमको सामना गर्ने राजधानी सहर )रिजिलियन्ट क्यापिटल सिटी) राष्ट्रिय समृद्धिको एकमात्रा आधार हो हरेक विपत् को पहिलो सिकार बन्ने काठमाण्डु जस्तो शासन केन्द्रको आधा ध्यान जोखिम धान्ने क्षमता बढाउन र जोखिमबाट रिकोभर गर्नमै खर्च भएको हाम्रो ताजा अनुभव छ।
एउटै मात्र चनाखो हुने पर्ने विषय भनेको चितवन-नवलपरासी क्षेत्रलाई तत्काल भूमाफियाको कब्जा-मुक्त गर्ने र नगैसकेको भए जानबाट रोक्ने काम भने गरिनु पर्छ।
मुद्रा, रक्षा, गृह, परराष्ट्र, उर्ज्जा , न्याय, आदि केन्द्रको प्रत्यक्ष नियन्त्रण चाहिने बाहेक वन, कृषि, पशु, सिंचाई, खाद्यान्न, पेट्रोल, खानी, उद्योग, भूमि, व्यापार, यातायात, पूर्वाधार आदि विषय हेर्ने केन्द्रीय निकाय काठमाण्डुमै कोचेर राख्नु पर्ने आवस्यकता म देख्दिन। अन्तर मन्त्रालय समन्वय र महत्वपूर्ण वैठककालागि हामीले प्रविधिको प्रचुरमात्रामा प्रयोग नै गरिसकेका छौँ । यो सरकार बनेपछि यस्ता प्रविधिमैत्री वैठकका थुप्रै अभ्यास भै सकेका छन। व्यक्ति नै आउनु पर्यो भने पनि पुमा हेलिकप्टरले १० मन्त्री र १० सचिव आधा घण्टामा काठमाण्डु ल्याउन सक्छन। यसलाई कुनै महाभारत मान्नु पर्दैन।
द्रुत मार्गले जोडे एक घण्टाको दुरीमा रहेको त्यस्तो सम्भाव्यतालाई शासकको आठाना-बाह्र आना घडेरीको लोभले गर्दा अहिल्यै उपयोग गर्न सकिएन भने १० वर्ष पछि काठमाण्डु वस्न पूर्ण रुपमा अयोग्य मात्रै हुने छैन यहाँका केही सुबिधा वाहिर सार्ने निर्णय गरियो भने पनि उता तिनलाई राख्ने ठाउँ हुने छैन |
(लेखका कतिपय सूचना विकीपिडिया आदि खुला स्रोतबाट प्राप्त हुन।)