ललितपुरमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असार १५ : ललितपुरको स्टार अस्पतालमा मृत्यु भएका युवकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

आज बिहान आएको रिपोर्टमा उनलाई कोरोना भाइरसको संक्रमण देखिएको अस्पतालले जनाएको छ। स्वास्थ्य कार्यालय, ललितपुरका प्रमुख खगेश्वर गेलालले स्टार अस्पतालमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि भएको बताए।

स्वास्थ्य समस्या देखिएपछि रौतहटका २९ वर्षीय युवक स्टार अस्पताल भर्ना भएका थिए। उनलाई स्वास फेर्न समस्या भएको थियो।

त्यसपछि भेन्टिलेटरमा राखिएको थियो। भेन्टिलेटरमा राखेको केहीबेरमै शनिबार राति मृत्यु भएको स्वास्थ्य कार्यालयका प्रमुख गेलालले बताए।
गेलालका अनुसार शनिबार राति नै स्वाब संकलन गरिएको थियो। आज बिहान रिपोर्ट आएको हो।

योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ। – काठमाडौँ प्रेस