सात सय गोल गर्ने सात खेलाडी

काठमाडौं, असार १८ : एउटा फुटबलरले व्यवसायिक खेलाडीका रुपमा करिअरमा कति गोल गर्न सक्छ? औसतमा तीन–चार सयको हाराहारीमा हुन्छ। त्यो पनि १४-१५ वर्ष निरन्तर खेलेर एउटै लय कायम राख्न सक्यो भने मात्र। 

व्यवसायिक फुटबलमा यस्ता खेलाडी पनि छन्, जसले आफ्नो फुटबल करिअरमा सात सयभन्दा बढी गोल गरेका छन्। सात सय गोल क्लबमा आबद्ध हुने पछिल्ला पात्र हुन्, अर्जेन्टिनी खेलाडी लियोनल मेसी। मेसीले मंगलबार राति एथ्लेटिको मड्रिडविरुद्ध पेनाल्टीमार्फत गोल गर्दै यो कोसेढुंगा पार गरे। मेसीजस्तै सात सय गोलको कोसेढुंगा पार गर्ने खेलाडी को–को छन् त?

१. जोसेफ विकान, अष्ट्रिया

८०५ गोल, ५३० खेल, सन् १९३१–१९५६ सम्म

६० वर्षसम्म अष्ट्रियन खेलाडी जोसेफवे राखेको रेकर्ड अहिलेसम्म पनि कायमै छ। विकान फुटबल करिअरमा सर्वाधिक गोल गर्ने खेलाडी हुन्। सन् १९२८ देखि १९५६ सम्म २८ वर्षे फुटबल करिअरमा विकानले ८०५ गरेका छन्।

उनले १५ वर्षकै उमेरमा क्लब फुटबलमा डेब्यू गरेका थिए भने राष्ट्रिय टिमबाट भने २० वर्षको उमेरमा डेब्यूको अवसर पाए। विकानले ७७१ गोल क्लब फुटबलमा गरेका छन् भने ३४ गोल राष्ट्रिय टिमबाट।

विकानले तीन देशबाट अन्तर्राष्ट्रिय फुटबल खेलेका छन्। उनले अष्ट्रिया, चेकोस्लोभाकिया र बोहेमिया एण्ड मोरावियाबाट अन्तर्राष्ट्रिय फुटबल खेलेका थिए। सन् १९३० को दोस्रो फिफा विश्वकप विकानले अष्ट्रियाबाट खेलेका थिए। सन् २००१ मा ८८ वर्षको उमेरमा विकानको निधन भएको थियो। 

२. रोमारियो, ब्राजिल

७७२ गोल, ९९४ खेल, सन् १९८५–२००७ सम्म

करिअरमा सर्वाधिक गोल गर्ने सूचीमा दोस्रो नम्बरमा छन्, ब्राजिलियन पूर्वस्ट्राइकर रोमारियो। सन् १९८५ देखि २००७ सम्मको फुटबल करिअरमा ९९४ खेल खेल्दै उनले ७७२ गोल गरेका छन्। 

२२ वर्षे फुटबलर करिअरमा रोमारियो स्पेनिस क्लब बार्सिलोना, सेभियादेखि कतारी फुटबल क्लब अल सादबाट पनि खेले। रोमारियोले क्लब फुटबलमा ७०१ र राष्ट्रिय टिमबाट (ओलम्पिकसमेत) ७१ गोल गरेका छन्। उनले बार्सिलोनाबाट सन् १९९३–९४ र १९९४–९५ गरी दुई सिजन खेल्दै ६५ खेलमा ३९ गोल गरेका थिए। उनले १३ क्लबबाट व्यवसायिक फुटबल खेलेका छन्।

रोमारियो सन् १९९४ मा ब्राजिलले विश्वकप जित्दा टिमका मुख्य खेलाडी थिए। त्यसपछि १९९८ र २००२ को विश्वकपमा भने उनी फर्ममा हुँदाहुँदै टिममा पर्न असफल भए। रोमारियोलाई डिबक्सभित्र अहिलेसम्मकै खतरनाक स्ट्राइकरमा रुपमा लिइन्छ।

३. पेले, ब्राजिल

७६७ गोल, ८३१, सन् १९५७–१९७७

फुटबलका महान हस्तीका रुपमा परिचित पेले सर्वाधिक गोल गर्ने सूचीको  तेस्रो नम्बरमा छन्। सन् १९४३ देखि १९६६ सम्म फुटबल खेलेका पेलेले ८३१ खेलमा ७६७ गोल गरेका छन्।

तीन पटकका विश्वकप विजेता पेलेले राष्ट्रिय टिमबाट ९२ खेलमा ७७ गोल गरेका छन्। पेले विश्वपमा सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडी पनि हुन्। उनले सने १९८५ को विश्वकपमा स्वीडेनविरुद्ध १७ वर्षको उमेरमा गोल गरेका थिए। 

पेलेले करिअरको अधिकांश समय ब्राजिलकै क्लब सान्तोषमा बिताएका थिए। उनले त्यहाँ ६३८ खेलमा ६१९ गोल गरेका थिए। पेलेले १२ सयभन्दा बढी गोल गरेको बताइन्छ, तर त्यो रेकर्ड भने छैन।

४ . फेरेन्स पुस्कास, हंगेरी

७४६ गोल, ७५४ खेल, सन् १९४३–१९६६

आफ्नो जीवनको २२ वर्ष व्यवसायिक फुटबलमा बिताएका हंगेरीका  स्ट्राइकर फेरेन्स पुस्कास सर्वाधिक गोल गर्नेको सूचीमा चौथो स्थानमा छन्।  सन् १९४३ देखि १९६६ सम्म व्यवसायिक फुटबल खेलेका पुस्कासले करिअरमा ७५४ खेल खेल्दै ७४६ गोल गरेका छन्।

पुस्कासले व्यवसायिक फुटबल बुडापोस्ट हानवेटबाट खेलेका थिए। रियल मड्रिङबाट सन् १९५८ देखि १९६६ सम्म खेल्दा उनले २४२ गोल गरेका थिए। रियलबाट उनले ५ ला लिगा र युरोपियन कपसहित १० उपाधि जितेका छन्। उनी रियलका अहिलेसम्मै उत्कृष्ट खेलाडीमध्ये एक हुन्।

पुस्कासले हंगेरी र स्पेनका दुवै राष्ट्रिय टिमबाट खेलेका छन्। उनले हंगेरीबाट ८५ खेल खेल्दै ८४ गोल गरेका छन् भने स्पेनबाट उनले ४ खेल खेलेपनि गोल गर्न भने सकेनन्। उनको सन् २००६ मा ७९ वर्षको उमेरमा निधन भएको थियो।

५. गर्ड मुलर, जर्मनी

७३५ गोल, ७९३ खेल, सन् १९६२–१९८१

जर्मनीका पूर्वराष्ट्रिय खेलाडी गर्ड मुलरले करिअरमा कुल ७३५ गोल गरेका छन्। सर्वाधिक गोल गर्ने सूचीमा उनी पाँचौ स्थानमा छन्। बायर्न म्यूनिख र जर्मनीका लिजेन्ड मुलरले कुल ७९३ खेल खेलेका छन्। 

सन् १९७४ मा पश्चिम जर्मनीले विश्वकप जित्दा उनी टिमका मुख्य खेलाडी थिए। उनले पश्चिम जर्मनीबाट ६५ खेल्दै ६८ गोल गरेका छन्। मुलरले बायर्नमा १५ सिजन बिताउँदा ६०७ खेलमा ५६५ गोल गरेका छन्। उनले बायर्नबाट ४ बुन्डेस लिगासहित १४ उपाधि जितेका छन्।

६. क्रिष्टियानो रोनाल्डो, पोर्चुगल
७२८ गोल, १०४१ खेल, २००१ देखि  

अहिले फुटबल खेलिरहेका खेलाडीमध्ये सर्वाधिक गोल गर्ने खेलाडी हुन् पोर्चुगिज स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो। समग्रमा भने उनी छैठौं नम्बरमा छन्। उनले १०४१ खेल खेल्दै ७२८ गोल गरेका छन्।

रोनाल्डो अहिले इटालियन क्लब युभेन्ट्सबाट व्यवसायिक फुटबल खेलिरहेका छन्। ३५ वर्षको उमेरमा रोनाल्डो उत्तिकै फर्ममा छन्। अझै २-३ वर्ष यही फर्म कायम गरे रोनाल्डोले विकानको रेकर्ड तोड्न सक्छन्।

रोनाल्डोले क्लब फुटबल स्पोर्टिङ सिपीबाट सुरु गरेका थिए। त्यसपछि उनले इंग्लिस क्लब म्यानचेष्टर युनाइटेड र स्पेनिस क्लब रियल मड्रिडबाट पनि खेले। उनले युनाइटेडबाट ६ र रियलबाट ९ सिजन खेले। युनाइटेडबाट ११८ गोल गरेका रोनाल्डोले रियलबाट ४५० गोल गरेका छन्। उनी रियलका सर्वाधिक गोलकर्ता हुन्।

रोनाल्डोले युरोकप, च्याम्पियन्स लिग, ला लिगा, प्रिमियर लिग, सिरी एसहित कुल २९ उपाधि जितेका छन्। पाँच पटकका बालोन डी’अर विजेता रोनाल्डो च्याम्पियन्स लिगका सर्वाधिक गोलकर्ता हुन्, उनले १२८ गोल गरेका छन्। 

रोनाल्डोले पोर्चुगिस् टिमबाट १६४ खेल खेल्दै ९९ गोल गरेका छन्। उनी राष्ट्रिय टिमबाट सर्वाधिक गोल गर्ने कीर्तिमानबाट १० गोलमात्र टाढा छन्। रोनाल्डोकै प्रेरणामा पोर्चुगलले २०१६ को युरोकप र २०१९ को युइएएफ नेसन्स कप जितेको थियो।

७. लियोनल मेसी, अर्जेन्टिना
७०० गोल, ८६२ खेल, सन् २००३ देखि

स्पेनिस क्लब बार्सिलोनाका स्ट्राइकर लियोनल मेसीले मंगलबार राति एथ्लेटिको मड्रिडविरुद्ध गोल गर्दै करिअरको सात सयौं गोल पूरा गरे। उनी सात सय गोल गर्ने सातौं खेलाडी हुन्।

सन् २००३ देखि सिनियर फुटबल करिअर सुरु गरेका मेसीले ८६२ खेलमा ७ सय गोल गरेका हुन्। जसमा राष्ट्रिय टिमबाट ७० र बार्सिलोनाबाट ६३० गोल छ। 

६ पटकका बालोन डी’अर विजेता मेसी ला लिगाका सर्वाधिक गोलकर्ता हुन्। उनले ला लिगामा ४८० खेल खेल्दै ४४२ गोल गरेका छन्। मेसीले बार्सिलोनाबाट १० ला लिगा र ४ च्याम्पियन्स लिगसहित ३४ उपाधि जितेका छन्। राष्ट्रिय टिमबाट भने मेसीले उपाधि जित्न सकेका छैनन्। काठमाडौँ प्रेस