होम क्वारेन्टाइनमा शुरु भयो रमजान
मुस्लिम धर्मालम्बीहरुको महान चाड रमजान पर्व शनिबारदेखि सुरु भएको छ । यस वर्ष कोरोना भाइरसको जोखिम हुन नदिन जारी बन्दाबन्दीले घरमै बसेर सामाजिक दूरी कायम गर्दै मुस्लिम समुदायले एक महिने कठोर रमजान व्रत शुरु गरेका छन् ।
एक महिनाभर मुस्लिम समुदायले बिहान सूर्योदय हुनुअघिदेखि सूर्यास्त नभएसम्म पानीसमेत खाँदैनन् । व्रतका बेला मुस्लिम समुदायले मस्जिदमा गई कुरानको केही भागका रुपमा नमाज पढ्ने गरेकामा यस वर्ष कोरोना भाइरसको जोखिमका कारण जारी लकडाउनको पूर्णरुपमा पालना गर्न मुस्लिम आयोगले गरेको निर्देशनलाई पालना गर्दै घरमै बसेर व्रतलगायत नमाज पढ्ने विधि गरेका छन् । लकडाउनका कारण यस वर्षको रमजानमा विगतका जस्तो राजधानी लगायत देशै भरिका मस्जिदहरुमा हर्षोल्लासका माहौल देखिएन ।
देशभरका मुस्लिम समुदायले इस्लामिक पात्रोअनुसार नवौँ महिनामा रमजान व्रत गर्ने विधि रहेको भक्तिको महिनाका रुपमा मनाउने भएकाले यसबाट पाप नाश हुने धार्मिक विश्वास रहेको छ । वर्षमा कुनै त्रुटि भएको भए यसै अवसरमा अल्लाहसँग क्षमायाचना गर्ने मुस्लिम समुदायको परम्परा छ ।
रमजान व्रतपछि आउने इदुल फित्र मुस्लिम धर्मावलम्बीको पहिलो चाड हो । जुन पर्व आजको २९औँ दिनमा चन्द्रमा देखिए त्यसको भोलिपल्ट मनाइन्छ । नदेखिए ३०औँ दिन मनाइने छ । लकडाउनको बिचमा आफनो आस्था र पर्वको मूल्य मान्यतालाई कायम गर्दै मुस्लिम धर्मालम्बीहरुले रमजानका सबै धार्मिक कार्यहरु होम क्वारेन्टाइनमा नै सम्पन्न गर्ने भएका छन् ।















