शान्त रह्यो बुद्ध जयन्ती

देशमा जारी लकडाउनको कारण शून्य रह्यो बुद्ध जयन्ती पर्व । आज वैशाख पूर्णिमा अर्थात् २५६४औं बुद्ध जयन्ती । आजकै दिन ईशापूर्व ५६३ बर्ष अगाडि लुम्बिनीमा जन्म भएका सिद्धार्थ गौतम अर्थात भगवान गौतम बुद्धकोे जन्मदिनलाई बौद्ध धर्मावलम्बीले बुद्ध जयन्तीका रूपमा मनाउँछन् ।

बुद्ध जयन्तीका दिन बुद्धको जन्मस्थल लुम्बिनीमा मायादेवीको मन्दिर,स्वयम्भू,बौद्ध लगायत देशभरका बौद्ध बिहार तथा गुम्बामा पूजापाठ र प्रार्थना गरी मनाउने चलन छ । तर कोरोना भाइरस संक्रमणको महामारी रोकथाम तथा नियन्त्रणका लागि देशव्यापी गरिएको लकडाउनको कारण कुनै पूजापाठ,भेला र प्रार्थना नगरी बुद्ध जयन्ती मनाइएको छ ।

यसै क्रममा हरेक बर्ष बुद्ध जयन्तीको अवसरमा घुईंचो लाग्ने स्वयम्भू परिसर पनि शान्त नै थियो । लकडाउन र प्रहरीको उपस्थितीका कारण थोरै मात्रै भए पनि भक्तजनहरु पूजाका लागि आइपुगेका थिए । गुम्बामा हुने तथा समूहमा हुने पूजापाठ यो बर्ष ठप्प नै रह्यो । सरकारले बुद्ध जयन्तीको अवसरमा घर–घरमा दीपावली गर्न आह्वान गरेको छ ।