अझै हास्दै निस्कने मौका छ, प्रधानमन्त्रि ज्यू !
कुनै कुरा दोहोऱ्याएरै सुनाउनु पर्ने खाले हुन्छन । मेरो यो कुरो पनि दोहोऱ्याएँ कि तेहेऱ्याए थाहा छैन।
भालुलाई पुराण भन्ने हाम्रो पूर्वीय संस्कृतिमा एउटा उक्ति छ। भालुले टाउको ठड्याएर क्षितिज हेर्दैन। पर हेर्नु पर्यो भने अगाडिका दुई खुट्टा सहित उचालेर ठडिनु पर्छ। त्यसैले ओह्रालो फर्केको हरेक चिजमा भालुको प्रयोग हुन्छ, शेयर बजार लगायत।
टाढा नहेर्ने, हेर्न नसक्ने र हेर्नै पर्ने भए पनि आफूले टेकेको धरातललाई आधा नछोडिकन देख्न नसक्ने भएकाले उसले बाहिरको ज्ञान पाउने अवस्था कम हुन्छ। त्यसैले उसलाई पुराणले काम गर्दैन। पुराणबाट भालुले केही सिक्दैन। टाढा हेर्न उसले मान्छे जस्तो उभिन्छ। सामान्य प्राकृतिक अवस्थामा केही परिवर्तन गर्छ।
भालुलाई वेद, उपनिषद, ब्राह्मण केही नसुनाई किन पुराण सुनाउने उखान बनेको हो त? पुराण नै चाहिँ के हो त त्यस्तो चिज जुन मूर्ख, जमीन तिर मात्रै घोप्टिएर बस्ने, सँधे शीर झुकाएर बस्ने जन्तूलाई ज्ञान दिने प्रसङ्गमा जोडियो?
पुराण के हो भन्ने चिजले त्यसलाई भालुसङ्ग जोड्नुको अर्थ खोल्छ।
वेद अत्यन्त ठूला विद्वान वा विद्वानहरूको सामुहिक सिर्जना त हो नै, यसलाई बुझ्ने भनेका झन ठूला विद्वान हुन। जस्ले तस्ले वेद बुझ्न नसकेकोले यसका दार्शनिक भेदका सार र अन्तीम आध्यात्मिक दृष्टिकोण बुझाउन उपनिषद जन्मिए, गुरुका चरण छेऊ बसेर गुरुबाट वेदका अर्थ बुझाउने ग्रन्थ स्वरूप। ति उपनिषद सम्म नबुझ्नेका लागि पछि पुराणको सिर्जना भयो। बुझ्दै नबुझ्नेलाई कसैको उदाहरण दिएर कथा बनाएर सुनाउँदा मुर्खले समेत बुझ्ने भएकाले हामी जस्तो अज्ञानी, मुर्खहरूका लागि पुराणको महत्व छ, त्यसमा कुनै व्यक्तिका सुख दुःखका कुरालाई कथा बनाएर सुनाउँदै अलि अलि भए पनि ज्ञान र दर्शन घुसाइन्छ । त्यसैले भालु त्यसमा आएको होला।
सबै भन्दा मुर्खले कुरा बुझ्ने भनेको ऊ जस्तै मुर्खले आफ्नो मुर्खताका लागि पाएको सजायँको कथाले हो । कोरोनाको महामारी अन्यत्र फैलिएपछि मुर्खताका कारण अरूले दुःख पाएका कथाहरू यहाँको कथित वौद्धिक समूहले आफ्ना बाहिर भएका सन्तानलाई सोधेर होस वा इन्टरनेटमा खोजेर होस सुनाउने कोशिस गर्यो। कसैले प्लेग-पुराण सुनाए, कसैले अहिले इरानको र इटली वा स्पेन वा अमेरिकाका कथा सुनाए, र सम्झाउन खोजे हाम्रो समाज भित्र महामारी पसे नियन्त्रण गाह्रो छ त्यसैले रोक्ने र आइहाले सामना गर्ने तयारी चाहियो भनेर।
शासकले हामीलाई उल्टै चीनका कथा सुनाए कसरी शासकले भित्र बस भनेपछि चरो मुसो बाहिर निस्किएन भनेर पाठ पढाउन, र जनता किन अनुशासित बन्नु पर्छ भनेर अर्ति दिन।
हो, हामी शासकलाई पुराण सुनाउन तल्लिन छौँ शासकहरू हामीलाई पुराण सुनाउन तल्लिन छन । कसले कसलाई भालु ठानेको चाहिँ थाहा छैन तर दुवैले त्यो पुराणबाट केही सिकेको देखिन्न। यत्रो महामारीको त्रास संसारभर फैलिसक्दा पनि हाम्रा शासकले टाउको हल्का माथि राखेर पर सम्म हेरेको देखिन्न।
सरकारले महामारी सङ्ग जुध्न अथक प्रयत्न गरेको छ। ति सबैलाई उसका अपारदर्शी र वदनियतपूर्न खारीद प्रकृयाले ओझेलमा पर्दिएको छ। प्रधानमन्त्रि-प्रतिरक्षित खरीद प्रकृयामा भ्रष्टाचार भयो, भएन मलाई थाहा छैन तर मलाई यति चाहिँ विश्वास छ कि त्यसमा भुइँमा मान्छे चिप्लिने गरी ऱ्याल चुहाइएको थियो । सरकारले तयारी, तयारी भनेर जनवरीको दोस्रो हप्ता देखि फलाकिरह्यो तर जब कोरोना वास्तविक रुपमै आयो, अनि सरकारी तयारी देखियो। तयारी त पहिलो केस आए पछि कसरी प्रेस कन्फरेन्स गर्ने? बालुवाटारमा गर्ने कि रामशाह पथमा गर्ने? त्यसका मुख्य व्यक्तिका दायाँ बायाँ को को बस्ने? विज्ञप्ति कस्तो र कत्रो बनाउने? त्यसमा संक्रमितको नाम लेख्ने कि उमेर र लिङ्ग मात्रै लेख्ने? कुन कुन पत्रकार बोलाउने? तिनलाई रोस्ट खुवाउने कि चिया बिस्कुटले टार्ने? जस्ता विषयमा पो भएको रैछ।
नत्र दुई तीन महिनामा कम्तिमाः
१. कोरोना भाइरस सङ्ग लड्न के के चिज चाहिन्छ?
२. ति चिज कहाँ कहाँ पाइन्छ?
३. कति केस आए भने कति चाहिन्छ र त्यो कति दिन भित्र आपूर्ति हुन सक्छ?
४. नेपालमा मेडिकल इक्विपमेन्ट सप्लाई गर्ने को को हुन?
५. ति सप्लायर्सले कुन कुन ठाउँबाट ल्याउँछन र कति दिन लगाउँछन?
६. सामान्य कालमा तिनको मूल्य कति छ र असामान्य परिस्थिति आए कति सम्म जान्छ?
७, कोरोनाका केस आइहाले पहिलो घेरामा बसेर काम गर्ने डाक्टर को को हुन?
८. पहिलो पल्ट रेस्पोन्ड गर्ने अस्पताल कुन कुन हुन?
९. ति अस्पतालको क्षमता, जनशक्ति र औजारको अवस्था कस्तो छ?
जस्ता आधारभूत कुराको प्रष्ट खाका हुन्थ्यो । त्यति भएको भए लगन घड्किन लागेपछि कुखुराका अण्डा सप्लायर्स र कम्प्युटरका पार्ट सप्लायर्सलाई आधारातमा खोज्नु पर्दैनथ्यो।
म पूर्वाग्रही भएको भए माफ गर्नुस, सरकारी ध्यान भनेको निर्माण र खरीदमा मात्रै छ देशभरि। त्यसको एउटै प्रेरक तत्व छः कमिशन। अरू काममा कमिशन न आउने भएकाले खरीद गर्ने र निर्माण गर्ने काम छ भने सबैले आफ्नै कार्यकाल भित्र आफ्नै नेतृत्वमा गर्न चाहन्छन। दुई महिने ढिलाई त्यही थियो। कसलाई दिँदा कसरी आउँछ। त्यही भएर पहिला सुरक्षित तरीकाले दिइरहेको पार्टी खोजियो, मेडिकल इक्विपमेण्टका नाममा मास्क र पञ्जा नचिन्ने पार्टी।
म पूर्वाग्रही भएको भए फेरि पनि माफ गर्नुस, स्वास्थ्यमन्त्रि आँट भएको मान्छे भए पनि यो काण्ड यसरी आउँदैनथ्यो। एउटा विद्यार्थी नेता भएका र पहिलो पल्ट मन्त्रि भएका हुनाले वहाँको धेरै ठूलो पैसोमा हान्ने आँट थिएन भन्ने प्रष्टै छ। वहाँले “माथि”को सहारा लिँदा सबै तयारी ढिला भए, र लकडाउन गरेपछि हतारमा खरीद गर्नु पर्ने बाध्यता आइलाग्यो।
यो खरीदमा गम्भीर त्रुटी भयो भन्ने जग जाहेर छ । गल्ती गर्नेले कुनै प्रायश्चित गरेको देखिएन। कसैले दण्ड पाएको देखिएन। उल्टै सगौरव भनियो ठेकेदारले यति टन ल्याउँछु भनेर ढाँट्यो, सकेन, यति दिन भित्र ल्याउँछु भन्याथ्यो सक्ला जस्तो छैन। कालो सूचीमा चढ्छ। ऊ कालो सूचीमा त चढेन चढेन, कालो सिसा भएको कारमा चढेर गएर चेक बुझ्यो र पैसा जम्मा गर्यो।
आपत बिपतका बेला सरकार अत्यन्त जिम्मेवार रुपमा प्रस्तुत होस, उसका गम्भीरता र इमान्दारितामाथि जनताको भरोसा बढोस अनि उसको पुराण वा अर्तिलाई जनताले मान्छन। अहिले त आम्दानीको साङ्लोमा प्रत्यक्ष जोडिएका लाभग्राही कार्यकर्ता बाहेक अरू कसैले त्यो खरीदमा बदनियत थिएन भनेर पत्याई रहेका छैनन।
सबै भन्दा दुःख लाग्दो कुरा मृत्यूको मुखमा पुगेर फर्केका, पारिवारिक, आर्थिक र राजनैतिक पृष्ठभूमिले पनि काम, क्रोध, लोभ, मोह त्याग्ने बेला हुनुभएका समग्र जनताका अभिभावक, आशाका किरण प्रधानमन्त्रिको सफेद झूट बनिदियो। बलुवाटार र रामशाहपथ पटकौँ ओहोर दोहोर गरेर, घण्टौँका लम्बेतान बैठक बसेर छानेको ठेकेदार’bout वहाँलाई थाहै रहेनछ।
नेपाली जनता सबैको ठेक्का त म लिँदिन, तर वहाँका दलका असङ्ख्य इमान्दार कार्यकर्ता सङ्ग म दैनिक गफिन्छु। वहाँलाई ओम्नी समूह वारे थाहा थिएन भन्ने सुन्दा कार्यकर्ता हाँस्छन। उनीहरूको ब्यंगात्मक हाँसो भित्र प्रधानमन्त्रि पदको गरीमा मात्रै होइन त्याग र बलीदानका प्रतिमूर्ति तिनका नेताको एउटा निष्कलङ्क छवी समेतको हत्या भएको छ।
ठिक छ, वहाँलाई थाहा थिएन होला तर भएको त्यत्रो खेलको प्रतिरक्षा नगरी “कसैका प्रकृयागत त्रुटी भएका हुन सक्छन त्यसैले त्यो ठेक्का तोडेर सोझै सेना मार्फत खरीद गर्न खोजेका छौँ। मिडिया, सामाजिक सञ्जाल र हरीक नागरिकले देखाएको चासोका लागि धन्यवाद दिन्छु, कुनै किसिमको अनियमित हुन नदिने प्रतिबद्धता व्यक्त गर्छु” भनिदिनु भएको भए के आकाश खस्थ्यो? सचेत नागरिकको स्वतस्फूर्त जागरण हो, सूचित मात्रै कुनै मिडियाले गरेको हो। यसलाई के बेमौसमी रागकै उपमा दिनु पर्थ्यो?
हो, बालुवाटारमा पसेपछि सबैको विवेक हराउँछ भन्छन। त्यो घरकै वास्तु खराव छ। त्यसैले पनि होला त्यहाँ भित्र नयाँ घर बन्न थालेको ।
मैले अलिकति राजनीति बुझ्ने भएपछि १२ जना जति प्रधानमन्त्रि बालुवाटार वसेको देखेँ , कोही एक पल्ट, कोही चार पल्त सम्म। ति मध्ये खिलराज रेग्मी अवधी तोकिएका गैर राजनीतिक व्यक्ति हुनुहुन्थ्यो। वाँकि कोही पनि हँसिलो मुख लगाएर निस्केका छैनन। सफल र सन्तुष्ट मानिएका सादगी प्रधानमन्त्रि कृष्ण प्रसाद भट्टराई र अर्का सादगी प्रधानमन्त्रि समेत गहभरि आँशु पारेर निस्किएको घर हो त्यो। त्यो देख्ने साक्षी जिउँदै छौँ। बहालवाला प्रधानमन्त्री चुनाव हारेर पहिलो पल्ट र यूरोप जाने टिकट रद्ध गरेर गहभरि आँशु पारेर निस्कनु भएको हो कृष्णप्रसाद। मनमोहन हाँस्दै निस्कने मूँडमा हुनुहुन्थ्यो, तर अहिलेका नेकपा नेतृत्वमै हुनेहरूले मुद्दा, मामला र अविश्वासको प्रस्तावको लफडामा धकेल्नु भयो। सोधे हुन्छ, अल्पमतको सरकार हो छोडिदिउँ भनेर वहाँले भन्नु भएको थियो कि होइन?
संसदमा राम्रै छेड हाने पनि कडा शब्द प्रयोग नगरी बरू लोकेन्द्रबहादुर निस्किनु भयो, पहिलो पल्ट। दोस्रो पल्ट पनि उँहाले कुनै खराव शब्द निकालेनन। सूर्यबहादुरले छोड्ने बेलामा गर्जिँदा त वहाँ वसेको सोफाकै डिलमा मैले आफ्नो रिपोर्टिङ्ग डायरी राखेर नोट गर्दैथिएँ।
देउवा पटक-पटक गलहत्याइ्नु भयो, निकालिनु भयो, र सत्तालिप्साको बिल्ला समेत भिर्नु भयो वहाँका चारैवटा बहिर्गमनमा। गिरिजाप्रसादको पनि हालत उही भयो, अल्पमतमा जानु भयो, पार्टी चुनाव हाऱ्यो । पछि पनि त्यही क्रम दोहोरियो, जित्नेले सत्तालिप्साको आरोप लगायो, राष्ट्रपति बनाउँछु भन्ने वचन उल्टायो।
प्रचण्डको पहिलो कार्यकालको समाप्ती, झलानाथको बहिर्गमन, माधव नेपालको बहिर्गमन, प्रचण्डको दोस्रो कार्यकालको असामयिक अन्त र सुशिल कोइरालाको बहिर्गमन सबै हाम्रा प्रधानमन्त्रीले कसरी बालुवाटार छोडेका छन भन्ने राम्रा उदाहरण हुन, हाम्रा नजरमा घुमि रहेका छन। वर्तमान प्रधानमन्त्रिको पहिलो कार्यकालको अन्त कसरी भयो, हामीलाई थाहा छ। गठबन्धनका गोप्य सर्तहरूको पालानामा भएका विवाद सबैका अघि छर्लङ्गै छन।
तर इतिहासको सर्वाधिक बलशाली प्रधानमन्त्रि हुनुहुन्छ । वहाँ आफ्ना वरिपरि मात्रै होइन चारकोश टाढा देख्न सक्नु हुन्छ। त्यत्रो रोगसङ्ग लडिरहे पनि अहिले जीवित सवै पूर्वप्रधानमन्त्रिहरू भन्दा वहाँको दिमाग बढि चल्छ, जान्नेहरूलाई सोधे हुन्छ ।
वहाँ अझै पार्टी भित्र बलियो हुनुहुन्छ, संसदीय दलमा बलियो हुनुहुन्छ, भक्तहरूको बलियो घेराबाट सुरक्षित हुनुहुन्छ र अरूका कमजोरीमाथि खेलेर उनीहरूमाथि प्रभाव जमाउन सक्ने हैसियतमा हुनुहुन्छ।
वहाँलाई अझै अवसर छ बालुवाटारबाट हास्दै बाहिर निस्कने । आफ्नो वरिपरिका सवै फोहोरलाई कार्पेटले छोपेर लोकलाई आफ्नो सफापन देखाउनु वहाँको कमजोरी हुने छ।
अझै तीन वर्ष बाँकि छ वहाँको कार्यकाल। झण्डै आधा अवधी खर्च भैसकेपछि आफ्ना भक्तले जयजयकार गरिरही पनि वहाँले एकपल्ट पछाडि फर्केर हेर्नु पर्छ। वहाँका सपना कति पूरा हुने खाले थिए, कति दिवासप्ना थिए, आफैँ मूल्याङ्कन गर्नु पर्छ। कति योजना धरातलमा थिए र कति हावामा उड्ने खाले थिए समीक्षा गर्नु पर्छ। र कति भक्त इमान्दार छन र कतिले गूटीय राजनीतिको फाइदा उठाएर वहाँकै अनुहारमा हिलो छ्याप्दैछन भन्ने गहिरिएर हेर्नु पर्छ।
वहाँलाई बालुवाटारबाट हँसिलो अनुहार लगाएर निस्कन नदिने प्रमुख शत्रु कुनै देशी विदेशी तत्व वा सामाजिक सञ्जाल वा मूलधारे मिडिया वा बिपक्षी दल हुँदै होइनन। बरू वहाँको आफ्नै कार्यशैली र त्यो कार्यशैली सिर्जित कार्यकर्तामा झाँगिँदो चरम असन्तुष्टी हुन। दल भित्रैको ठूलो समूह पहिले वहाँ माथि बाह्य आक्रमण हुँदा या त प्रतिकारमा उत्रन्थ्यो या मौन बस्थ्यो तर अहिले अरू भन्दा पहिला आक्रमणमा उत्रन्छ। जुन गतिमा त्यो समूहमा ओली प्रतिको सम्मानको क्षयीकरण हुँदैछ, प्राविधिक रुपमा दलले दुई तिहाइ त के पाँच चौथाइ मत ल्याए पनि ओली असफल नेता हुनु हुनेछ। ओलीले जुन कुरालाई पार्टी भित्रको एकताले गर्दा परास्त गर्न सकेको आक्रमण भन्दै हुनुहुन्छ, वहाँका दलका कार्यकर्ताको ठूलो पङ्ति त्यसलाई गुटका आडमा मुट्ठिभरले गरेको रजाइँ मान्दैछ।
थाहा छ, यस्ता पुराण वहाँको छेऊ छाऊ पुग्दै पुग्दैनन र बाँसघारीमा ढुङ्गा हाने जस्तो जवाफ पुराणबाटै आउने छ,” सत्ताबाट टाढा हुँदाको बर्बराहट”। वहाँलाई के थाह, म सात पुस्ता वरिपरिको कोही वडा सदस्य समेत नभएको राजनीतिक घरानाको, पाँच पुस्ता वरिपरिको कोही राजनैतिक नियुक्ति नखाएको घरानाको र चारपुस्ता वरिपरिका कोही निजामतिको शाखा अधिकृत सम्म नभएको घरानाको सदस्य हुँ भन्ने?